औँठाछाप र तस्बिरः ट्रम्प पक्राउ परेपछि के हुन्छ

तस्बिर स्रोत, Getty Images
- Author, एन्थनी जर्कर
- Role, बीबीसी न्यूज, वाशिङ्टन
स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठूलो रकम दिएको विषयमा गरिएको अनुसन्धानपछि लगाइएको अभियोगका कारण डोनल्ड ट्रम्प मङ्गलवार पक्राउ पर्ने सम्भावना छ। ट्रम्पले आफ्ना निजी वकिलमार्फत् ड्यान्यल्सलाई एक लाख ३० हजार डलर पठाएको आरोप छ।
पक्राउ पर्नु र अदालतमा उपस्थित हुनु एक दिनअघि ७६ वर्षे पूर्वराष्ट्रपति सोमवार फ्लोरिडाबाट न्यूयोर्क पुगेका छन्।
फौजदारी अपराधमा मुद्दा खेप्ने उनी पहिलो (पूर्व) अमेरिकी राष्ट्रपति हुन्। तर उनीविरुद्ध कस्तो अभियोग लगाइएको छ त्यो स्पष्ट हुन बाँकी छ।
ट्रम्पका वकिलहरूका अनुसार ट्रम्पले आफू दोषी नरहेको दाबी गर्ने बताइसकेका छन्।
यस विषयसँग सम्बन्धित केही महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिएको छ।
डोनल्ड ट्रम्पलाई कस्तो आरोप?
सन् २०१६ मा वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यान्यल्सले १० वर्षअघि ट्रम्पसँग आफ्नो "व्यभिचारपूर्ण सम्बन्ध" रहेको दाबी गर्दै सञ्चारसंस्थाहरूलाई सम्पर्क गरेकी थिइन्। उनी आफ्नो कथा बेच्न चाहन्थिन्।
ट्रम्पको टोलीले त्यसबारे सुइँको पायो र उनका वकिल माइकल कोहेनले ड्यान्यल्सलाई मुख नखोल्ने सर्तमा १,३०,००० डलर भुक्तानी गरे।
त्यसो गर्नु अवैध हैन। तर ट्रम्पले कोहेनलाई रकम सोधभर्ना गर्दा कानुनी शुल्क भन्ने अभिलेख राखियो। अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्नु भनेको झुटो व्यापारिक अभिलेख राख्नु हो जुन न्यूयोर्कमा 'मिस्डिमीनर' (अपराध) हो।
अभियोजनकर्ताहरूले ट्रम्पले त्यतिबेला निर्वाचन कानुन उल्लङ्घन गरेको आरोप पनि लगाउन सक्छन्। किनभने ड्यान्यल्सलाई दिइएको भुक्तानी लुकाउन खोज्नुको उद्देश्य राष्ट्रपति निर्वाचनका बेला मतदाताहरूले आफ्नो र ड्यान्यल्सबीच सम्बन्ध थियो भन्ने कुराको भेउ नपाऊन् भन्ने पनि हुनसक्छ। झुटो अभिलेख देखाएर अपराध ढाकछोप गर्नु 'फेलनी' अर्थात् अझ गम्भीर अपराध हो।
जे भए पनि यो त्यति स्पष्ट विषय भने हैन। त्यस्तो मुद्दाका लागि धेरै नजिर पनि छैन। निर्वाचन अभियानका लागि बनाइएको कोष र निजी खर्चको सीमा नाघेको आरोपमा नेताहरूलाई मुद्दा लगाउन खोजिएको प्रयासहरू पहिला पनि विफल भएका थिए।
ट्रम्पलाई अब के हुन्छ?
न्यूयोर्क सिटीका सरकारी वकिल एल्भिन ब्र्यागले ट्रम्पलाई अभियोग लगाउन मिल्नेगरी पर्याप्त प्रमाण छ कि छैन भनेर अनुसन्धान गर्न 'ग्र्यान्ड जूरी' गठन गरे। ग्र्यान्ड जूरीले गत साता मुद्दा अगाडि बढाउने निर्णय गर्यो।
न्यूयोर्क सिटी अदालतका एक प्रवक्ताका अनुसार स्थानीय समयानुसार मङ्गलवार दिउँसो २ बजे ट्रम्पविरुद्ध विधिवत् अभियोग लगाइने छ।
उनलाई आधिकारिक रूपमा अभियोग लगाइएको दस्ताबेज सार्वजनिक गर्नुअघि एक न्यायाधीशले ट्रम्पविरुद्ध लागेका अभियोगहरू पढेर सुनाउने छन्।


ट्रम्प सोमवार फ्लोरिडाको वेस्ट पाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गए। सोमवार राति उनी न्यूयोर्क सिटीस्थित ट्रम्प टावरमा बस्ने छन्।
राष्ट्रपति तथा पूर्व राष्ट्रपतिका सुरक्षामा खटिने सीक्रट सर्भिसका एजेन्टहरूको एउटा टोली र ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूको उपस्थितिमा ट्रम्पले मङ्गलवार म्यान्हटनस्थित अदालतमा आत्मसमर्पण गर्ने छन्।
सङ्घीय जाँच ब्यूरो एफबीआई, न्यूयोर्क सिटीको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सीक्रट सर्भिसले उक्त प्रक्रियाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएका छन्।

तस्बिर स्रोत, Getty Images
पक्राउ परेपछि ट्रम्पले के गर्नुपर्छ?
ट्रम्पलाई आवश्यक सहयोग गरिरहेको उनका कानुनविद्हरूको टोलीका अनुसार ट्रम्पलाई हतकडी लगाइने छैन र अदालतले उनलाई छुट्टै बाटोबाट अदालतमा प्रवेश गर्न अनुमति दिन सक्छ।
सामान्यतया प्रहरी हिरासतमा भएका व्यक्तिलाई अदालतमा लैजाँदा सञ्चारकर्मीहरूको पनि उपस्थिति हुने गर्छ। त्यसलाई 'पर्प वाक' भनिन्छ।
यद्यपि अदालतमा प्रवेश गरिसकेपछि फौजदारी मुद्दा खेप्ने अरू व्यक्तिहरूले जस्तै प्रहरीको अभिलेखका लागि ट्रम्पको औँठाछाप र 'मगशट' (अनुहार मात्र देखिने तस्बिर) खिचिने छ।
वकिल राख्न पाउने र प्रहरीलाई बयान दिन अस्वीकार गर्न सकिने संविधानप्रदत्त 'मिरान्डा' अधिकार पनि उनलाई पढेर सुनाइने छ।
मुद्दा चलाउने पूरै प्रक्रियामा उनीसँग सीक्रट सर्भिसका एजेन्टहरू हुने छन्।
त्यसपछि न्यायाधीशसमक्ष पेस गर्नुअघि ट्रम्पलाई कुनै होल्डिङ एरिया वा कक्षमा लगेर राखिने छ।न्यायाधीशसमक्ष प्रतिवादीले आफ्नो दलिल पेस गर्न पाउने अभियोजनको चरण भने सर्वसाधारणका लागि पनि खुला हुन्छ।
केही सञ्चारसंस्थाहरूले त्यस बेला अदालतमा क्यामरा लैजान पाइयोस् भनेर निवेदन दिएका छन्।

तस्बिर स्रोत, Getty Images
ट्रम्पको मुद्दामा सुनुवाइ कहिले हुन्छ?

ट्रम्पविरुद्ध मुद्दाको सुनुवाइ कहिले हुन्छ भन्ने स्पष्ट छैन।
मुद्दा दर्ता भइसकेपछि तथा न्यायाधीश छानिइसकेपछि सुनुवाइको समयसहित अरू विवरणहरू थाहा हुन सक्छ।
ट्रम्प धरौटीमा छुट्ने र फ्लोरिडा फर्किने ठानिएको छ।
'मिस्डिमीनर' गरेको ठहर हुँदा जरिवाना हुन्छ। यदि ट्रम्पले 'फेलनी' गरेको ठहर भए उनलाई अधिकतम चार वर्ष जेल सजाय हुन सक्छ। तर केही कानुनविद्हरूले ट्रम्पलाई जरिवाना हुने सम्भावना बढी भएको र उनले जेल बस्नुपर्ने सम्भावना नभएको बताएका छन्।

के ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाउँछन्?
मुद्दा लाग्दैमा वा फौजदारी अपराध गरेको ठहर हुँदैमा ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने बाटो छेकिँदैन। उनले अहिले जे भए पनि आफू आगामी निर्वाचनमा उठ्ने बताउँदै आएका छन्।
अमेरिकाको कानुनमा कुनै अपराधमा दोषी ठहर भएको व्यक्तिलाई जेल परेको भए पनि निर्वाचन अभियानमा सहभागी हुन र राष्ट्रपतिको भूमिका निर्वाह गर्न रोक्ने कुनै प्रावधान छैन।
ट्रम्प पक्राउ पर्दा उनको निर्वाचन अभियानमा केही जटिलता भने अवश्य उत्पन्न हुन्छ।
समस्यामा परेका आफ्ना नेतालाई केही रिपब्लिकन मतदाताहरूले समर्थन गरिराख्ने भए पनि मत माग्दा र बहसहरूमा सहभागी हुँदा उम्मेदवारको ध्यान अन्यत्र मोडिन सक्छ।
यसबाट अमेरिकी राजनीतिक प्रणालीमा विद्यमान विभाजन अझ चर्किन सक्छ।
परम्परावादीहरू पूर्वराष्ट्रपति ट्रम्पलाई न्यायको छुट्टै मापदण्डअनुसार मुद्दा चलाउन लागिएको ठान्छन् भने उदारवादीहरू यो मुद्दाले कानुन मिच्ने व्यक्तिलाई ऊ जति ठूलै पदमा भए पनि उत्तरदायी बनाउनुपर्छ भन्ने देखाएको धारणा राख्छन्।








