पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डूमा, सडकमा समर्थकहरूको भिड

- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले बताएअनुसार पूर्वराजा सवार विमान ३ बजेर ५२ मिनेटमा अवतरण गरेको हो।
पोखराबाट हिँड्नुअघि समर्थकहरूले विमानस्थलमा उनको बिदाइ गरेका थिए।
पूर्वराजा शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेता विमानस्थल पुगेका थिए।
शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला भएका थिए।
पूर्वराजा सवार गाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिसकेको छ। गाडीबाटै उनले सडक दायाँबायाँ रहेका मानिसहरूलाई हात हल्लाएर अभिवादन गरिरहेका छन्।
प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी गरेका थिए।
विमानस्थलको सुरक्षा संवेदनशीलता स्रोतलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ठूलो सङ्ख्यामा समर्थक तथा शुभेच्छुकहरू स्वागत र्यालीमा सहभागी भइरहेका छन्।
राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्।
केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किएका हुन्।
उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन नदिने हिसाबले सामान्य दिनको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले बीबीसीलाई बताएका हुन्।
'मुस्कान साटासाट भयो'
पूर्वराजा शाह काठमाण्डू फर्केपछि विमानस्थलको विशिष्ट कक्षमा राजसंस्था पक्षधर नेताहरू राजेन्द्र लिङ्देन, कमल थापा, पशुपति समशेर जबरा र प्रकाशचन्द्र लोहनीले भेटेका थिए।
पूर्वराजा शाहले ती नेताहरूसँग सङ्क्षिप्त कुराकानी गरेका थिए। तर पछिल्ला विकासक्रमबारे त्यस्तो कुनै कुराकानी नभएको लोहनीले बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिए।
"हामीले उहाँको स्वागत गर्यौँ। वी एक्सचेन्ज्ड स्माइल्स [हामीले मुस्कान साटासाट गर्यौँ]," उनले भने।
सुरक्षा तयारी कस्तो छ?

काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कार्यक्रमलाई ध्यानमा राखी सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको बताए।
"जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएर जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ," बीबीसीसँग उनले भने।
"सुरक्षा व्यवस्थालाई लिएर त्यस्तो कुनै समस्या छैन। तर पनि सुरक्षा एलर्ट चाहिँ छ।"
काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत र्यालीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएरै प्रहरी परिचालन गरिएको बताए।
"र्यालीको रूपमा ठूलो सङ्ख्यामा मानिसहरू आउँदा कुनै अवाञ्छित गतिविधि हुन सक्ने, ट्राफिक व्यवस्थापनमा असर पर्न सक्ने भएकाले कुनै अवाञ्छित गतिविधि नहोओस् भनेर सुरक्षा योजना बनाएरै हामीले प्रहरी परिचालन गरेका छौँ," उनले भने।
सामान्य दिनको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी गराए।
"आवागमनमा अवरोध, पक्षविपक्षबीच झडप हुन सक्ने थ्रेट हामीले महसुस गरेर नेपाल प्रहरीका मात्र १,१३४ जना प्रहरी परिचालन गरेका छौँ," खनालले भने।
ट्राफिक प्रहरीले ठूलो सङ्ख्यामा सहभागिता भए सवारी आवागमनमा त्यसको असर पर्न सक्ने जनाएको छ।
"स्वागत र्याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज हुँदै निर्मल निवास पुग्ने जानकारी हामीले पाएका छौँ," काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले बीबीसी न्यूज नेपालीसँग भने।
खास गरी तीनकुनेबाट ज्ञानेश्वरसम्मको रूटमा आफूहरूले ट्राफिक एलर्ट गराएको उनले बताए।
"स्वागतमा पूर्वराजाका शुच्छेक, समर्थकहरू सहभागी हुने भएर ट्राफिकमा त्यसको असर पर्छ। त्यो भएर उल्लिखितबाहेकका रूट प्रयोग गर्दा सहज हुन्छ।"
ट्राफिक प्रहरीका अनुसार उक्त कार्यक्रमका कारण काठमाण्डू उपत्यकामा सवारी आवागमन अस्तव्यस्त बनेको छ।
आयोजक के भन्छन्?

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार गौशालासम्म समर्थक तथा शुभेच्छुकहरू पूर्वराजा शाहको स्वागतार्थ सडकका दायाँबायाँ उभिने छन्।
"त्यहाँबाट राजाको स्वागतमा हामी सबै सवारीको पछिपछि र्यालीसहित निर्मल निवाससम्म पुग्ने छौँ," उनले थपे।
स्वागतमा सहभागी हुन "कुनै दलविशेष नभनी सम्पूर्ण राष्ट्रभक्त नागरिकहरू" लाई आफूहरूले अपिल गरेको सांसद शाहीले बताए।
बलिवूड अभिनेत्री मनिषा कोइरालाले पनि स्वागत कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेकी छन्।
"आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोधः आज पोखराबाट सरकारको काठमाण्डू सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ,"सामाजिक सञ्जाल फेसबुकमा आइतवार बिहान उनले लेखेकी छन्।
आयोजकहरूले स्वागत कार्यक्रममा राजसंस्था पक्षधर दल तथा समूहका मात्रै नभई गणतन्त्र पक्षधर दलका कार्यकर्ताहरू पनि सहभागी भएको दाबी गरेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल" पनि सहभागी भएको छ।
प्रसाईले आइतवारको कार्यक्रमलाई सफल बनाउन आफ्ना समर्थकहरूलाई अपिल समेत गरेका छन्।
सोही कार्यक्रमलाई मध्यम नजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवारका लागि काठमाण्डूका लागि पूर्वनिर्धारित आमसभा समेत स्थगित गरिसकेको छ।
राजसंस्था पक्षधर शक्तिहरूले राजसंस्था पुनर्स्थापना र हिन्दू अधिराज्य कायम गराउने दिशामा आफूहरू "अन्तिम धक्का" दिने तयारीमा रहेको बताइरहेका छन्।
त्यसका लागि उक्त अजेन्डामा सहमत देखिएका सबै दल तथा समूहहरूबीच सहकार्य गर्ने तयारी पनि गरिरहेको उनीहरूले बताएका छन्।
अर्कोतर्फ गणतन्त्र पक्षधर दल तथा विश्लेषकहरूले राजसंस्था पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








