कुवेतमा 'विषाक्त मदिरा पिउँदा' ९ नेपाली श्रमिकको मृत्यु, ३५ जना बिरामी

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा देखाइएको कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको आकृति

तस्बिर स्रोत, Nepali Embassy in Kuwait

तस्बिरको क्याप्शन, नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको आकृति देखाइएको थियो
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कुवेतमा विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकहरूको मृत्यु भएको त्यहाँ रहेका नेपाली अधिकारीले बताएका छन्।

गैरकानुनी रूपमा बिक्री हुने यस्तो मदिरा सेवन गरेको भनिएका थप ३५ जना भन्दा धेरै नेपालीहरू कुवेतका विभिन्न अस्पतालमा उपचाररत रहेको उनीहरूको भनाइ छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएका छन्। मृतकको सङ्ख्या २३ पुगेको र अधिकांश एशियाली मूलका मानिसहरू रहेको मन्त्रालयले शुक्रवार एक विज्ञप्तिमार्फत् जनाएको छ।

"अधिकांश पीडितहरूलाई सघन चिकित्सा एकाइ (आईसीयू)मा भर्ना गरिएको छ। त्यहाँ भेन्टिलेटर र आपत्कालीन डायलिसिसको आवश्यक परेको छ," कुवेतको स्वास्थ्य मन्त्रालयले भनेको छ।

नेपाली अधिकारीहरूको भनाइ

कुवेतस्थित नेपाली दूतावास

तस्बिर स्रोत, Nepali Embassy Kuwait

नेपालको परराष्ट्र मन्त्रालयले कुवेतमा नेपालीहरूको मृत्यु र बिरामी भएको घटनामा आवश्यक समन्वय गर्न त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बताएको छ।

"दूतावासलाई आवश्यक समन्वय गर्न मन्त्रालयले भनेको छ। यो दुःखद घटनाबारे नेपाली दूतावासले नजिकबाट आवश्यक समन्वय र काम गरिरहेको छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

दूतावासले शुक्रवारसम्म नौ जना नेपालीको मृत्यु भएको जनाएको छ।

"तीन दिनको अवधिमा नौ जना नेपालीहरूको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। कारण यकिन गर्न मेडिकल रिपोर्ट पर्खनुपर्ने हुन्छ। पुष्टि गर्न हामी त्यसको पर्खाइमा छौँ," जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बीबीसीलाई जानकारी दिए।

"यही अवधिमा विषाक्त मदिरा सेवनका कारण नेपालीहरूको विभिन्न अस्पतालमा उपचार पनि भइरहेका कारण यही कारण मृत्यु भएको भन्ने आशङ्का छ।"

उनका अनुसार नेपालीहरू गएको मङ्गलवारबाट बिरामी परेका थिए।

गैरआवासीय नेपाली सङ्घका दुई समानान्तर समितिमध्ये एउटा समितिका अध्यक्ष दिलकुमार पाख्रिनले शुक्रवार वा शनिवार नै उनीहरूले मदिरा सेवन गरेको आशङ्का गरिएको बताए।

"उनीहरूलाई लक्षण मङ्गलवारबाट मात्रै देखिए पनि त्यस्तो रक्सी शुक्रवार र शनिवारतिरै पिएको भन्ने बुझिएको छ," पाख्रिनले भने।

आफूहरू नेपालीहरूको अवस्था बुझ्न अस्पताल पुगे पनि स्थानीय प्रशासनले बिरामीहरूसँग भेट गर्न अनुमति नदिएको उनले जानकारी दिए।

नेपाली अधिकारीहरूले स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिहरूसँग भेट गरेर कुराकानी गरेको दूतावासका श्रम सहचारी आचार्यले जानकारी दिए।

"हामीले केही व्यक्तिहरूलाई भेटेका छौँ। लामो कुराकानी भएको छैन। अस्पतालको प्रशासनसँग समन्वय गरेर उनीहरूको विवरण लिएका छौँ," उनले भने।

कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको विवरण प्रकाशित गरेको गैरआवासीय नेवाली सङ्घका प्रतिनिधिले बताएका छन्।

गैरआवासीय नेपाली सङ्घका एक प्रतिनिधिका अनुसार कुवेतमा गैरकानुनी रूपमा बिक्री हुने मदिरामा विषाक्त रसायन प्रयोग गरिँदा यसअघि पनि नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो।

मदिरा प्रतिबन्धित

मान्छेको शरीरमा मिर्गौला देखाउने चित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेथनोलको सेवनले मिर्गौलामा अम्ल भरिन सक्छ

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष पाख्रिन आफूले चिनेका केही नेपालीहरू पनि घटनामा परेको बताउँछन्।

"पछिल्लो समय कुवेत सरकारले गैरकानुनी रूपमा मदिरा बनाउने ठाउँमा कडा जाँच र नियन्त्रण गरेका कारण मदिराको अभाव भएको थियो। त्यसरी मदिराको कारोबार गर्नेहरूले विषाक्त रसायनहरू प्रयोग गरेर मदिरा बनाएका कारण अहिलेको समस्या निम्तिएको हो," पाख्रिन भन्छन्।

"यो भन्दा पाँच वर्ष अघि पनि नेपालीहरूसहित अरू देशका नागरिकहरूको पनि ज्यान गएको थियो। त्यस बेला मेरो एक जना आफन्त पनि पर्नुभएको थियो।"

मुस्लिम देशहरूमा मदिरा तस्करी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रतिबन्धका कारण कतियपय मुस्लिम देशहरूमा मदिराको तस्करी हुने गरेको छ

कुवेतमा मदिरा उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ।

"अवैधानिक रूपमा भइरहेको कारोबारमा अनविज्ञ भएर उहाँहरू परेको हुन सक्छ," दूतावासका श्रम सहचारी आचार्य भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।