तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान र अफगानिस्तानको सिमानामा घातक लडाइँ
- Author, हफिजुल्लाह मरुफ
- Role, काबुल
पाकिस्तान र अफगानिस्तानको तालिबान फौजबीच पुनः सीमा क्षेत्रमा लडाइँ भएको छ। त्यहाँ पहिल्यै कमजोर अवस्थामा रहेको युद्धविराम तोडेको आरोप दुवै पक्षले एकअर्कामाथि लगाएका छन्।
तनाव चर्किएसँगै अफगानिस्तानको स्पिन बोल्डक सहरका बासिन्दाहरू रातारात घर छाडेर भागेका छन्।
दुई देशबीच २,६०० किलोमिटर लामो सीमा छ।
नजिकैको कान्दहार सहरका एक चिकित्सकले बीबीसी पश्तोलाई बताएअनुसार चारजनाको शव स्थानीय अस्पतालमा पुर्याइएको छ।
अन्य चारजना घाइते भएका छन्। पाकिस्तानमा तीनजना घाइते भएको बताइएको छ।
हालैका महिनामा दुई देशबीच छिटपुट सङ्ख्यामा लडाइँ भएका थिए।
अफगानिस्तानको तालिबान सरकारले समेत पाकिस्तानलाई आफ्नो देशभित्र हवाई हमला गरेको आरोप लगाएको छ।
हमलाबारे के थाहा छ?
दुवै पक्षले गत रात गोलाबारी भएको पुष्टि गरेका छन्। तर चार घण्टाको लडाइँ सुरु गरेकाबारे दुवै पक्षले एकअर्कालाई दोष लगाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मोशरफ जैदीले तालिबानले "उक्साहटबिनै गोलाबारी" गरेको आरोप लगाए।
पाकिस्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ: "हाम्रा सशस्त्र सेनाहरूले तत्काल, उपयुक्त र तीव्र प्रतिक्रिया दिएका छन्। पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सतर्क र प्रतिबद्ध छ।"
यसैबीच तालिबानका एकजना प्रवक्ताले पाकिस्तानले "पुन: एकपटक हमला सुरु गरेको" र "जवाफ दिन बाध्य भएको" बताए।
अफगानिस्तानतर्फका सीमावर्ती बासिन्दाहरूले शुक्रवार करिब साढे १० बजे गोलाबारी भएको बताए।
ती क्षेत्रबाट प्राप्त फुटेजमा ठूलो सङ्ख्यामा अफगानहरू पैदल र सवारी साधनमा भागिरहेको देखिएको छ।
कान्दहारका सूचना विभागका प्रमुख अली मोहम्मद हकमलका अनुसार पाकिस्तानी सेनाले "हलुका र घातक अस्त्र"ले हमला गरेको थियो।
सर्वसाधारणका घरमा मोर्टार हमला भएको उनको भनाइ छ।
कमजोर युद्धविराम
पछिल्लो यस झडप कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षले युद्धविराममा सहमति जनाएको दुई महिनाभन्दा कम समयमा भएको हो।
उक्त सहमतिले दर्जनौँ सङ्ख्यामा मानिसहरू मारिने गरी एक साताभन्दा बढी समय चलेको लडाइँ अन्त्य गरेको थियो।
सन् २०२१ मा सत्तामा फर्किएको तालिबान समूह र पाकिस्तानबीचको उक्त सबैभन्दा खराब लडाइँ रोकिए तापनि तनाव अझैसम्म उच्च छ।
इस्लामाबादले अफगानिस्तानको सत्तारुढ तालिबानलाई लामो समयदेखि पाकिस्तानमा आक्रमण गर्ने सशस्त्र समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ।
उक्त आरोप अस्वीकार गर्ने तालिबान सरकारले "आफ्नै सुरक्षा विफलता"का लागि अरूलाई दोष लगाएको आरोप पाकिस्तानमाथि लगाउँदै आएको छ।
आर्म्ड कन्फ्लिक्ट लोकेसन एण्ड इभेन्ट डेटा प्रोजेक्टका अनुसार पाकिस्तानी तालिबानले गत वर्ष पाकिस्तानी सेनामाथि कम्तीमा ६०० वटा हमला गरेको थियो।
गत साता दुवै पक्षका प्रतिनिधिमण्डलले चौथो चरणको वार्ताको लागि साउदी अरबमा भेटेका थिए।
तर उनीहरू अपेक्षा गरिए बमोजिम व्यापक शान्ति सम्झौतामा पुग्न सकेनन्।
उक्त वार्तासँग परिचित स्रोतहरूले बीबीसी न्यूजलाई बताए अनुसार दुवै पक्ष युद्धविराम जारी राख्न सहमत भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।