तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पशुहरूलाई काममा लगाउँदा वा ओसारपसार गर्दा के गर्न पाइँदैन?
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
तपाईँलाई थाहा छ नेपालमा गाईँभैँसी लगायत पशुपन्छीलाई ओसारपसार गर्दा दिनमा कति किलोमिटरसम्म मात्र हिँडाउन पाइन्छ?
अनि हरेक चोटि ओसारपसार गर्दा दानापानी र आराम अनिवार्य गराउनु पर्छ?
पशुलाई निर्दयतापूर्वक व्यवहार गरेमा कारबाही सहितका व्यवस्था सरकारले गरेको छ।
तर तिनको पालनाको प्रश्न भने ज्यूँका त्यूँ रहेको पशु अधिकारकर्मीहरू बताउँछन्।
के भन्छ नियमले?
यो साता विश्व पशु दिवस मनाइयो। यही सन्दर्भ पारेर नेपालमा पशु कल्याणसम्बन्धी विद्यमान व्यवस्था र तिनको अवस्थाको समीक्षा गरिएको छ।
खासगरी पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड अनि पशु कल्याण निर्देशिका २०७३ ले घरपालुवा पशुहरूको स्याहारसुसार तथा ओसारपसारबारे विभिन्न व्यवस्थाहरू गरेको छ।
“जस्तो कि यदि तपाईँहरूले हिँडाएर पशुको ओसारपसार गर्दै हुनुहुन्छ भने दिनको ८ घण्टाभन्दा बढी गर्न पाइँदैन। त्यसपछि दानापानी, घाँसपात र आराम दिनु पर्छ। यदि गाडीमा ढुवानी गर्दै हुनुहुन्छ भने चाहिँ बढीमा ४८ घण्टामा गन्तव्य पुर्याउनु पर्छ अनि हरेक ८ घण्टामा तल झारेर अनि दानापानी दिएर मात्र लैजानु पर्छ,” पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईँ भट्टराईले बीबीसीसँग भनिन्।
साथै पैदल ढुवानी गर्दा गाई भैँसीलाई दिनको अधिकतम २५ किलोमिटर, भेडा बाख्रालाई ३० किलोमिटर अनि सुँगुर बङ्गुरलाई १२ किलोमिटरभन्दा धेरै हिँडाउन पाइँदैन।
पशुसँगको व्यवहार गर्दा भोक, प्यास, डर, त्रास र तनाव हुन दिन नहुने निर्देशिकामा उल्लेख छ। त्यसमा रहेका केही व्यवस्था यस्ता छन् -
- धेरै दुब्लो र पातलो अनि अस्वस्थ्य पशुलाई काममा लगाउन नहुने,
- दिनमा ८ घण्टाभन्दा धेरै काममा लगाउन नहुने,
- हप्तामा कम्तीमा १ दिन आराम दिनुपर्ने,
- धेरै गर्मी, धेरै जाडो, अविरल वर्षा, असिना पानी, वज्रपातको समयमा काममा लगाउन नहुने,
- पशुको तौलको ४० प्रतिशतभन्दा धेरै भार बोकाउन नहुने,
- भारवाहक पशुलाई हरेक ३ घण्टामा दानापानी र आराम दिनुपर्ने,
- निर्दयी व्यवहार गर्न र छाडा छाड्न नहुने, आदि।
उक्त मापदण्ड, निर्देशिकाका साथै मुलुकी अपराध संहिता समेतले पशु कल्याणसम्बन्धी व्यवस्थाहरू उल्लङ्घन गरेमा जरिबानादेखि लिएर कैद सजायसम्म तोकेको छ।
पशु ढुवानी गर्दा जहाँबाट लैजाने हो त्यहाँबाट यी निरोगी पशु हुन् र यो मिति र समयमा ढुवानी गरिएको हो भनेर प्रमाणपत्र जारी गर्नुपर्छ।
“त्यसको जाँच काठमाण्डूको नाग ढुङ्गामा रहेको हाम्रो अस्थायी चौकीले गर्छ। त्यसले समयको पनि हिसाब गर्छ,” डा, प्रेरणा सेढाईँ भट्टराईले भनिन्।
व्यवहारमा छैन पालना
पशु कल्याणका यस्ता नियम कागजमै सीमित भएको पशु अधिकारवादीहरूले गुनासो गरेका छन्।
“अहिले पनि पशुहरूलाई नाकमा बाँधेर, पुच्छरमा बाँधेर ल्याइएको हुन्छ। एउटा ट्रकमा १६-१७ वटाभन्दा धेरै हाल्न मिल्दैन तर ४०-४२ राँगा कोचेर ल्याइएको हुन्छ,” पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले भनिन्।
काठमाण्डूमा दैनिक १,००० राँगालाई अझै पनि बीभत्स तरिकाले ल्याइने गरेको उनी सुनाउँछिन्।
“धेरै जसो राति ल्याइन्छन्। यस्ता विषय हेर्ने जिम्मा पाएका पशु क्वारन्टीन चेकपोस्टहरू हुँदै आएका हुन्छन्। खासै कारबाही भएको र त्यो प्रभावकारी भएको देखिँदैन,” उनले भनिन्।
“ढुवानी गर्नेहरूले पनि बरु पाँच हजार रुपैयाँ जरिबाना तिरिदिन्छन्।”
अनि ठाउँ ठाउँमा पशुहरूलाई काममा लगाउँदा पनि निर्दयी तरिकाले लगाउने गरेको पाइएको उनले बताइन्।
ईँटाभट्टाको उदाहरण दिँदै उनले घोडा तथा खच्चडहरूलाई तिनको वजनभन्दा दुई-तीन गुना धेरै भार बोकाइने गरेको बताइन्।
नेपाल पशु चिकित्सा परिषद्का रजिस्ट्रार एवं प्रवक्ता डा मनोजकुमार शाही पनि पशु कल्याणका नियम अलपत्र परेको ठान्छन्।
तिनलाई कार्यान्वयन गराउने संरचनाको उनी अभाव देख्छन्।
“चाहे अनुसन्धानका लागि पशुको प्रयोग गर्दा होस् वा सर्कस/खेलमा होस् वा ढुवानी गर्दा होस् विश्व भरिनै स्थापित मापदण्डहरू हुन्छन् जसलाई एकदमै गम्भीरताका साथ पालना गरिन्छ। हामीकहाँ त्यसको अभाव छ,” उनले भने।
“महात्मा गान्धीले पनि कुनै बेला भनेका थिए कुनै समाज कस्तो हो भनेर थाहा पाउन त्यहाँ पशुलाई कस्तो व्यवहार गरिन्छ भनेर हेर्नुपर्छ। पशुले त बोल्दैन, पीडा व्यक्त गर्न सक्दैन। त्यसैले त्यो जिम्मा हामी मानिसकै हो।”
यी नियम किन महत्त्वपूर्ण?
पशु कल्याणको विषय मूलत: पशु अधिकारसँग जोडिएको हुन्छ।
त्यो बाहेक पशुलाई उचित व्यवहार गरेर पालनपोषण गर्दा पशुपालक किसान वा व्यवसायीलाई आर्थिक फाइदा अझ बढ्ने जानकारहरू बताउँछन्।
“पशुको उत्पादकत्व पशु कल्याणसँग पनि निर्भर हुन्छ। खुसी पशुले जति धेरै दूध दिन्छ रोगी वा पीडामा परेकोले दिन सक्दैन,” पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले बताइन्।
पशु स्वास्थ्यका विज्ञ समेत रहेका डा. मनोजकुमार शाही थप्छन्, “तनावमा भएका बेला पशुको दूध उत्पादन घट्छ। मासुका निम्ति पालिएको पशुको स्वाभाविक वजन बढ्न सक्दैन। साथै त्यस्तो पशुको मासुको गुणस्तर पनि राम्रो मानिँदैन।”
“त्यसैले यसको आर्थिक तथा जनस्वास्थ्यमा पनि प्रभाव पर्छ।”
पछिल्लो आँकडा अनुसार नेपालमा गाई गोरुको सङ्ख्या ७४ लाख छ भने राँगा भैँसीको सङ्ख्या ५१ लाखभन्दा धेरै छ।
त्यस्तै भेडाबाख्राको सङ्ख्या झन्डै डेढ करोड छ।
सुँगुर बङ्गुर १५ लाख अनि हाँस कुखुरा साढे ६ करोडको सङ्ख्यामा रहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।