विद्यार्थी भिसा अन्तर्वार्ताको समय नदिने अमेरिकी निर्णयले नेपालीलाई पर्न सक्ने असर

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

संयुक्त राज्य अमेरिकाले विदेशस्थित आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय दिने कार्य रोक्न आदेश दिएसँगै नेपालमा समेत चिन्ता व्यक्त हुन थालेको छ।

खास गरी हालै कक्षा १२ को परीक्षा दिएर अमेरिकामै अध्ययनका लागि तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा अन्योल सिर्जना भएको जानकारहरूले बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले नेपाली विद्यार्थीहरूले विदेशमा अध्ययनका लागि अब अरू गन्तव्य मुलुकबारे पनि सोच्नुपर्ने हुन सक्ने बीबीसीलाई प्रतिक्रिया दिए।

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा बर्सेनि हजारौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने गरेका छन्।

वैदेशिक अध्ययनका लागि मोटो रकम पनि नेपालबाट बाहिरिने गरेको केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन्।

अमेरिकी निर्णय के हो?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विदेशस्थित उसका दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय दिने कार्य रोक्न आदेश दिएको छ।

भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उसले पछिल्लो आदेश दिएको हो।

कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबिओले 'थप निर्देशन नआएसम्मका लागि' ती कार्य स्थगन हुने भनेका छन्।

समय तय भइसकेका अन्तर्वार्ताहरूको हकमा चाहिँ त्यसलाई कायम राख्न सकिने भनिएको छ।

अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थीहरूले भिसा स्वीकृतिअघि सामान्यतया सम्बन्धित देशमा रहेका अमेरिकी दूतावासमा अन्तर्वार्ता तय गर्नुपर्छ।

के असर पर्न सक्छ?

विगत पाँच वर्षको अवधिमा ४० हजारभन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका शिक्षा मन्त्रालयको तथ्याङ्क छ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा अमेरिकाका लागि एनओसी लिनेहरूको सङ्ख्या घटबढ भइरहेको देखिन्छ।

विसं २०७७ मा १,५४२ जना, २०७८ मा ८,०५८ जना, २०७९ मा ६,५४२ जना, २०८० मा १६,१६६ जना र विसं २०८१ को फागुन मसान्तसम्म ८,०३८ जनाले एनओसी लिएका मन्त्रालयले जनाएको छ।

नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराई एक हदसम्म नेपाली विद्यार्थीहरूमा अमेरिकी निर्णयको असर पर्ने स्वीकार्छन्।

"खास गरी कक्षा १२ को परीक्षापछि अमेरिका नै पढ्न जाने भनेर एप्टिच्यूड टेस्ट वा प्रोफिसिएन्सी टेस्ट दिएर बसेकाहरूबीच समस्या आउन सक्ने भयो," बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीमाथि अमेरिकी विश्वविद्यालयहरू निर्भर हुने भएकाले यो निर्णय दीर्घकालीन हुनेमा उनलाई आशङ्का छ।

"त्यहाँका विश्वविद्यालयहरू टिकिरहनका लागि पनि उनीहरूलाई विदेशी विद्यार्थी चाहिन्छ चाहिन्छ। त्यहाँको आर्थिक हिसाबले पनि त्यो एउटा ठूलो पाटो हो," भट्टराईले अगाडि थपे।

"यो खालको घाटा सहेर विदेशी विद्यार्थी नै नलिने भन्ने नहोला। तर केही समयका लागि नेपाली विद्यार्थीलाई तनाव चाहिँ हुने भयो। यो निर्णय चाँडोभन्दा चाँडो उनीहरूले सच्याउँछन् भन्ने मलाई लाग्छ।"

पछिल्लो निर्णयले कतिपय विद्यार्थीहरूमा अन्योल निम्त्याएको सङ्घका महासचिव दीपकराज भुसाल बताउँछन्।

"कक्षा १२ को जाँच सकेर कतिपय 'टोफल', 'आईईएलटीएस', 'पीटीई'लगायतका कक्षा लिइरहेका छन्। अब अमेरिकामा आवेदन दिन नपाइने भयो भनेर उनीहरू सबैमा एक खालको अन्योल सिर्जना भएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"त्यो भएर अमेरिका नै जान चाहेका विद्यार्थीहरूलाई हालका लागि असर पर्ने स्पष्ट नै देखयो," भुसालले अगाडि थपे।

विकल्प खोज्न सक्छन्

पछिल्लो समय वैदेशिक अध्ययनका लागि अमेरिकाभन्दा अन्यत्र पनि नेपाली विद्यार्थीहरूको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

यो पृष्ठभूमिमा अमेरिकाको पछिल्लो कदमसँगै नेपाली विद्यार्थीहरूले त्यहाँको साटो अरू गन्तव्य मुलुकबारे सोच्न सक्ने सरकारी अधिकारीहरू पनि स्वीकार्छन्।

"अब त्यसको साटो उहाँ[नेपाली विद्यार्थी]हरूले वैकल्पिक रोजाइ गर्नुपर्ने हुन सक्छ। आफ्नो रुचिसँग मिल्ने अरू देशका विश्वविद्यालय छान्नुपर्ने हुन सक्छ," शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बीबीसी न्यूज नेपालीसँग भने।

नेपाल शैक्षिक परामर्श सङ्घका महासचिव भुसाल पनि त्यसमा सहमत देखिन्छन्।

"यदि अमेरिकी निर्णय लम्बिने भयो भने उच्च शिक्षा हासिल गर्नका लागि अरू गन्तव्यहरूमा पनि जान सक्ने सम्भावना देखिन्छ। पछिल्लो समय अस्ट्रेलियाप्रति आकर्षण बढेको छ," उनले थपे।

यूके जाने नेपाली विद्यार्थीहरूले भिसा पाउने दर पनि पछिल्लो समय बढेको भुसाल बताउँछन्।

धेरै जाने मुलुक कुनकुन?

विगत पाँच वर्षको अवधिमा साढे छ लाखभन्दा बढी नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिएका पाइएको छ।

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार विसं २०७७ देखि २०८१ को फागुन ७ गतेसम्म ६ लाख ६८ हजार ९४३ जनाले एनओसी लिएका छन्।

भारतमा अध्ययनका निम्ति एनओसी लिएर अनि नलिईकन पनि नेपाली विद्यार्थीहरू जाने भएकाले त्यो सङ्ख्या अझ बढी हुन सक्ने जानकारहरू बताउँछन्।

अध्ययनका लागि नेपाली विद्यार्थीहरूले अनुमतिपत्र लिएका देशहरूमा जाम्बिआदेखि बोस्निआ एन्ड हर्जगोभिनासम्मका छन्।

विकसित मुलुकहरूका लागि अध्ययन अनुमतिपत्र धेरै विद्यार्थीहरूले लिएका तथ्याङ्कले देखाउँछ।

पाँच वर्षको अवधिमा अस्ट्रेलियाका लागि मात्रै दुई लाख पाँच हजार ३९८ जनाले एनओसी लिएका छन्।

अस्ट्रेलियापछि जापान पढ्न जान एक लाख २३ हजार ५९४ जनाले अध्ययन अनुमतिपत्र लिएको तथ्याङ्क छ।

त्यसपछि यूकेका लागि ८८ हजार ३४३, क्यानडा ७६ हजार ६६३, संयुक्त राज्य अमेरिका ४० हजार ३४६, दक्षिण कोरिया ३१ हजार ९७३, भारत २४ हजार ९६३, यूएई १२ हजार ५४४, र न्यूजील्यान्डका लागि १० हजार ५०४ जनाले एनओसी लिएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

सो अवधिमा फ्रान्समा सात हजारभन्दा बढीले र जर्मनी, फिनल्यान्ड तथा डेनमार्कमा पाँचपाँच हजारभन्दा धेरैले एनओसी लिएको देखिन्छ।

तर नेपाल शैक्षिक परामर्श सङ्घका महासचिव दीपकराज भुसाल यो तथ्याङ्कमाथि प्रश्न गर्छन्।

"कतिपय सन्दर्भमा एउटै मान्छेले दुइटासम्म पनि एनओसी लिनुपर्ने हुन्छ। फेरि एनओसी पाउने सबैले भिसा पाउँछन् भन्ने हुँदैन," उनले भने।

उदाहरणका लागि न्यूजील्यान्ड, अस्ट्रेलिया तथा क्यानडा जाने कतिपयले 'डिप्लोमा' तथा 'एड्भान्स डिप्लोमा'का लागि पनि एनओसी लिने गरेका भुसालले उल्लेख गरे।

कति रकम बाहिरिन्छ?

वैदेशिक रोजगारीबाट नेपालले बर्सेनि अर्बौँ रकम भित्र्याउने गरेको विषय प्रायः चर्चा भइरहन्छ।

तर अर्कोतर्फ पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीहरूले पनि मोटो रकम लैजाने गरेको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्।

वैदेशिक अध्ययनका लागि बाहिरिने रकम पनि बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

आर्थिक वर्ष २०७९/०८० मा ७० अर्ब ४५ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको तथ्याङ्क छ।

आर्थिक वर्ष २०८०/२०८१ मा ९८ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएकोमा २०८१/२०८२ को नौ महिनामा एक खर्ब चार अर्ब रुपैयाँ विदेश गएको राष्ट्र ब्याङ्कको तथ्याङ्कमा उल्लेख छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।