गढीमाई मेला: किंवदन्ती, परम्परा र आलोचनामा परेको बलि प्रथा

    • Author, माधुरी महतो
    • Role, वीरगन्ज

बारा जिल्लाको प्रसिद्ध गढीमाई मेला मङ्सिर ३० गते सकिएको छ तर पनि मानिसहरूको भिडभाड तथा विशेष पूजापाठ अहिले पनि चलिरहेको छ। पञ्चवर्षीय मेलाको समापन औपचारिक रूपमा माघ पाँच गते गरिने तालिका रहेको बताइएको छ।

बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा एक पटक हुने यो मेलामा पुस मसान्तसम्म करिब २ करोड ५० लाख दर्शनार्थी सहभागी भएको र दैनिक रूपमा २० लाखसम्म दर्शनार्थीहरूले मेलामा आउने गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जनाएका छन् ।

पञ्चवर्षीय गढीमाई मेलाका बेला नेपाल र भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालुको भिड लाग्ने गर्दछ। र यस क्रममा देवीलाई ठूलो सङ्ख्यामा विभिन्न पशुपक्षीको बलि पनि चढाउने गरिन्छ।

गढीमाईको मेलासँगै जोडिएर आउने बलि प्रथा र केही पशुअधिकारकर्मीहरूले गर्ने त्यसको विरोधका कारण यो मेलाको चर्चा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा समेत हुने गरेको छ।

पञ्चवर्षीय मेलामा करोडौँ दर्शनार्थीहरू गढीमाई आउने गरेको तथ्याङ्क छ।

यस वर्ष पनि उत्तिकै भिडभाड देखिएको थियो।

यसपालिको मेलामा हालसम्म करिब १० हजार राँगा, २ लाख ५० हजार बोका र करिब ३ लाख परेवाको बलि दिइएको मेला आयोजक मूल समितिका महासचिव वीरेन्द्रप्रसाद यादव बताउँछन्।

मेलामा भेटीबाट एक करोड २५ लाख रुपैयाँ, मनोरञ्जनप्रदायक खेल प्रदर्शनीबाट एक करोड ३३ लाख रुपैयाँ, जग्गा भाडाबाट ७० लाख, परेवाबाट २१ लाख, राँगाबाट २२ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५० लाख र महागढीमाई नगरपालिकाबाट करोड ५० लाख आम्दानी आएको महासचिव यादवले बताए।

मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसीटीभी क्यामेरा, शौचालय, पार्किङ, खानेपानी, मन्दिर वरिपरि ट्राफिक व्यवस्थापन, वाई फाई, निःशुल्क भोजन, एम्बुलेन्स, स्वास्थ्य जाँच, वारुणयन्त्र, घुम्ती एटीएम, लगायतको व्यवस्थासमेत गरिएको थियो जसमा २/साढे २ करोड जति खर्च भएको अनुमान गरिएको उनी बताउँछन्।

मेलामा १ हजार जना जनपद,५ सय सशस्त्र प्रहरी, २ सय ५० जना सेना, नगर प्रहरी १०० जना र ५ सय स्वयंसेवक गरी करिब ३ हजार जनालाई सुरक्षा व्यवस्थापनमा लगाइएको यादवले जानकारी दिए।

उनकाअनुसार भारत लगायत अन्य स्थानबाट आउने दर्शनार्थीहरुको लागि ६ स्थानमा निःशुल्क खाना, बस्ने र सुत्ने व्यवस्थासमेत गरिएको थियो।

किंवदन्ती

किंवदन्ती अनुसार करीब ८ सय वर्ष पहिले जेलघरमा राति सपनामा आएकी देवीले भगवानदास चौधरीलाई उनको गाउँमा आस्थाका साथ लैजान भनेको र त्यसो गरेमा चौधरीलाई जेलमुक्त गराइदिने तथा सबै दुःख पीडा समाप्त गरिदिने भनेकी थिइन्।

अनि उनले जेलबाट निस्केपछि भवानीको त्रिशूल बाराको बरियारपुरमा ल्याएर गाडेको किंवदन्ती छ।

तिनै चौधरीका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएको बताइन्छ।

मन्दिरका संस्थापक पुजारी मानिने उनै भगवानदास चौधरीका सन्तानबाट १० औं पुस्ताका शिव चौधरी हाल मन्दिरका मूल पुजारी रहेका छन्।

देवीकै सुझाव अनुसार उक्त क्षेत्रमा हुने गरेको अनिष्ट रोक्न बलि प्रथा सुरु गरिएको बताइन्छ।

त्यसै बेलादेखि नरबलिको सङ्केतका रूपमा मानिसको शरीरका पाँच थोपा रगत चढाइने र बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुराको पञ्चबलि दिइने प्रचलन सुरु भएको बताइन्छ।

देश विदेशका श्रद्धालु

मनले चिताएको कामना पूरा हुने विश्वासमा गढीमाईमा विभिन्न जनावरहरूको बलि चढाउने भनेर भाकल गर्ने गरिन्छ।

भाकल पूरा भएको भन्दै गढीमाई मेलामा बलि चढाउनका लागि भारतको रामनगरबाट आएकी शिलादेवी भन्छिन्, "गढीमाई माताप्रतिको विश्वासका कारण म लामो यात्रा गरेर यहाँ आएकी हुँ। माताले हाम्रो परिवारको मनोकाङ्क्षा पुरा गर्नुभयो त्यसैले आज म यहाँ छु।"

गढीमाई मन्दिर नजिक भेटिएका अर्का श्रद्धालु रमेन्द्र साह भन्छन्, "सन्तान प्राप्त गर्ने मेरो मनोकाङ्क्षा पूरा भएको छ। त्यसकारण भाकल गरे अनुसारको बलि चढाउन आएको छु।"

भारतको विहारस्थित बेतियाबाट मेलामा आएका गुड्डुकुमार सिंहले बाबुबाजेको पालादेखि मेला भर्न आउने गरेकोमा एक पटक आफ्नो छोरालाई गम्भीर किसिमको समस्या भएपछि भाकल गर्दा समाधान भएको विश्वास लागेकाले दर्शन गर्न आएको बताए।

काठमाण्डूबाट आइपुगेका विकास खनालले भने, "यो मेलामा दर्शन गर्न आएपछि मनमा शान्तिको महसुस हुने गरेकोले पाँच वर्ष पहिले आएको थिएँ, यसपालि पनि आइपुगेको छु।"

विवादमा बलि दिने प्रचलन

पछिल्लो समय गढीमाईको पञ्चवर्षीय मेलाका बेला बलि दिने प्रथाका कारण ठूलो सङ्ख्यामा पशुपङ्क्षीको वध गर्ने गरिएको भनेर पशुअधिकार अभियानकर्मीहरूले आलोचना र विरोध गर्ने गरेका छन्।

बलि प्रथा विरुद्धको अभियानमा संलग्न बाराकी एक अधिकारकर्मी कलावती पासवान भन्छिन्, "अब बलि प्रथा रोकिनुपर्छ। पूर्वजहरूले जे गरे सबै प्रथा र परम्परालाई जस्तोसुकै भए पनि हामीले अँगालेर जानुपर्छ भन्ने हुँदैन। केही नकारात्मक लाग्छ भने रोकिनुपर्छ राम्रो सकारात्मक छ भने निरन्तर अगाडि लिएर जानुपर्छ।"

गढीमाई मेलाको समयमा सामाजिक सञ्जालमा पनि यसबेला हुने बलिको प्रचलनले खूब चर्चा पाउने गरेको देखिन्छ ।

तर मांसाहारका लागि दैनिक नै वध गरिने र हिन्दू लगायत अरू धार्मिक समुदायको विशेष पर्वका बेला पशुपक्षीको बलि हुने गरेको दृष्टान्त दिँदै कतिपयले गढीमाईको बलिको मात्र विरोध गरिनुको औचित्यमाथि प्रश्न उठाउनुपर्ने बताउँछन्।

गढीमाईको मेलाको एउटा परम्परा बलिका विषयमा पक्ष विपक्षका बीच वाद प्रतिवाद भैरहँदा भाकल पूरा भएको भनेर बलि दिन पशु लिएर आएका श्रद्धालुहरूको सहभागी घटेको नदेखिएको र अधिकारकर्मीहरूको विरोध पनि कायमै रहेको स्थानीय बुद्धिजीवीहरूले बताएका छन्।

भारतका विभिन्न सहरहरुबाट बलि दिने पशुका साथ यात्रामा निस्केकाहरूलाई कताकती नेपाल-भारत सिमा नाकामै रोकिएको विवरण आए पनि बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभिन्न नाका हुँदै भारतबाट मेला भर्नका लागि आउने दर्शनार्थीलाई नेपाल तर्फबाट कुनै पनि अवरोध नगरिएको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।