दक्षिण कोरियामा धावनमार्गको छेउमा 'विमान ठोकिने' पर्खाल किन

तस्बिर स्रोत, Reuters
- Author, डेभिड मर्सर
- Role, बीबीबी न्यूज
उड्डयन विज्ञहरूले दक्षिण कोरियामा विमानस्थलको धावनमार्ग नजिकैको एउटा "अस्वाभाविक" कङ्क्रिट बार र १७९ जना मानिसहरूको ज्यान जाने गरी भएको विमान दुर्घटनाबारे प्रश्न उठाएका छन्।
गत आइतवारको विमान दुर्घटनापछि सार्वजनिक भएका दृश्यहरूमा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एअरको विमान धावनमार्गबाट बाहिर पुगेको र एउटा बारमा ठोक्किएपछि आगोको ज्वाला देखिन्छ।
दक्षिण कोरियाकै सबैभन्दा घातक विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले उक्त घटनामा धावनमार्गको अन्तिम भागभन्दा २५० मिटर पर बनाइएको एउटा कङ्क्रिट बार रहेको स्थानको भूमिकाबारे पनि जाँचबुझ गरिरहेका छन्।
दुर्घटनामा पर्खालको भूमिका

हवाई सुरक्षा विज्ञ डेभिड लिअर्माउन्ट उक्त अवरोधक त्यहाँ नभएको भए "विमानमा सवार सबैजना जीवितै रहन सक्ने सम्भावना रहेको" बताउँछन्।
हालसम्म प्राप्त जानकारीअनुसार पाइलटले विमान चरसँग ठोक्किएको जानकारी गराउँदै अवतरणका लागि निर्धारित धावनमार्गभन्दा विपरीत दिशाबाट अवतरणका लागि अनुमति मागेका थिए।
त्यसपछि विमान धावनमार्ग भन्दा २,८०० मिटर परबाट तल आएको थियो र अवतरणका लागि प्रयोग गरिने चक्का वा ल्यान्डिङ गिअरबिनै अवतरण गरेको थियो।
लिअर्माउन्ट गिअरबिनै जमिनको सतह छुँदासम्म विमानको अवतरण त्यस अवस्थामा हुन सक्ने प्रक्रियाअनुरूप नै भएको बताउँछन्।
उनका अनुसार विमानका पखेटाको स्तर र अग्रभागको अवस्था ठिक थिएन अनि धावनमार्गमा घस्रिँदासम्म पनि विमानमा ठोस क्षति भएको थिएन।
"यति धेरै मानिसहरूको मृत्युको कारण विमानको अवतरण गर्ने तरिका होइन। तर वास्तविकता के हो भने धावनमार्गको अन्तिम भाग कट्ने बित्तिकै विमान अत्यन्तै कडा अवरोधकमा ठोक्कियो," उनले भने।
म्युनिखस्थित लुफ्थान्साका पाइलट क्रिश्चन बेकर्टले रोएटर्स समाचारसंस्थासँग उक्त कङ्क्रिटको संरचनालाई "अस्वाभाविक' भनेका छन्।
"साधारणतया विमानस्थलमा धावनमार्गको अन्तिममा पर्खाल हुँदैन," उनी भन्छन्।
पर्खाल किन

उक्त कङ्क्रिट संरचनामा 'लोकलाइजर' भनिने न्याभिगेशनको प्रणाली रहेको र यसले विमानलाई अवतरणका लागि सहयोग गर्ने दक्षिण कोरियाको योन्हाप समाचारसंस्थाले जनाएको छ।
योन्हापका अनुसार लोकलाइजरलाई धावनमार्गकै तहमा राख्दा राम्रोसँग काम गर्ने भएका कारण चार मिटर अग्लो उक्त पर्खाल उठाइएको थियो।
दक्षिण कोरियाको यातायात मन्त्रालयले देशको अन्य भागका विमानस्थल र विदेशका केही विमानस्थलहरूमा पनि कङ्क्रिट संरचनामै यस्ता उपकरणहरू राख्ने गरिएको जनाएको छ। तर अधिकारीहरूले ठक्करको क्रममा सहजै भाँचिने किसिमका हलुका वस्तुबाट यस्तो बार बनाउन सकिने सम्भावनाबारे जाँचबुझ गरिने बताएका छन्।
दुर्घटनामा परेको जस्तै विमान उडाएका र ४८ वर्ष कार्यानुभव भएका पाइलट क्रिस किङ्सवूडले बीबीसी न्यूजसँग भने, "धावनमार्गभन्दा निश्चित दूरीसम्मका अवरोधकहरू कमजोर वस्तुबाट बनेका हुनुपर्छ। त्यसको अर्थ यदि ठोक्किए ती सहजै भाँचिऊन्।"
"यस्तो कडा संरचना अस्वाभाविक देखिन्छ। मेरो बुझाइमा उक्त विमान तीव्र गतिमा थियो..धावनमार्गको अलि अगाडि अवतरण भएको थियो त्यसकारण धावनमार्ग कटेर केही परसम्म जान सक्थ्यो…त्यसो भए त्यहाँ कुनै सीमारेखा कोर्ने? त्यस कारण यो विषय अनुसन्धान हुनुपर्छ।"

"विमानहरू बलियो संरचनाबाट बनेका हुँदैनन्। तिनीहरू उडानका लागि उपयुक्त किसिमले डिजाइन गरिएका हुन्छन्। तिनीहरूको 'बडी' उच्च गतिका लागि बनाइएको हुँदैन। त्यसकारण कुनै पनि संरचनासँगको ठक्करले विमान टुक्रिन सक्छ र त्यो विनाशकारी हुन सक्छ।
"विमानको इन्धन पखेटाको भागमा राखिएको हुन्छ, त्यसकारण पखेटा चर्किएपछि आगो लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले यदि त्यहाँ पर्खाल नभएको अवस्थामा नतिजा पूर्णतया फरक हुन्थ्यो भन्न सकिँदैन।
किङ्ग्सवूड उक्त विमानस्थलले यो क्षेत्रको सबै मापदण्ड पूरा नगरेको पाइए पनि आफू अचम्ममा नपर्ने बताउँछन्।
"मलाई के लाग्छ भने हामी ठूला अन्तर्राष्ट्रिय विमानस्थलको एअरफील्डवरिपरि गयौँ भने हामीले अवरोध पुर्याउन सक्ने धेरै अवरोधहरू भेट्टाउने छौँ," उनी थप्छन्।
पाइलट कति जानकार?

उड्डयन विश्लेषक स्याली गेथिन विमानका पाइलटलाई त्यहाँ अवरोध भएको थाहा रहे वा नरहेकोबारे प्रश्न गर्छिन्। विमान साधारणभन्दा विपरीत दिशाबाट अवतरण भइरहेका कारण पनि त्यो महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
"हामीलाई के जान्न आवश्यक छ भने के (पाइलटहरू)लाई अन्तमा यो कडा बार थियो भन्ने थाहा थियो?
"यदि उनीहरूलाई कन्ट्रोल टावरले दोस्रो पटक धावनमार्गको प्रयोग परिवर्तन गर्न निर्देशन दिएको थियो भने त्यो ब्ल्याक बक्सहरूको अनुसन्धानमा बाहिर आउनुपर्छ।
"मलाई त्यहाँ धेरै प्रश्नहरू छन् भन्ने लाग्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








