तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्समा 'आप्रवासी विरोधी' अतिदक्षिणपन्थी दलको चुनावी अग्रता
- Author, पल कर्बी
- Role, बीबीसी न्यूज प्यारिस
फ्रान्समा भएको पहिलो चरणको संसदीय निर्वाचनमा अतिदक्षिणपन्थी दलले अग्रता लिएको छ।
त्यसले अब त्यहाँको संसद्मा उक्त दलको वर्चश्व हुनसक्ने देखिएको छ र सम्भवत: उनीहरूका निम्ति सत्ताको ढोका पनि खुल्न सक्छ।
मारिन ल पेनको आप्रवासी विरोधी 'न्याशनल र्याली' (आरएन) पार्टीले पहिलो चरणको नतिजापछि उल्लास मनाइरहेको छ। पेनले "राष्ट्रपति एमानुएल माक्रोँको खेमा मेटिने" दाबी समेत गरेकीछन्।
पहिलो चरणको निर्वाचनमा 'आरएन' ले ३३.२ प्रतिशत मतका साथ अग्रता लिएको छ भने वाम घटकहरूले २८.१ प्रतिशत मतका साथ उक्त अतिदक्षिणपन्थी दललाई पछ्याइरहेका छन्।
राष्ट्रपति माक्रोँको गठबन्धन भने २१ प्रतिशत मतका साथमा तेस्रो स्थानमा रहेको अवस्था छ।
'ऐतिहासिक' कुरा
"यदि फ्रान्सेलीहरूले हामीलाई उनीहरूको मत दिए भने म सबै फ्रान्सेली जनताको प्रधानमन्त्री बन्ने लक्ष्य राख्छु," आरएन पार्टीका २८ वर्षे नेता जोर्डन बार्डेलाले भने।
एकजना वरिष्ठ विश्लेषक अलाँ डुअमेलका अनुसार अतिदक्षिणपन्थीहरूले अहिलेसम्म कहिल्यै पनि फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा विजय हासिल गरेका थिएनन्।
त्यसैले अहिले यो जसरी सम्भव भइरहेको छ त्यो ऐतिहासिक भएको उनको भनाइ छ।
ल पेन र बार्डेलाले ५७७ सीट रहेको 'न्याशनल एसेम्बली'मा स्पष्ट बहुमतका लागि कुल २८८ सीट ल्याउन चाहेका छन्।
तर आगामी आइतवारको दोस्रो चरणको मतदानमा उनीहरूको सीट सङ्ख्या घट्ने र बहुमत पुर्याउन उक्त दललाई सीट सङ्ख्या कम हुने ठानिएको छ।
दक्षिणपन्थीहरूलाई कति सहज?
स्पष्ट बहुमत पाएन भने फ्रान्सको विशाल संसद्मा आरएनले आप्रवासन, कर कटौती र कानुनी व्यवस्थासम्बन्धी आफ्ना योजनाहरू पारित गराउन सफल हुने छैन।
फ्रान्समा अहिले चुनाव गर्ने बेला भएको थिएन र राष्ट्रपति माक्रोँले त्यसको घोषणा पनि गर्नुपर्ने अवस्था थिएन।
तर युरोपेली चुनावमा आरएनले जितेपछि उनले "सबैभन्दा उत्तरदायी समाधान" भन्दै समयअघि नै यो चुनावको घोषणा गरेका हुन्।
यो चुनाव उनका लागि "जुवा खेले" बराबर भएको छ र अब उनी हुँदाहुँदैको सत्ताबाट च्यूत हुनुपर्ने अवस्था पनि आउन सक्छ।
फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा सन् १९९७ यता यसपालि सबैभन्दा बढी मत खसेको बताइएको छ।
पहिलो चरणबाट न्याशनल र्यालीका ३९ जना सांसदहरू निर्वाचित भइसकेका छन् भने वामपन्थी न्यू पपुलर फ्रन्टबाट ३२ जना निर्वाचित भएका छन्।
माक्रोँ के भन्छन्?
राष्ट्रपति माक्रोँले दोस्रो चरणका लागि "व्यापक र स्पष्ट खालको लोकतान्त्रिक र गणतान्त्रिक गठबन्धन"को आवश्यकता औल्याएका छन्।
न्याशनल र्यालीले यहाँसम्म आइपुग्न लामो यात्रा तय गरेको छ। अतिदक्षिणपन्थी विचारधाराबाट यात्रा थालेको उसले अहिले आम मतदाताको उल्लेख्य भोट पाएको छ।
उनीहरूसँग आम मानिसलाई प्रभावित गर्न सक्ने खालका युवा नेताहरू छन् जो भविष्यमा फ्रान्सको प्रधानमन्त्री बन्न सक्छन्।
त्यस्तै उनीहरूले स्कूलका कक्षाकोठाहरूमा मोबाइलमा प्रतिबन्ध लगाउनेदेखि ऊर्जामा करको दर घटाउने र विदेशीलाई दिने सेवा सुविधा कटौती गर्नेसम्मका योजनाहरू सार्वजनिक गरेका छन्।
आरएनले स्पष्ट बहुमत ल्याउने सम्भावना त छ तर अहिलेको अवस्था हेर्दा उक्त पार्टी सबैभन्दा ठूलो दल बन्न सकेपनि कसैको पनि बहमत नरहेको संसद् निर्माण हुन जाने जस्तो देखिएको छ।
न्यू पपुलर फ्रन्टले पनि आफ्नो मत बढाउने अवस्था देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।