ज्ञानेन्द्र शाहको 'स्वागत'मा सडकमा 'ठूलो' भिड, सरकार भन्छ, 'दबाव महसुस गरेका छैनौँ'

ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरहरू उनलाई स्वागत गर्न भन्दै काठमाण्डू विमानस्थल आसपासका सडकमा जुटेका बेला राजसंस्थावादी नारा लागेका छन् भने सदन र सत्तामा रहेका नेताहरूले त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।

सरकारका प्रवक्ताले राजावादीहरूको यस गतिविधिलाई उनीहरूले आफ्नो "लोकतान्त्रिक अभ्यास गरेको" रूपमा बुझेको तर त्यसबाट आफूहरूले "कुनै दबाव महसुस नगरेको" बीबीसीलाई बताए।

"यस्ता र्‍यालीहरूले उग्र रूप लिँदै गएमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने सोच्न सकिन्छ। तर हामीले कुनै दबाव महसुस गरेका छैनौँ। नेपालमा राजतन्त्र फर्कने कुनै पनि सम्भावना छैन," सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बीबीसीसँग भने।

उनले भने, "प्रचण्ड कमरेड, सम्माननीय प्रधानमन्त्रीविरुद्धको नाराबाजी नियोजित छ। त्यो निश्चित योजनाअनुरूप भएको कुरा हामीले बुझेका छौँ र त्यहीअनुरूप नै हेरेका छौँ।"

राप्रपाका नेताहरूले गणतन्त्रवादी र राजतन्त्रवादीहरू 'नवीन समझदारी'मा जानुपर्ने माग गरिरहेका पाइन्छन्।

तर मन्त्री गुरुङ भन्छन्, "राजतन्त्रका विषयमा कुनै पनि कुरा हुँदैन।"

त्यसै गरी आइतवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभाजित गर्ने प्रयास गरेको आरोप लगाए।

राजनीतिशास्त्री कृष्ण पोखरेल राजतन्त्रको मुद्दा उठाइरहेका दलहरूको चुनावहरूमा देखिएको लोकप्रियताको मापनका आधारमा 'सामान्य अवस्थामा राजतन्त्र फर्किने सम्भावना नभए तापनि यसले अहिलेको शासन व्यवस्था पूर्णत: सुरक्षित भएको सङ्केत समेत नगर्ने' बताउँछन्।

"यस्तो अवस्था आउनुपछाडिका कारणलाई राम्रोसँग व्यवस्थापन गर्न नसके देश अराजकता र अस्तव्यस्तताको बाटोमा जान सक्छ," पोखरेल भन्छन्।

समर्थकको भिड

झन्डै एक महिना पोखरामा बिताएका शाह आइतवार अपराह्न काठमाण्डू फर्कँदा उनलाई स्वागत गर्न भन्दै राजतन्त्र पक्षधरहरूको भिड लागेको थियो।

पछिल्ला सातामा उनले पोखरामा उनले आफ्ना दाजु राजा वीरेन्द्रको सालिक अनावरण गर्नुका साथै पोखरा, बाग्लुङ र स्याङ्जाका मठमन्दिरहरू दर्शन गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको उक्त आयोजनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल', राप्रपा-नेपाल लगायतका विभिन्न समूहहरू सहभागी भएका छन्।

काठमाण्डूका विभिन्न ठाउँबाट जुटेका उनीहरू विमानस्थलबाहिरको चक्रपथको बाटोमा भेला हुँदा त्यसतर्फको यातायात प्रभावित भएको छ।

पूर्वराजा ज्ञानेन्द्र

उनको घर निर्मल निवाससम्म सडक वारपार समर्थकहरू जुटेर स्वागत गर्ने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन्।

त्यस क्षेत्रसहित राजधानीका धेरैतिर सडक आउजाउ अस्तव्यस्त बनेको छ भने अवस्था बिथोलिन नदिनका लागि भन्दै सयौँका सङ्ख्यामा प्रहरी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

विमानस्थल परिसरभित्र यात्रुहरूलाई मात्र प्रवेश गर्न दिइएको थियो।

विगत केही दिनमा पोखराबाहेक हालै धनगढी, बुटवल, भरतपुरजस्ता देशका विभिन्न भागमा राजतन्त्र पक्षधहरूले जुलुसहरू आयोजना गरेका थिए।

'नवीन समझदारी'का लागि आह्वान

ज्ञानेन्द्र शाह

निर्मल निवासअगाडि सम्बोधन गर्दै राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले दलहरूलाई 'नवीन समझदारी'का लागि आह्वान गरे।

त्यसरी अहिलेकै संविधानमै टेकेर राजा फिर्ता गर्न सकिने उनको तर्क थियो।

"नवीन सम्झौता गरेर संविधानमा राजा राखौँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँ," शाहीले भने।

सङ्केत

ज्ञानेन्द्र शाह

राजनीतिशास्त्री कृष्ण पोखरेल देश गणतान्त्रिक बनेयताका सरकारको 'डेलिभरी' र जनअपेक्षाबीच रहेको खाडलले यस्तो माहोल बनाइरहेको टिप्पणी गर्छन्।

"तत्काल पर्न सक्ने दबाव भनेको मूलधारका दलहरूप्रतिको विश्वास खस्किन सक्छ र त्यसलाई अन्य कुनै दलले विस्थापित गर्न सक्ने सम्भावना रहन्छ। त्यसैले अहिलेका मुख्य दलहरूले असन्तुष्टिलाई विश्वासिलो तरिकाले व्यवस्थापन गर्नुपर्ने चुनौती छ," पोखरेल भन्छन्।

"विगतलाई हेर्दा यी दलहरूलाई विश्वास गर्न सकिने अवस्था देखिँदैन, जसले गर्दा यसलाई राम्रोसँग व्यवस्थापन नगर्दा अराजकताको बाटोतर्फ जाने भय चाहिँ छ।"

राजनीतिक रूपमा यस्तो विकास क्रमको लाभ राप्रपाले भन्दा नयाँ शक्तिहरूले उठाउन सक्ने उनी ठान्छन्।

"तर राजतन्त्र पक्षधर पार्टी र पूर्वराजाका बीचमा कस्तो समझदारी बन्दै जान्छ भन्नेले पनि यसको असर देखिन सक्छ," उनको भनाइ छ।

प्रधानमन्त्रीको 'राजालक्षित' टिप्पणी

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

काठमाण्डूमा पूर्वराजाको 'समर्थन'मा जुलुस भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै थिए।

त्यहाँ उनले पूर्वराजाले प्रजातन्त्र दिवसका दिन गरेको सम्बोधनको प्रसङ्ग उठाउँदै ज्ञानेन्द्र शाहले त्यसमा 'संविधान, कानुन, लोकतन्त्र, प्रणाली र प्रक्रियाको कुरा नगरेको' भन्दै आफू अचम्भीत बनेको बताए।

"मलाई साथ दिनुस् म आउँछु देश बचाउँछु…देश के भएको छ? वहाँहरूका यस्ता अस्थिरताका क्रियाकलापहरूले…वहाँहरूद्वारा प्रेरित अराजक क्रियाकलापहरूले देश अप्ठेरोमा पर्दै छ," ओलीको भनाइ थियो।

"राजनीतिमा आउने हो भने हामी स्वागत गर्छौँ त। आउनुस्।…केमा साथ माग्नुभएको? बुझिएन।"

उनले अनेक नाममा जनताको मनलाई भाँड्ने, विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाए।

सत्ता-प्रतिपक्षको प्रतिक्रिया

गृहमन्त्री रमेश लेखकले आइतवार बिहान आन्दोलन वा क्रान्तिबाट फालिएका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास कमै देखिने गरेको भन्दै ज्ञानेन्द्र शाहलाई 'नहौसिन' आग्रह गरे।

"केही मानिसहरू गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइरहेका छन् र त्यो भ्रमले राजाले पनि हौसिन जरुरी छैन," आइतवार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले भने।

"हाम्रो लोकतन्त्र यति संयमित, यति परिष्कृत, यति उदार र यति सहिष्णु छ कि जनताले फालिसकेको राजसंस्थाका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिरख्नुभा'छ।"

ज्ञानेन्द्र शाह

पूर्वराजा-केन्द्रित गतिविधि बढिरहँदा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डको नेतृत्वमा जारी पूर्वपश्चिम अभियान रोकेको छ।

रौतहट पुगेर रोकिएको उक्त दलको सुरुमा एक महिने हुने भनिएको हुलाकी मार्गकेन्द्रित अभियानको फेरि अर्को तालिका बनाइने भनिए तापनि त्यसबारे स्पष्ट पारिएको छैन।

तर आइतवार बीबीसीसँग कुरा गर्दै उक्त दलका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू राजा पक्षधरहरूका घटनाबाट "सशङ्कित नभएको" तर यतिखेर "परिवर्तनका पक्षधरहरूको साझा राष्ट्रिय दृष्टिकोण हुनुपर्ने" प्रतिक्रिया दिएका छन्।

"परिवर्तनका पक्षधरहरूले आआफ्ना विचार सिद्धान्त हुँदाहुँदै पनि एउटा साझा धारणा निर्माण गर्न पर्छ भन्ने कुरा हाम्रो हो।"

सदनमा चिन्ता

राजा ज्ञानेन्द्र

आइतवार राष्ट्रिय सभामा समेत राजतन्त्र पक्षधरहरूका गतिविधिबारे सांसदहरूले कुरा उठाएका छन्।

नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राईले मसानघाटमा पुर्‍याएको "राजतन्त्र कुर्लिरहेको" भन्दै त्यसले "खतरा र राजनीतिक अस्थिरता" फैलिरहेको बताइन्।

"हरेक ठाउँमा अनावश्यक नाराहरू गुन्जिरहेको छ। त्यस कारणले यसमा हामी सबै सजग बन्नुपर्छ," सांसद राईले भनिन्।

अर्का सांसद मोहम्मद खालिदले पूर्वराजाका कार्यक्रमलाई उद्धृत गर्दै सरकारले आफ्नो "दायित्व पूरा गरोस्" र "राजनीतिक दलहरूले आफ्नो पोजिशन क्लिअर गरून्" भने।

"विगतका सरकार र अहिलेका सरकारका केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्‍याउनै पर्छ," जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद खालिदले भने।

बिहीवार एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई आफू लोकप्रिय रहेको लागेका भए "चुनाव लड्नुस्...पार्टी खोल्नुस्" भन्दै सुझाएका थिए।

"कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्। संविधान अनुसार आउनुस्," महोत्तरीमा गतसाता ओलीले भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।