दलाई लामा: महिलाबारेको आफ्नो टिप्पणीलाई लिएर क्षमा याचना

दलाई लामा

निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले यदि आफ्नो उत्तराधिकारी महिला भए उनी आकर्षक हुनु पर्छ भनी दिएको विवादास्पद टिप्पणीका लागि माफी मागेका छन्।

उनले हालै बीबीसीसँग बोल्दै आफ्नो उत्तराधिकारी महिला पनि हुनसक्ने तर उनी "आकर्षक" हुनुपर्ने बताएका थिए।

तर उनको कार्यालयले निकालेको विज्ञप्तिमा भने उनले ठट्टा गरेको भन्दै ती शब्दका लागि माफी मागिएको जनाएको छ।

"उनी निकै दु:खी छन् कि उनले भनेको कुराबाट मानिसहरू दु:खी भए। त्यसैले उनी इमानदारीपूर्वक क्षमा चाहन्छन्," उक्त विज्ञप्तिमा भनिएको छ।

ठट्टा

आउने शनिवार ८४ वर्ष पुग्न लागेका आध्यात्मिक नेताले अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पदेखि आफ्नो तिब्बत फर्कने सपना र शरणार्थीबारे बोलेका थिए।

यद्यपि, उनले आफ्नो उत्तराधिकारी महिला हुनसक्ने विषयमा दिएको टिप्पणीप्रति धेरैले अनौठो माने।

बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले हाँस्दै भनेका थिए, "यदि महिला दलाई लामा आइन् भने उनी अझै आकर्षक हुनु पर्नेछ।"

उक्त अभिव्यक्तिले कुनै किसिमको अपमान भएको भए त्यसका लागि माफी मागिएको छ र त्यसलाई "बुझ्न नसकिएको ठट्टा" भनिएको छ।

उक्त विज्ञप्तिमा भनिएको छ, "दलाई लामालाई आफ्नो यात्राका क्रममा भौतिकवादी संसारबीचको अन्तर्विरोध र यसका जटिलता अनि तिब्बती बौद्ध परम्पराको केन्द्रमा रहेको पुनर्जन्मबारे अन्तर्वस्तुबारे राम्रो ज्ञान छ।"

"यद्यपि, कहिलेकाहीँ सोच्दै नसोची केही टिप्पणीहरू निस्कन्छन् जुन एकथरीको सांस्कृतिक परिप्रेक्ष्यमा अचम्म लाग्दो हुन्छ, त्यसको ठट्टाको प्रसङ्ग अनुवादका क्रममा अर्कै हुनजान्छ। आफ्ना टिप्पणीले कसैको अपमान भएको भए उनी त्यसमा पश्चाताप गर्छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, दलाई लामा: ट्रम्पको नैतिकता छैन

'गलत व्याख्या'

आफ्नो जीवनभर दलाई लामाले महिलालाई बस्तुकरण गरिएको विपक्षमा बोल्दै आएको र लैङ्गिक समानतालाई समर्थन गरेको उक्त विज्ञप्तिमा उल्लेख छ।

उक्त विज्ञप्तिमा उनले युरोपेली संघ अन्तर्गतका देशमा रहेका शरणार्थी घर फर्किनुपर्ने भन्ने टिप्पणीलाई पनि गलत तरिकाले व्याख्या गरिएको हुनसक्ने उल्लेख छ।

"उनले देश छोड्ने धेरैले फेरि देश फर्कन नचाहने वा नसक्ने विषयको पक्कै पनि तारिफ गरे," विज्ञप्तिमा भनिएको छ।

यद्यपि ट्रम्पसँग नैतिकता कम छ भन्नेबारे दिएको टिप्पणी प्रति भने उनले माफी मागेका छैनन्।