अमेरिकाद्वारा यमनका हूथी विद्रोहीमाथि हवाई आक्रमण

    • Author, मालु कुर्सिनो
    • Role, बीबीसी न्यूज

अमेरिकाले यमनमा हूथी विद्रोहीमाथि "निर्णायक र शक्तिशाली" हवाई आक्रमण सुरु गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

'रेड सी'मा उक्त समूहले पानीजहाजहरूमा गरेको आक्रमणलाई निस्तेज पार्न त्यसो गर्नु परेको ट्रम्पको भनाइ छ।

"इरानद्वारा सहायता पाएका हूथी ठगहरूले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् र हाम्रो सेना एवं साझेदारहरूलाई निसानामा पारेका छन्," ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्।

मानवीय क्षति

उनले हूथीहरूको "डकैती, हिंसा र आतङ्कवाद"ले "अरबौँ डलर" नष्ट भएको र जीवनलाई नै खतरामा पारेको पनि उल्लेख गरेका छन्।

हूथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

गाजामा इजरेल-हमास युद्ध सुरु भएपछि त्यसको प्रतिक्रियामा समुद्री जहाजलाई लक्षित गर्दै हूथीहरूले आक्रमण गरिरहेका छन्। हूथीले अमेरिकी आक्रमणको जबाफ दिने बताएको छ।

साउदी अरबसँग सीमा जोडिएको क्षेत्रमा हूथी विद्रोहीको गढ रहेको उत्तरी प्रान्त सादा र सनामा शनिवार साँझ शृङ्खलाबद्ध विस्फोटन भएको उक्त समूहले जानकारी दिएका छन्।

इरान समर्थित विद्रोही समूह हूथीले इजरेललाई आफ्नो शत्रु मान्छ र उसले यमनको सना र उत्तर-पश्चिम क्षेत्रमा नियन्त्रण गरेको छ। उक्त समूहले चलाएको सरकार अन्तर्राष्ट्रिय मान्यता प्राप्त होइन।

हूथीको आरोप

केही पुष्टि हुन नसकेका तस्बिरहरूमा सना विमानस्थल क्षेत्रमा कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ। त्यहाँको सैन्य क्षेत्रबाट पनि त्यस्तै धुवाँको मुस्लो उडेको छ।

एउटा विज्ञप्तिमा हूथीहरूले यमनको राजधानी सनाका आवासीय क्षेत्रहरू लक्षित गरी अमेरिका र यूकेले आक्रमण गरेको आरोप लगाएका छन्।

यद्यपि यूके शनिवारको अमेरिकी हमलामा सहभागी नभएको बुझिएको छ। उसले अमेरिकीहरूलाई नियमित इन्धन भर्ने काममा भने सहयोग गरेको छ।

ट्रम्पले त्यस क्षेत्रमा हूथीहरूले गर्ने आक्रमणहरू "सह्य नहुने" बताएका छन्।

उनले भनेका छन्, "हामीले हाम्रो उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्नेछौँ।"

इरानले के भन्यो?

इरानका विदेशमन्त्री अब्बास अरग्चीले अमेरिकी सरकारसँग "इरानी विदेश नीतिलाई निर्देशित गर्ने अख्तियार वा अधिकार नभएको" बताएका छन्।

"इजरेली नरसंहार र आतङ्कवादका निम्ति समर्थन गर्न छाड्नुहोस् ," उनले आइतवार एक्समा पोस्ट गरेका छन्, "यमनी जनताको हत्या रोक्नुहोस्।"

हूथीहरूले आफूहरूले गाजामा इजरेल र हमासबीचको युद्धमा प्यालेस्टिनीको समर्थनका लागि काम गरेको दाबी गरेका छन्।

उनीहरूले इजरेल, अमेरिका वा यूकेसँग जोडिएका पानीजहाजलाई मात्र लक्षित गरेर हमला गरिरहेको बताए पनि त्यो प्राय: झूटो हुने गरेको छ।

सन् २०२३ को नोभेम्बरदेखि हूथीहरूले रेड सी र गल्फ अफ एडेनमा क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाबाट आक्रमण गरी दर्जनौँ व्यापारिक पानीजहाजहरूलाई निसाना बनाएका छन्।

त्यसयता उनीहरूले दुईवटा जहाजहरू डुबाइदिएका छन् भने अर्को एउटा जहाज कब्जामा लिएका छन्। उनीहरूले चार जना चालक दलका सदस्यको हत्या समेत गरेका छन्।

व्यापारिक पानीजहाजहरूको सुरक्षाका लागि पश्चिमी युद्धपोतहरू तैनाथ गरिएको छ। विद्रोही समूहका सेना रहेका क्षेत्रमा अमेरिका र यूकेले धेरै पटक हवाई हमला गर्दा पनि उक्त समूह निरुत्साहित भएको छैन।

इजरेलले पनि गत वर्षको जुलाईदेखि हूथीविरुद्ध हवाई आक्रमण जारी राखेको छ।

रेड सीमा बढ्दो खतरा

ठूला ढुवानी कम्पनीहरू रेड सी प्रयोग बन्द गर्न बाध्य भएका छन्।

उक्त मार्गबाट विश्वव्यापी समुद्री व्यापारको लगभग १५ प्रतिशत हिस्सा वारपार हुने गर्छ।

हूथीहरूको आक्रमणका कारण धेरैले अहिले त्यसको साटोमा दक्षिण अफ्रिका वरिपरी घुमेर लामो यात्रा गर्नु परेको छ।

ट्रम्पले अमेरिकी ध्वजवाहक पानीजहाज स्वेज नहरबाट सुरक्षित रूपमा यात्रा नगरेको एक वर्षभन्दा बढी भएको बताए। रेडी सी हुँदै स्वेज नहर जानु पर्ने हुन्छ।

उनले अमेरिकी युद्धपोत पूर्वी अफ्रिका र अरेबिअन प्रायद्वीपबीच बाट सुरक्षित यात्रा नगरेको पनि चार महिना भन्दा बढी भएको बताए।

स्वेज नहर एशिया र युरोप बीचको द्रुत समुद्री मार्ग हो र तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा यो मार्गको विशेष महत्त्व छ।

ट्रम्पको चेतावनी र हूथीको प्रतिक्रिया

हूथीहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै ट्रम्पले लेखेका थिए, "यदि तिमीहरू रोकिएनौ भने तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक देख्नेछौ।"

तर हूथीहरू आफ्नो प्रतिक्रियामा अडिग रहेका छन् र उनीहरूले प्यालेस्टिनीहरूको समर्थनमा आक्रामण जारी राख्ने जनाएका छन्।

"यो आक्रामकको प्रतिउत्तर दिइने छ र हाम्रो यमनी सशस्त्र सेना थप जोसकासाथ जबाफ दिन तयार छ," हूथीहरूले भनेका छन्।

यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले हूथीको आक्रमणबारे इरानलाई थाहा भएको र उसैको सहायतामा यो चलिरहेको बताएका छन्।

रुससँग पनि छलफल

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिवार रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग कुरा गर्दा पनि हूथीविरुद्ध सैन्य प्रतिबन्धबारे छलफल गरेका थिए।

ती दुई नेताहरूले यमन र रेड सीको पछिल्लो अवस्थाबारे चर्चा गरेको बताइएको छ।

उनले रेड सीमा "अमेरिकी सेना र व्यावसायिक पानीजहाजमा निरन्तर भइरहेको हूथीहरूको आक्रमण सह्य नहुने" बताएको अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले टमी ब्रूसले बताएकी छन्।

त्यसबारे रुसी प्रतिक्रिया भने हालसम्म आएको छैन।

अमेरिकी कङ्ग्रेसका अनुसार सन् २०२३ को नोभेम्बरदेखि २०२४ को अक्टोबर बीचमा रेड सीमा हुथीहरूले १९० वटा हमलाहरू गरेका छन्।

यसअघि यूके र अमेरिकाले उक्त समूहविरुद्ध संयुक्त नौसैनिक तथा हवाई हमला गरेका थिए। इजरेलले छुट्टाछुट्टै हमलामा हूथीहरूसँग जोडिएका क्षेत्रहरूलाई पनि आफ्नो निसाना बनाएको छ।

तेहरानलाई "पूर्ण रूपमा जबाफदेही बनाउने र त्यसमा ऊ निकै खराब बन्न सक्ने" चेतावनी दिँदै ट्रम्पले हूथीलाई गरिरहेको सहयोग बन्द गर्न इरानसँग आग्रह गरेका छन्।

उनले हूथीलाई नियन्त्रण गर्न नसकेको भन्दै आफ्ना पूर्ववर्ती जो बाइडन र उनको प्रशासनको आलोचना पनि गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।