नेपाली दर्शकले पाँच सय अतिरिक्त शुल्क तिरेर मात्र विश्वकप फुटबल हेर्न पाउने

नेपाली दर्शकहरूले अब अतिरिक्त शुल्क तिरेर टेलिभजनमा प्रत्यक्ष रूपमा विश्वकप फुटबल हेर्न पाउने भएका छन्।

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्थाविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशका कारण नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण अनिश्चित भएको थियो।

तर बुधवार सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेसँगै अब विश्वकप फुटबलका खेलहरू हेर्न नेपाली दर्शकहरूले सेवा प्रदायकलाई अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ।

अदालतको निर्णयपछि नेपालका लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको अनुमति लिएको निजी कम्पनी मिडिया हबले "प्रसारण सुनिश्चित" बनेको प्रतिक्रिया दिएको छ।

अदालतले के भन्यो?

नेपालका लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको अनुमति लिएको निजी कम्पनी मिडिया हबले ५०० रुपैयाँ अतिरिक्त शुल्क लिएर फुटबल खेलको प्रत्यक्ष प्रसारण देखाउने विज्ञापन गरेपछि त्यसबारे विवाद उत्पन्न भएको थियो।

मिडिया हबको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेपछि गत कात्तिक २२ गते अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अदालतले त्यसबेला अतिरिक्त शुल्क लिने कुरालाई तत्कालका लागि रोक लगाइदिएको थियो र बुधवार छलफलका लागि बोलाएको थियो।

बुधवार न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो।

यद्यपि उक्त विषयमा अदालतले अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

बुधवारको आदेशमा अदालतले भनेको छ, “… निवेदकले माग गरेको अन्य विषयवस्तुहरू विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भइ प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलाग्दाका बखत प्रत्येक पहलुमा विचार भइ निरुपण हुने नै हुँदा सुविधा र सन्तुलनको दृष्टिकोणले हालको प्रारम्भिक अवस्थामै यस अदालतबाट मिति २०७९/७/२२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिली अन्तरिम आदेश जारी गर्न मिलेन।”

‘पहिलो खेलदेखि नै दर्शकले हेर्न पाउँछन्’

अदालतको निर्णयपछि मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले अब उपभोक्ताले विश्वकपको “पहिलो खेल”देखि नै प्रत्यक्ष प्रसारण हेर्न पाउने बताए।

उनले भने, “गत २२ गतेको अन्तरिम आदेशलाई अदालतले खारेज गरेपछि अब हामी दिनरात खटेर काम गर्छौँ र नेपाली दर्शकको फुटबल हेर्ने चाहनालाई अब हामी पूरा गर्छौँ।”

उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको हो। त्यस्तो अधिकार लिन र विश्वकपको प्रचार प्रसार गर्न समेत गरी ४० देखि ४१ करोड रुपैयाँसम्म खर्च हुने मिडिया हबको दाबी छ।

त्यस्तो लागत नेपालका टेलिभिजनलाई दिने प्रसारण अधिकार बिक्री र विज्ञापनबाट मात्रै नउठ्ने भएपछि ग्राहकहरूसँग रकम उठाउन लागिएको धितालले बताए।

उनको दाबीमा विश्वकप हेर्न सम्बन्धित निकायले नै नेपालका लागि नेपालको भूगोलमा मात्र प्रत्यक्ष प्रसारण गर्न मिल्ने खालको सेटअप बक्स उपलब्ध गराउँछ।

त्यसलाई यहाँका केबल, डीटीएच वा नेट टिभी प्रसारकहरूले जोडेपछि मात्र ग्राहकको घरघरमा प्रत्यक्ष रूपमा खेल हेर्न पाइन्छ।

त्यस्तो सेटअप बक्स बापत ग्राहकसँग ५०० रुपैयाँ लिन लागिएको उनले बताए।

नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ।

त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ।

त्यसबाहेक विश्वकपको बीचमा प्रसारण गरिने विज्ञापन र टेलिभिजनलाई प्रसारण अधिकार दिन मिडिया हबले थप शुल्क लिन्छ।