तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हेलिकप्टर उडानसम्बन्धी नयाँ प्रावधानप्रति सञ्चालक 'असहमत', प्राधिकरण के भन्छ?
हेलिकप्टर र छोटो धावनमार्गमा समेत उडान तथा अवतरण गर्न सक्ने खालका हवाई सेवा सञ्चालनका सम्बन्धमा नियामक निकायले बिहीवार जारी गरेका “नयाँ प्रावधान”मध्ये केहीप्रति नेपालका हेलिकप्टर सञ्चालकले आपत्ति जनाएका छन् भने अधिकारीहरूले आफूहरू छलफलका लागि खुला रहेको बताएका छन्।
प्राधिकरणका अधिकारीहरूले आफ्नो निर्णयको बचाउ गर्दै “दुर्घटना न्यून गर्न तथा हवाई सुरक्षाका निम्ति” केही समयका लागि ती प्रावधानहरू लागु गरिएको बताएका छन्।
गत मङ्गलवार सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएको पृष्ठभूमिमा प्राधिकरणले ती प्रावधानहरू ल्याएको छ।
प्रावधान
प्राधिकरणले जारी गरेका प्रावधानमा हेलिकप्टर सञ्चालनका क्रममा उडान वा अवतरणमध्ये एउटा कार्य विमानस्थलबाटै हुनुपर्ने उल्लेख छ।
त्यस्तै प्राधिकरणले मनसुन अवधिभरि हेलिकप्टरबाट ‘माउन्टेन फ्लाइट’मा पनि रोक लगाएको छ भने हेलिकप्टरबाट गरिने पुष्पवृष्टि एवम् अन्य त्यस्तै खाले गतिविधि गर्न रोक लगाएको छ।
प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटहरूले सोही कम्पनीको हेलिकप्टर उडाउन नपाउने व्यवस्था पनि गरेको छ।
त्यसले अहिले आफ्नो शेअर भएका कतिपय पाइलटहरूले हेलिकप्टर उडाउन नपाउने अवस्था आएको सञ्चालकहरूको भनाइ छ।
प्राधिकरणले हेलिकप्टर र छोटो धावनमार्गमा समेत उडान र अवतरण गर्न मिल्ने (स्टोल) सेवा सञ्चालनसम्बन्धी दैनिक नियन्त्रण र सुपरिवेक्षणका लागि टोली गठन गरेको जनाएको छ।
साथै उसले बिहीवार ल्याएका प्रावधानको प्रभावकारिताका लागि साप्ताहिक रूपमा आवधिक समीक्षा गर्दै आगामी सेप्टेम्बरसम्म हेलिकप्टर सञ्चालनका लागि अनुमति दिने जनाएको छ।
कति पाइलट प्रभावित हुन्छन्?
हेलिकप्टर सञ्चालक तथा प्राधिकरणकै अधिकारीहरूका अनुसार विभिन्न कम्पनीहरूमा चालकहरूको लगानी रहेको छ।
त्यस्ता पाइलटको सङ्ख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ।
अहिले नेपालमा १२ वटा कम्पनीले हेलिकप्टर उडान गरिरहेका छन्।
प्राधिकरणका प्रवक्ता प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अब ती पाइलटहरूले कि हेलिकप्टर चलाउन छाड्नुपर्ने छ वा शेयर सदस्यबाट बाहिरिनु पर्नेछ।
सञ्चालकहरू के भन्छन्?
हेलिकप्टर सञ्चालकहरू भने प्राधिकरणले ल्याएका कतिपय प्रावधान सकारात्मक भए तापनि कतिपय प्रावधानले व्यवसाय सञ्चालनमै असर पार्ने बताएका छन्।
नेपाल हेलिकप्टर एसोसिएसनका महासचिव योगराज कँडेल शर्माले प्राधिकरणले मुख्य समस्या समाधान गर्नतर्फ भन्दा पनि चर्चाका लागि मात्र निर्णय गरेको बताए।
नियमित अनुगमन गर्ने कुरा सकारात्मक भए तापनि पाइलट र लगानीकर्ता एकै हुनु हुँदैन भन्ने कुरा ठिक नभएको उनको तर्क छ।
“मुख्य कारणमा भन्दा पनि सञ्चारमाध्यममा चर्चा पाउनका लागि मात्र प्राधिकरणले निर्णय गरेको जस्तो भयो,” उनले भने।
दुर्घटनाको मुख्य कारण नै पाइलटहरू भएको जस्तो गरेर प्राधिकरणले कुनै सल्लाहबिनै त्यस्तो गरेको उनको भनाइ छ।
शर्माले उक्त निर्णयबारे पुनर्विचारका लागि प्राधिकरणसमक्ष पहल गर्ने बताए।
मौसमबारे तत्कालको तत्कालै जानकारी दिने खालको अवस्था नबन्दासम्म दुर्घटनामा कमी नआउने एसोसिएसनका महासचिव शर्माको भनाइ छ।
प्राधिकरण के भन्छ?
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला चाहिँ दुर्घटना कम गर्ने उद्देश्यले नै नयाँ प्रावधानहरू ल्याइएको बताउँछन्।
“त्यसमा सञ्चालकहरूको वा चालकहरूको असहमति भएमा हामी छलफलका लागि खुला छौँ,” उनले भने।
उनले मौसमसम्बन्धी जानकारीमा सुधार ल्याउन सरकारले पहल र आवश्यक कार्यहरू गरिरहेको बताउँछन्।
“हेलिकप्टरको उडान सुरक्षित बनाउनका लागि नयाँ नियमहरू ल्याइएको हो। नयाँ प्रावधानहरू लागु भएपछि हेलिकप्टरको उडान सुरक्षामा सुधार आउने हाम्रो अपेक्षा छ,” उनी भन्छन्।