के दक्षिण कोरियामा चरा ठोकिएरै 'इतिहासकै सबैभन्दा घातक' विमान दुर्घटना भएको हो

तस्बिर स्रोत, EPA
आइतवार बिहान दक्षिण कोरियामा १७९ मानिसको ज्यान जाने गरी भएको विमान दुर्घटनालाई उक्त देशको इतिहासकै सबैभन्दा घातक मानिएको छ।
उक्त विमान दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रमा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लेर बाहिरी क्षेत्रमा रहेको पर्खालमा ठोकिएको थियो।
थाईल्यान्डको ब्याङ्ककबाट उडेको विमानमा चालकदलका सदस्यहरूसहित १८१ जना रहेकामा १७९ जनाको निधन भएको पुष्टि भएको छ। चालकदलका दुई सदस्यलाई विमानको भग्नावशेषबाट उद्धार गरिएको थियो।
घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् तर अग्निनियन्त्रकहरूले चरासँग ठोकिएर विमान दुर्घटनामा परेको हुनसक्ने सङ्केत गरेका छन्। यसमा खराब मौसमको पनि केही भूमिका हुन सक्ने उनीहरूको आकलन छ।
के चरा ठोकिएरै दक्षिण कोरियामा विमान दुर्घटना भएको हो त? दुर्घटनाका कारणबारे हामीलाई केके थाहा छ?
दुर्घटनाअघिको परिदृश्य

तस्बिर स्रोत, Getty Images
जेजु एअरलाई कोरियामा सस्तो दरका ('बजेट') विमानसेवाहरूमध्ये सबैभन्दा लोकप्रिय मानिन्छ। यसैले सञ्चालन गरेको र उडान नम्बर ७सी२२१६ भएको बोइङ ७३७-८०० विमान दुर्घटनामा परेको हो।
उक्त विमान स्थानीय समयअनुसार बिहान ९ बजे (जीएमटी ००:००मा) मुआन आइपुगेको थियो।
दक्षिण कोरियाका एक यातायात अधिकारीका अनुसार उक्त विमान अवतरण गर्ने प्रयासमा थियो तर एअर ट्राफिक कन्ट्रोलरले चरा ठोकिन सक्ने चेतावनी दिएपछि विमानचालक रोकिएका थिए।
त्यसको झन्डै दुई मिनेटमा चालकले सहयोगको आग्रह ("मेडे") सहितको आपतकालीन सन्देश प्रवाह गरे। त्यसपछि ट्राफिक कन्ट्रोलरले उनलाई विपरीत दिशाबाट अवतरण गराउन अनुमति दिए।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित एक समाचारअनुसार एक यात्रुले विमानभित्रैबाट आफ्ना आफन्तलाई सन्देश पठाउँदै विमानको पखेटामा चरा ठोकिएको हुनाले विमानले अवतरण गर्न नसकेको जानकारी दिएका थिए।
एउटा भिडिओमा विमानले चक्का तथा अन्य कुनै 'ल्यान्डिङ गिअर'को प्रयोग नगरी अवतरणको प्रयास गरेको देखिएको थियो। त्यस क्रममा यो धावनमार्गभन्दा बाहिर चिप्लियो र पर्खालमा ठोकियो। त्यसपछि त्यहाँ आगलागी भयो।
दक्षिण कोरियाली समाचारसंस्था योन्हापलाई एक प्रत्यक्षदर्शीले बताएअनुसार उनीहरूले "विस्फोटनको शृङ्खला"अघि "ठूलो स्वरमा केही पड्किएको" सुनेका थिए।
टेलिभिजनमा प्रसारित एक ब्रीफिङमा मुआनको अग्निनियन्त्रण विभागका प्रमुख ली छङ-यूनले बताएअनुसार आगलागीपछि विमानको पछाडिपट्टिको भाग मात्र पहिचान गर्न सकिने अवस्थामा फेला परेको थियो।

उनका अनुसार चरा ठोकिएर तथा खराब मौसमका कारण उक्त दुर्घटना भएको हुन सक्छ तर खास कारणबारे अझै अनुसन्धान जारी छ।
अनुसन्धानका लागि उडानका क्रममा चालकदलका सदस्यहरूको कुराकानीको रेकर्ड दुर्घटनाग्रस्त विमानबाट निकालिसकिएको छ।
योन्हाप समाचारसंस्थाका अनुसार जेजु एअरका व्यवस्थापन प्रमुखले दुर्घटनाका पछाडि "मर्मतसम्भारसम्बन्धी कुनै खराबी" नरहेको बताएका छन्।
दक्षिण कोरियाको यातायात विभागका अनुसार विमानका 'हेड पाइलट' सन् २०१९ देखि उक्त भूमिकामा थिए। उनीसँग ६,८०० घण्टाभन्दा बढीको उडान अनुभव थियो।
चरा ठोकिएर हुने विमान दुर्घटना
विमानमा चरा ठोकिने घटना नौला होइनन्। यूकेमा सन् २०२२ मा १,४०० भन्दा बढी सङ्ख्यामा यस्ता घटना भएको त्यहाँको नागरिक उड्डयन निकायको तथ्याङ्क छ।
तर तीमध्ये झन्डै १०० घटनामा मात्र यसले विमान तथा उडानलाई असर गरेको छ।
सन् २००९ मा भएको एउटा घटनालाई चरा ठोकिएर हुने विमान दुर्घटनामध्ये चर्चित मानिन्छ। त्यति बेला हाँसको एउटा बथानसँग ठोकिएपछि एउटा एअरबस न्यूयोर्कको हड्सन नदीमा खसेको थियो। त्यस घटनामा विमानमा भएका १५५ यात्रु र चालकदलका सदस्य सबै बाँचेका थिए।
अस्ट्रेलियाको सीक्यू विश्वविद्यालयस्थित उड्ययन विषयका प्राध्यापक डोग ड्रुरीले 'द कन्भर्सेशन'मा लेखेको एक आलेखअनुसार बोइङ विमानहरूमा 'टर्बोफ्यान इन्जिन' हुन्छ र चरासँग ठोकिँदा त्यसमा नराम्रोसँग क्षति पुग्छ।
बिहानीपख वा सूर्यास्तका बेला चराहरू सक्रिय हुने हुँदा चालकहरू अझ सचेत हुनुपर्ने उनको सुझाव छ।

तस्बिर स्रोत, EPA
क्षति कति?

विमानमा १७५ यात्रु र चालकदलका छ सदस्य थिए। तीमध्ये दुई जना यात्रु थाई र बाँकी सबै दक्षिण कोरियाली भएको अधिकारीहरूले बताएका छन्।
धेरैजसो यात्रु थाईल्यान्डमा क्रिसमस बिदा मनाएर फर्किरहेको बुझिएको छ।
मृतकमध्ये पाँच जना १० वर्षमुनिका बालबालिका थिए। सबैभन्दा कम उमेरका यात्रु एक तीनवर्षे बालक थिए भने सबैभन्दा पाको उमेरका ७८ वर्षका।

तस्बिर स्रोत, Getty Images
एक महिला र एक पुरुष गरी चालकदलका दुई सदस्यको भने जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। उनीहरू विमानको पछाडितिर बसेका बताइएको छ।
हालसम्म ८८ जना मृतकको पहिचान भएको छ। बाँकी शवहरूको खोजी अझै जारी छ।
दुर्घटनास्थलमा ४९० अग्निनियन्त्रक र ४५५ प्रहरीसहित १,५०० भन्दा बढी आपत्कालीन सेवाका कर्मचारीहरू परिचालन गरिएको छ।

दुर्घटनास्थलमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ-मुक पनि पुगेको राष्ट्रपतीय कार्यालयले जनाएको छ।
उनले जनशक्ति, स्वास्थ्य सेवा र उपकरण उपलब्ध गराएर उद्धार प्रयासलाई सहयोग गर्न निर्देशन दिएको उनको कार्यालयले जनाएको छ।
सरकारले शोकसन्तप्त परिवारलाई सकेको सहयोग दिने जनाएको छ।
सो दुर्घटनापछि जेजु एअरले माफी मागेको छ।
एउटा विज्ञप्तिमा उसले भनेको छ, "हामी जेजु एअर मुआन विमानस्थलमा भएको यो घटनामा क्षति व्योहोरेका सबैसँग शिर निहुराएर माफी माग्छौँ।"
"यो घटनापछि हाम्रोतर्फबाट गर्न सकिने सबै थोक हामी गर्छौँ। यो पीडाप्रति हामी क्षमा माग्छौँ," जेजु एअरले भनेको छ।
सन् २००५ मा स्थापित जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








