मुस्लिमहरूको सबैभन्दा पवित्र स्थल काबाको चाबी कोसँग हुन्छ?

इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र स्थल बैतुल्लाह अर्थात्‌ काबाको ढोकाको चाबीका संरक्षक डा. सालेह बिन जैन अल-आबिदिन अल-शैबीको निधन भएको छ।

काबाको ढोकाको चाबी उनीसँगै हुन्थ्यो। पैगम्बर मुहम्मदको जीवनकालमै सालेह अल-शैबीको परिवारले उक्त चाबीको संरक्षकत्व पाएको थियो।

उनको परिवारले शताब्दीयौँदेखि काबाको ढोकाको चाबी राख्दै आएको छ। उक्त चाबीको संरक्षकत्व पाउने अल-शैबी परिवारको तर्फबाट उनी १०९औँ उत्तराधिकारी थिए।

त्यसअघि सालेह अल-शैबीका काका अब्दुल कादिर ताहा अल-शैबीको सन् २०१३ मा निधन भएपछि चाबीको संरक्षकत्व उनमा सरेको थियो।

जिम्मेवारी बाँडफाँट

डा. सालेह अल-शैबीको जन्म सन् १९४७ मा साउदी अरबको मक्कामा भएको थियो।

उनले उम्म अल कुरा विश्वविद्यालयबाट इस्लामिक अध्ययनमा विद्यावारिधि गरेका थिए।

सोही विश्वविद्यालयमा कैयौँ वर्ष अध्यापन गरेका सालेह अल-शैबीलाई काबाको ढोकाको चाबीको संरक्षकत्व हस्तान्तरण गरिएको थियो।

काबाभित्र प्रवेश गर्न एउटा मात्र ढोका छ जसलाई बाब-ए-काबा भनिन्छ।

उक्त ढोका पूर्वोत्तर ढोकासँगै छ र एउटा कालो ढुङ्गाको नजिकै पर्छ जहाँबाट तवाफ अर्थात्‌ परिक्रमा शुरू हुन्छ।

काबाको ढोकाको चाबी राख्न थालिएको इतिहासबारे इस्लामिक इतिहासकार अहमद अदनले बीबीसी सोमालीसँग भनेः “पैगम्बर मुहम्मदको जन्मका बेला कुरैश कबीलाको जिम्मेदारी बाँडिएको थियो।”

“उहाँको जन्म भएको बनी हाशिम परिवारलाई जमजम कुँवाको चाबी दिइएको थियो भने काबाको ढोकाको चाबी उस्मान बिन तलहा परिवारलाई दिइएको थियो।”

एउटा घटनाको सन्दर्भसँग जोड्दै इतिहासकार अदन भन्छन्, “त्यस बेला पैगम्बर मुहम्मदले काबाको चाबी हामीसँग हुने दिन आउँदै छ भनेर भन्नुभएको थियो।”

इस्लामिक इतिहास अनुसार मक्कामाथि विजयपश्चात्‌ केही समयका लागि उक्त चाबी उस्मान बिन तलहाबाट लिइयो। तर पछि अल्लाहको आदेशानुसार फेरि उनकै जिम्मा लगाइयो।

पैगम्बर मुहम्मद स्वयंले उक्त चाबी उस्मान बिन तलहालाई दिए। त्यसपश्चात्‌ उक्त परिवारको एकपछि अर्को पुस्ताले चाबीको संरक्षकत्व लिँदै आएको छ।

चाबी जिम्मा लगाउँदै पैगम्बर मुहम्मदले उस्मान बिन तलहालाई भनेका थिएः “काबाको यो चाबी सधैँ तपाईँसँग हुनेछ। अत्याचारीबाहेक कसैले चाबी खोस्नेछैनन्।”

विद्यमान ढोका

सन् १९४२ अघि काबाको ढोका कसले र कसरी बनाएका थिए भन्नेबारे इतिहासमा त्यति धेरै चर्चा गरिएको पाइँदैन।

यद्यपि सन् १९४२ मा इब्राहिम बद्रले चाँदीको ढोका बनाउन लगाएका थिए।

त्यसपछि सन् १९७९ मा उनका छोरा अहमद बिन इब्राहिम बद्रले सुनको ढोका बनाउन लगाएका थिए। त्यसमा तीन सय किलो सुन प्रयोग भएको थियो।

काबाका पूर्वसंरक्षक शेख अब्दुल कादिरको समयमा शाह अब्दुल्लाहको आदेश अनुसार काबाको ताला फेरिएको थियो।

त्यसबेलाका अधिराजकुमार खालिद अल फैसलले काबाको सरसफाइका क्रममा नयाँ ताला र चाबी शाह अब्दुल्लाहको तर्फबाट शेख अब्दुल कादिरलाई सुम्पेका थिए।

लामो समयसम्म बिरामी भएर शेख अब्दुल कादिरको मृत्यु भएपछि डा. सालेह अल-शैबी चाबीका नयाँ संरक्षक बने।

पछिल्ला वर्षमा काबाका संरक्षकको जिम्मेदारी ताला खोल्ने र बन्द गर्ने काममा मात्र सीमित रहँदै आएको छ।

यद्यपि साउदी अरब पुग्ने राजकीय पाहुनाहरूका निम्ति शाही अधिकारी, आन्तरिक मामिला मन्त्रालयका अधिकारी र आपत्कालीन फौजका सदस्यहरूले चाबीका संरक्षकसँग मिलेर ताला खोल्छन्।

त्यसका साथै इस्लामिक पात्रोअनुसार हरेक वर्षको मुहर्रम १५ मा शाही आदेशपछि चाबीका संरक्षकले ढोका खोल्छन् ताकि काबालाई पखाल्न सकियोस्।

कीर्तिमान स्तरमा चाबी लिलामी

काबाको अहिलेको चाबी र ताला १८ क्यारेट सुन र निकलले बनेको हो।

तालामा शब्द एवं कुरानका आयत अर्थात्‌ श्लोकहरू लेखिएका छन्।

ओटोमन शासनका बेला काबाको ढोका खोल्न प्रयोग हुने ४८ वटा चाबीको एउटा सङ्ग्रहालय टर्कीमा रहेको छ।

ती चाबीमा आधारित भई शुद्ध सुनले बनाइएका दुईवटा चाबी साउदी अरबमा छन्।

काबाको १२औँ शताब्दीको एउटा चाबी सन् २००८ मा एक करोड १० लाख डलरमा लिलामी भएको थियो।

लन्डनमा इस्लामिक कलासम्बन्धी एउटा लिलाम बढाबढका क्रममा एक अज्ञात खरिदकर्ताले चाबी किनेका थिए।

फलामले बनेको उक्त चाबीको लम्बाइ १५ इन्च रहेको छ र त्यसम लेखिएको छः “यो खासगरी अल्लाहको घरका लागि बनाइएको छ।”

काबाको चाबीको स्वामित्व व्यक्तिगत रूपमा कसैसँग रहेको यो मात्र हो। त्यसबाहेक काबाका ५८ वटा चाबी सङ्ग्रहालयहरूमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।