तिब्बत विवादः चीनले कब्जा गरेको ७० वर्ष, हिमाली क्षेत्रमा यसरी भयो सङ्घर्ष

तस्बिर स्रोत, Getty Images
- Author, नार्बेर्टो पेरेडेस
- Role, बीबीसी मुन्डो
झन्डै ४० वर्षसम्म तिब्बत स्वतन्त्र थियो र त्यहाँ वास्तविक स्वतन्त्रता थियो। तर सन् १९४९ मा चीनमा कम्युनिस्टको जितपछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट बस्यो।
सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए।
झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे। त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो।
तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन्। त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ।
दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा १५ वर्षका थिए। चीनले उक्त प्रकरणलाई 'शान्तिपूर्ण मुक्ति' ठान्छन्। तर निर्वासित तिब्बती समुदाय त्यसलाई 'आक्रमण र कब्जा' मान्छ।
विवादको आरम्भ
हिमालयको उत्तरमा रहेको तिब्बत १२ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको। त्यसको इतिहासमा कैयौँ आरोह र अवारोह छन्।
सन् १९५१ मे २३ तारिखमा तिब्बतले चीनसँग उक्त विवादित सम्झौतामा हस्ताक्षर गरेको थियो।
त्यस दिनलाई तिब्बतमा एउटा दुःखद दिन मानिन्छ। उक्त दिनले तिब्बतका मानिसको मुटुमा एउटा घाउ बनाइदियो र त्यस्तो असन्तोष भरिदियो जुन अहिलेसम्म सकिएको छैन। त्यही दिन तिब्बतले आफ्नो स्वतन्त्रता आधिकारिक रूपमा गुमायो।
चीनको कब्जामा रहेको तिब्बतको वातावरण बिग्रिन थाल्यो। सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतीहरूको आक्रोश उच्च थियो।
त्यस क्रममा पहिलो विद्रोह भयो। तिब्बतीहरूले चिनियाँ शासन मान्न अस्वीकार गरे। विद्रोह बढ्दै गयो र हजारौँ मानिसको ज्यान गयो।
चीनको जनमुक्ति सेनाको हस्तक्षेप र दुई साता चलेको भयङ्कर हिंसापछि विद्रोह दबाउन चीन सफल भयो। चिनियाँ सेना बलियो थियो। दलाई लामा देश छाडेर भारतमा शरण लिन बाध्य भए।

तस्बिर स्रोत, Getty Images
तिब्बत: चीनको 'भण्डार'
तिब्बत र चीन मामिलाका जानकार स्वतन्त्र विशेषज्ञ केट स्यान्डर्सका भनाइमा सन् १९४९ मा कम्युनिस्ट सेना पूर्वी (खाम) र उत्तरी (आम्डो) तिब्बतमा पसिसकेका थिए जुन इलाका त्यतिबेला तिब्बती सेनाको कब्जामा थिए।
चीनले पक्राउ गरेर कारागार पठाइएका एक ब्रिटिश रेडियो अपरेटरलाई उद्धृत गर्दै उनी भन्छन्, "तिब्बती सेनाले चीनको सेनासँग अन्त्यसम्म लडेको तर चिनियाँ सेनाले पूर्ण रूपमा सिद्ध्यादिएको उनले लेखेका छन्।"
ब्रिटिश पत्रकारका भनाइमा माओले सत्ता सम्हालेसँगै तिब्बतमा कब्जा गर्नु उनको एउटा उद्देश्य थियो। किनकि त्यो रणनीतिक क्षेत्र हो र त्यसलाई चीनको दक्षिण-पश्चिम सीमा मानिन्छ।
त्यस क्षेत्रलाई चीनमा 'भण्डार' मानिन्छ। प्राकृतिक रूपमा निकै समृद्ध तिब्बतमा खनिज पदार्थ, लिथीअम, यूरेनीअम र धेरै पानी पाइन्छ।
त्यति मात्र होइन, तिब्बत विश्वकै सबैभन्दा अग्लो र लामो पहाडी मैदान (पठार) हो। एशियामा बग्ने कैयौँ ठूला नदीको उद्गमस्थल पनि हो तिब्बत।

तस्बिर स्रोत, Getty Images
सङ्घर्ष कसरी सुरु भयो?
तेह्रौँ शताब्दीमा तिब्बत मङ्गोल साम्राज्यको भाग थियो। तर पछि प्रायः स्वायत्त रह्यो।
सन् १८५० मा रुस र ब्रिटेनबीच मध्यएशियामा आधिपत्य जमाउने प्रतिस्पर्धा सुरु भयो र तिब्बत सरकारले विदेशीका निम्ति आफ्नो सीमा बन्द गर्यो, उनीहरूको प्रवेशमा प्रतिबन्ध लगायो।
तर सन् १९६५ मा ब्रिटेनले धेरै चतुरतापूर्वक त्यस क्षेत्रको नक्साङ्कन गर्न सुरु गर्यो। सन् १९०४ मा दलाई लामाले कोर्नेल फ्रान्सिस यङ्हस्ब्यान्डको नेतृत्वमा चलिरहेको ब्रिटिश सैन्य अभियानलाई खोलिदिए।
त्यसपछि संयुक्त अधिराज्य ब्रिटेनले कुनै पनि रुसी प्रस्ताव रोक्नका निम्ति तिब्बतलाई एउटा व्यापार सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्यो।
दुई वर्षपछि ब्रिटेन र चीनबीच एउटा सन्धिमा हस्ताक्षर भयो जसमा ब्रिटेनले तिब्बतसँग जोडिएको मुद्दामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता चीनसँग जनायो। उक्त सन्धिले तिब्बतमाथि चीनको कब्जालाई अनुमति दियो।
सन् १९०८ र १९०९ बीच चीनले १३ औँ दलाई लामालाई बहाल गर्यो तर चीनले तिब्बतमा आफ्नो सेना पठाएपछि भागेर भारत गए।
सन् १९१२ एप्रिलमा चिनियाँ सेनाले तिब्बती शासनका अगाडि घुँडा टेके किनकि त्यस बेला चीनमा तात्कालिक सत्ताको अन्त्य भई रिपब्लिक अफ चाइनको उदय भएको थियो।

जब चीनको सेना देश फर्कियो अनि दलाई लामा पनि तिब्बत फर्किए। तिब्बतको निर्वासित सरकारका भनाइमा चीनले सन् १९१३ मा तिब्बतलाई पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको थियो।
चीनले भने तिब्बतमाथि आफ्नो सदैव आधिपत्य रहेको तर त्यो लागु गर्न केही समय अस्थायी रूपमा असमर्थ भएको बताउने गर्छ।

तस्बिर स्रोत, Getty Images
स्थानीय संस्कृति भताभुङ्ग
तिब्बत आधुनिकताको सन्दर्भमा राष्ट्र होइन तर उसँग विश्वको सबैभन्दा भिन्न किसिमको संस्कृति छ। त्यहाँको भाषा, धर्म र राजनीतिक प्रणाली निकै अनौठो छ।
स्यान्डर्स भन्छिन्, "दलाई लामाले अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरेका छन्। आफ्ना छिमेकी देशसँग कूटनीतिक सम्बन्ध राखेका छन्। उनका अनुसार सन् १९१३ मे महिनामा १३ औँ दलाई लामाले तिब्बत एउटा स्वतन्त्र देश भएको घोषणा गरेका थिए। त्यसको आफ्नै राष्ट्रिय झण्डा, मुद्रा, राहदानी र सेना छ।"
तर कैयौँ वर्ष तिब्बतमा कुनै प्रदर्शन हुँदा त्यसलाई निर्ममतापूर्वक दमन गरियो।
दलाई लामा भन्छन्, "चीनको शासनकालमा १२ लाख जना मारिइसकेका छन्। तर चीनले त्यो कुरा अस्वीकार गर्छ।"
कैयौँ स्वतन्त्र तथ्याङ्कले त्यो सङ्ख्या बढाइचढाइ गरिएको मान्छन्। तर उक्त सङ्ख्या दुई लाखदेखि आठ लाखको बीचमा रहेको तिनको अनुमान छ।
हालका वर्षहरूमा तिब्बतमा विरोध प्रदर्शन बढ्दो छ। स्थानीय संस्कृतिमाथिको आक्रमणविरुद्ध आवाज उठाइ रहेका छन्।
साथै चिनियाँ सेनाको आफूप्रतिको व्यवहारलाई लिएर पनि विरोधको स्वर चर्किँदै छ। सन् १९६० देखि ७० बीच चीनको सांस्कृतिक क्रान्तिका क्रममा स्थानीय विहार तहसनहस गरियो।
चीनले पनि त्यसो भएको मान्छ र कम्युनिस्ट पार्टी सन् १९८० बाट तिब्बतको संस्कृति फेरि समृद्ध गराउन लागिपरेको बताउने गरेको छ।

तस्बिर स्रोत, AFP / GETTY IMAGES
नष्ट गरिएका कैयौँ विहार फेरि बनाइएको छ। तर तिब्बतको निर्वासित सरकार त्यसलाई स्थानीय संस्कृतिको सुरक्षाभन्दा पनि पर्यटक बढाउने चीनको प्रयास मान्छ।
पछिल्ला वर्ष कैयौँ तिब्बतीलाई हिरासतमा लिइएको छ। एम्नेस्टी इन्टर्न्याश्नल जस्ता संस्थाका कैयौँ प्रतिवेदनले तिब्बती बन्दीलाई यातना दिइएको र हत्या गरिएको उल्लेख गरेका छन्।
जेमस्टाउन फाउन्डेशनले यस वर्ष जारी गरेको प्रतिवेदनका अनुसार चीनले तिब्बतमा सयौँ-हजारौँ मानिसलाई सैन्य शैलीको प्रशिक्षण केन्द्रमा रहन बाध्य पारिरहेको छ।
जानकारहरू ती केन्द्र श्रम शिविर जस्तै भएको बताउँछन्।
तिब्बत मामिलाका जानकार के स्यान्डर्स भन्छिन्, "शिनजियाङमा ठूलो सङ्ख्यामा उइगर मुस्लिमलाई नजरबन्दमा राख्नुअघि तिब्बतको उपयोग प्रयोगशालाको रूपमा गरियो।"

तस्बिर स्रोत, Getty Images
तिब्बत र महामारी
स्यान्डर्सका भनाइमा चीनले तिब्बतका मानिससँग धर्मगुरुप्रतिको उनीहरूको समर्पण र धार्मिक पहिचानलाई एउटा खतरनाक भाइरसको रूपमा व्यवहार गर्छ।
उनी भन्छिन्, "अब ज्यानमारा कोरोनाभाइरस तिब्बतलाई आफ्नो पहुँच बढाउन सहयोग गर्नेछ।"
एप्रिलमा दलाई लामाले टाइम पत्रिकामा एउटा लेख प्रकाशित गरे। त्यसपछि विश्वस्तरमा उनको प्रशंसा गरियो। लेखमा उनले महामारीसँग लड्न प्रार्थना गर्नु पर्याप्त नहुने र दयालु र रचनात्मक हुनु आवश्यक गरेको मत राखेका छन्।
तिब्बतमा केही मानिसलाई सामाजिक सञ्जालमा प्रार्थना लेखेकोमा जेल चलान गरिएको थियो। वर्तमान समयमा निर्वासित दलाई लामाले चीनसँग एउटा बीचको बाटो निकाल्न वकालत गर्छन्।
उनी चीनको भाग रहे पनि तिब्बतलाई पर्याप्त स्वायत्तता दिइयोस् भन्ने चाहन्छन्।
तर तिब्बतका राष्ट्रवादी युवाले पूर्ण स्वतन्त्रताको माग गरिरहेका छन्। त्यसको सम्भावना अहिले टाढाटाढासम्म पनि देखा परिरहेको छैन।









