तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाजाबाट युद्ध अन्यत्र फैलिन नदिन अमेरिकी विदेशमन्त्रीको दौडाहा
- Author, एन्थोनी जर्कर
- Role, अमेरिकी विदेशमन्त्रीसँग भ्रमण गर्दै
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तीन महिनाभित्र मध्यपूर्वको चौथो पटक भ्रमण गरेका छन्। उनका सबै प्राथमिकतामा एउटा स्पष्ट सन्देश छ।
उनको अहिलेको भ्रमणको मुख्य उद्देश्य इजरेल-गाजा युद्ध क्षेत्रीय द्वन्द्वका रूपमा नफैलियोस् भन्ने सुनिश्चित गर्नु हो।
उनले एकपछि अर्को गर्दै दक्षिणपश्चिम एशियाका टर्की, जोर्डन, कतार, यूएई, साउदी अरब र इजरेल पुग्ने योजना बनाएका छन्। तर त्यो क्षेत्रमा तनाव अझ चर्किने अवस्थामा छ भन्ने पर्याप्त प्रमाणहरू छन्।
यमनका हूथी विद्रोहीहरूले रक्तसागरमा बारम्बार गैरसैनिक पानीजहाजहरूलाई लक्ष्य बनाएर क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा उक्त अन्तर्राष्ट्रिय जलमार्ग ठप्पजस्तै भएको छ।
अमेरिकी चासो र चिन्ता
अमेरिकाले आफ्ना स्वार्थहरूको रक्षा गर्ने भन्दै चेतावनी दिएको छ। यदि विद्रोहीहरू हाबी भए अनि विश्वव्यापी व्यापारमा देखा परेको अवरोध जारी रह्यो भने अमेरिकाले सैन्य कारबाही गर्ने अवश्यम्भावी देखिन्छ।
अमेरिकाका केही मुख्य अरब साझेदारलाई त्यस्तो अवस्था अप्रिय लाग्न सक्छ।
"हामीले कहिल्यै सैन्य कारबाहीलाई समाधानका रूपमा हेरेका छैनौँ," दोहामा आइतवार ब्लिङ्कनसँगको संयुक्त पत्रकार सम्मेलनमा कतारका प्रधानमन्त्रीले भने। शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीले त्यस्तो कदमले "हामीलाई कहिल्यै अन्त्य नहुने एउटा चक्रमा पुर्याइदिन्छ र समग्र क्षेत्रमा वास्तविक तनाव उत्पन्न गराइदिन्छ" कि भन्ने आफ्नो सबैभन्दा ठूलो चिन्ता भएको बताए।
बेरूतमा हमासका एक मुख्य नेता एउटा आक्रमणमा मारिएपछि शनिवार दक्षिणी लेबननमा हिज्बुल्लाह लडाकुहरूले उत्तरी इजरेलमा शृङ्खलाबद्ध रकेट हमला गरे। हमासका नेता इजरेलको योजनामा मारिएको आशङ्का गरिएको छ। इजरेलले लेबननमा हिज्बुल्लाहलाई लक्ष्य गर्दै सैनिक विमान प्रयोग गरी प्रत्याक्रमण गर्यो।
त्यस दिन ढिलो बोल्दै ब्लिङ्कनले त्यहाँ चुलिएको तनावका कारण "वास्तविक चिन्ता" उत्पन्न भएको धारणा व्यक्त गरे। उनले हिज्बुल्लाहमा प्रभाव राख्ने क्षेत्रीय शक्तिहरूलाई "परिस्थिति नियन्त्रणमा राख्न प्रयास गर्न" आह्वान गरे। उनले इरान र केही हदसम्म टर्कीलाई सङ्केत गरेका हुन्।
तर त्यसो गर्न कठिन हुन सक्छ। द वाशिङ्टन पोस्टका अनुसार इजरेलले हिज्बुल्लाहविरुद्ध निकै ठूलो कारबाही गर्नेबारे विचार गरेको हो कि भनेर अमेरिका चिन्तित देखिन्छ।
अस्थिरता र कूटनीतिक समाधान
इजरेली रक्षामन्त्री योआभ गालान्टले शुक्रवार भने, "हामी एउटा सहमतिपूर्ण कूटनीतिक समाधान चाहन्छौँ, तर हामी समय घर्किने बिन्दुनजिकै पुगेका छौँ।"
यसैबीच इराक र सिरियाबाट लडाकुहरूले अमेरिकी सैन्य शिविरहरूमा रकेट तथा ड्रोन आक्रमण गरेका छन्। ती स्थानमा ३,००० भन्दा बढी सङ्ख्यामा अमेरिकी सैनिक तैनाथ छन्। गत अक्टोबरको अन्त्यतिर एउटा ड्रोन अमेरिकी सुरक्षा छल्दै ब्यारेकसम्म पुगेको थियो। तर त्यो विस्फोट भएन। समाचारसंस्था रोएटर्सका अनुसार उक्त घटनामा भाग्यवश अमेरिकी पक्षले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्थ्यो। तर भाग्यवश त्यसो भएन।
अमेरिकाले सैन्य आक्रमण गरेर त्यसको जबाफ दियो। गत साता बाग्दादमा गरिएको एउटा हवाई आक्रमणमा इरानी समर्थनप्राप्त लडाकु समूहका नेता मुस्ताक तालेब अल-सैदीको ज्यान गयो।
यी सबै घटनाले क्षेत्रीय अस्थिरताको अवस्था प्रतिबिम्बित गर्छन्। यसलाई एउटै चित्रमा राखेर हेर्दा मध्यपूर्व व्यापक युद्धको दोसाँधमा रहेको सङ्केत देखिन्छ।
आइतवार कतारमा ब्लिङ्कनले बढ्दो अस्थिरता अन्त्य गर्न अमेरिकासँग योजना भएको बताए। अनि उक्त योजना गाजामा इजरेली सैन्य कारबाहीको अन्त्य र प्यालेस्टिनीका लागि "टिकाउ" शान्ति स्थापना गर्न अरब राष्ट्रहरू र इजरेलीबीचको सहकार्यमा निर्भर छ।
"त्यहाँ पुग्न अमेरिकासँग आवश्यक दृष्टिकोण छ, एउटा क्षेत्रीय दृष्टिकोण जसले इजरेललाई दीर्घकालीन सुरक्षा प्रदान गर्छ भने प्यालेस्टिनी जनताका लागि राज्य," उनी भन्छन्।
"अनि अहिलेसम्मको छलफलबाट मेरो निष्कर्ष यो छ ... हाम्रा साझेदारहरू यी कठिन छलफल र कडा निर्णयहरू लिन इच्छुक छन्।"
त्यहाँ विरोधाभास समेत छ। साउदी युवराज मोहम्मद बिन सलमानसँग सोमवार भेटेपछि ब्लिङ्कनले युद्धपछिको स्थिर र बलियो गाजाका लागि सघाउन आफूले कुराकानी गरेका सबैजसो नेताले तत्परता देखाएको बताएका छन्। तर अमेरिकाले इजरेललाई त्यसमा मनाउनुपर्ने हुन्छ।
वाशिङ्टनको रणनीति
अमेरिकाको 'यात्रा कूटनीति' अन्तर्गत भएको विदेशमन्त्री ब्लिङ्कनको मध्यपूर्व भ्रमणको समयले अमेरिकी रणनीतिबारे सङ्केत गरेको छ। इजरेल जानुअघि उनले टर्की र अन्य अरब देशको भ्रमण गरे। त्यसबाट ब्लिङ्कनलाई क्षेत्रीय शक्तिहरूको राप र ताप बुझ्ने अवसर दिएको छ।
त्यसपछि बल्ल उनी इजरेलमा प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र त्यहाँको युद्धकालीन मन्त्रिपरिषद्सँग भेट गरे। अब के गर्ने भन्ने कुरा अमेरिकीहरूले भने झैँ इजरेली पक्षमा निर्भर रहने छ।
इजरेली नेताहरूसँग भेटेपछि एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले युद्धका कारण गाजामा सर्वसाधारण मानिसले ठूलो दुःख भोग्नु परेको र आवश्यक सहयोग सामग्री जान दिन इजरेलले अवरोध हटाउनुपर्ने बताए। तर सर्वसाधारण मानिसबीच लुकेर बसेको हमाससँग लड्न इजरेलले ठूलो चुनौती खेप्नुपरेको बताए।
के इजरेले गाजामा सैन्य कारबाही घटाउन लागेको कुनै प्रमाण छ भन्ने प्रश्नको उत्तर दिँदै उनले इजरेलीहरूसहित उक्त क्षेत्रमा कसैले पनि द्वन्द्व नचाहेको बताए।
"मैले अहिलेसम्म यस भ्रमणमा जे सुनेँ त्यो इजरेली नेताहरूलाई भन्न पाउने छु," उनले सोमवार भनेका थिए।
"इजरेलका लागि दीर्घकालीन शान्ति र सुरक्षा सिर्जना गर्नका लागि भावी मार्ग रहेको कुरामा म विश्वस्त छु।"
अमेरिकाले दाउ थापेको छ। समाधान गर्दा वा गाजा युद्धलाई निस्तेज पार्दा क्षेत्रीय तनाव पार्न सकिने उसले ठानेको छ। यो त्यस्तो दाउ हो जुन रक्तसागर, लेबनन र इराक एवं सिरियामा देखा परेका विभिन्न साना सङ्कटहरू अन्यत्र फैलिएका छैनन् भन्ने बुझाइमा आधारित छ।
आइतवार कतारी प्रधानमन्त्रीले प्यालेस्टाइन द्वन्द्वको वैधानिक र शान्तिपूर्ण समाधानबिना यस क्षेत्रमा शान्ति नहुने बताएका छन् ।
प्रश्न उठ्छ - यस्तो प्रस्तावले शान्ति ल्याउन सक्छ त?
नोभेम्बरमा मध्यपूर्व भ्रमण गर्दा ब्लिङ्कनले अङ्करामा भेला भएका संवाददाताहरूलाई उक्त क्षेत्रका देशहरूले युद्ध नचाहेको र द्वन्द्व फैलिन नदिनका लागि काम गरिरहेको बताएका थिए।
"कहिलेकाहीँ केही खराब कुरा नदेखिनु भनेको प्रगति हुँदै छ भन्ने प्रमाण नहुन सक्छ, तर यो चाहिँ हो।"
युद्धको विस्तार अनिच्छित कुरा हो भन्ने पर्याप्त दृष्टान्तहरू त्यसयता पाइन्छ। तर ब्लिङ्कन र अमेरिकीका प्रयास र व्यक्त चाहनाविपरीत युद्धको सम्भावना भने बढेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।