तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मैले यो दिन आउला भनेर सोचेकै थिइनँ:' १८ वर्ष लामो पर्खाइ पछिको विजयले यसरी भावुक भए विराट कोहली
- Author, माइक पिटर
- Role, बीबीसी खेल सम्वाददाता
पञ्जाब किङ्ग्स टोलीविरुद्ध ६ रनको जितसँगै विराट कोहलीले रोयल च्यालेन्जर्स बङ्गलुरु (आरसीबी)का निम्ति इन्डियन प्रिमिअर लीग (आईपीएल)को पहिलो उपाधि जितेका छन्।
यी ३६ वर्षीय विख्यात भारतीय एक मात्र यस्ता खेलाडी रहे जसले आईपीएलको हरेक संस्करणमा एउटै टोलीको प्रतिनिधित्व गरे, अनि यो वर्षको फाइनलमा समेत ४३ रन बनाएर टोलीले २० ओभरमा बनाएको ९ विकेटको क्षतिमा १९० रनमा आरसीबीका लागि उच्च योगदान गरे।
आईपीएलको पहिलो उपाधिकै लागि सङ्घर्ष गरिरहेको पञ्जाब किङ्ग्स टोलीले आरसीबीको स्कोर पछ्याउन सकेन र ७ विकेटको क्षतिमा केवल १८४ रनमात्र बटुल्न सक्यो।
भावुक भए कोहली
"मैले यो दिन आउला भनेर सोचेकै थिइनँ," कोहलीले भने। "यो मेरो लागि एकदमै अर्थपूर्ण छ। मैले यो टोलीका लागि मेरो सम्पूर्ण ऊर्जा दिएको छु। अन्तत: आईपीएल जित्नु गजबको अनुभूति हो।"
"यो जित जति टोलीका लागि हो त्यति नै हाम्रा प्रशंसकहरूका लागि हो," कोहलीले भने।
"१८ वर्ष भएको थियो। मैले यो टोलीका निम्ति मेरो जवानी, मेरो सर्वश्रेष्ठ क्षमता र मेरो अनुभव सबै दिएको छु। हरेक सिजनमा जितका लागि समर्पित भएको छु।"
"(आज) अन्तिम बलपश्चात् म भावविभोर हुन पुगेँ।"
कोहलीले उनको पहिलो आईपीएल खेल आरसीबीका तर्फबाट सन् २००८ को एप्रिलमा भएको पहिलो आईपीएल संस्करणमा खेलेका थिए।
त्यतिखेर जम्मा १९ वर्षका कोहली १ रनमा आउट भए। तर त्यस यता उनले गत १८ वर्षमा आरसीबीका लागि हरेक खेलमा ३९.५४ को औसतमा ८,६६१ रन बटुले जसमा ८ शतक अनि ६३ अर्धशतक पर्छन्।
यसअघि तीनपटक फाइनलमा पुगेर पनि उनले पराजयको सामना गर्नु परेको थियो – सन् २००९ मा डेक्कन चार्जर्ससँग, सन् २०११ मा चेन्नई सुपर किङ्ग्ससँग, अनि सन् २०१६ मा सनराइजर्स हैदरावादसँग।
सन् २०१३ देखि सन् २०२१ सम्म उनी आरसीबीका कप्तान पनि रहे।
पछिल्ला वर्षहरूमा कोहलीले निरन्तर गतिलो प्रदर्शन गर्दै आएका छन्। गत तीन सिजनमा उनले औसत ५० रन बटुलेका थिए भने यो वर्ष त उनको औसत ५४.७५ रन रह्यो।
आईपीएलका २६७ वटा खेलपश्चात् अन्तत: कोहलीले उपाधि उचालेका छन्।
बितेको १२ महिनामा उनले जितेको यो तेस्रो उपाधि पनि हो – सन् २०२४ को टि ट्वेन्टी विश्वकप र सन् २०२५ को च्याम्पिअन्स ट्रफीसहित।
कोहलीले भने: "अरूसँग रहेर जित्नुभन्दा यो निकै विशेष रह्यो किनभने मेरो हृदय बङ्गलुरुमा थियो र आत्मा बङ्गलुरुमा थियो। मैले भनेको पनि छु मैले आईपीएल खेल्ने आखिरी दिनसम्म यही टोलीका निम्ति खेल्छु।"
"मलाई ठूला प्रतियोगिता, ठूला अवसरहरूमा जित्न असाध्यै मनलाग्छ। यो एउटा उपाधि मैले जित्न सकेको थिइनँ। अब म एउटा बच्चाजस्तै (मस्त) निदाउँछु।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।