भाजपा कार्यकर्ता जो प्रत्येक दिन एक लाख मतदातालाई आफ्नो पक्षमा पार्न खट्छन्

अङ्कुर राणा आफ्नो फोनमा हतारहतार लेख्छन् र सयौँ ह्वाट्स्याप ग्रूपमा विभिन्न सन्देश पठाउँछन्।
"म ४००-४५० वटा ह्वाट्स्याप ग्रूप चलाउँछु, प्रत्येकमा २००-३०० सदस्य छन्। त्यसबाहेक मेरो प्रत्यक्ष सम्पर्कमा ५,००० जना हुन्छन्। यसरी म प्रत्येक दिन १०,००० देखि १५,००० जनासम्म पुग्न सक्छु," निर्वाचन सुरु हुनुअघि गत महिना उनले भनेका थिए।
राणा उत्तर प्रदेशको मेरठ निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)का सामाजिक सञ्जाल संयोजक हुन्।
भाजपाले आफ्नो सन्देश लाखौँ मतदातासमक्ष पुर्याउने प्रयासमा उनी पनि सम्मिलित टोली बनाएको थियो। त्यस्तो सन्देश दर्जनौँ निर्वाचन क्षेत्रमा पठाइन्छ।
यसपालि लोकसभा निर्वाचनमा भाजपाले ३७० सीट जित्ने लक्ष्य राखेको छ। त्यसका लागि मतदातालाई आफ्नो पक्षमा पार्न उक्त दलले ह्वाट्स्यापसहित सामाजिक सञ्जाल र सन्देश पठाउने सुविधा दिने विभिन्न एपहरू उपयोगी हुने ठम्याएको छ।
भारत ह्वाट्यापको सबैभन्दा धेरै प्रयोगकर्ता भएको देश हो। भारतमा प्रत्येक दिन ५० करोडभन्दा बढी मानिस यो एप घण्टौँ चलाउँछन्।
उनीहरू विभिन्न भाषामा "शुभप्रभात"देखि 'मीम' अनि गम्भीर प्रकृतिका राजनीतिक टिप्पणीहरू पनि आदानप्रदान गर्छन्।
अनि अङ्कुर राणाजस्ता स्वयंसेवी कार्यकर्ताहरू निर्वाचनमा आफ्नो पक्षमा लहर सिर्जना गर्न भाजपाको सन्देश फैलाउन सघाउँछन्।
नियन्त्रित अभियान

यो निकै नियन्त्रित अभियान हो। मेरठका भाजपा कार्यकर्ताहरूका अनुसार पार्टीको दिल्लीस्थित मुख्यालयले राजनीतिक सन्देश र 'ह्याश्ट्याग' पठाउँछ। त्यस्ता सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको प्रशंसादेखि प्रतिपक्षको आलोचनासम्मका सामग्री हुन्छन्।
राज्यको पार्टी कार्यालयबाट ती सन्देशहरू मेरठमा स्वयंसेवा गरिरहेका अङ्कुर राणाजस्ता १८० कार्यकर्तासम्म पुग्छन्। उनीहरू ती सन्देशलाई अझ फैलाउँछन् र प्रत्येक मतदानस्थललाई लक्ष्य बनाएर निर्वाचनको प्रचारप्रसारमा खटेका कार्यकर्तासम्म पुग्ने बनाउँछन्।
राणा मुम्बईमा डिजिटल मार्केटिङसम्बन्धी एउटा कम्पनी चलाउँछन्। उनका अनुसार युवापुस्तासम्म पुग्न ह्वाट्स्याप निकै उपयोगी छ भने ४० वर्षमाथिका मानिसहरू फेसबुकमा बढी सक्रिय छन्।
विज्ञहरूका अनुसार भाजपाले सामाजिक सञ्जालमा अभियान सञ्चालन गर्दा आफ्ना प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि छोडेको छ।
भाजपाका कार्यकर्ताहरू त्यस्तो अभियानलाई प्रभावकारी बनाउन प्रत्येक प्रापक को हुन् भन्ने सोचेर फरक किसिमले सन्देश पठाउनुपर्ने बताउँछन्।

“पार्टीका तलदेखि माथिसम्मका प्रत्येक सदस्य र पार्टी अध्यक्षसमेत ६० मतदाताका लागि जिम्मेवार छन्,” मेरठमा एउटा मतदानस्थलनजिकै रहेको क्षेत्रमा भाजपाको प्रचारको संयोजन गरिरहेका विपिन विपलाले बताए।
“हामीलाई जिम्मा दिइएका ६० जनासँग हामीले निरन्तर रूपमा प्रत्यक्ष संवाद गर्नुपर्छ र भाजपालाई मत दिनका प्रेरित गर्नुपर्छ। उनीहरूको मोबाइल नम्बर लिनु र तिनलाई मेसिजिङ समूहमा राख्नु पनि हाम्रो जिम्मेवारी हो।”
विपिन विपलालाई जिम्मेवारी दिइएको समूहका लागि बनाइएको ह्वाट्स्याप समूहको नाम ‘मानवता नै जीवन हो’ राखिएको छ। मतदातालाई थप आकर्षित गर्नकै लागि समूहको नाम खुलस्त रूपमा राजनीतिक अर्थको नराखिएको हुन सक्छ।
तर सबैलाई इन्टरनेटमा कुनै पनि भाष्यलाई पूर्ण रूपमा नियन्त्रण गर्नु असम्भवप्रायः हुन्छ भन्ने थाहा छ।
हुन त गोप्य ह्वाट्स्याप खाता तथा समूहमा सन्देशहरू आदानप्रदान गरिँदा वास्तवमा कस्तो सन्देश फैलिएको छ र यसको थालनी कहाँ भयो भन्ने कुरा थाहा पाउनु धेरै कठिन हुन सक्छ।
धर्मका नाममा प्रचार?
बीबीसीले अध्ययन गरेका धेरै समूहहरूमा शेअर गरिएको एउटा भाइरल सन्देशमा विपक्षी कङ्ग्रेस पार्टीलाई अल्पसङ्ख्यक मुस्लिमहरूको सन्तुष्टिका लागि काम गरेको आरोप लगाइएको छ।
हिन्दी भाषामा लेखिएको उक्त सन्देशको आशय छः “कङ्ग्रेसले भारतलाई मुस्लिम देश बनाइसकेको थियो, खालि घोषणा गर्न मात्र बाँकी थियो।”
उक्त सामग्रीमा कङ्ग्रेसले मुस्लिम समुदायलाई अतिरिक्त लाभ दिन खोजेको दाबी गर्न १८ वटा कुरा भएको सूची बनाइएको थियो।
यो सामग्रीको स्रोत के हो भन्ने कुरा पुष्टि गर्न सम्भव छैन। तर यिनमा विगत केही साताहरूमा भाजपा नेताहरूले आफ्ना चुनावी कार्यक्रमहरूमा गरेको टिप्पणीको झल्को पाइन्छ।
गत एप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कङ्ग्रेस सत्तामा आए जनताको धन “घुसपैठ गर्नेहरू"लाई बाँड्ने बताएका थिए। उनको भनाइ मुस्लिमप्रति लक्षित थियो, अतः केही व्यक्तिले उनलाई इस्लाम धर्मप्रति घृणा गरेको वा ‘इस्लामोफोबिआ’को आरोप लगाएका थिए।
भाजपाकै सामाजिक सञ्जालहरूमा यो बुँदा दोहोर्याउँदै बनाइएका एनिमेटिड भिडिओहरू शेअर गरिएका छन्। यस पार्टीका केही नेताले यो कुरा कङ्ग्रेसको घोषणापत्रमा लेखिएको झुटो दाबी गरेका छन्। तर उक्त घोषणापत्रमा धनको पुनर्वितरणबारे केही उल्लेख गरिएको छैन, न त ‘मुस्लिम’ शब्द छ।
आधिकारिक हो कि होइन?
भारतमा ह्वाट्स्यापको प्रयोगबारे अध्ययन गरिरहेका रट्गर्स यूनिभर्सिटीका सहायक प्राध्यापक किरण गरिमेलाका अनुसार राजनीतिक दलका आधिकारिक भाष्यहरू प्रायः गोप्य समूहहरूमा प्रतिबिम्बित हुन्छन्। तर के आधिकारिक हो र के होइन भन्ने छुट्ट्याउन चाहिँ गाह्रो छ।
“माथिबाट तल पठाइएका कुरा छन्, आईटी सेल (भाजपाको सामाजिक सञ्जाल टोली) कार्यरत छ र यसकै वरिपरि सामग्री सिर्जना, प्रशोधन र संयोजन हुन्छ। तर मुख्य कुरा के हो भने आम जनताले यस्ता भाष्यलाई फैलाउन सहयोग गरिरहेका छन्,” उनी भन्छन्।
ह्वाट्स्यापको प्रकृतिकै कारण कुन सामग्री 'आईटी सेल'को हो र कुन सामग्री समर्थकको हो छुट्ट्याउन नसकिने उनको भनाइ छ।
कुनै सन्देश कुनै एक प्ल्याट्फर्ममा सिर्जित भए पनि यो अन्य माध्यममा समेत पुग्न सक्छ। यसले थप मानिसहरूलाई उक्त सन्देश सत्य नै रहेको विश्वास दिलाउन खोज्छ।

तस्बिर स्रोत, BJP SOCIAL MEDIA HANDLES
'मोदीले युक्रेन युद्ध रोके'
हालसालै प्रचार गरिएको एउटा विज्ञापन सामग्रीका अनुसार रुसमा अलपत्र परेका भारतीय विद्यार्थीलाई फिर्ता ल्याउन मोदीले रुस र युक्रेनबीचको युद्ध रोक्न लगाएको सन्देश दिइएको छ।
उक्त युद्ध सुरु भएको केही महिना अर्थात् सन् २०२२ को मार्चदेखि नै यो दाबी फैलाइएको छ। सामाजिक सञ्जाल 'एक्स'का धेरै खाता हुँदै केही समाचार च्यानलहरूले समेत यसलाई फैलाएका छन्।
उक्त समयमा भारतको विदेश मन्त्रालयले उक्त दाबी खण्डन गरेको थियो। “कसैले बमबारी रोकेको वा त्यसमा हामीले संयोजन गरेको कुरा मेरो विचारमा पूर्णतः असत्य हो,” मन्त्रालयका प्रवक्ताले भनेका थिए।
तर त्यसपछिका दुई वर्षमा भाजपाका शीर्ष नेताले चुनावी अभियानका क्रममा यो कुरा पुनः उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा यो सामग्री व्यापक रूपमा हेरिएको छ।
यो दाबीलाई किन बारम्बार दोहोर्याइएको छ भनेर सोधिएको प्रश्नमा भाजपाको उत्तर प्राप्त भएको छैन।
मेरठ विश्वविद्यालयबाहिर बीबीसीले भर्खरै २० वर्षको उमेर पार गरेका र पहिलो पटक यसपालि मतदान गरेका केही विद्यार्थी भेट्यो। हामीले उनीहरूलाई उनीहरूले यो कुरा सुनेका वा विश्वास गरेका छन् कि भनेर सोध्यौँ।
तीमध्ये अधिकांशले आफूले 'एक्स'मा यो विज्ञापन देखेको बताए।
“पक्कै पनि भारतको आग्रहमा युद्ध रोकिएको कुरामा हामी विश्वास गर्छौँ,” विशाल वर्माले भने। यसमा उनका अधिकांश साथीहरूले पनि सहमति जनाए तर एकदुई जना विपक्षमा देखिए।

कबिरले भने, “यो साँचो होइन। मैले ती विद्यार्थीहरूले सरकारले सहयोग गरेन भनी बताएको र उनीहरूले नै बनाएको भिडिओ हेरेको छु।”
नजिकैको गाउँका केही मानिसलाई पनि हामीले यसबारे सोध्यौँ। उनीहरूमध्ये धेरैले टेलिभिजन समाचारमा त्यो कुरा सुनेको बताए।
“हो, मोदी विश्वव्यापी रूपमा सम्मानित भएकाले युद्ध रोकिएको हो,” ४१ वर्षे किसान सञ्जीव कश्यपले भने।
“युद्ध रोकिएको हामीले सुनेका छौँ। हामी आफैँ हेर्न गएका छैनौँ। तर मलाई लाग्छ यसमा केही सत्य हुनैपर्छ,” ७५ वर्षे जगदीश चौधरीले भने। उनीसँग चार अन्य किसान सहमत भए।
यो शक्तिले मानिसको विश्वासमा प्रभाव पार्न सक्षम भएको छ। सम्भवतः यसले उनीहरूको मतमा पनि प्रभाव पार्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








