तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल गएर के गर्ने? टीपीएस समाप्त भएपछि पिरोलिएका नेपालीको साझा सवाल
- Author, विजय घिमिरे
- Role, मिजोरी, संयुक्त राज्य अमेरिका
टेक्सस ड्यालसस्थित एक रेस्टुराँमा जुन महिनाको दोस्रो साताको आइतवार भेटिएका चार नेपाली युवा चर्को तनावमा देखिन्थे।
अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था (टेम्पररी प्रोटेक्टेड स्टाटस वा टीपीएस) खारेज गरेपछि उनीहरूमा उत्पन्न तनाव थियो : अब के हुन्छ?
नाम उल्लेख नगर्ने सर्तमा एक युवाले भने- म एफ वान भिसा (विद्यार्थी भिसा)मा यहाँ आएको हुँ। टीपीएसले गर्दा अहिलेसम्म बस्न र काम गर्न सजिलो भएको थियो। अब टीपीएस सकियो, वकिलले फेरि कलेज भर्ना हुन सुझाव दिएका छन्। के गर्ने भन्ने तनाव छ।
नेपाल नै फर्किने कि? उनले भने- नेपाल फर्किएर के गर्ने?
त्यहीँ भेटिएका अर्का युवाको समस्या फरक छ। उनले स्थायी बसोबासका लागि आवेदन दिइसकेका रहेछन्, स्वीकृत हुन बाँकी रहेछ। "ग्रीनकार्ड आएको छैन टिपिएसबाट वर्क परमिट लिएको थिएँ अब के हुन्छ?" उनी अन्योलग्रस्त थिए।
ती दुवै जना विद्यार्थी भिसामा अमेरिका आएका थिए।
अन्य भिसामा अमेरिका आएकी मिजोरी राज्यमा बस्ने एक नेपाली महिला पनि अहिले तनावमा छिन्।
उनले अमेरिकामा बस्न दिएको आवेदन केही वर्ष अघि नै अस्वीकृत भएको थियो। टीपीएस भएकाले बस्न र काम गर्न पाएकी उनले भनिन्, "अब टीपीएस पनि सकिने भयो, के गर्ने होला? यही सोचेर रातभर निन्द्रा लाग्दैन।"
राम्रो वकिलको खोजीमा रहेको बताउने उनले भनिन्, "अगस्ट ५ पछि काम गर्न जाने कि नजाने दोधारमा छु।"
"अब विद्यार्थी भिसामा फर्किन पनि त्यति सजिलो छैन," अर्का विद्यार्थीले भने, "के गर्ने, कसो गर्ने ? सोच्नै सकेको छैन। बेकारमा अमेरिका आए जस्तो लाग्न थालेको छ।"
जुन ५ तारिखमा अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था खारेज गर्ने निर्णय सार्वजनिक गरेपछि यो भिसामा रहेका सयौँ नेपाली यसरी नै चिन्तामा परेका देखिन्छन्।
टीपीएसमा रहेर अमेरिकामा बस्दै र काम गर्दै आएका नेपालीलाई आगामी अगस्ट ५ भित्र नेपाल फर्किने वा अमेरिका बस्न योग्य हुने गरी अन्य कानुनी प्रक्रियामा जानु पर्ने बाध्यता भएको छ। कुनै प्रक्रिया सुरु गर्न नसके त्यसपछि अमेरिकामा बस्नु र काम गर्नु गैरकानुनी हुने छ।
अमेरिकाको आप्रवासी सम्बन्धी मामिला हेर्ने निकाय यूनाइटेड स्टेट सिटिजनशिप एन्ड इमिग्रेशन सर्भिसेज (यूएससीआईएस) ले यही जुन ५ मा सूचना जारी गरी नेपालीले पाएको टीपीएस सुविधा खारेज भएको जानकारी सार्वजनिक गरेको हो।
न्यूयोर्कस्थित इमिग्रेशनसम्बन्धी कानुन व्यवसायी बासु फुलारा भन्छन्, "नेपालीले पाएको टीपीएस खारेज गर्ने सूचना आएकाले यसमा रहेका नेपाली देश फर्किने वा अन्य स्टाटसमा जाने प्रक्रिया सुरु गर्नुबाहेक अर्को विकल्प छैन।"
तर, टीपीएसमा रहेका तर अन्य स्टाटसमा जाने प्रक्रियामा भएर केस टुङ्गो नलागेका नेपालीलाई भने तत्काल केही नहुने फुलारा बताउँछन्।
अमेरिकाले नेपालीलाई पछिल्लो पटक दिएको टीपीएसको म्याद २४ जुन २०२५ सम्म थियो। टीपीएसमा रहेका नेपालीले यस अघि झैँ यस पटक पनि म्याद थपिने आशा गरेका थिए। तर म्याद सकिनु १९ दिन अघि जुन ५ मा टीपीएस खारेज भएको सूचना जारी भयो।
सूचनामा टीपीएसमा रही अन्य स्टाटस कायम गर्न नसक्नेले २ महिनाभित्र अमेरिका छाड्न भनिएको छ।
"अगस्ट ५ पछि टीपीएसमा मात्र हुनेको अमेरिका बसाइ अवैध हुन्छ," फुलाराले भने, "जुनसुकै बेला पक्राउ पर्न सक्ने वा डिर्पोटेशनको पत्र आउन सक्छ। बस्न र काम गर्नु गैरकानुनी हुन्छ।"
के हो टीपीएस?
सन २०१५ एप्रिलमा नेपालमा गएको ठूलो भूकम्पपछि त्यतिखेर अमेरिकामा रहेका तर लामो समय बस्ने कानुनी आधार नभएका नेपालीलाई सहयोग होस् भनेर टीपीएस सुविधा अमेरिकाले उपलब्ध गराएको थियो। प्राकृतिक वा कुनै विपत्ति आएको अवस्थामा अमेरिकाले उक्त देशका नागरिकलाई राहत होस् भनेर टीपीएस सुविधा दिने प्रावधान छ।
टीपीएस हुँदा विभिन्न प्रक्रियाबाट अमेरिका आई यतै बसेका विद्यार्थी भिसामा आएका हजारौँ नेपालीले बस्ने र काम गर्ने अधिकार पाएका थिए।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यिुरिटिजले विभिन्न निकायमार्फत् प्राप्त सूचनाहरूको समीक्षापछि नेपालमा अवस्थामा सुधार आएकाले टीपीएसका लागि आवश्यक मापदण्ड पूरा नहुँदा खारेज गर्ने निर्णयको फेडरल रजिस्टरमा सूचना प्रकाशित गरेको जनाएको छ। भूकम्प पछिको पुनर्निर्माण करिब ९० प्रतिशत सकिएको तथ्याङ्कहरू प्राप्त भएको रजिस्ट को सूचनामा उल्लेख छ।
फुलाराका अनुसार अहिले टिपिएसमा रहेका नेपालीको सङ्ख्या करिब साढे ७ हजार छ। तीमध्ये करिब आधाले अन्य स्टाटसमा जानका लागि प्रक्रिया सुरु गरिसकेको अनुमान गरिएको छ। सुरुको टीपीएसमा हुनेमध्ये करिब साढे पाँच हजारले स्थायी बसोबास सुविधा प्राप्त गरिसकेको बताइएको छ।
विगतमा नेपाल, होन्डुरस, निकारागुवा, हेइटी लगायतका केही देशका नागरिकले पाएको टीपीएसको अवधि पटक पटक थपिँदै आएको थियो। तर, आप्रवासीप्रति अनुदार भनेर चिनिएका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसलाई क्रमशः खारेज गर्दै आएको थियो। हालै अमेरिकाको सर्वोच्च अदालतले पनि टीपीएसमा रहेका आप्रवासीलाई हटाउन ट्रम्प प्रशासनलाई सहयोग पुग्ने गरी निर्णय सुनाएको थियो।
सन् २०२४ को अन्तिममा अमेरिकामा टीपीएस सुविधा लिने विदेशीको सङ्ख्या ८ लाख ६३ हजार ८ सय थियो। सबैभन्दा बढी भेनेजुएलाका करिब ३ लाख ४४ हजार थिए। टिपिएस अस्थायी सुविधा भएकाले यसलाई सधैँका लागि राख्न नहुने ट्रम्प प्रशासनले बताउँदै आएको थियो।
टीपीएस खारेज भएपछि यो सुविधा लिएकाले अब के गर्ने? कानुन व्यवसायी फुलारा भन्छन् - "त्यस्ता नेपालीका लागि अब दुई महिना समय छ, यस अवधिमा अन्य स्टाटसमा जाने प्रक्रिया सुरु गर्नु पर्छ। होइन भने नेपाल फर्किनु उत्तम विकल्प हो। स्व-घोषणा गरेर नेपाल फर्किँदा अमेरिकाले दिएको विभिन्न सहुलियत पनि उपयोग गर्न पाइने हुन्छ," फुलाराले भने।
विद्यार्थी भिसा, शरण खोज्ने(असाइलम), विवाह लगायतका स्टाटसमा जान सकिने केही विकल्पहरू रहेको फुलाराले बताए। तर, त्यो व्यक्तिको अवस्था अनुसार पनि हुन्छ।
"अन्य अवस्थामा जाँदा पुन अमेरिकामा काम गर्ने वैध प्रक्रियाका लागि वर्क पर्मिट लिनुपर्ने हुन्छ," उनले भने, "यसका लागि केही समय लाग्न सक्छ।"
अहिले अवैध रूपमा अमेरिका बस्दै आएकाहरूलाई कडाइ गरिएको छ। पक्राउ गर्ने र फिर्ता पठाउने कार्यलाई तीव्रता दिइएको छ।
टीपीएस रद्द हुँदा अन्य स्टाटसमा जान खोजेका तर, असफल भएका नेपालीको चिन्ता सबभन्दा चर्को छ। टीपीएस भएकै आधारमा अमेरिकामा व्यवसाय र घरमा लगानी गर्ने नेपाली पनि छन्। उनीहरूमा तनाव बढेको छ।
टेक्ससमा कार्यालय खोलेर करसम्बन्धी परामर्श दिँदै आएका कर तथा व्यवसाय परामर्शदाता भीम कार्की टीपीएस मात्र भएको अवस्थामा लगानी गरिएको छ भने यो व्यवसाय र कानुनसँग जोडिएको विषय भएको बताउँछन्। कार्की टीपीएसमा रही यसको सुविधा उपयोग गरेर लगानी गर्ने नेपालीले विद्यमान नियम कानुन अनुसार व्यवसायको व्यवस्थापन गर्नु पर्ने सुझाव दिन्छन्।
"अमेरिकामा विदेशीले पनि व्यवसाय गर्न र नाफा लैजान पाउँछन्," कार्कीले भने, "यहाँ बस्ने व्यक्तिलाई शेयर वा अख्तियारी दिएर पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ, नाफा लैजान पाइन्छ।"
"टीपीएस मात्र भएकाले ऋण लिएर व्यवसायमा लगानी गरेको छ वा घर किनेको छ भने कानुनअनुसार विवरणहरू सच्च्याउनुपर्ने हुन्छ," फुलाराले भने।
टीपीएसमा काम गर्दै आएका कैयौँ नेपाली विद्यार्थीहरूले पुन: कलेज भर्ना भई विद्यार्थी भिसामा फर्किन सक्ने अवस्था पनि रहेको फुलाराले बताए।
टीपीएस खारेज मात्र होइन अवैध बाटो भई अमेरिका छिरेका थुप्रै नेपालीहरू पनि अहिले तनावमा छन्।
कैयौँलाई तारेखमा जाँदा यूएस इमिग्रेशन एन्ड कस्टम इन्फोर्स्मेन्ट्स(आईसीई वा आईस)ले पक्राउ गरेको छ। अवैध बाटोबाट आउने कयौँ नेपाली निर्णयको पर्खाइमा इमिग्रेशनको हिरासतमा पनि छन्। उनीहरूको पखाई लामो हुँदै गएको छ।
टीपीएसबारे निर्णय आएकै समयतिर गत आइतवार मध्य राति अमेरिकाबाट निष्कासन भएका ३७ नेपाली काठमाण्डू अवतरण गरेका थिए।
गत २० जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १७७ जना नेपाली निष्कासनमा परेका छन्।
यो सङ्ख्या विगतमा भन्दा बढी हो।
यसले गर्दा पनि अमेरिकामा वैध बस्ने आधार नभएका वा त्यस्तो आधार बनाउने क्रममा रहेका नेपालीको तनाव बढेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।