राजावादी प्रदर्शन नियन्त्रणबाहिर, दुर्गा प्रसाईँको नेतृत्वमाथि प्रश्न

तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन

शुक्रवार काठमाण्डूमा राजावादीको 'शक्ति प्रदर्शन' सुरु हुँदै गर्दा उक्त पक्षका आन्दोलन कमान्डर भनिएका दुर्गा प्रसाईँ आफैँ द्रुत गतिमा कार हाँकेर निषेधाज्ञा तोड्न तम्सिएको एक भिडिओ सार्वजनिक भयो।

आसपासका आन्दोलनकारीलाई अघि बढ्न हौस्याउँदै उनले प्रहरी घेरासमेत तोड्न पुगेको भिडिओमा देखिन्थ्यो।

क्रमश: उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक भएका थिए। आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाट सुरु भयो।

प्रहरीले बल प्रयोग गरेका फुटेज सार्वजनिक भए र अन्ततः कर्फ्यू नै लगाउनुपर्ने अवस्था सिर्जना भयो।

झडपका क्रममा कम्तीमा एक र आगलागीमा एक गरी दुई जनाको ज्यानै गएको पुष्टि भइसकेको छ।

जुलुस आह्वान गरेको अघिल्लो दिन बिहीवार प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर फर्केपछि राजसंस्था र हिन्दू राज्य स्थापना गराउनु 'आफ्नो धर्म' भएको बताएका थिए।

त्यसै दिन उनी राजावादीतर्फको संयुक्त जनआन्दोलन समितिको कमान्डर समेत तोकिएका थिए।

शुक्रवार नै काठमाण्डूको छुट्टै स्थानमा गणतन्त्रवादी कित्ताको समाजवादी मोर्चाको प्रदर्शन सामान्यरूपमा सम्पन्न भयो, नेताहरूले भाषण गरे।

तर हुलदङ्गा मच्चिएपछि राजावादीले औपचारिक भाषण गर्न पाएनन्।

राप्रपाका नेता धवलसमशेर जबराले भने आफूहरू मञ्चमा आउँदा आउँदै प्रहरीले धरपकड गरेपछि अवस्था बिथोलिएको बीबीसीलाई प्रतिक्रिया दिए।

"मञ्चमै प्लास्टिकको गोली र अश्रुग्यास प्रहार भयो। हामी बैठक बसेर अब के गर्ने भन्ने निर्णय गर्छौँ," उनले भने।

तीनकुनेमा भएको राजावादी प्रदर्शन नियन्त्रण गर्दै प्रहरी

नेतृत्वमा को

दुर्गा प्रसाईँ

संसद्को पाँचौँ ठूलो दल समेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्षौँदेखि यस मुद्दा उठाइररहे पनि 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियान' नामक हालै दर्ता भएको गैरराजनीतिक सङ्गठन प्रमुख त्यसको नेतृत्वमा देखिनुले कैयौँ राजावादीलाई आश्चर्यमा पारेको छ।

बिहीवार पत्रकारहरूसँग बोल्ने क्रममा प्रसाईँले 'राजालाई सबैले बिर्सेका बेला' आफूहरूले 'सभामा लैजाने, दियो बाल्ने' काम गरेको भन्दै कहिल्यै त्यसको लाभ नगरेको दाबी गर्दै आफूलाई स्वाभाविक हकदार जसरी प्रस्तुत गरे।

प्रसाईँले भने,"आज आम जनताले अरू पार्टी भन्छ कि दुर्गा प्रसाईँ- राजा भन्छ? त्यही हो नि कुरा त। यो समयको माग हो।"

कुनै बेलाका माओवादी, एमालेको पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका प्रसाईँ छोटो समयकै अन्तरालमा राजावादी आन्दोलनको एउटा मुख्य अनुहार बन्न पुग्नुलाई धेरैले चासोपूर्वक हेरेका छन्।

शुक्रवार व्यक्तिगत तथा सार्वजनिक जनधनको क्षति हुने गरी राजावादीको आन्दोलन भड्कन पुग्नुले उनको नेतृत्वलाई लिएर प्रश्नहरू उठाएका पाइन्छन्।

आन्दोलनका नेता भएर पनि उनी स्वयंले देखाएको अराजक शैलीलाई लिएर सामाजिक सञ्जालमा प्रहरीलाई जानकारी गराउँदै कारबाहीको माग गरे।

प्रसाईँ अग्रमोर्चामा किन?

ज्ञानेन्द्र शाहका पक्षमा पछिल्ला साताहरूमा देशका विभिन्न सहरमा मानिसहरू जुलुस गर्दै आएका पाइन्छन्
तस्बिरको क्याप्शन, ज्ञानेन्द्र शाहका पक्षमा पछिल्ला साताहरूमा देशका विभिन्न सहरमा मानिसहरू जुलुस गर्दै आएका पाइन्छन्

वैधानिक तरिकाले राजसंस्था फिर्ता हुने बाटोको रूपमा रहेको सदनको दुईतिहाइसहित संविधान संशोधनका लागि राजावादीहरू निकै कमजोर अवस्थामा छन्।

राजनीतिशास्त्री कृष्ण पोखरेलका बुझाइमा त्यस्तोमा 'जे पनि बोल्न सक्ने, जे पनि गर्न सक्ने उनले धेरै मानिसहरूलाई आकर्षित गर्न सक्ने' ठानेर प्रसाईँलाई अघि सार्दै 'निकै ठूलो जनलहर उर्लिएर व्यवस्था नै फ्याँक्ने' गरी परिवर्तन गर्न सकिने राजावादीहरूले ठानेको हुन सक्छ।

"तर त्यस्तो अवस्थाका लागि पनि दुर्गा प्रसाईँ लामो दौडको घोडा होलान् भन्ने उनका विगतले देखाउँदैन। वहाँको छवि जता पनि जान सक्ने, जे पनि गर्न सक्ने खालको देखिन्छ," पोखरेल भन्छन्।

"त्यसैले यो क्षणिक हुन्छ जस्तो लाग्छ। लक्ष्यमा नै पुर्‍याउने वहाँको हैसियत देखिँदैन।"

चर्का र कतिपयलाई 'आँटिला लाग्ने' अभिव्यक्ति दिएर मानिसहरू जुटाउन सक्ने भए तापनि ठूलो जनलहर सिर्जना हुन सक्ने अवस्थाका लागि 'आम रूपमा विवेकी मानिसहरूका माझमा राम्रो सन्देश दिन नसक्ने' उनी बताउँछन्।

"यसले राजावादीहरूमा अन्य कोही देखाउन लायक मानिस नै रहेनछन् कि भन्ने पनि सन्देश दिन्छ," पोखरेल भन्छन्।

राजसंस्था ब्युँताउने अभियानमा प्रसाईँकै कित्तामा नेपाल प्राज्ञिक मञ्चका संयोजकको रूपमा संस्कृतिविद् जगमान गुरुङ पनि सहभागी छन्।

पछिल्ला गतिविधिमा प्रसाईँको प्रमुख भूमिका रहेकाले नै उनलाई कमान्डरको भूमिका दिइएको गुरुङ बताउँछन्।

बारम्बार विवादित गतिविधि र आफ्ना उग्र अभिव्यक्तिका कारण चर्चामा आउने गरेका उनलाई सधैँ विगतमै टेकेर मूल्याङ्कन गर्न नहुने ठान्छन्।

"रत्नाकर डाँका पनि वाल्मीकि भएका छन्। स्त्रीलम्पट व्यक्ति गोस्वामी तुलसीदास भए," शुक्रवार प्रदर्शन सुरु हुनुअघि गुरुङले भने।

"ऋषिमुनिले सीतामाईलाई पत्ता लगाउन नसकेपछि भगवान् रामले उनलाई खोज्न बाँदरको पनि सहयोग लिनपर्‍यो।"

विवादित पृष्ठभूमि

बारम्बार विवादित अभिव्यक्तिहरू दिएर चर्चामा आउने प्रसाईँ सुरुमा डा. गोविन्द केसीको आन्दोलनविरुद्ध उभिएर चर्चामा आएका थिए।

सरकारलाई दबावमा पार्ने गरी मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुनेलगायतका माग राखेर प्रा डा गोविन्द केसी अनसनमा उत्रँदा एक मेडिकल व्यवसायीका रूपमा उनी त्यसविरुद्ध उभिएका थिए।

तात्कालिक अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्धन पाउने अपेक्षामा प्रसाईँले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो।

एक टेलिभिजन अन्तर्वार्तामा प्रसाईँले ओली र प्रचण्डबीच विसं २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी गरेका छन्।

तर ओलीसँग सम्बन्ध बिग्रँदै जाँदा प्रसाईँले उनीविरुद्ध विवादित र अपुष्ट अभिव्यक्तिहरू दिन थाले र एमालेबाट निष्काशित हुन पुगे।

यद्यपि त्यसपछि पनि प्रसाईँले ब्याङ्कको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाइरहेका छन्।

उनले लघुवित्त, सहकारीदेखि ब्याङ्कसम्मको ऋण मिनाहा हुनुपर्ने नारालाई अघि सार्दै मान्छेहरू भेला पार्ने र कार्यक्रम गर्ने गर्दै आएका छन्।

उनले अहिले "व्यवस्था परिवर्तन गर्ने" अजेन्डासँगै ऋणीहरूको "२० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने" माग पनि अघि सारेका छन्। त्यस्तै "२० लाख रुपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने" माग उनको छ।

त्यस्ता कुराले सामाजिक सञ्जालमा निकै चर्चा उनले बटुले।

प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुदेखि उठाइरहेको राजतन्त्रको अजेन्डामा अग्रसर भए तापनि प्रसाईँले बेलाबखत उक्त दलका नेताहरूलाई नै चिढ्याउने खालका अभिव्यक्ति दिएका समेत पाइन्छन्।

पत्रकारहरूको प्रश्नमा प्रतिक्रिया जनाउने क्रममा बिहीवार उनले प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक रहेका ज्ञानेन्द्र शाहीलाई राजसंस्थाको मुद्दा भजाएर र एमालेको साथ पाएर जुम्लामा चुनाव जितेको बताए।

उनको त्यस्तै खाले शैलीले गर्दा समेत कतिपयले राजावादीलाई नै एकजुट बनाएर लैजान सक्ने क्षमतालाई लिएर सन्देह व्यक्त गर्छन्।

शुक्रवारकै प्रदर्शनमा राजावादी राप्रपाका कैयौँ नेताहरू गएको देखिएन।

राजाले स्वीकारेका नेता?

ज्ञानेन्द्र शाह विमानस्थलबाट निर्मल निवास जाँदा समर्थकहरू
तस्बिरको क्याप्शन, केही साताअघि पूर्वराजा ज्ञानेन्द्र शाहको 'स्वागत' गर्न काठमाण्डूमा गरिएको कार्यक्रममा उनको सवारीपछि दुर्गा प्रसाईँ करिब उही शैलीमा देखिएका थिए

राजावादी पक्षमा उभिएका जगमान गुरुङ आवश्यक पर्दा 'जसको पनि सहयोग लिनुपर्ने' भन्दै चाहे त्यो प्रसाईँलाई कमान्डर बनाउँदा होस् वा ८७ वर्षीय वृद्ध पञ्च नेता नवराज सुवेदीलाई राजा फर्काउने अभियानको संयोजक तोक्दा अन्यथा मान्न नहुने बताउँछन्।

"[महाभारतमा] भीष्मपितामहले शरशय्यामा सुतेर उपदेश दिएका थिए। त्यसैले नवराज सुवेदीलाई तोक्दा पनि खिसिट्युँरी गर्नुहुँदैन, दुर्गा प्रसाईँलाई पनि हुँदैन," गुरुङ भन्छन्।

"वहाँ [प्रसाईँ]को प्रस्तुतिलाई हो मानिसहरूले टीकाटिप्पणी गर्ने, त्यसमा बिस्तारै सुधार ल्याउनुपर्छ। मान्छेलाई व्यवहार पर्दै गएपछि त्यो सुध्रँदै जान्छ। हाम्रो सङ्गतमा आउनुभएको छ। सङ्गतले पनि सुध्रन्छ।"

राजनीतिशास्त्री पोखरेल बिहीवार शाहले प्रसाईँलाई भेटेर आफूले कमाण्डर स्वीकारेको सङ्केत दिए पनि त्यसको ठूलो अर्थ नरहने टिप्पणी गर्छन्।

"[पूर्व]राजालाई गद्दी चाहिएको छ। तर उनी पनि दूरगामी सोचेर, योजना गरेर चल्ने खालको सोच भएको भए त राजसंस्था नै नजाने अवस्था आउँथ्यो होला। त्यसैले पूर्वराजाले भेट्दैमा उनको हैसियत बढ्यो भन्ने मलाई लाग्दैन," कृष्ण पोखरेल।

"संस्थागत हिसाबले राप्रपा, राप्रपा-नेपाल पनि आन्तरिक विवादका कारण [पूर्वराजासँग] रुष्ट देखिन्छन्। कोही पाखा लागेर बसेका छन्। ती सबैलाई परिचालन गरेर जान सक्ने ढङ्गको सोच पूर्वराजाको पनि देखिँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।