तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तानः तालिबानको नयाँ कानुनअन्तर्गत सार्वजनिक स्थलमा महिला आवाज र अनुहारमा प्रतिबन्ध
- Author, अली हुसैनी
- Role, बीबीसी न्यूज पर्सियन
अफगानिस्तानमा तालिबानले गत साता अङ्गीकार गरेको नयाँ कानुन “सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्ने” तर्फ लक्ष्यित रहेको जनाएको छ। सो कानुनले महिलाहरूलाई घरबाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित “सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू” को निन्दा गरेको छ र तिनको कार्यान्वयनबारे चिन्ता व्यक्त गरेको छ।
राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले नयाँ कानुनहरूले “अफगानिस्तानको निराशापूर्ण भविष्यको बाटो देखाएको” चेतावनी हालै दिए।
नयाँ कानुनलाई तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरिसकेका छन्।
नैतिक आचरणसम्बन्धी मन्त्रालयले मुलुकमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ।
उक्त मन्त्रालय औपचारिक रूपमा सचादार प्रवर्द्धन र दुराचार नियन्त्रण मन्त्रालयको रूपमा चिनिने गरेको छ।
नयाँ कानुनले नैतिक आचरणसम्बन्धी तालिबानी प्रहरी “मोहत्सबीन” लाई अफगान नागरिकको सार्वजनिक जीवनमा हस्तक्षेप गर्न सक्ने अधिकार प्रदान गरेको छ।
उनीहरू के लगाउँछन्, सार्वजनिक स्थलमा कसरी देखिन्छन् भन्नेदेखि के खान्छन् र पिउँछन् भन्नेसम्मका कुरामा प्रहरीले हस्तक्षेप गर्न सक्छन्।
नयाँ कानुनअन्तर्गत सार्वजनिक स्थलमा महिला आवाजलाई पनि “अनैतिक” मानिनेछ।
नयाँ प्रतिबन्धले भन्छः “जब एउटा वयस्क महिला जरुरी कामले घरबाहिर जान्छिन् उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन।”
शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिबाटै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ।
तिनको पालना नगर्ने हजारौँ मानिसलाई पक्राउ गरिएको पनि मन्त्रालयले जनाएको छ।
तालिबानका अनुसार ती नियमहरू शरिया कानुनको व्याख्या अनुसार रहेका छन् र नैतिक आचरणसम्बन्धी कानुनले तिनको कार्यान्वयन गराउनेछ।
सन् २०२२ मा तालिबानका सर्वोच्च नेताले जारी गरेको आदेशमा आधारित भई नयाँ कानुन ल्याइएको हो जुन आधिकारिक कानुनको रूपमा प्रकाशित भइसकेको छ।
महिलाबारे कानुनले के भन्छ?
“पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन” महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख छ।
कानुन भन्छः
- महिलाले पूरै शरीर ढाक्नुपर्छ
- महिलाले “पुरुषमा गलत भावना आउन नदिन” अनुहार छोप्नुपर्छ
- महिलाको आवाजलाई “आवराह” ठानिन्छ र सार्वजनिक स्थलमा त्यो सुनिनु हुँदैन। अरबी शब्द “आवराह” को अर्थ महिला र पुरुष दुवैका शरीरका ती हिस्सा जसलाई छोप्नुपर्छ भन्ने हो
- महिलाहरूले ठूलो आवाज आउने गरी आफ्नो घरभित्र पनि गीत गाउनु र पढ्नु हुँदैन
- महिलाका पोशाक पातलो, छोटो वा कसिकसाउ हुनु हुँदैन
- रगतको नाता अथवा वैवाहिक सम्बन्ध नभएका पुरुषलाई पनि महिलाले आफ्नो शरीर र अनुहार देखाउनु हुँदैन
पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ र वयस्क महिलाले पनि त्यसैगरी गैरपुरुषका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ।
पुरुषमाथि नयाँ प्रतिबन्ध
नैतिक आचरणसम्बन्धी नयाँ कानुनले पुरुषहरूमाथि पनि केही प्रतिबन्ध लगाएको छ।
घरबाहिर पुरुषहरूले अब नाइटोदेखि घुँडासम्मका भाग “आवराह” भएकाले तिनलाई छोप्नैपर्छ।
शरिया कानुनले भनेभन्दा विपरीत हुने गरी कपाल पाल्न पुरुषहरूमाथि प्रतिबन्ध लगाएको छ।
तालिबानले कैयौँ प्रान्तमा दाह्री फाल्न वा छोट्याउन नाईहरूलाई प्रतिबन्ध लगाएको छ। उक्त नियम शरिया कानुनको मर्म अनुसार रहेको उसको दाबी छ।
नयाँ कानुनअन्तर्गत दाह्री मुट्ठी बाँध्दा हुने जति लम्बाइको हुनुपर्छ। उक्त कानुनले पुरुषहरूलाई टाई लगाउन पनि प्रतिबन्ध लगाएको छ।
मोहत्सबीन को हुन्?
नयाँ नियमले नाता नपर्ने महिला र पुरुषलाई सँगै बस्न मनाही गरेको छ।
मोहत्सबीनहरूले यो कानुन कार्यान्वयन गराउनेछन् र सबै प्रान्तमा उनीहरू खटिनेछन्।
उनीहरूले नयाँ कानुन कार्यान्वयन भए वा नभएको हेर्नेछन् र उल्लङ्घन गर्नेहरूलाई अदालतसम्म पुर्याउनेछन्।
खासगरी तालिबान नेताको पूर्ण समर्थन पाएकाले नयाँ कानुन कार्यान्वयनसँगै उनीहरूको कार्यकारी भूमिका पहिलाको भन्दा सशक्त हुनेछ।
उनीहरूले महिलाहरूको ठूलो स्वर दबाउन सक्नेछन् अथवा उनीहरूको घरमा ठूलो आवाजमा गीतसङ्गीत बजेको खण्डमा बन्द गराउन सक्नेछन्।
कपालसम्बन्धी नियम पालना नगरेको पाइएमा पुरुषहरूलाई उनीहरूले कपाल खौरिन वा काट्न लगाउन पनि सक्छन्।
बुवा वा दाइ लगायतका नजिकका पुरुष नातेदार साथमा नरहेको खण्डमा महिलालाई ट्याक्सी चढाउनबाट चालकलाई रोक्न सक्ने अधिकार पनि सदाचार प्रहरीलाई हुनेछ।
शरिया कानुनबमोजिम हिजाब नलाएका महिलाको हकमा पनि त्यसरी रोक लगाउन सकिने नियम छ।
कारमा एकअर्काको छेउमा पनि बस्नमा त्यसले रोक लगाउनेछ।
सजीवको चित्र कोर्न नपाइने
नयाँ कानुनले सजीवको चित्र बनाउन, प्रकाशित गर्न वा राख्नमा समेत प्रतिबन्ध लगाएको छ। त्यसको अर्थ चराचुरुङ्गी, जनावर अथवा परिवारका सदस्यको चित्र कोर्न पाइनेछैन।
नयाँ कानुनअन्तर्गत कुनै पनि प्राणीको मूर्ति किनबेचमा समेत प्रतिबन्ध लगाएको छ।
टेप रिकर्डर्स, रेडिओ लगायतको गलत प्रयोग हुनबाट पनि सदाचार प्रहरीले रोक लगाउनेछ।
सजीवको तस्वीर र भिडिओ उत्पादनमा पनि नयाँ कानुनले प्रतिबन्ध लगाएको छ।
तर नयाँ नियमसँग विरोधाभास हुने गरी सदाचार मामिलामन्त्री मोहम्मद खालिद हनफीसहित लगभग सबै सरकारी अधिकारीहरूले क्यामेरामा देखिने गरेका छन्।
प्रतिबन्धहरू के हुन्?
नयाँ कानुनविपरीतका काम गर्ने जोकोहीलाई विभिन्न दण्डसजाय हुने व्यवस्था छ। त्यस्ता व्यक्तिलाई ईश्वरको भय देखाउनेदेखि दिएर जरिवाना र तीन दिनसम्म कैदसम्मको व्यवस्था गरिएको छ।
नयाँ कानुनको व्यापक आलोचना भइरहेको छ।
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रमुख रोजा ओतुनबायेभाले भनेका छन्, “दशकौँको युद्ध र डरलाग्दो मानवीय सङ्कटको बीचमा प्रार्थनाका लागि ढिलो भएकै कारण, गैरमहिला वा पुरुषले विपरीत लिङ्गीलाई हेरेकै कारण अथवा आफ्ना प्रियजनका तस्वीर राखेकै कारणले धम्की पाउने वा जेल जानेभन्दा राम्रा कुरा पाउनुपर्छ।”
पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी
तालिबानले धर्मबाट सञ्चालित राज्यसत्ता चलाएको छ र सदाचारसम्बन्धी कानुन कार्यान्वयनबाट पछि हट्नेछैन।
तर राजधानी काबुलसहित देशका केही भागमा नयाँ कानुन पूर्ण रूपमा कार्यान्वयन भएको छैन।
नयाँ कानुन कार्यान्वयनको ढाँचाबारे उनीहरूले गृहकार्य गरिरहेको सदाचार मामिलासम्बन्धी मन्त्रालयस्थित एउटा स्रोतले बीबीसी न्यूज पाश्तोलाई बताएको छ।
स्रोतका अनुसार ढाँचा बनिसकेपछि नयाँ कानुन कार्यान्वयनको विषय झन् प्रस्ट हुनेछ।
यद्यपि कानुनका कतिपय व्यवस्था देशका अरू भागमा कार्यान्वयन हुन थालिसकेको छ।
सदाचार मामिला मन्त्रालय अफगानिस्तानका अति सक्रिय कार्यकारी निकायमध्ये एक हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।