राजावादी प्रदर्शनका क्रममा हिंसा भएपछि तीनकुने क्षेत्रमा शनिवार बिहानसम्म कर्फ्यू, धवल शम्शेर राणा र रवीन्द्र मिश्र पक्राउ
राजावादी समूहले शुक्रवार काठमाण्डूको तीनकुनेमा गरेको प्रदर्शनका बेला हिंसा भएपछि प्रशासनले केही क्षेत्रमा कर्फ्यू लगाएको छ। प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि धवल शम्शेर राणा, रवीन्द्र मिश्र र स्वागत नेपालसहित पाँच जनालाई राति पक्राउ गरेको छ।
सारांश
काठमाण्डूमा शुक्रवार राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक स्वरूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिवार बिहानसम्म केही क्षेत्रमा कर्फ्यू लागु गरेको छ
प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ
अनुसन्धानका लागि भन्दै प्रहरीले राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित पाँच जना पक्राउ गरेको छ
तीनकुनेमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ
प्रहरीले त्यहाँ प्रदर्शनकारीहरूले आगलागी, तोडफोड र लुटपाट गरेको आरोप लगाएको छ। तर राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले "आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको" आरोप लगाएका छन्
भृकुटीमण्डपमा गणतन्त्रवादी पक्षले आयोजना गरेको सभामा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुनेमा 'मण्डले अराजकता' मच्चाएको आरोप लगाए
दाहालले विगतमा आफूहरूबाट कमजोरी भएको स्वीकार गर्दै तिनलाई सच्याउने र 'अर्को क्रान्ति'को नेतृत्व गर्ने घोषणा गरे
लाइभ कभरेज
केशव कोइराला, विष्णु पोखरेल, अशोक दाहाल र दिवाकर प्याकुरेल
बीबीसी नेपाली सेवाको लाइभ पेजको ताजा अपडेट आजलाई यति नै
आज बिहानदेखि हालसम्म राजधानी काठमाण्डूमा भएका गतिविधिहरूबारे ताजा, सही र भरपर्दो जानकारी लिन हामीलाई विश्वास गर्नुभएका सबै पाठकहरूलाई धन्यवाद।
यससँगै यो लाइभ पेज हामी बन्द गर्दै छौँ।
समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूबारे पढ्न हाम्रो वेबसाइट नियमित हेर्नुहोला।
धन्यवाद।
राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र तोडफोडको छानबिन गर्ने सरकारको निर्णय
तस्बिर स्रोत, PM Secretariat
राजसंस्थाको समर्थनमा शुक्रवार काठमाण्डूमा भएको प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
“आज भएको उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने” निर्णय भएको गुरुङले बताएका छन्।
शुक्रवार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।
मन्त्रिपरिषद् बैठकले शुक्रवारको घटनालाई अराजक र हिंसात्मक भन्दै त्यस्ता घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपील गरेको छ।
बैठकले राजतन्त्र पक्षधर प्रदर्शनका क्रममा भएका 'हिंसात्मक गतिविधि'को भर्त्सना गरेको गुरुङले बताए।
सरकारले म्यान्मार केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा पनि दुःख व्यक्त गरेको छ।
धवलशमशेर जबरा र रवीन्द्र मिश्र पक्राउ
तस्बिर स्रोत, Rabindra Mishra/FB
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित पाँच जनालाई पक्राउ गरेको बताएको छ।
नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले पक्राउ पर्नेमा स्वागत नेपाल र सन्तोष तामाङ पनि रहेको बताए। उनीहरूलाई शुक्रवारको तोडफोडको अनुसन्धानका लागि पक्राउ गरिएको आचार्यले बताएका छन्।
मन्त्रिपरिषद्को बैठक जारी
तस्बिर स्रोत, PM Secretariat
राजसंस्थाको समर्थनमा शुक्रवार काठमाण्डूमा भएको प्रदर्शन हिंसात्मक बनेपछि त्यसको समीक्षा गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले चाल्न सक्ने कदमबारे छलफल हुने बताइएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनका क्रममा कैयौँ निजी तथा सरकारी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोड भएको गृह मन्त्रालयले जनाएको छ।
शुक्रवारको घटनामा प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी र समाचार छायाङ्कन गरिरहेका एक जना टेलिभिजनकर्मीसहित दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनको दृश्य खिचिरहेका टेलिभिजनकर्मी रहेको घरमा प्रदर्शनकारीले आगजनी गरेको प्रहरीको दाबी छ।
गृह मन्त्रालयका अधिकारीले सरकार संयमित भएर नबस्ने शुक्रवार साँझ चेतावनी दिएका थिए।
काठमाण्डूमा केही स्थानमा शनिवार बिहानसम्मै कर्फ्यू
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले एक सूचना जारी गर्दै शुक्रवार दिउँसोदेखि राति १० बजेसम्मलाई लगाइएको कर्फ्यू शनिवार बिहान ७ बजेसम्म थप गरिएको बताएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै शनिवार बिहानसम्मका कर्फ्यू अवधि थप गरिएको जनाएका छन्।
तस्बिर स्रोत, DAO Kathmandu
‘प्रहरीले ज्यादती गर्यो’: नवराज सुवेदी
तस्बिर स्रोत, Rabindra Mishra
राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले "आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको" आरोप लगाएका छन्।
बीबीसीसँग कुरा गर्दै सुवेदीले "कार्यक्रमका लागि बनाइएको मञ्चमै प्रहरीले अश्रुग्यास प्रहार गरेको" बताए।
“हाम्रो शान्तिपूर्ण प्रदर्शन थियो, यसमा प्रहरीले ज्यादती गर्यो। मलाई त गाडीबाट ओर्लिनेबित्तिकै नजिक भएको घरको छतबाट टिअरग्यासहरू हान्न लाग्यो। त्यसले नपुगेर गोली चलाएर कैयौँ मान्छे घाइते छन्,” सुवेदीले भने।
राजसंस्था पक्षधरको प्रदर्शन अनियन्त्रित भएको भन्ने बीबीसीको प्रश्नमा उनले भने, “मान्छेलाई गोली लागेर लड्न लागेपछि, टिअरग्यासले बस्नै नसक्ने भएपछि मान्छेमा उत्तेजना त आइहाल्छ नि।”
साथै फेसबुकमा राखिएको एक भिडिओ वक्तव्यमा सुवेदीले "प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचारको व्यवस्था मिलाउन" सरकारसँग माग गरेका छन्।
यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।
YouTube पोस्ट समाप्त
तीनकुनेको आगलागीको घटनामा एकजना टेलिभिजनकर्मीको मृत्यु: प्रहरी
काठमाण्डूको तीनकुनेमा भएको विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका एक जना टेलिभिजनकर्मीको पनि ज्यान गएको प्रहरीले जनाएको छ। यससँगै आज भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या दुई पुगेको छ।
प्रदर्शनकारीहरूले आगो लगाइएका भनिएको घरमाथि त्यसअघि भिडिओ खिच्न पुगेका टेलिभिजन पत्रकारको समयमा उद्धार हुन नसक्दा ज्यान गएको अधिकारीहरूले बताएका छन्।
“दमकल पुग्दा पनि आगो निभाउन ढिला भयो। त्यही भएर उद्धार गर्न सकिएन,” नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले भने।
प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको पनि मृत्यु भएको यसअघि गृह मन्त्रालयले बताएको थियो।
प्रहरीले राजावादी प्रदर्शनकारीमध्ये हालसम्म चार जनालाई पक्राउ गरिएको जनाएको छ।
अब ‘सरकार हेरेर नबस्ने’ गृह मन्त्रालयका अधिकारीको चेतावनी
तस्बिर स्रोत, RSS
गृह मन्त्रालयका अधिकारी छवि रिजालले पूर्वराजाका समर्थकहरूको शुक्रवारको
प्रदर्शन हिंसात्मक भएका कारण सरकारले आगामी दिनमा त्यसविरुद्ध कडा नीति अपनाउने चेतावनी
दिएका छन्।
“यो कुनै राजनीतिक आन्दोलन हो भन्ने
नठान्नुहोला,” रिजालले भने।
“यो आपराधिक लुटपाटको हिंसाजनक
अमानवीय कार्य हो। यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई
लाग्दैन।”
“यसरी ठूलो परिमाणमा क्षति हुँदै
गयो भने सरकारको मूलभूत दायित्व व्यक्तिको सम्पत्तिको सुरक्षा गर्ने हो,” रिजाल भन्छन्।
“आजको घटनाका आधारमा थप विश्लेषण गरेर
सुरक्षा रणनीतिलाई पनि परिमार्जन गरेर परिस्थितिलाई सहजै नियन्त्रणमा लिन्छौँ
भन्ने मलाई लाग्छ।”
मन्त्रालयका अनुसार राजतन्त्र पक्षधर प्रदर्शनमा १० हजार देखि १२ हजारको बीचमा
प्रदर्शनकारी भेला भएको आकलन गरिएको छ। भृकुटीमण्डपमा भएको समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिसहरू भेला भएको सुरक्षा निकायको आकलन रहेको मन्त्रालयका सहसचिव रिजालले सुनाए।
मन्त्रालयका अनुसार शुक्रवार तीनकुने र भृकुटीमण्डपमा गरी पाँच हजार
सुरक्षाकर्मी परिचालन भएका थिए।
राजावादी प्रदर्शन नियन्त्रणबाहिर, दुर्गा प्रसाईँको नेतृत्वमाथि प्रश्न
'क्षतिको जिम्मेवारी दुर्गा प्रसाईँले लिनुपर्छ': सरकार
गृह मन्त्रालयका सहसचिव छवि रिजालले राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा काठमाण्डूमा भएका तोडफोड, आगजनी र लुटपाटको जिम्मेवारी उक्त विरोध प्रदर्शनको आयोजकले नै लिनुपर्ने बताएका छन्।
“आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गरेको हुनाले मूलभूत रूपमा उहाँ नै यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ। आज जति पनि क्षति भएको छ, यसको पूर्ण रूपमा जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँहरूले नै लिनुपर्छ,” मन्त्रालयको पत्रकार सम्मेलनमा रिजालले भने।
गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूबाट तीनकुने क्षेत्रमा कैयौँ निजी घरहरूमा तोडफोड भएको र जडीबुटी प्रशोधन कारखाना र परिसरमा रहेका सवारी साधनमा आगजनी भएको जनाएको छ।
“यहाँसम्म कि अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समेत आगजनीको प्रयास भएको छ,” मन्त्रालयका सहसचिव रिजालले भने।
गृह मन्त्रालयका प्रवक्ताले पूर्व राजाका समर्थकहरूले गरेको प्रदर्शन हिंसात्मक भएको भन्दै त्यो "भर्त्सनायोग्य" भएको भनेका छन्।
“व्यक्तिका निजी सम्पत्ति, अस्पताल, राजनीतिक दलका कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र र यातायातका साधनमाथि भएका तोडफोड अनि आगजनीका घटना अमानवीय र गैर कानुनीका साथै घोर भर्त्सनायोग्य रहेका छन्,” मन्त्रालयले भनेको छ।
मन्त्रालयले शुक्रवार भएको घटनामा कानुनको उल्लङ्घन गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु
काठमाण्डूमा राजावदी प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै कीर्तिपुर-४का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको छ।
उनको मृत्युको कारणबारे गृह मन्त्रालयले थप खुलाएको छैन।
नेपाल प्रहरीका प्रवक्ताका अनुसार प्रदर्शनका क्रममा १५ जना सर्वसाधारण र केही सुरक्षाकर्मी घाइते भएका छन्।
तस्बिरको क्याप्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए
समाजवादी मोर्चाको सभामा सहभागी हुन आएका मानिसहरू के भन्छन्?
भिडिओ क्याप्शन सुरु हुँदैछ, राजावादीसँग भन्दा सरकारसँगै बढी आक्रोश
माओवादी नेतृत्वमा विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चाले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको सभामा भाग लिन देशका विभिन्न स्थानबाट मानिसहरू आएका थिए।
बीबीसीले कुराकानी गरेर तयार गरेको यो भिडिओ हेर्नुहोस्।
तीनकुने र कोटेश्वर क्षेत्रमा 'लुटपाट'
तीनकुनेमा भएको राजावादीको आन्दोलन अनियन्त्रित बनेपछि त्यस क्षेत्रमा विभिन्न निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको स्थानीय प्रशासनका अधिकारीहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूका अधिकारीहरूले लुटपाट पनि भएपछि कर्फ्यू लगाउनु परेको जनाएका थिए।
विभिन्न सञ्चारमाध्यमहरूमा जनाइएअनुसार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि लुटपाट भएको छ।
सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडिओहरूमा एउटा भिड उक्त सुपरमार्केटभित्र प्रवेश गरेर त्यहाँका सुरक्षाकर्मीलाई आक्रमण गरिएको देखिन्छ।
उनीहरूले तोडफोड गरेर फलफूलदेखि लत्ताकपडासमेत लुटेर लगेको देखिन्छ।
'कोही ऋण मिनाहाको आशमा, कोही कुलमान घिसिङ बर्खासीको आक्रोशमा'
राजावादीहरूको प्रदर्शनमा भाग लिन आएका मानिसहरूसँग कमल परियारले कुराकानी गरेर तयार गरेको भिडिओ हेर्नुहोस्।
काठमाण्डूका केही क्षेत्रमा कर्फ्यू लगाउने निर्णय
काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको भन्दै कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले स्थिति नियन्त्रणमा लिनका लागि उक्त निर्णय गरेको हो।
काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बीबीसीसँग भने, "स्थिति नियन्त्रणमा लिनका लागि तीनकुने, सिनामङ्गल, कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।"
सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरूमा उक्त क्षेत्रमा प्रहरीले "कर्फ्यू समय सुरु हुन लागेको" भन्दै सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको भिडिओहरू पनि आएका छन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अपराह्ण ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ।
तस्बिर स्रोत, DAO Kathmandu
तस्बिरको क्याप्शन, जिप्रकाले जारी गरेको सूचना
तीनकुनेमा 'तोडफोड, आगजनी र लुटपाट'
नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले तीनकुने क्षेत्रको अवस्था अझै तनावग्रस्त रहेको बताएका छन्।
उनले राजसंस्था पक्षधर प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेको बताए।
“केही घाइते भएका छन्। आगजनी, तोडफोड, र लुटपाट भएको छ,” आचार्यले बीबीसीसँग भने।
“स्थिति अझैसम्म तनावग्रस्त छ।”
प्रचण्डको आशङ्का : 'ओली राजावादीसँग त मिलेका छैनन्?'
समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली राजावादीसँग
मिलेका त छैनन्? भन्ने प्रश्न गरेका छन्।
उनले भने, "अहिले उल्टो उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ
राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ हिजो पनि
कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो।"
उनले "बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको" आरोप लगाए।
प्रचण्डले ओलीलाई गणतन्त्रपछि रिस रहेको भन्दै उनले आफूलाई गणतन्त्रवादी भएको
पुष्टि गर्नु पर्ने बताए।
'विगतमा केही कमजोरी गरेकाले समस्या पैदा भए' : प्रचण्ड
तस्बिर स्रोत, Prachanda/FB/Screengrab
तस्बिरको क्याप्शन, सभालाई सम्बोधन गर्दै प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरूले
जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको बताएका छन्।
उनले आफूहरूले त्यसप्रति आत्मालोचना गर्नुपर्नेमा प्रचण्डको जोड छ। "हामी गणतन्त्रवादीले जनताका आशा/अपेक्षाअनुरूप काम गर्न नसकेकै
कारण इतिहासको कुडा-कर्कटमा पुर्याइएकाहरूले टाउको उठाएका हुन्।"
"हामी गम्भीर आत्मालोचना
गर्दै गल्तीबाट शिक्षा लिएर जनताका सम्पूर्ण जनताको पक्षमा लाग्छौँ।"
उनले नेपाली जनता र राजनेताको उदारतालाई उट्याउने कोसिस नगर्न चेतावनी दिए। उनले विगतमा गरेका गल्तीको फल अहिले उनले भोगिरहेको र थप गल्ती नगर्न पूर्वराजा
ज्ञानेन्द्र शाहलाई चेतावनी दिए।
उनले "सामन्ती निरङ्कूशता र दलाल पुँजीवादलाई पूर्ण रूपमा परास्त गर्नका लागि अर्को
क्रान्ति आवश्यक भएको" पनि बताए।
उनले गणतन्त्रवादीले केही गल्ती गरेकाले अरूले फाइदा उठाएको भन्दै अब सच्चिएर
आफूहरूले नयाँ क्रान्तिको नेतृत्व गर्ने दाबी गरे। उनले तीनकुनेमा "मण्डले अराजकता" फैलाएको र आगलागी गरेको भन्दै राजावादी प्रदर्शनकारीहरूको आलोचना पनि गरे।
अहिले पनि केपी शर्मा ओली उल्टो बाटो हिडेको बताए।
उनले कुलमानलाई हटाइएको विषयलाई उल्लेख गर्दै त्यो व्यक्तिको लडाइँ नभइ सुशासन
र कुशासनको लडाइँ भएको बताए।
गणतन्त्रको मर्म विपरीत सत्ताधारी 'बिचौलियाको मतियार' बनेको बताए।
उनले जनतामा अहिले देखिएको आक्रोशको समीक्षा गरेर लोकतन्त्रतर्फ फर्कँन आग्रह
पनि गरे।
जनतातर्फ नफर्किए "बिचौलियाको पछाडि लागिरहेमा"
अबको क्रान्तिको तारो सत्ताधारी दल र त्यसका नेता पर्ने चेतावनी पनि प्रचण्डले
दिएका छन्।
उनले आत्मआलोचनासहित मोर्चासँग सहकार्य गर्न पनि आग्रह गरे।
राजसंस्था र गणतन्त्र पक्षधर एकैपटक सडकमा आउँदा नेपाली राजनीतिले लिन सक्ने मोड
देशमा दुई ठूला परिवर्तन निम्त्याएका जनआन्दोलन सुरु भएको चैत महिनामा यस पटक गणतन्त्रवादी र राजतन्त्र पक्षधर शक्तिहरूले एकैदिन राजधानी काठमाण्डूका सडकमा शक्ति प्रदर्शन गर्दै छन्।
माओवादी नेतृत्वमा विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चाले 'परिवर्तन रक्षार्थ" र हिन्दू राष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै दुर्गा प्रसाई नेतृत्वको अभियानले "गणतन्त्र उल्ट्याउने" उद्देश्यमा सडकमा आएका छन्।
अहिले विकसित घटनाक्रमले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला? फणीन्द्र दाहालको रिपोर्ट पढ्नुहोस्।
तीनकुनेमा आगलागी, नियन्त्रणको 'प्रयास जारी'
राजावादीहरूको प्रदर्शन तथा सभास्थल रहेको काठमाण्डूको तीनकुनेस्थित एउटा निजी भवनमा आगलागी भएको छ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएकै बेला त्यहाँ आगलागी भएको हो।
प्रदर्शनकारीहरूले उक्त घरमा आगो लगाइदिएको दाबीसहितको विवरण पनि आएको छ तर त्यसको आधिकारिक
रूपमा पुष्टि हुन सकेको छैन।
"त्यहाँ आगलागी भएको छ, तर
प्रदर्शनकारीले दमकललाई जानका लागि रोकेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको
छ," काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अशोकुमार भण्डारीले बीबीसीसँग भने।
"सुरक्षाकर्मीले प्रदर्शनकारीलाई
नियन्त्रणमा लिएर आगो निभाउने प्रयास गरिरहेका छन्।"
उक्त क्षेत्रमा स्थिति केही तनावपूर्ण बनेको र अझै पनि झन्डै ५०० प्रदर्शनकारीहरूले
प्रहरीलाई ढुङ्गा हानिरहेको उनले बताए।