अवैध मदिराले कसरी ज्यान लिन सक्छ, विषालु रक्सी कस्तो हुन्छ

तस्बिर स्रोत, Getty Images
- Author, सुनेथ परेरा
- Role, बीबीसी न्यूज
लाओसमा अवैध रूपमा उत्पादित विषाक्त मदिरा सेवन गर्दा केही विदेशी पर्यटकको मृत्यु भएको विवरणहरू आएका छन्। सन्दिग्ध विषाक्त मदिरा सेवन गर्नेमध्ये शुक्रवार अर्का एक अस्ट्रेलियाली किशोरको ज्यान गएपछि मृतकको सङ्ख्या छ पुगेको छ।
उक्त घटनामा गत साता अस्ट्रेलिया र अमेरिकाका एक-एक जना र डेन्मार्कका दुई जनाको मृत्यु भएको थियो। यसबारे छानबिन भइरहेको छ।
विगत केही वर्षमा फिलिपिन्सदेखि पेरुसम्म विश्वका विभिन्न स्थानमा मदिरामा विष पर्ने घटनाहरू भएका विवरणहरू सार्वजनिक भएका छन्। केही महिनाअघि भारतमा मेथनोल मिसिएको विषालु मदिरा पिउँदा भारतमा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Getty Images
“मसँग त्यो दिन बसेर पिउनेहरूमध्ये प्रायः सबैको मृत्यु भयो। मलाई आफू पनि बाच्दिनँ जस्तो लागेको थियो,” भारतमा थाहै नपाई विषाक्त मदिराको सेवन गरेर हाल स्वास्थ्यलाभ गरिरहेकी सत्याले भनिन्।
त्यही बेला मदिरा पिएका मुरुगनलाई पनि त्यसपछि उपचार गर्नुपर्यो।
“म आफू बाँच्नुको श्रेय चिकित्सकहरूलाई जान्छ। मलाई म बाँच्छु भन्ने कहिल्यै लागेको थिएन। म अचेत थिएँ र मृत्युबाट त्रसित थिएँ।”

तस्बिर स्रोत, BBC Tamil
सत्या र मुरुगनलगायत २१९ जनालाई गत जुन महिनामा मेथनोल मिसाइएको मदिरा सेवन गरेपश्चात् भारतको तमिलनाडु राज्यमा अस्पताल भर्ना गरिएको थियो।
अवैध मदिरा सेवन गर्नेमध्ये कम्तीमा ५७ जनाको मृत्यु भयो।
“म विगत २० वर्षदेखि मदिरा पिउँदै आएको छु। अस्पतालमा हुँदा एक दिन पनि एक वर्षजति लाग्यो। अब म कहिल्यै पनि मदिरा पिउने छैन,” मुरुगनले बीबीसीसँग भने।
विश्वका अन्य ठाउँका यस्ता घटनामाजस्तै तमिल नाडुमा अस्पताल पुर्याइएकाहरूलाई आफूले विष पिइरहेको थाहा थिएन।

नक्कली मदिराको सेवनले रुसमा हरेक वर्ष झन्डै ९०० जना मानिसको मृत्यु हुने गरेको त्यहाँको राष्ट्रिय उपभोक्ता अधिकार सङ्घले जनाएको छ।
इरानमा सन् २०२० मा विषाक्त मदिराको सेवनबाट ४४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो।
अनि सन् २०१८ मा इन्डोनेशियामा घरमा बनाइएको मदिरा सेवनपछि कम्तीमा ४५ जनाको मृत्यु भएको थियो ।

तस्बिर स्रोत, Getty Images
अवैध मदिरा किन विषाक्त
यीमध्ये अधिकांश घटनाहरूको सम्बन्ध मेथनोलसँग छ। मेथनोल साधारणतया ‘मूनशाइन’ र ‘हूच’जस्ता अवैध मदिरामा पाइने विषालु मिश्रण हो।
मेथनोल मदिरा बनाउने प्रक्रियामा उत्पादन गरिन्छ र आसवन प्रक्रियामार्फत् यसलाई सघनीकरण गरिन्छ।
व्यावसायिक उत्पादकहरूले यसलाई मानिसले उपभोग गर्न सुरक्षित हुने स्तरमा ल्याउँछन् ।
तर घरेलु मदिराको अवैध उत्पादन गर्नेहरूले भने सस्तो घरेलु मदिरालाई थप कडा बनाउन रङ्ग र भार्निशमा पाइने औद्योगिक मेथनोलको प्रयोग गर्छन्।

तस्बिर स्रोत, Getty Images
यो विषालु मिश्रणको थोरै मात्राको प्रयोगले पनि अन्धोपन, कलेजोमा क्षति हुने र मृत्यु हुने जोखिम रहन्छ।
मेथनोल पोइजनिङ इनिशटिभ (एमपीआई) का अनुसार सन् २०२३ मा मेथनोलसँग सम्बन्धित ६० घटनाहरू दर्ता भएका थिए। यी घटनामा ३०९ जनाको मृत्यु भएको छ।
ओस्लो विश्वविद्यालय र मेड्साँ साँ फ्रँतिएले सुरु गरको यो अभियानका अनुसार प्राय: विषाक्तताका घटनाहरू विशेषतः एशियाली देशहरूमा देखिएका छन्।
मेथनोल विषाक्तताका लक्षणहरू केके हुन्?
औद्योगिक मेथनोलको सानो मात्राको सेवन पनि अति खतरनाक हुन्छ ।
यूकेको पब्लिक हेल्थ इङ्ग्ल्यान्डका अनुसार मेथनोलको सेवन गर्दा वा यसको बाफ लिँदा पनि गम्भीर स्वास्थ्य समस्या आउन सक्छ।
यसले निम्न समस्या ल्याउन सक्छ-
- मूर्च्छा
- जीउ बटारिने (कन्भल्शन)
- स्नायु प्रणालीमा क्षति
- मृत्यु
तमिल नाडुको पुदुकोट्टई सरकारी मेडिकल कलेज अस्पतालका डा. ए मुथुले मेथनोलका कारण पैदा हुने अम्लले कसरी ज्यान लिन्छ भनेर बीबीसीलाई बताएका छन् ।
“जब मिर्गौलामा अम्लको मात्रा बढ्दै जान्छ, त्यसले पिसाबको प्रवाहलाई रोक्छ। यसले नुनिलो पदार्थको मात्रा बढाउँछ र मिर्गौला बिगार्छ।”

तस्बिर स्रोत, Getty Images
मेथनोलले निम्त्याउँछ अन्धोपन
‘ब्रिटिश जर्नल अफ अफ्थ्याल्मोलजी’मा प्रकाशित एक अध्ययनका अनुसार सानो परिमाणमा मेथनोल सेवन गर्दा पनि केन्द्रीय स्नायु प्रणालीमा क्षति भएर उपचार गर्नै नसकिने स्तरको दृष्टिविहीनता उत्पन्न हुन सक्छ।
अतिविकसिक चिकित्सा प्रणालीको प्रयोग गरे पनि अवैध मदिरा पिउने बिरामीहरूको दृष्टि फिर्ता ल्याउन नसकिन सक्छ।
लिङ्कन काउन्टी अस्पतालका परामर्शदाता विकास सोदिवालाले बीबीसीलाई बताएअनुसार सन् २०१२ मा चक्कर लाग्ने, वाक्वाकी हुने, पेट दुख्ने, बान्ता हुने र दृष्टि धमिलो हुनेजस्ता समस्या लिएर मानिसहरू अस्पतालमा आएका थिए।
उनीहरूले पसल र गाडीमा बेचिएको मदिरा किनेको पाइएको सोदिवालाले बताए।
“मेथनोलले आँखाको पछाडिको भागमा रहेको अप्टिक नर्भमा क्षति पुर्याउँछ। यही कारणले मानिसको दृष्टिमा असर पुग्ने र कतिपय अवस्थामा दृष्टिविहीन पनि बनाउँछ,” उनले भने।

तस्बिर स्रोत, Getty Images
विश्वमा कस्तो छ अवस्था?
एमपीआईका अनुसार मेथनोल विषाक्तताले विश्वव्यापी रूपमा पहिल्यै जोखिममा रहेको जनसङ्ख्यालाई असर गरेको छ र यससँग सम्बन्धित घटनाहरू प्रायः जानकारीमा नै आउँदैनन्।
‘ब्र्यान्डिड’ मदिराहरूको बढ्दो मूल्यबीच सस्तो घरेलु मदिराले न्यून आय भएका मानिसहरूलाई आकर्षित गरिरहेको छ।
यस्तो मदिराका कारण सन् २०११ मा भारतको पश्चिम बङ्गाल राज्यमा झन्डै १७० जनाको मृत्यु भएको थियो भने सन् २००९ मा गुजरातमा १०० जनाभन्दा धेरैको मृत्यु भएको थियो। सन् २०१५ मा महाराष्ट्र राज्यको मुम्बईमा थप १०० जनाको मृत्यु भएको थियो।
अनुसन्धानकर्ताहरूले सन् २०२२ मा दक्षिण अफ्रिकाको एक रात्रिक्लबमा मृत्यु भएका २१ युवाहरूको शरीरमा मेथनोलको अंश पाएका थिए।

तस्बिर स्रोत, Getty Images
प्रतिबन्धले काम गर्छ?
केही मुस्लिम देशहरूमा मदिरालाई ‘हराम’ (वर्जित) मान्दै प्रतिबन्ध लगाइएको छ।
तर विज्ञहरू मुख्य गरी मुस्लिम बाहुल्य रहेका इरान र इन्डोनेशियाजस्ता देशहरूमा अवैध मदिराको सेवनबाट हुने मृत्युलाई रोक्न मदिराको सेवनमा रहेको धार्मिक प्रतिबन्धले चुनौती धपेको बताउँछन्।
यसले मानिसहरूलाई आफू बिरामी हुँदा पनि लज्जित बनाइने वा अपराधीकरण गरिने डरका कारण सहयोग खोज्नबाट रोकिरहेको छ।
सन् २०१४ मा पाकिस्तानको सिन्ध क्षेत्रमा प्रतिबन्धित मदिराको सेवनका कारण ४० जनाको मृत्यु भएको थियो।
विदेशी बार र छुट्टी मनाउन लोकप्रिय ठाउँहरूमा पर्यटकले मदिराको सेवन अत्यधिक हुने भएकाले त्यहाँ मेथनोल मिश्रित पेय पदार्थको सेवन हुन सक्ने जोखिम बढी हुन्छ।

तस्बिर स्रोत, Getty Images
अवैध मदिरा कहाँ पाइन्छ र कसरी थाहा पाउने?
जुनसुकै देशमा भए पनि तपाईं अवैध मदिरा बिक्री गर्नेहरूको सिकार बन्न सक्ने जोखिम रहन्छ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले ‘बिक्री भइरहेको मदिराको मूल्य त्यसको साधारण मूल्यभन्दा कम छ वा त्यसमा मदिराहरूमा लाग्ने साधारण करहरू नलागेको भएमा त्यो नक्कली हुन सक्ने’ भनेको छ।
इनटरपोलले अवैध मदिरा चिन्ने अर्को उपायबारे भनेको छ : "प्याकेजिङको गुणस्तर कमसल छ कि, हिज्जेमा गल्ती छ कि तथा बोतलको आकार अस्वाभाविक छ कि हेर्नुहोस्।"
उसका अनुसार सामान्य समझ प्रयोग गरेर पनि अवैध मदिरा चिन्न सकिने बताएको छ। "नराम्रो गन्धप्रति सचेत रहनुहोस्। यदि यो रङ्ग वा पोलिश हटाउने वस्तुजस्तो गन्हाउँछ भने यो अवैध हुन सक्छ।"
तर पनि ठूला बिक्री केन्द्रहरूले पनि अन्जानमै विषाक्त मदिरा बिक्री गरिरहेका हुन सक्छन्।

तस्बिर स्रोत, Getty Images
नाइजिरिया
नाइजिरियाका ‘खानपान समीक्षक’ ओपेयेमी फेमेकिनले आफूले पोर्ट हार्कोर्टस्थित एक रात्रिक्लबमा ‘ब्र्यान्डिड’ मदिरा पिउँदा पनि अत्यधिक बिरामी भएको बीबीसीसँग बताए। उक्त मदिरा वास्तवमा ‘नक्कली’ रहेको उनी बताउँछन्।
“त्यसको स्वाद नै अर्कै थियो । तर जब तपाईं पार्टी गरिरहनु भएको हुन्छ, त्यस्तो कुराको मतलब हुँदैन। तर, त्यसपछि म पाँच दिनका लागि नराम्रोसँग बिरामी भएँ,” उनले भने।
उनले आफ्नो अनुभव सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। त्यसपछि थुप्रैले नाइजिरियाका थुप्रै सहरहरूमा ‘व्याप्त’ रहेको नक्कली मदिरासँग सम्बन्धित समान अनुभवहरू बाँडेका थिए।
तर धनी देशहरूमा पनि सोही किसिममा अपराधीहरू सक्रिय रहेका छन्।
ग्रीस

सन् २०१६ मा ग्रीसको जान्टीमा साथीहरूसँग रातभर बारहरूमा घुमेको भोलिपल्ट २३ वर्षीया हन्ना पोवेलले वाक्वाकी र अत्यधिक थकाइ लागेको महसुस गरेकी थिइन्।
तर त्यो ‘ह्याङ्ओभर’ थिएन।
उनले भोड्का पिएकी थिइन्। तर त्यसमा घातक मेथनोल मिसाइएको कुराबारे उनलाई थाहा थिएन।
त्यसका कारण उनको मिर्गौलाले काम गर्न छाडे र उनी दृष्टिविहीन पनि भइन्।
“वास्तवमा माफिया समूहहरूले त्यसलाई जङ्गलमा बनाउने र बारहरूमा सस्तो मूल्यमा बिक्री गर्ने गर्छन्। अनि बारको भण्डारकक्ष त्यही मदिराले भरिन्छ,” बीबीसी न्यूजबीटसँगको कुराकानीमा उनले भनिन्।
सन् २००९ मा इन्डोनेशियाको बालीमा चार जना विदेशीसहित थप २५ जनाको पाम मेथनोल मिश्रित ‘पाम वाइन’ पिएपछि मृत्यु भएको थियो।
“म बत्ती बाल्नका लागि उठेँ। त्यति बेला नै म आत्तिएकी थिएँ किनकि त्यही बेला मलाई बत्ती बलिरहँदा पनि मैले केही देख्न नसकेको थाहा भएको थियो।”
रुस

तस्बिर स्रोत, Getty Images
रुसमा किराना पसलहरूमा नक्कली भोड्का सजिलै पाइन्छ । सन् २००० को दशकको मध्यसम्म सुपरमार्केटहरूमा बिक्री हुने मदिराको आत्रा भाग नक्कली हुने गरेको थियो।
सन् २०२३ मा सुपरमार्केटहरूमा कानुनी रूपमै बिक्री गरिएको ‘मिस्टर साइडर’ नामक मदिरा पिएपछि रुसका कैयौँ क्षेत्रमा २३ जनाको मृत्यु भएको थियो।
यो वर्षको सुरुवातमा रुसी सरकारले स्थापित उत्पादकहरू मात्रै आवेदन दिन सक्षम होऊन् भन्ने निश्चित गर्न मदिरा उत्पादकको इजाजतपत्रका लागि पालना गर्नुपर्ने सर्तहरूमा कडाइ गरेको छ।
अवैध मदिराको सिकार मान्छे मात्रै होइनन्

तस्बिर स्रोत, Getty Images
श्रीलङ्काजस्ता कैयौँ देशहरूमा अवैध मदिराको उत्पादनले वन्यजन्तु र वातावरणलाई पनि असर गरिरहेको छ।
सन् २०२२ मा त्यहाँका वन अधिकारीहरूले अवैध मदिराको भाँडोमा सूँड अड्किएको अवस्थाबाट एक हात्तीको उद्धार गरेका थिए।
पर्यावरणविद्हरू हात्तीको आवतजावत हुने वनक्षेत्रमा भइरहेका अवैध मदिरासँग सम्बन्धित गतिविधिलाई जोगाउन तस्करहरूले हात्ती मारेको आरोप लगाउँछन्।
मेथनोल र एथनोलबीचको फरक के हो?

तस्बिर स्रोत, Getty Images
एथनोल र मेथनोल दुई किसिमका ‘एल्कहोल’ हुन् र तिनको प्रयोग इन्धन र घोलकका रूपमा समेत हुन्छ ।
एथनोल बिअर, वाइन र स्पिरिटजस्ता मदिराजन्य पेय पदार्थमा पाइने महँगो किसिमको रसायन हो ।
यसको सेवनले टाउको दुख्ने र वाक्वाकी लाग्ने हुन सक्छ तर यी असरहरू क्षणिक हुन् ।
तर हल्का मदिराको जस्तो गन्ध भएको मेथनोल तुलनात्मक रूपमा सस्तो, अति विषाक्त र सेवन गर्न नहुने पदार्थ हो ।
पहिलापहिला यो रसाय काठबाट आसवन गरिन्थ्यो। त्यसैले यसलाई ‘काष्ठ मदिरा’ पनि भनिन्छ।
बीबीसी न्यूज तमिल, बीबीसी न्यूज एशिया, बीबीसी न्यूज पर्शिअन, बीबीसी न्यूज अफ्रिका, बीबीसी न्यूज रसिया, बीबीसी न्यूजबीट र बीबीसी अन्लाइनको सहयोगमा बीबीसी विश्व सेवाले सङ्कलन गरेको सामग्री
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








