चीनसँग क्षेत्रीय तनाव बढेको बेला अमेरिकी विदेशमन्त्री फिलिपिन्स भ्रमणमा

    • Author, टम बेट्मन, एन्टोनी ब्लिङ्कनसँग यात्रा गर्दै
    • Role, बीबीसी संवाददाता

चीनसँग क्षेत्रीय तनाव बढेको बेला संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्कन फिलिपिन्स पुगेका छन्। फिलिपिन्स अमेरिकाको एउटा महत्त्वपूर्ण सहयोगी राष्ट्र हो।

ब्लिङ्कनले फिलिपिन्सलाई थप सहयोगको आश्वासन दिएका छन्। उनले फिलिपिन्सलाई बलियो सुरक्षा प्रदान गर्ने अमेरिकी वचन दोहोर्‍याएका छन्।

साउथ चाइना सागरमा चीन र फिलिपिन्सले गरेका दाबीका कारण केही महिनादेखि दुई देशबीच तनाव चुलिएको छ।

"यी जलमार्गहरू फिलिपिन्सका लागि, यसको सुरक्षाका लागि र यसको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छन्," ब्लिङ्कनले भने।

फिलिपिन्सका विदेशमन्त्री एन्रिके मनालोसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले भने, "ती [जलमार्ग] यो क्षेत्रको हितका लागि, अमेरिकाका लागि र बाँकी विश्वका लागि पनि महत्त्वपूर्ण छन्।"

"त्यसैले हामी फिलिपिन्ससँग उभिएका छौँ र पारस्परिक रक्षा सन्धिअन्तर्गत समेत रक्षासम्बन्धी आफ्नो वचनमा प्रतिबद्ध छौँ।"

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार ब्लिङ्कनले फिलिपिन्सका अधिकारीहरूसँग व्यापार र वाणिज्यबारे पनि छलफल गर्ने छन्।

ब्लिङ्कनको भ्रमणलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनिअरलाई अमेरिकी समर्थन बढेको रूपमा हेर्न सकिने ठानिएको छ।

यसअघि फिलिपिन्सका तात्कालिक राष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनसँग राम्रो सम्बन्ध राख्ने नीति अवलम्बन गरेका थिए। तर वर्तमान राष्ट्रपति वाशिङ्टनतिर ढल्किएका छन्।

मङ्गलवार ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडनले फिलिपिनो राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग आगामी महिना एउटा शिखरवार्ता गर्ने घोषणा गरेको छ।

फिलिपिन्स अमेरिकाका लागि किन महत्त्वपूर्ण

फिलिपिन्स गत वर्ष दक्षिणपूर्वी एशियामा सर्वाधिक गतिमा वृद्धि भएको अर्थतन्त्र भएको राष्ट्र बन्यो। तर त्यहाँ विद्यमान असमानता र सरकार पक्षपाती भएको आरोपका कारण फिलिपिन्समा राजनीति उच्छृङ्खल बनेको देखिन्छ।

अमेरिकी शक्ति र प्रभावक्षेत्रमा चीन प्रतिद्वन्द्वीका रूपमा उदाएको छ।

फिलिपिन्स त्यही क्षेत्रमा रहेकाले अमेरिकाका लागि उक्त देश एउटा मुख्य रणनीतिक स्थान बनेको छ।

मनिला खाडी साउथ चाइना सागरसम्म पुग्छ।

उक्त सागरमा सीमा, व्यापारिक मार्ग र समुद्री क्षेत्रबारे फिलिपिन्ससहित विभिन्न देशहरूको बेइजिङसँग लामो समदेखि विवाद चल्दै आएको छ।

चीन र फिलिपिन्सबीच तनाव कस्तो

फिलिपिन्स र चिनियाँ कोस्ट गार्डबीच केही महिनायात तनावपूर्ण मुठभेडहरू भएका छन्। त्यसबाट द्वन्द्व बढ्न सक्ने चिन्ता बढेको छ।

समुद्रमा दुई देशका पानीजहाजहरू जुधेका विवरणहरू आएका छन्। केही साताअघि चिनियाँ पक्षले एउटा फिलिपिनो जहाजमाथि पानीको फोहरा प्रहार गरेको थियो।

"मुख्य चासो पक्कै पनि साउथ चाइना सागरलाई अस्थिर बनाउने चीनका निरन्तर गतिविधिहरू हुन् जुन अन्तर्राष्ट्रिय कानुनविपरीत छन्," अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले भने।

उनका अनुसार अमेरिकी विदेशमन्त्रीले साउथ चाइना सागरमा स्वतन्त्रतापूर्वक परिवहन गर्न पाउनुपर्ने कुरामा फेरि जोड दिने छन्।

अमेरिकाले उक्त सामुद्रिक क्षेत्रमा चिनियाँ गतिविधिलाई छिमेकी राष्ट्रहरूलाई तर्साउने अभियान मान्ने गरेको छ।

साउथ चाइना सागरमा चीनको दाबी

वाशिङ्टन र मनिलाबीच दीर्घकालीन रक्षा सन्धि भएको छ। अमेरिकाले फिलिपिनी पानीजहाजहरूमा कसैले सैन्य आक्रमण गरे त्यसबाट "पारस्परिक रक्षाका प्रतिबद्धताहरू जागृत हुने" यसअघि बताएको थियो।

सन् २०१४ मा गरिएको रक्षासम्बन्धी एउटा सहमतिअनुसार अमेरिकाले फिलिपिनी सैन्य आधारशिविरहरूको विकासमा आर्थिक सहयोग गर्न तथा अमेरिकी सैनिकहरूलाई पालैपालो परिचालन गर्न अनुमति पाएको थियो।

सन् २०२३ मा अमेरिकाले अर्को एउटा सहमति गर्दै फिलिपिन्सस्थित चारवटा सैन्य आधारशिविरमा आफ्नो पहुँच सुनिश्चित पारेको थियो।

त्यस्ता केही सैन्य आधारशिविरहरू स्वशासित ताइवाननजिकै रहेको भन्दै चीनले त्यस्ता सहमतिहरूको आलोचना गरेको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्दै र त्यसमाथि आफ्नो स्वामित्व दाबी गर्दै आएको छ। अमेरिकाले ताइवानलाई सैन्य सुरक्षा प्रदान गर्ने घोषणा गरेको छ।

बेइजिङले साउथ चाइना सागरको अधिकांश भागमा आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ। विवाद निरुपण गर्ने आफ्ना प्रस्तावहरूलाई फिलिपिन्सले बेवास्ता गरेको चीनको आरोप छ।

अमेरिकी विदेशमन्त्रीको भ्रमणमा निहित अर्को अर्थ

ब्लिङ्कनको भ्रमणलाई राष्ट्रपति मार्कोसलाई अमेरिकाले अझ महत्त्व दिएको सङ्केतका रूपमा हेर्न सकिन्छ। उनका पिता फर्निडान्ड मार्कोसले फिलिपिन्समा दुई दशक निरङ्कुश शासन गरेका थिए। तर उनी सन् १९८०को मध्यतिर पदच्युत भए। तानाशाह मार्कोस अमेरिकाका निकटवर्ती सहयोगी थिए।

मार्कोसले देशमा सैन्य शासन गरेका थिए। उनले आफ्ना विरोधीहरूलाई पक्राउ गराएर यातना दिएका थिए। उनको शासनकालमा देशमा व्यापक भ्रष्टाचार थियो। दुई दशकको अवधिमा झन्डै १० अर्ब डलर अपचलन भएको थियो।

आफ्नो परिवारको विगत कलङ्कपूर्ण भए पनि मार्कोस जूनिअर सन् २०२२ मा राष्ट्रपति निर्वाचित भएका हुन्। उनी अहिले अमेरिकाको एक अभिन्न सहयोगी बनेका छन्।

गत वर्ष ह्वाइट हाउसको निम्तोमा उनी चारदिने औपचारिक भ्रमणका लागि अमेरिका गएका थिए। अमेरिकातिर ढल्किएकाले उनलाई वाशिङ्टनले त्यसरी पुरस्कृत गरिएको धेरैको बुझाइ छ।

उनका पूर्ववर्ती डुटेर्टेले लागुपदार्थ कारोबारविरुद्ध निर्मम युद्ध थालेका थिए। उनले चीनसँग सम्बन्ध सुधारेका थिए। चीनको बढ्दो शक्तिलाई अस्वीकार गर्न नसकिने उनको धारणा भएको बताइन्छ।

ब्लिङ्कन दक्षिण कोरियाको भ्रमणपछि फिलिपिन्स आइपुगेका हुन्।

दक्षिण कोरियामा हुँदा उनले केही देशमा अधिनायकवाद र प्रजातन्त्रबाट विचलन देखा परेको भन्दै त्यसविरुद्ध चेतावनी दिएका थिए।

गाजामा जारी युद्ध र त्यसबाट उत्पन्न क्षेत्रीय सङ्कटका कारण केही महिनायता मध्यपूर्वबाहिर ब्लिङ्ककनले विरलै भ्रमण गरेका छन्।

विदेशनीतिसम्बन्धी अरू सङ्कटका कारण अमेरिकाका ध्यान मोडिएकाले के चीनले त्यसको फाइदा लिन खोजेको हो भन्ने प्रश्नको उत्तर दिँदै वरिष्ठ अमेरिकीले त्यस्तो सम्भावनालाई आफूहरूले "ठाडै अस्वीकार" गर्ने बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।