तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिम्पान्जीहरू 'आपत्मा परेकाहरूलाई सान्त्वना दिन्छन्'
- Author, पामेला टिकल
- Role, बीबीसी न्यूज, नोर्थ ईस्ट एन्ड कम्ब्रिआ
चिन्पान्जीहरू सामान्यतया अरू 'एप'का तुलनामा "हिंसक" र "निरङ्कुश" हुन्छन् भन्ने ठानिन्छ। तर आपत्मा पर्दा यी जीवहरूले एकअर्कालाई सान्त्वना दिने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
'बोनोबो'हरूले जस्तै चिम्पान्जीहरूले एकअर्कालाई सान्त्वना दिने गरेको पाइएको डर्हम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्। 'प्राइमेट' वर्गमा पर्ने जीवमध्ये बोनोबोहरूमा सर्वाधिक "समानुभूति" हुने ठानिन्छ। मानवजाति, चिम्पान्जीसहितका पुच्छरविहीन वानरसदृश जीव र बाँदरहरू प्राइमेट हुन्।
चिम्पान्जी र बोनोबोहरूले लडाइँ गरेर आएका सजातीय जीवप्रति कस्तो व्यवहार देखाउँछन् भन्ने जान्न अध्ययनकर्ताहरूको टोलीले कुल १,४०० घण्टा अवलोकन गरेको थियो।
कसरी दिन्छन् सान्त्वना
युवाहरूको तुलनामा पाको उमेरका बोनोबो र चिम्पान्जीहरूले आपत् झेलेर आएका सदस्यलाई सान्त्वना दिने सान्त्वना दिन चाहेको देखिएको अध्ययनको निष्कर्ष छ।
एपहरूको प्रारम्भिक विकासकै बेला अरूप्रति भावनात्मक संवेदनशीलता विकास हुने उक्त अध्ययनको निष्कर्छ छ।
बोनोबोमा चाहिँ कम उमेरका जीवहरू अरूलाई बढी सान्त्वना दिन र लिन इच्छुक भएको पाइएको छ। चिम्पान्जीमा भाले युवा र हिमचिम बढी भएका सदस्यहरूले बढी सान्त्वना दिने गरेका छन्।
दुवै जीवले मानिसहरूले जस्तै सान्त्वना दिन्छन्। त्यसो गर्दा बोनोबो र चिम्पान्जीहरू अरूलाई अँगालो हाल्छन्, हात समात्छन् र छोएर सान्त्वना दिन्छन्।
अध्ययनको महत्त्व कस्तो
"लामो समयदेखि बोनोबोहरूलाई सबैभन्दा धेरै समानुभूति राख्ने ठान्दै आइएको छ भने चिम्पान्जीलाई हिंसक र निरङ्कुश जीवका रूपमा हेरिँदै आएको छ," प्रमुख शोधकर्ता डा जेक ब्रूकरले भने।
"यद्यपि बोनोबोहरूले जस्तै चिम्पान्जीहरूले पनि एकअर्कालाई सहानुभूति दिने गरेको हामीले अध्ययनबाट थाहा पायौँ।"
डरम विश्वविद्यालयका अनुसार ती दुई जीवको समानुभूति प्रत्यक्ष तुलनामा गरिएको यो नै पहिलो अध्ययन हो।
अनुसन्धानकर्ताहरूले डेमोक्र्याटिक रिपब्लिक कङ्गोस्थित लोलो या बोनोबो स्याङ्क्चुरीका ४० वटा बोनोबो र जाम्बिआस्थित चिम्फुन्सी वाइल्डलाइफ ओर्फनिजका ५० वटा चिम्पान्जीको अध्ययन गरेका हुन्।
टेम्प्लेटन वर्ल्ड च्यारिटी फाउन्डेशनले उक्त अध्ययनका लागि रकम उपलब्ध गराएको बताइएको छ।
अध्ययन टोलीले यो प्रकृतिको थप अध्ययनले मानवजातिको सामाजिक व्यवहारको विकासक्रमबारे प्रकाश पार्न सक्ने जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।