कांग्रेसबाट पौडेल र एमालेबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

तस्बिर स्रोत, RSS/KP OLI SECRETARIAT
नेपाली कांग्रेस र नेकपा एमाले दुवैले फागुन २५ गते हुन लागेको राष्ट्रपति चुनावका लागि आफ्ना उम्मेदवारहरू छनौट गरेका छन्।
कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो।
एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय माओवादी सहितका दलहरूले गरेपछि वर्तमान गठबन्धन भत्कने अवस्था देखिएको छ।
तर एमालेका एक जना नेताले राष्ट्रपति चुनावको मतदानको दिनसम्म विगतको सहमति कार्यान्वयन हुने कुरा आफूहरूले अपेक्षा गरेको बताएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले शुक्रवार कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय लिएका थिए।
समाचार विवरणहरूमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीसहित उक्त निर्णय भएको जनाइएको छ।
ती तीन दलबाहेक जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी सहितका नेताहरूले पनि राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको भनिएको छ।
कांग्रेसले के निर्णय लियो?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्व सभामुख समेत रहेका पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको हो।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, “राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हुनुभएको छ। सर्वसम्मत रूपमा पार्टीले उहाँलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको हो।”
उनले थपे, “पार्टी सभापतिले नै उहाँको नाम प्रस्ताव गर्नुभएको हो। उहाँले वरिष्ठतालाई दृष्टिगत गरेर उम्मेदवार बनाएका छौँ भन्नुभएको छ।”
देउवाले पौडेलको उम्मेदवारीले ‘धेरै नयाँ ढोका खोल्ने अपेक्षा’ गरेको पनि बताएको उनले जानकारी दिए।
बैठकमा कांग्रेस नेता पौडेलेले आफूलाई सबैले समर्थन गरेर उम्मेदवार मनोनयन गरेकोमा धन्यवाद दिएका थिए।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि आफ्नो दलद्वारा प्रस्ताव गरिएका उम्मेदवारलाई विजयी गराउन सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूलाई अनुरोध गरिएको छ।

नेकपा एमालेले पनि छान्यो उम्मेदवार

तस्बिर स्रोत, Getty Images
नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार पार्टीले दलका उपाध्यक्ष रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
उनले भने, “कांग्रेसको आफ्नै उम्मेदवार भएकाले नेपाली कांग्रेसबाहेक अरू सम्पूर्ण दललाई सहयोगका लागि आजै पत्राचार गर्ने निर्णय भएको छ।”
उनले २५ गते राष्ट्रपति चुनाव भएकाले त्यो दिनसम्म पुस १० गतेकै सहमति अनुसार अघि बढ्ने पनि निर्णय भएको बताए। त्यतिखेर एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने गरी सत्ता साझेदारी गर्ने निर्णय गरेको थियो।
उनका अनुसार उक्त दिनसम्म गठबन्धनबाट एमाले अलग हुने छैन।

राप्रपाद्वारा सरकारबाट बाहिरिने निर्णय
यसैबीच प्रचण्ड नेतृत्वको सरकारका सहभागी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई देश पुन: सत्ता केन्द्रित अस्थिरतामा धकेलिएको भन्दै उक्त निर्णय लिएको राप्रपाले जनाएको छ।
सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले प्रदेश सरकारहरूलाई दिएको समर्थन पनि फिर्ता लिने र त्यहाँबाट समेत बाहिरिने निर्णय गरेको छ।











