मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्रै 'मतभेद'

    • Author, बृजकुमार यादव
    • Role, जनकपुर

मधेश प्रदेशमा सरकार गठन गर्ने प्रयास गरिरहेको गठबन्धनभित्र मन्त्रालय बाँटफाँटबारे विवाद उत्पन्न भएको बताइएको छ।

उक्त गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले मन्त्रालयहरूको नामै तोकेर माग गरेपछि समस्या उत्पन्न भएको नेताहरूको भनाइ छ।

यद्यपि गठबन्धनका नेताहरू आपसी सहमति जुट्नेमा विश्वस्त देखिएका छन्।

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने सहमति बनेको भए पनि सरकार गठनका लागि बिहीवार अबेर साँझसम्म उसले दाबी पेस गर्न सकेन।

जनमतभित्रै विवाद

बिहीवार बिहान उक्त दलले अचानक संसदीय दलको नेताबाट महेश यादवलाइ हटाएर सतीश सिंहलाई चयन गरेको थियो।

त्यसले जनमतभित्र पनि आन्तरिक विवाद रहेको कुरालाई सतहमा ल्याइदियो।

जनमत पार्टीको संसदीय दलमा असन्तुष्टि कायम रहे पनि गठबन्धनमा रहेका दलहरूले सरकारमा दाबी पेस गर्ने तयारी गरेका थिए। तर उनीहरूबीच सहमति हुन सकेन।

नेकपा एसका प्रदेशसभा सदस्य रत्नेश्वर गोइतले मन नमिल्दा नमिल्दै पनि गठबन्धनमा सहभागी भएको बताए।

एकीकृत समाजवादी के भन्छ?

उनले जनसरोकारका मन्त्रालयमध्ये आफूहरूलाई एउटा पनि नदिए सरकारलाइ समर्थन गर्न असमर्थ हुने बताए।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा विश्वासको मत लिन असफल भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि शुक्रवार बिहान १० बजेसम्म दाबी पेस गर्न बुधवार राति आह्वान गरेकी थिइन्।

नयाँ गठबन्धनमा नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एस रहेका छन्।

नागरिक उन्मुक्ती पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीले पनि गठबन्धनलाई समर्थन गर्ने बताइएको छ।

नयाँ गठबन्धनमा सामेल दलहरूका कुला ५५ जना प्रदेश सभा सदस्य छन्। मधेश प्रदेशमा कुल १०७ सदस्यीय प्रदेश सभा रहेको छ।

सरकार बनाउनका लागि ५४ जना सदस्यको समर्थन चाहिन्छ।

यसअघि बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रममा बिहीवार साँझ प्रसारित कुराकानीमा गठबन्धनले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको भन्ने विवरण प्रसारण हुन गएको थियो। उक्त विवरण गलत भएकाले त्यसलाई सच्याउँदै क्षमा चाहन्छौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।