रामको मूर्ति बनाउन कालीगण्डकीको शिला भारतको अयोध्या लगिँदै 

म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेका शिलालाई भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा थापना गरिने मूर्ति बनाउनका लागि लगिँदैछ।

बुधवार गलेश्वरधाम परिसरमा पुर्‍याइएका ती शिलाको बिहीवार मन्दिरमा विशेष पूजा गरी जनकपुर हुँदै अयोध्याका पुर्‍याउने गरी बिदाइ गरिएको थियो।

बेनी नगरपालिकाका मेयर सुरत केसीका अनुसार बिहीवार बेनीबाट बिदाइ गरिएका दुईवटा शिला आज नारायणघाटमा राखिने छ।

पर्सी सम्ममा जनकपुरस्थित जानकी मन्दिर पुर्‍याएर ती शिला १० दिनमा अयोध्या पुर्‍याउने तालिका रहेको उनले जानकारी दिए।

शिला भारत लानका लागि राम मन्दिर निर्माण समितिका महासचिव राजेन्द्र सिंह पङ्कज नेपाल आएका छन्।

जनकपुरसम्म शिला पुर्‍याउने जिम्मा नेपालको रहेको र त्यहाँबाट भने भारतबाट आउने टोलीलाई जिम्मा लगाइने बताइएको छ।

जनकपुरस्थित जानकी मन्दिरमा विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट जन्ती आउने चलन छ।

लामो समयदेखि कायम यो परम्पराबीच भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न त्यहाँको सर्वोच्च अदालतले बाटो खुला गरिदिएको अवस्थामा काङ्ग्रेस नेता बिमलेन्द्र निधिले नेपालले मूर्ति निर्माणका लागि शिला उपहार दिने वाचा गरेको केसीले जानकारी दिए।

त्यसको आधारमा अयोध्याको राम मन्दिर निर्माण समितिले जानकी मन्दिरलाई शिला उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेको थियो।

कालिगण्डकी नदीको तटमा पाइने शिला ‘शुद्ध र पवित्र हुन्छ’ भन्ने मान्यता रहेको बताउँदै गण्डकी प्रदेश सरकारलाई जानकी मन्दिरले शिला भारतलाई उपलब्ध गराउने पहल थाल्न आग्रह गरेको थियो।

‘‘प्रदेश सरकारले नेपाल सरकारसँग समेत समन्वय गरेपछि शिला भारत पठाउन लागिएको हो,’’ केसीले भने।

उनका अनुसार यस विषयमा सङ्घीय सरकारले मन्त्रिपरिषद्‍बाट निर्णय समेत गरेको छ।

त्यस्तै प्रदेश सरकारले पनि निर्णय गरेर स्थानीय तहसँग पनि समन्वय गरेको उनले जानकारी दिए।

भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो।

भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका रहेको केसीले जानकारी दिए।

ती शिला भारत पठाउनुअघि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पूजा गराएको थियो।

त्यसअघि पनि क्षमा पूजा गरिएको केसीले जानकारी दिए।

बिदाइ गर्ने बेला नगरपालिकाले शिला भएको स्थानसम्म पुग्ने बाटो निर्माण गरेको थियो।

मूर्तिमा शिला कहाँबाट ल्याइएको हो उल्लेख गर्नुपर्ने नगरपालिकाले सर्त राखेको र त्यो भारतीय पक्षले पनि स्वीकार गरेको केसीले जानकारी दिए।