लेबननमा 'स्थल आक्रमण' गर्नसक्ने इजरेली सेना प्रमुखको भनाइ, अस्थायी युद्धविरामको प्रयासमा फ्रान्स र अमेरिका

इजरेली सेना प्रमुखले लेबननमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई “शत्रुको भूभाग प्रवेश” गर्ने बाटो खुला गर्न सक्ने बताएका छन्।

लेफ्टिनेन्ट जेनरल हेजरी हालेभीले भने: "तपाईँले आकाशमा जेटका आवाज सुनिरहनु भएको छ; हामी दिनभरि हमला गरिरहेका छौँ। त्यो त्यहाँ सम्भावित प्रवेश र हिज्बुल्लाहलाई कमजोर पार्ने दुवै कुराका लागि आधार तयार पार्न हो।"

लेबननका स्वास्थ्यमन्त्रीले बुधवार भएका हमलामा ५० जनाभन्दा धेरै मानिसहरू मारिएको जनाएका छन्।

जसलाई इजरेली सेनाले हिज्बुल्लाहको गुप्तचर निर्देशनालयका साथै लन्चर र अस्त्र भण्डारहरूमा गरिएको हमला बताएको छ।

चर्किरहेको परिस्थितलाई मत्थर पार्नका लागि कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन्।

इजरेली सेना प्रमुखले थप के भने?

लेबननमा स्थल अतिक्रमण तत्काल हुनसक्ने लेफ्टिनेन्ट जेनरल हालेभीको अभिव्यक्ति वरिष्ठ इजरेली अधिकारीबाट आएको पछिल्लो प्रस्ट सङ्केत हो।

“हामीले जहाँतहीँ उनीहरूलाई हमला र प्रहार गरिरहेका छौँ,” उनले इजरेलको उत्तरी सीमा सैन्य अभ्यास गर्न लागेका सैनिकहरूलाई सम्बोधन गर्दै बताएको इजरेली सेनाले आफ्नो एक विज्ञप्तिमा जनाएको छ।

“उत्तरका बासिन्दालाई सुरक्षित रूपमा फिर्ता ल्याउने लक्ष्य निकै प्रस्ट छ। त्यो हासिल गर्नका लागि हामी प्रक्रिया सुरु गर्ने तयारीमा छौं । यसको अर्थ तपाईँका सैन्य बुट...शत्रुका इलाकामा पस्नेछ।”

सेना प्रमुखले आफ्ना बलले "शत्रुको नास गर्ने" र तिनका पूर्वाधारसमेत ध्वस्त पार्ने बताएका छन्।

इजरेल लेबननमा प्रवेश गर्न चाहेको भन्ने तत्काल कुनै सङ्केत नरहेको बताइँदै आएको थियो।

बुधवार अमेरिकी पेन्टागनले त्यस्तो अवस्था "तत्काल" नदेखिएको जनाएको थियो।

तर सेनाका दुई रिजर्भ ब्रिगेडलाई "उत्तरी मोर्चाको कारबाही मिशन"का बोलाएको केही बेरमा इजरेली सेना प्रमुखको उक्त भनाइ आएको हो।

बीबीसीको एक टोली बुधवार इजरेलको सीमा क्षेत्रको भ्रमण गरिरहँदा इजरेली सेनाले हिज्बुल्लाह लडाकुहरू सीमाबाट निकै पछाडि हट्नुपर्ने जनाएको छ।

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घले पारित गरेको एक प्रस्तावमा लितानी नदीको उत्तरमा बस्नुपर्ने भनिएको छ।

कूटनीतिक प्रयास

अमेरिका लगायत इजरेलका साझेदारहरूले त्यस क्षेत्रमा पूर्ण आकारको युद्ध नहोस् भनेर काम गरिरहेको जनाएका छन्।

केही विवरणहरूका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरू छोटो समयको सङ्घर्ष विराम गराउने प्रयासमा छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा 'लेबननमा युद्ध हुन नसक्ने' बताए।

"यसैले हामी इजरेललाई लेबनानमा द्वन्द्व रोक्न अपिल गछौँ। हामी हिज्बुल्लाहलाई समेत इजरेलमा मिसाइल आक्रमण नगर्न पनि आग्रह गर्नेछौँ।"

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन्।

लेबननका प्रधानमन्त्री नजिब मिकाटीले आफ्नो देश "इजरेली शत्रुको क्रूर अभ्यासका कारण हाम्रो सार्वभौमसत्ता र मानव अधिकारको स्पष्ट उल्लङ्घनको सामना गरिरहेको" जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।