दुर्गा प्रसाईलाई १२ दिन हिरासत, भारतबाट 'नियन्त्रणमा' तर प्रहरीले 'झापामा पक्राउ' भन्नुको अर्थ

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा 'जनकमान्डर' तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार बिहान झापामा पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले उनलाई विमानमार्फत् झापाबाट काठमाण्डू ल्याएर अदालतमा पेस गरेको छ।
यसअघि प्रहरीले "तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको" बताएको थियो।
उपचारको प्रबन्धसहित १२ दिन हिरासतमा राख्न अनुमति
काठमाण्डू जिल्ला अदालतले प्रसाई र उनका सहयोगी खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
"म्याद थपका लागि ल्याइएको थियो, त्यसमा दुर्गा प्रसाई र दीपक खड्काको हकमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ," जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बीबीसीसँग भने।
अदालतमा दुर्गा प्रसाई बिरामी भएका भन्दै उनी र उनका तर्फबाट उनका कानुन व्यवसायीले उपचारको प्रबन्धको माग गरेका थिए। त्यसउपर पनि न्यायाधीश शिशिरराज ढकालले आदेश दिएको श्रेष्ठले बताए।
उनका अनुसार न्यायाधीशले सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गराउनका लागि अनुसन्धान गर्ने निकायलाई आदेश दिएका हुन्।

प्रसाईको परिवारलाई उद्धृत गर्दै उनी जनकमान्डर रहेको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पनि प्रसाई असममै प्रहरी नियन्त्रणमा पुगेको बताए। उनले असम प्रहरीसमक्ष "आत्मसमर्पण" गरेको दाबी पनि गरिएको छ।
राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो।
दुई दिनअघि उनले आफू आत्मसमर्पण गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत् एउटा भिडिओ सार्वजनिक गरेका थिए।
विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले प्रसाईलाई गत असोज महिनामा पनि पक्राउ गरेको थियो।
प्रहरीले किन झापामा पक्राउ भन्यो

प्रसाई भारतको असममा पुगेको र त्यही प्रहरी नियन्त्रणमा पुगेको विवरण आएका छन्।
"भद्रपुरबाट पक्राउ गरिएको भनेर प्रहरीले ढाँट्न खोजेको छ। भारतबाट काकरभिट्टा हुँदै ल्याउँदाको गाडी समेत देखिने भिडिओ सार्वजनिक भइसकेका छन्। उहाँलाई भारतीय प्रहरीले बुझायो भन्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ भनेर प्रहरीले त्यो कुरा भनेन," अधिवक्ता नेपालले भने।
"उहाँलाई भारतीय प्रहरीले नेपालको सीमासम्म ल्याएर नेपाल प्रहरीले त्यहाँबाट निजी गाडीमा ल्याएको हो।"
प्रहरी प्रवक्ता आचार्यले आफूहरूले भद्रपुरबाटै प्रसाईलाई नियन्त्रणमा लिएको दोहोर्याए।
"हाम्रो क्षेत्राधिकार नेपाल हो। अन्य देशमा पक्राउ परेको भन्ने हामीसँग केही छैन। हामीले झापामै पक्राउ गरेर यहाँसम्म ल्याएको हो," उनले भने।
नेपाल र भारतबीच दुवै देशले छिमेकी देशमा कसुर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसुरदारलाई गुपचुप बुझाउने गरेको जानकारहरू बताउँछन्।*
त्यसरी पक्राउ परेका व्यक्तिलाई सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको दाबी दुवै देशका सुरक्षा निकायहरूले गर्दै आएको सुरक्षा मामिलाका जानकारहरूको भनाइ छ।
'हाम्रो प्रहरी पनि भारत जाने गरेको छ'

नेपाल प्रहरीका भूतपूर्व नायब महानिरीक्षक हेमन्त मल्ल भन्छन्, "खुला सीमा भएका कारण नेपाल र भारतमा एउटा देशमा अपराधमा संलग्न व्यक्ति अर्को देशमा गएर लुक्छन्। भिसा लगाउनुनपर्ने भएका कारण 'डिपोर्ट' गरेर ल्याउन पनि मिल्दैन। यस्तोमा दुवै देशका प्रहरीबीच सहकार्य गरेर सीमासम्म ल्याउने अभ्यास धेरै पहिलेदेखि चलिआएको छ," उनले भने।
कानुनी रूपमा अर्को देशमा गएर पक्राउ गर्न पाइन्न। त्यस कारण हामीले कानुनी अभिलेखहरूमा नेपालमा पक्राउ भन्नुपर्छ
मल्लका अनुसार नेपालमा खोजी भएका कतिपय व्यक्तिलाई भारतीय प्रहरीले आफैँ पक्राउ गरेर सीमासम्म ल्याइदिने गरेको छ भने कतिपय फरार अभियुक्त खोज्न नेपालको प्रहरी आफैँ भारतीय सहरहरूसम्म पुग्ने गरेको छ।
धेरैजसो त्यस्तो सहकार्य प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलबाट हुने अधिकारीहरू बताउँछन्।
"कहिलेकाहीँ पक्राउ गर्नुपर्ने व्यक्ति पहिचान गर्न सहज हुने भएका कारण हाम्रो प्रहरी नै भारत जाने गरेको छ। त्यस्तोमा उताको प्रहरीसँग पनि समन्वय गरेर जाने हुन्छ," उनले भने।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पूर्वप्रमुख मल्लले आफू उक्त निकायको प्रमुख भएकै समयमा नेपालको प्रहरीले भारतको कोलकाता, दिल्ली, देहरादुनसहित विभिन्न स्थानमा पुगेर नेपालबाट फरार भएका व्यक्तिहरू पक्राउ गरेको थियो।
"तर कानुनी रूपमा अर्को देशमा गएर पक्राउ गर्न पाइन्न। त्यस कारण हामीले कानुनी अभिलेखहरूमा नेपालमा पक्राउ भन्नुपर्छ," मल्लले स्वीकार गरे।
अर्को देशको प्रहरीसँग समन्वय नगरी त्यस्तो 'मिशन'मा जाँदा कहिलेकाहीँ समस्या पनि आउन सक्ने मल्ल बताउँछन्।
हालै भारतमा खोजी सूचीमा रहेका एक व्यक्तिलाई पक्राउ गर्न काठमाण्डू आएका पन्जाब प्रहरीको एउटा टोली स्वयम्भूनाथ क्षेत्रनजिकै पक्राउ परेको विवरणहरू आएका थिए। त्यसपछि भारतको गृह मन्त्रालयले भारतीय प्रहरीलाई सचेत गराएको विवरण भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।
दुर्गा प्रसाई किन पक्राउ परेका हुन्

तस्बिर स्रोत, Getty Images
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न हुँदा त्यसको छायाङ्कन गरिरहेका एक पत्रकारको एउटा भवनमा जलेर मृत्यु भएको थियो। अर्का एक व्यक्तिको प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान भएको थियो।
राजावादी पक्षले उक्त दिन चर्को आफूहरूमाथि चर्को दमन गरेको आरोप लगाउँदै आएका छन्।
तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक भएपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीसहित करिब १७० जनालाई पक्राउ गरेको थियो।
प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहँदा तीनकुनेबाट बाहिरिएका प्रसाईँ त्यसलगत्तै भारत गएको अनुमान प्रहरीले गरेको थियो।
प्रसाई तीनकुनेमा भएको हिंसामा संलग्न भएको र उनले राज्यविरुद्ध र सङ्गठित अपराध गरेको आरोप प्रहरीले लगाएको छ।
प्रदर्शन भएको दिन प्रसाई प्रहरीको घेरा तोड्न डरलाग्दो गरी गाडी चलाएर अगाडि बढेका थिए। उनले गाडीभित्रैबाट समर्थकहरूलाई अघि बढ्न आह्वान गरेका थिए। त्यसपछि तीनकुनेमा आयोजित सभामा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनले माइकबाट त्यसो नगर्न आह्वान गरेको देखिने भिडिओहरू पनि सार्वजनिक भएका छन्।
प्रसाईलाई कस्तो मुद्दा लाग्न सक्छ

तस्बिर स्रोत, Reuters
प्रहरी प्रवक्ता आचार्यका अनुसार राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धानका लागि प्रसाईविरुद्ध अदालतबाट प्रहरीले पक्राउपुर्जी लिएको छ।
मुलुकी फौजदारी संहिताको दफा ४९ मा सङ्गठित अपराधमा सजायसम्बन्धी व्यवस्था छ। त्यसमा राज्यको स्वतन्त्रता, एकता, सार्वभौमसत्ता लगायतका विषयमा खलल गर्ने गरी हातहतियारसहित सङ्गठन निर्माण गर्ने कसुर गरेको अवस्थामा अधिकतम जन्मकैदसम्म हुन सक्ने व्यवस्था छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार यस्तो किसिमको जन्मकैदको सजाय पाएका व्यक्तिले २५ वर्ष कारागार बस्नुपर्छ। उक्त दफामा राज्यविरुद्धको कसुर गर्न उक्साउनेलाई १० वर्षसम्म कैद र सामान्य कसुरमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।
न्यायाधिवक्ता कार्यालयका प्रवक्ता दाहालका अनुसार सङ्गठित अपराधमा मूल कसुरको आधा सजाय थपिन पनि सक्छ।
प्रहरीले अनुसन्धान र बयानका क्रममा प्रसाई अन्य कसुरमा पनि संलग्न भएको पाइए उनलाई थप कसुरमा मुद्दा लैजान सकिने बताएको छ।
"प्रहरीलाई सङ्गठित अपराधमा अनुसन्धानका लागि सम्बन्धित मुद्दामा पहिलो व्यक्ति पक्राउ परेका दिनबाट ६० दिनको समय हुन्छ," महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता दाहालले भने।
"अनुसन्धानका क्रममा अन्य कसुरमा संलग्न भएको पाइए प्रहरीले थप कसुरमा पनि मुद्दा चलाउन सरकारी वकिललाई सिफारिस गर्न सक्छ।"
विष्णु पोखरेलको थप रिपोर्टिङ
*यसअघि नेपाल-भारत सुपुर्दगी सन्धिसम्बन्धी विषय उल्लेख भएकोमा त्यसलाई हटाइ सच्याइएको छ।
-सम्पादक
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








