तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भियतनाम युद्धमा अमेरिका पराजित हुनुका सात कारण
दोस्रो विश्व युद्धपछि संयुक्त राज्य अमेरिका विवादरहित रूपमा विश्वको आर्थिक शक्ति बन्न पुग्यो। त्यसैगरी उसको सेना पनि संसारकै सबैभन्दा शक्तिशाली सेना भएको विश्वास गर्न थालियो।
तर आठ वर्षको लडाइँ र त्यसमा ठूलो आर्थिक र मानवीय श्रोत साधन परिचालन गर्दा पनि अमेरिका उत्तरी भियतनाममा त्यहाँका फौजी र उसका छापामार साझेदारहरू भियत कङसँग पराजित बन्न पुग्यो।
सन् १९७३ को मार्च २९ मा अमेरिकी फौजहरूको अन्तिम समूह भियतनामबाट फिर्ता भएको थियो।
त्यो शीतयुद्ध उत्कर्षमा रहेको बेला थियो र त्यसबेला वामपन्थी र पुँजीवादी विश्व शक्तिहरू एक आपसमा जुझिरहेका थिए।
दोस्रो विश्वयुद्धका कारण टाट पल्टिएको फ्रान्सले आफ्नो उपनिवेश इन्डोचाइनामा नियन्त्रण कायम गर्ने प्रयास गरेको भएपनि विफल भएको थियो। एउटा शान्ति सम्मेलनले अहिलेको भियतनामलाई कम्युनिस्ट उत्तर र अमेरिकी समर्थनको दक्षिणी राज्यमा विभाजित तुल्याएको थियो।
तर फ्रान्सको पराजयले उक्त देशको द्वन्द्वलाई अन्त्य गरेन। सम्पूर्ण भियतनाम कम्युनिस्ट बनेको खण्डमा आसपासका देशमा पनि त्यस्तै लहर आउने भयले अमेरिका उक्त युद्धमा तानियो। त्यसपछि एक दशकसम्म चलेको उक्त युद्धमा लाखौँले ज्यान गुमाए।
उसो भए विश्वको सर्वाधिक सैनिक शक्ति भएको राष्ट्र कसरी एउटा छापामार युद्ध र भर्खरै दक्षिण पूर्वी एसियामा निर्माण भएको गरिब राष्ट्रसँग पराजित भयो? यसबारे विज्ञहरूले यस्ता साझा दृष्टिकोण राख्ने गरेका छन्।
उक्त जिम्मेवारी गहन थियो
विश्वको अर्को कुनामा पुगेर युद्ध लड्नु वास्तवमै ठूलो काम हो।
युद्ध उत्कर्षमा रहँदा अमेरिकाका १० लाख भन्दा बढी सैनिक भियतनाममा रहेका थिए।
युद्धको लागत निकै ठूलो थियो। सन् २००८ को अमेरिकी कंग्रेसको एउटा प्रतिवेदनले अहिलेको मूल्यमा त्यसबेलाको खर्च ९५० अर्ब डलर रहेको आकलन गरेको थियो।
तर अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा त्यसको तुलनामा चार गुणा बढी खर्च गरेको थियो। उक्त युद्धमा आफ्नो आधिपत्य कायम राखेको, टाढा रहेको कोरियाको युद्धमा सहभागी भएको जस्ता कारणले उसमा आत्मविश्वासको कुनै कमी थिए।
यूकेस्थित सेन्ट एन्ड्रयुज विश्वविद्यालयको अमेरिकी विदेश र रक्षा नीतिका विज्ञ ल्युक मिडपका अनुसार युद्धको सुरुवाती वर्षहरूमा आम उत्साह रहेको थियो।
उनले बीबीसीसँग भने, “अमेरिकालाई धेरै समस्याहरूका बारेमा पनि थाहा थियो। त्यस्तो वातावरणमा अमेरिकी सैनिकले काम गर्न सक्छ कि सक्दैन भन्ने आशङ्का व्यक्त गरिएका थिए। सन् १९६८ सम्म अमेरिकी सरकार अन्ततः आफूले जित्नेमा विश्वस्त थियो।”
उक्त आत्मविश्वास बिस्तारै सेलाउँदै गयो। ज्यानुअरी १९६८ मा कम्युनिस्ट टेट आक्रमणले विशेष रूपमा नै उसको आत्मविश्वासलाई कमजोर बनायो। कंग्रेसले युद्धको लागि बजेट दिन सहयोग गर्न छाडेपछि अन्ततः सन् १९७३ मा अमेरिकी फौज फिर्ता भएको थियो।
डाक्टर मिडप र अर्का विज्ञ ओरेगन विश्वविद्यालयको राजनीतिशास्त्रका प्रमुख प्राध्यापक टोङ भूले अमेरिकी फौजको भियतनाममा उपस्थितिलाई लिएर प्रश्न उठाउने गरेका छन्।
अमेरिकी फौज यस्तो लडाइँमा अभ्यस्त थिएनन्
हलिवुडको चलचित्रहरूले अधिकांश अवस्थामा किशोर अमेरिकी सैनिकहरू जङ्गल क्षेत्रमा लड्न सङ्घर्ष गरिरहेको देखाउने गर्छन् भने भियत कङका विद्रोहीहरूले त्यस्ता घना बन छिचोलेर श्रृङखलावद्ध रूपमा आश्चर्यजनक हमलाहरू गर्ने गर्थे।
मिडपका अनुसार कुनै पनि ठूलो स्तरको फौजलाई अमेरिकी सैनिकहरूलाई खटाइएको क्षेत्रमा युद्ध गर्न कठिन हुन्थ्यो। त्यस क्षेत्रमा दक्षिण पूर्वी एसियाकै घना जङ्गल रहेको उल्लेख गर्दै उनले दुई पक्षका फौजको सामर्थ्यका बारेमा गरिएका कतिपय प्रचार भने भ्रामक रहेको बताए।
“अमेरिकी फौज, उत्तरी भियतनामका मानिसहरू र भियत कङहरू अभ्यस्त रहेको उक्त वातावरणमा घुलमिल हुन सकेन भन्ने खालका किंवदन्तीहरू पनि सुन्न पाइन्छ। तर त्यो वास्तवमै सही थिएन,” उनले भने। “उत्तरी भियतनामको सेना र भियतकङ दुवैले त्यो वातावरणमा युद्ध लड्न ज्यादै ठूलो सङ्घर्ष गरेका थिए।”
मिडपका अनुसार अधिकांश अवस्थामा युद्धको समय र स्थान विद्रोहीहरूको रोजाई अनुसार हुन्थ्यो र उनीहरू अमेरिकी फौजहरूले पछ्याउन नसक्ने सीमा पारि लाओस र क्याम्बोडियाका सुरक्षित क्षेत्रहरूसम्म भागेर जान सक्थे।
प्राध्यापक भूका अनुसार भियत कङ छापामारहरूलाई पराजित गर्न अमेरिकाको ध्यान केन्द्रित हुनु नै पराजयको कारण हो।
“दक्षिणी विद्रोहले कहिल्यै पनि साइगोनलाई पराजित गर्न सक्दैनथ्यो,” उनले बीबीसीसँग भने। "तर रणनीतिक त्रुटिहरूका कारण उत्तरी भियतनामका नियमित फौजीहरू दक्षिण प्रवेश गर्न सके र उक्त घुसपैठ प्रक्रियाबाटै उनीहरूले युद्ध जिते।”
अमेरिकाले देशभित्र हारेको युद्ध
यो द्वन्द्वलाई ‘पहिलो टेलिभिजन युद्ध’ का रूपमा बारम्बार सम्झने गरिन्छ। अभूतपूर्व तवरले उक्त द्वन्द्वबारे खबरहरू प्रकाशित भएका थिए।
अमेरिकाको न्याश्नल आर्काइभ्सका अनुसार सन् १९६६ सम्म आइपुग्दा ९३ प्रतिशत अमेरिकी परिवारहरूसँग टेलिभिजन सेट थियो भने उनीहरूले हेर्ने गरेका भिडिओ विगतको द्वन्द्वको तुलनामा कम सेन्सर गरिएका र तत्कालै उपलब्ध भएका खालका थिए।
त्यही भएर साइगोनको राजदूतावास परिसरमा टेट आक्रमणका क्रममा भएको गोली हानाहानको भिडियो ज्यादै शक्तिशाली रहेको थियो। अमेरिकी दर्शकहरूले वास्तविक घटना घटेको केही क्षणमै भियत कङहरूले द्वन्द्वमा के सम्म गर्न सक्छन् भन्ने हेर्न पाएका थिए।
सन् १९६८ पछाडि भने सञ्चारमाध्यमको अधिकांश कभरेज युद्धको विपक्षमा थियो।
निर्दोष सर्वसाधारणहरूले ज्यान गुमाएको, उनीहरू अङ्गभङ्ग भएको र तिनले यातना पाएको दृश्य टेलिभिजन र पत्रपत्रिकामा प्रकाशित हुन थालेका थिए। धेरै अमेरिकीहरू उक्त दृश्यबाट भयभीत थिए र युद्धको विपक्षमा उभिएका थिए।
देशभर ठूलो स्तरको आन्दोलन समेत सुरु भइसकेका थिए।
एउटा त्यस्तै प्रदर्शनको क्रममा सन् १९७० को मे ४ मा न्याशनल गार्डसहरूले ओहायोस्थित केन्ट विश्वविद्यालयमा चार जना विद्यार्थी प्रदर्शनकारीहरूलाई गोली हानेर मारिदिएका थिए।
उक्त हत्याकाण्डले झन् धेरै मानिसहरूलाई सो युद्ध विरोधी बनायो।
अनिवार्य सैन्य भर्ती सम्बन्धी एउटा अलोकप्रिय व्यवस्थाले पनि सर्वसाधारणको आत्मबलमा गम्भीर प्रभाव पार्यो। किनभने युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकहरूको शव बाकसको तस्बिर बारम्बार छापाहरूमा प्रकाशित हुने गरेका थिए।
करिब ५८ हजार अमेरिकी सैनिक सो युद्धमा मारिएका थिए वा उनीहरू बेपत्ता भएका थिए।
दक्षिण भियतनाममा मानिसहरूको मन जित्ने अमेरिकी अभियान पनि विफल
यो एकदमै बर्बर खालको द्वन्द्व थियो जसमा अमेरिकाले घातक अस्त्रहरू प्रयोग गरेको थियो। नापाम र एजेण्ट ओरेन्ज जस्ता रासायनिक हतियार प्रयोग गरेपछि अमेरिकाबारे ग्रामीण भेगका मानिसहरूमा नकारात्मक धारणा बन्यो।
“खोज तथा नष्ट” अभियान अन्तर्गत कैयौँ निर्दोष व्यक्तिहरूले ज्यान गुमाएका थिए।
सन् १९६८ को लाइ नरसंहारमा अमेरिकी सैनिकहरूले सयौँ भियतनामी सर्वसाधारणहरूलाई एकै ठाउँमा हत्या गरिदिएका थिए।
गैर सैनिकहरूको हत्याले भियत कङलाई समर्थन नगरिरहेका मानिसहरूलाई पनि थप एक्लो बनाइदिएको थियो।
उच्च मनोबलका कम्युनिस्ट
मिडपका अनुसार कम्युनिस्टहरूको पक्षमा उभिएका मानिसहरू लडाइँको लागि दक्षिण भियतनामबाट भर्ती गरिएका भन्दा बढी युद्ध जित्न प्रतिबद्ध थिए।
उनका अनुसार कैयौँ अध्ययनहरूले कम्युनिस्ट बन्दीहरू विरुद्ध युद्धको समयमा अमेरिकाले लामो सोधपुछ गरेको पुष्टि गरेका छन्।
उनले अमेरिकी रक्षा मन्त्रालयले र अमेरिकी सेनासँग जोडिएको एउटा थिङ्क ट्याङक र्यान्ड कर्पोरेशनले गरेको अध्ययनले एउटा सिङ्गो सरकार मातहत देशलाई पुन: एकताबद्ध बनाउन खोजेको भन्दै तिनीहरूले आफ्नो कदमलाई देशभक्तिपूर्ण ठानेको उल्लेख गरेको बताए।
भीषण हताहत भएपनि युद्धलाई निरन्तरता दिने कम्युनिस्ट शक्तिहरूको कदमले पनि उनीहरूको उच्च मनोबलको प्रमाण दिएको ठानिन्छ।
अमेरिकी नेतृत्वले यदि शत्रुका सिपाही मारिने दर प्रतिस्थापन हुने दर भन्दा तीव्र भए कम्युनिस्टहरूमा लड्ने इच्छाशक्ति कम हुने आकलन गरेको थियो।
उक्त युद्धमा उत्तर भियतनाम र भियत कङका गरी करिब ११ लाख लडाकु मारिएका थिए तर पनि कम्युनिस्टहरूले अन्तिमसम्म थप भर्ती गर्दै डटेर लडिरहे।
प्राध्यापक भू भन्छन्, “उनीहरूले मानिसहरूलाई कारणमा विश्वास दिलाउन सके। प्रचार र शिक्षा प्रणालीका कारण उनीहरूले मानिसहरूलाई बन्दुकको गोली जस्तो घातक बनाउन सकेका थिए।”
दक्षिण भियतनामको सरकार अलोकप्रिय र भ्रष्ट थियो
मिडपका अनुसार दक्षिणको सरकार पूर्व उपनिवेशवादी शक्तिसँग नजिक रहेको थियो र उसप्रतिको भरोसा पनि कमजोर थियो।
“उत्तर र दक्षिणबीचको विभाजन सधैँ कृत्रिम खालको थियो र त्यो शीतयुद्धले निम्त्याएको थियो,” उनले भने, “भियतनामलाई दुई वटा देशमा विभाजन गर्न कुनै सांस्कृतिक, जातीय वा भाषिक कारण थिएन।”
उनको विश्वासमा दक्षिण धार्मिक अल्पसङ्ख्यक क्याथलिकहरूको बढी प्रभावमा थियो।
उक्त समूहको जनसङ्ख्या त्यो बेला १० देखि १५ प्रतिशत थियो। भियतनाम बौद्ध धर्मावलम्बीहरूको बहुल भएको देश हो र त्यसबेला यातना खेप्ने भयले कैयौँ उत्तरका मानिसहरू भागेर दक्षिणतर्फ आएका थिए।
राजनीतिमा “आलोचनात्मक चेत” भएका मानिसका रूपमा उनले उक्त समूहलाई अर्थ्याउन लागेका छन्।
दक्षिणका नेता जस्तै त्यहाँका पहिलो राष्ट्रपति नो डिन जियमका शक्तिशाली क्याथलिक मित्रहरूमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी पनि पर्छन्।
अल्पसङ्ख्यकहरूको प्रभुत्वले दक्षिण भियतनामी राज्यलाई देशको बहुसङ्ख्यक बौद्धमार्गी जनसङ्ख्यामाझ अझ अलोकप्रिय बनाएको मिडपको बुझाइ छ।
उनले दक्षिण भियतनाम कहिल्यै पनि राजनीतिक प्रकारको नभएको र उसँग ठूलो जनसङ्ख्यालाई युद्ध गर्न र बलिदान दिन प्रेरित गर्ने सामर्थ्य नरहेको उल्लेख गरे।
सैनिक र गैर सैनिक दुवै क्षेत्रमा चरम भ्रष्टाचारले अवस्था थप नाजुक बनाएको उनको निष्कर्ष छ।
अवस्था कस्तो थियो भने अमेरिकी फौजले भविष्यको कुनै एउटा बिन्दुमा सो देश छाडेको खण्डमा दक्षिण भियतनाम राज्य नै विघटन हुने आकलन राष्ट्रपति निक्सनले गरेका थिए।
अमेरिका र दक्षिण भियतनामसँग सीमितता थियो जुन उत्तरसँग थिएन
प्राध्यापक भू दक्षिणको हार अवश्यम्भावी थियो भन्ने कुरा अस्वीकार गर्छन्। उनका अनुसार अमेरिकी अध्ययनहरू खाली बहाना खोज्न मात्रै केन्द्रित छन्।
उनले भने, “उनीहरू पराजयका लागि केहीलाई दोष लगाउन चाहन्छन्। सबैभन्दा सजिलो बहाना भनेको दक्षिण भियतनामीहरू हुन्।”
उनले अमेरिकी विवरणहरूमा क्याथलिकहरूमाथि लगाइएको भ्रष्टाचार र कृपावादको आरोप बढाइचढाइ भएको टिप्पणी गरे।
“त्यहाँ ठूलो स्तरको भ्रष्टाचार थियो तर त्यो स्तरको थिएन जसले युद्धमा क्षति नै निम्त्यायो। त्यसले कैयौँ कमजोरीहरू र अप्रभावकारी सैन्य युनिटहरू स्थापना गरायो तर समग्रमा दक्षिण भियतनामको सेनाले राम्रोसँग लडेको थियो।”
प्राध्यापक भूको विश्वासमा अमेरिकी अस्त्र तथा आर्थिक सहयोगको मद्दतबाट सबै युद्ध दक्षिणले गरेको भए परिस्थिति अर्कै हुन सक्थ्यो। युद्धमा दक्षिण भियतनामका २ लाखदेखि २ लाख ५० हजार फौज मारिएको ठानिएको छ।
प्राध्यापक भूका विचारमा लामो समयसम्म पूर्ण रूपमा युद्धमा अडिग रहन सक्ने उत्तर भियतनामको सामर्थ्यको असर निर्णायक देखिएको थियो।
खुला व्यवस्था रहेको दक्षिण त्यो हदको एकीकृत प्रयास अघि बढाउन सफल देखिएन।
राजनीतिक प्रणालीको कारणले सर्वसाधारणहरूले युद्धमा विश्वास गरे र उनीहरूलाई क्षतिबारे कम जानकारी रह्यो।
“अमेरिका र दक्षिण भियतनाम कम्युनिष्टहरूले जस्तो गरी सर्वसाधारणमा दृष्टिकोण निर्माण गर्न सक्ने अवस्थामा पुगेनन्।”
ठूलो मानवीय क्षति भएपनि उत्तरले कैयौँ सैन्य रणनीति अपनाएको थियो जसमा आत्मघाती देखि विभिन्न किसिमका सामूहिक आक्रमण पर्छन्।
अमेरिकाले दक्षिणमा समर्थन जारी राख्दा सोभियत सङ्घ र चीनले निरन्तर उत्तर भियतनामलाई समर्थन गरेको उल्लेख गर्दै त्यसले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।