पुनरवतार के हो, नयाँ दलाई लामा कसरी छानिन्छन्

तिब्बती धार्मिक नेता दलाई लामा सन् २०२२ को जुलाई २८ का दिन भारतको लेहमा एक धार्मिक भेलामा प्रवचन दिँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दलाई लामाले आफ्ना उत्तराधिकारीबारे नयाँ पुस्तकमा चर्चा गरेका छन्
    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

दलाई लामाको अर्को अवतार चीनभित्रै फेला पारिनुपर्ने भनी बेइजिङले जोड दिइरहँदा तिब्बती आध्यात्मिक नेता दलाई लामाले उनको उत्तराधिकारीको जन्म चीनबाहिर हुने घोषणा गरेका छन्।

"पुनरवतार लिएका धर्मगुरुको उद्देश्य आफ्ना पूर्ववर्तीको काम जारी राख्ने भएका कारण नयाँ दलाई लामाको जन्म स्वतन्त्र विश्वमा हुनेछ," तिब्बती बौद्धधर्मका ती सर्वोच्च नेताले आफ्नो नयाँ पुस्तकमा लेखेका छन्।

दलाई लामा राजनीतिक र आध्यात्मिक व्यक्तित्व भएका कारण चीन सरकारले दलाई लामाका साथै अन्य उच्च बौद्ध लामा (गुरु)हरूको पुनरवतारलाई आफूले अनुमोदन गर्नुपर्ने अडान लिने गरेको छ।

तर उच्च धर्मगुरुहरूले पुनः जन्म लिने विश्वासले तिब्बती बौद्धधर्ममा कसरी काम गर्छ अनि दलाई लामाको भूमिकामा आउने १५औँ व्यक्तिको छनौट कसरी हुन्छ?

दलाई लामा को हुन्?

तिब्बती आध्यात्मिक नेता दलाई लामा (बायाँ) ले सन् १९८९ को डिसेम्बर १० तारिखमा नर्वेली नोबेल कमिटिका अध्यक्ष एगिल आरभिकबाट नोबेल शान्ति पुरस्कार ग्रहण गर्दै।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दलाई लामा विश्वव्यापी रूपमा परिचित सार्वजनिक व्यक्तित्व हुन् र उनलाई नोबेल शान्ति पुरस्कार समेत दिइएको छ

दलाई लामा तिब्बतका आध्यात्मिक नेता र तिब्बती बौद्ध धर्मको सबैभन्दा परिचित अनुहार हुन्। उनलाई तिब्बतका संरक्षक भनिने अवालोकितेश्वर वा चेन्‌रेजिगको अंशका रूपमा पनि मानिन्छ।

दलाई लामा एक पदवी हो जस्को अर्थ "ज्ञानको महासागर" भन्ने हुन्छ। यो भूमिका वर्षौँ देखि पहिलेका लामाको पुनर्जन्म हुन्छ भन्ने मान्यताका आधारमा परिपूर्ति गरिँदै आएको छ।

तिब्बती बौद्धमार्गीहरू मृत्यु भए पछि पुनर्जन्म हुने कुरामा विश्वास गर्छन्। अघिल्लो जन्ममा गरेको काम र व्यवहारका आधारमा पुनर्जन्म तय हुने उनीहरूको विश्वास छ। मानिसले गर्ने काम वा व्यवहारलाई बौद्ध, हिन्दू र सिख धर्ममा कर्म भनिन्छ।

दलाई लामा जस्तो उच्च आध्यात्मिक स्तर हासिल गरेको व्यक्तिले आफ्नो अर्को अवतारले कहिले र कहाँ जन्म लिन्छ भनेर तय गर्न सक्ने तिब्बतीहरू विश्वास गर्छन्।

अहिलेका दलाई लामाको नाम तेन्जिङ ग्यात्सो हो। उनको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो।

उनी छ वर्षको हुँदा नै १३औँ दलाई लामा अर्थात् थुब्तेत ग्यात्सोले फेरि अवतार लिएका व्यक्तिको रूपमा उनको पहिचान भयो।

"दलाई लामा बारम्बार अवतार लिएर जन्मने कुरामा तिब्बतीहरू विश्वास गर्छन्। अहिलेका दलाई लामा १३औँ दलाई लामाको अवतार भएको हाम्रो विश्वास छ," डा थुप्तेन जिन्पा भन्छन्।

दलाई लामाका साथ डा थुप्तेन जिन्पा

तस्बिर स्रोत, Christopher Michel

तस्बिरको क्याप्शन, "दलाई लामाको त्यही आत्मा बारम्बार अवतार लिएर जन्मने कुरामा तिब्बतीहरू विश्वास गर्छन्," डा थुप्तेन जिन्पा भन्छन्

यसअघि भिक्षु पनि रहेका डा जिन्पाले तिब्बती बौद्ध धर्मको सबैभन्दा उच्चतम धर्मशास्त्रीय योग्यता हासिल गरेका छन्। उनले सन् १९८५ देखि दलाई लामाको आधिकारिक अनुवादकको काम पनि गरिरहेका छन्।

उनका अनुसार सबै दलाई लामाहरू एउटै व्यक्तिको पुनरवतार भएको परम्परागत विश्वास रहे पनि अहिलेका दलाई लामाले अक्षरशः ठ्याक्कै त्यस्तो नहुने ठान्छन्।

"सबै १४ जना दलाई लामाहरू एउटै व्यक्तिको अवतार भएको हुनैपर्ने विश्वास आफूले नलिएको उहाँ पवित्र धर्मगुरुले केही अवसरमा भनेको मैले सुनेको छु," डा जिनपाले बीबीसीसँग भने।

"तर त्यो परम्पराका सबैको दलाई लामाको परम्परासँग विशेष सम्बन्ध हुन्छ।"

बौद्धधर्म इशाइ धर्म भन्दा पुरानो भए पनि दलाई लामाको संस्था त्यसभन्दा नयाँ हो।

"सबैभन्दा पहिलो दलाई लामाको रूपमा सन् १३९१ मा जन्म भएका गेदुन्द्रुपलाई मान्यता दिइए पनि बौद्ध धर्मगुरुको अवतारको विश्वास त्यसभन्दा पुरानो हो। त्यो कम्तीमा पनि त्यसभन्दा ३०० वर्षअघिको अभ्यास हो," एबरडीन विश्वविद्यालयको स्कटिश सेन्टर फर हिमालयन रिसर्चका प्राध्यापक मार्टिन ए मिल्स भन्छन्।

"अहिले पुनः अवतार लिएका सयौँ लामाहरूको निरन्तरको परम्परा लामो छ। त्यसमध्ये दलाई लामा चाहिँ सबैभन्दा प्रसिद्ध हुन्," मिल्स भन्छन्।

दलाई लामाको छनौट कसरी हुन्छ?

दलाई लामाले ठट्टा गर्दै थुप्तेन जिन्पालाई अंगालो हालेका छन्

तस्बिर स्रोत, Peter Ruprecht

तस्बिरको क्याप्शन, झण्डै चार दशकदेखि थुप्तेन जिन्पा दलाई लामाका आधिकारिक अनुवादक रहँदै आएका छन्

"दलाई लामाको छनौट प्रक्रिया निकै कडा, जटिल र विस्तारित हुन्छ," उत्तरी भारतको धर्मशालामा केही घण्टा अघि मात्रै दलाई लामालाई भेटेर आएका डा जिन्पा सुनाउँछन्।

"दलाई लामा फरक-फरक परिवारबाट आउँछन् र ती कुनैबीच पनि त्यसअघि नजिकको नाता हुँदैन," डा जिन्पा थप्छन्।

पुनः अवतार लिएका व्यक्तिको पहिचान गर्न वर्षौँ लाग्न सक्छ। अहिलेका १४औँ दलाई लामाको पहिचान गर्न चार वर्ष लागेको थियो।

उच्च तहका भिक्षुहरूले पूर्ववर्ती दलाई लामाको मृत्यु भएका समयमा जन्मिएका बालकको खोजी गर्छन्। उनीहरूको खोजी निश्चित कुराहरूमा आधारित हुन्छ।

जसमध्ये एक जना भिक्षुले त्यस्तो पुनः अवतारका लिएका बालकको पहिचानबारे सपना देख्न सक्छन्। पूर्ववर्ती दलाई लामाको चिता जलाउँदा उडेको धुवाँको दिशाले दलाई लामाले पुनर्जन्म लिएको क्षेत्रको सङ्केत गर्छ। त्यसैगरी मध्य तिब्बतमा रहेको एक पवित्र तालले पनि खोजीबारे केही सङ्केतहरू गर्ने विश्वास गरिन्छ।

अहिलेका दलाई लामा तेन्जिन ग्यास्तोको गाउँ र घर त्यही तालमा देखिएको दृश्यबाट पहिचान भएको थियो।

पुनर्जन्म लिएका बालक रहेको स्थान पहिचान भए पछि ती बालकलाई कैयौँ सामग्रीहरू दिइन्छ। ती बालकले त्यसमध्ये कुन-कुन सामान पूर्ववर्ती दलाई लामाका हुन् भनेर पहिचान गर्न सफल भएको अवस्थामा त्यसलाई बालकको पुनर्जन्मको सन्दर्भमा राम्रो सङ्केतका रूपमा लिइन्छ।

प्रमुख लामाहरू यी कुराहरूबाट सन्तुष्ट भएपछि ती बालकलाई छनौट गरिन्छ र उनलाई वर्षौँको धार्मिक प्रशिक्षण र धर्मशास्त्रीय अध्ययनमा लगाइन्छ।

यद्यपि दलाई लामाका विगतका कतिपय छनौट विवादास्पद भएका थिए र त्यसबारे तिब्बत भित्र र बाहिर आशङ्काहरू गरिएका थिए।

"पाँच सय वर्षअघि पहिलो दलाई लामाको पुनर्जन्मलाई उनको सहर ताशिल्हुन्पोकै गुम्बाका अधिकारीहरूले मान्यता दिएका थिएनन्। पाँचौँ दलाई लामाले पनि छनौट प्रक्रियाको परीक्षा आफूले उत्तीर्ण नगरेको आफ्नो डायरीमा लेखेका थिए," प्राध्यापक मिल्स स्मरण गर्छन्।

अहिलेसम्म जम्मा दुई जना मात्रै दलाई लामा तिब्बत बाहिरबाट छानिएका छन्। त्यसमध्ये एक जना मङ्गोलिया र अर्को उत्तर पूर्वी भारतको तवाङबाट।

अहिलेका दलाई लामाले आगामी जुलाईमा आफ्नो ९० औँ जन्मोत्सवका दिन आफ्नो पुनर्जन्मबारे थप स्पष्टता दिने बताएका छन्।

चिनियाँ नियन्त्रण

तिब्बती महिला सङ्गठनका सदस्यहरू नयाँ दिल्लीमा विरोध प्रदर्शन गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दलाई लामाले पन्चेन लामा भनेर चयन गरेका बालक अन्तिम पटक सन् १९९५ को मे महिनामा सार्वजनिक रूपमा देखा परेका थिए।

दलाई लामा राजनीतिक कारण निर्वासनमा गएको कुरा चीनले अस्वीकार गर्दै आएको छ। उनी धर्मको आवरणमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप चीनको छ। चीनले सन् २००७ मै - उनीहरूको भनाईमा 'जीवित बुद्धको रूपमा नयाँ अवतार लिने' अबको दलाई लामाले त्यसका लागि "आवेदन दिने र अनुमोदन लिने" प्रकृया पालन गर्नु पर्ने अनिवार्य व्यवस्था गरिसकेको छ।

सन् १९५०मा चीन विरोधी विद्रोह पछि चीनले तिब्बतमाथि आफ्नो दाबी गर्दै हजारौँ सैनिकहरू उक्त क्षेत्रमा पठाएको थियो। दलाई लामा सन् १९५९ मा त्यहाँबाट भागेर भारत पुगेका थिए र उनले धर्मशालामा निर्वासित सरकार स्थापना गरेका थिए।

तिब्बत चीनकै भएको विषयमा कुनै पनि देशले विवाद गरेका छैनन् तर दलाई लामा दशकौँ देखि तिब्बतमा चिनियाँ शासनको प्रतिरोधको प्रतीक बन्दै आएका छन्। प्राध्यापक मिल्स निर्वासनमा रहँदा दलाई लामाले तिब्बतीहरूमाझ सर्वस्वीकार्य नेताको रूपमा आफ्नो महत्त्व बढाएको बताउँछन्।

सन् २०११ मा निर्वासित सरकारको प्रमुखको भूमिका त्यागेका दलाई लामाले, तिब्बती बौद्धमार्गको नेताका रूपमा कुनै पनि औपचारिक पद लिएका छैनन् तर पनि उनले तिब्बतका पक्षमा पैरवी गर्न जारी नै राखेका छन्।

आफ्नो अबको अवतारको जन्म तिब्बत बाहिर हुने भनेर दलाई लामाले लिएका निर्णयलाई चीन नियन्त्रित भूभागमा रहेको अवस्थाप्रतिको व्यवहारिक प्रतिक्रियाको रूपमा पनि कतिपयले हेरेका छन्।

तिब्बती बौद्धधर्मका दोस्रो प्रमुख व्यक्ति पञ्चेन लामा हुन्। सामान्यतया हरेक पटक नयाँ दलाई लामाको छनौटमा उनको महत्त्वपूर्ण भूमिका रहने गर्छ।

सन् १९९५ मा दलाई लामाले एक जना साना बालकलाई पञ्चेन लामा तोकेका थिए। तर चीनले उनलाई अस्वीकार गर्‍यो र आफैँले अर्को पञ्चेन लामा छनौट गर्‍यो। दलाई लामाको छनौटमा परेका पञ्चेन लामा त्यसपछि कहाँ हराए अहिलेसम्म थाहा हुन सकेको छैन।

चिनले नियुक्त गरेको पन्चेन लामा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिनले छानेको पन्चेन लामा ग्याल्त्सेन नोर्बु सन् २०१८ मा बेइजिङमा आयोजित एक सम्मेलनमा सहभागी हुँदै

चीन सरकारले भविष्यमा आफ्नै दलाई लामा घोषणा गर्ने सम्भावना छ। तर के तिब्बतीहरूले त्यसलाई मान्लान्?

"मानिसहरू विनम्र हुन सक्छन् किनभने उनीहरू आफ्नो ज्यान गुमाउन चाहँदैनन्। तर मानिसहरूले चीन सरकारले नियुक्त गर्ने दलाई लामालाई स्वीकार गर्दैनन्," जिन्पा भन्छन्।

"चीनले भौतिक रूपमा मानिसहरूलाई नियन्त्रणमा त राख्न सक्ला तर तिब्बतीहरूको मन र मस्तिष्क जित्न भने सक्ने छैन," उनको विचार छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।