तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ग्यासको खपत घट्दै, विद्युत्को माग बढ्दै, त्यसले नेपाललाई हुनसक्ने फाइदा के?
नेपालमा पछिल्लो समय खाना पकाउने ग्यासको आयातमा केही कमी आइरहेको र विद्युत्को माग बढिरहेको देखिएको अधिकारीहरूले बताएका छन्।
नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूका भनाइमा त्यसको एउटा कारण “खाना पकाउन पनि बिजुलीको प्रयोग हुन थाल्नु” रहेको हुनसक्छ।
यद्यपि त्यसको कारणबारे यकिन गर्न अध्ययन नै गर्नुपर्ने उनीहरूको भनाइ छ।
आयात गर्नुपर्ने ग्यासको माग कम हुनु र नेपालमै प्रचुर मात्रामा उत्पादन हुनसक्ने विद्युत्को खपत बढ्नु देशको अर्थतन्त्रका लागि सकारात्मक कुरा भएको कतिपय जानकारहरू बताउँछन्।
ग्यास आयात कम हुनुको सम्भावित कारण
नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पछिल्लो समय ग्यासको आयात कम्तीमा पाँच प्रतिशतले कम भएको छ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका अधिकारीहरूका अनुसार विद्युत्को खपत पनि पाँचदेखि आठ प्रतिशतसम्म बढेको छ।
त्यसमा पछिल्ला वर्षहरूमा खाना पकाउनका लागि समेत बिजुली प्रयोग गर्न प्रोत्साहन गर्ने विद्युत् प्राधिकरणको नीति र त्यस अनुसारको प्रचारप्रसारले भूमिका खेलेको हुनसक्ने प्राधिकरणका अधिकारीको भनाइ छ।
निगमका अधिकारीहरू पनि विशेषगरी सहरी क्षेत्रमा खाना पकाउन बिजुलीको प्रयोग बढेकाले ग्यास आयात कम भएको हुनसक्ने बताउँछन्।
त्यसका साथसाथै पेट्रोलियम पदार्थको भाउ उच्च भएर विद्युतीय सवारीसाधनतर्फ धेरैको ध्यान जानु पनि अर्को कारण हुनसक्ने कार्कीको भनाइ छ।
पछिल्ला वर्षहरूमा ग्यासबाट चल्ने टेम्पोहरू विद्युतीयमा रूपान्तरण हुदैँ गएका छन्।
त्यसको पनि केही असर देखिएको हुनसक्ने निगमका अधिकारीको भनाइ छ।
ग्यास आयात र विद्युत् खपतको अवस्था
नेपाल आयल निगमको विवरण अनुसार गत साउनयताको आँकडा हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश महिनामा आयात कम भएको देखिन्छ।
यद्यपि साउन र माघ महिनामा केही बढी देखिए पनि अन्य महिनामा आयात घटेको छ।
माघमा भने जाडोको समय भएकाले सहरी क्षेत्रमा ग्यास गिजरलगायतका उपकरण चलाउन खपत केही बढ्दा माग बढी भइ आयात वृद्धि भएको निगमका अधिकारीहरू बताउँछन्।
सोही अवधिमा नेपालमा विद्युत्को माग पनि क्रमश: बढ्दो क्रममा रहेको देखिएको छ।
प्राधिकरणको प्रणाली सञ्चालन विभागले दिएको विवरणअनुसार गएको साउन र भदौको तुलनामा विद्युत् मागमा केही कमी आएको देखिए पनि कात्तिकयता क्रमश: माग बढिरहेको देखिन्छ।
अधिकारीहरूका भनाइमा असार, साउन र भदौ जस्ता महिनाहरूमा विशेषगरी तराईमा सिँचाइका लागि भूमिगत पानी तान्न पनि बिजुलीको प्रयोग धेरै हुनेहुँदा खपत बढ्ने गर्छ।
तर पछिल्लो प्रवृत्ति हेर्दा मानिसहरूले बिस्तारै खाना पकाउन विद्युत् खपत गर्न थालेको जस्तो देखिएको अधिकारीहरूको भनाइ छ।
फाइदा के हुनसक्छ?
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर ग्यासको खपत कम हुँदा देशलाई फाइदा पुग्ने बताउँछन्।
उनी भन्छन्, “यसले त विदेशी मुद्रा बचाउन नै सहयोग पुग्छ नि! आयात कम भएपछि पैसा विदेश जाँदैन।”
“हामीलाई त घाटा पनि कम हुन्छ किनकि आयल निगमले प्रतिसिलिन्डर अहिले पनि ५४५ रुपैयाँ घाटा सहेर ग्यास बिक्री गरिरहेको छ।”
यद्यपि अझै पनि सरकारले २४ घण्टा नै जहाँसुकै विद्युत् आपूर्ति हुन्छ भन्ने प्रत्याभूति नगरेकाले मानिसहरूले ग्यास र इन्डक्सन चुलोहरू समानान्तर रूपमा प्रयोग गरिरहेको उनी बताउँछन्।
“हामीले त्यो प्रत्याभूति दिनसके ग्यासबाट मानिसहरू विद्युत्तर्फ बिस्तारै फर्कन्छन्।”
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका पूर्व प्रमुख तथा ऊर्जासम्बन्धी जानकार शेरसिंह भाटका भनाइमा ग्यासको साटो विद्युत् प्रयोग गर्दा देश र उपभोक्ता दुवैलाई फाइदा छ।
उनी भन्छन्, “विदेशी मुद्रा जोगाउन यसले सहयोग गर्ने कुराले देशलाई नै फाइदा पुग्छ। ग्यासमा हुने खर्चभन्दा खाना पकाउँदा अहिलेको विद्युत् महसुलका हिसाबले कम हुन जान्छ।”
“त्यो कारणले उपभोक्तालाई पनि ग्यासमा खाना पकाउँदा भन्दा बिजुलीमा पकाउँदा मासिक रूपमा हुने खर्चमा केही न केही फाइदा पुग्छ।”
उनी अझै पनि धेरैलाई त्यस्तो फाइदाबारे जानकारी नभएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिन्छन्।