अमेरिकाद्वारा सिरियास्थित इरानी समूहको हतियार भण्डारमा हवाई आक्रमण

    • Author, जेम्स ग्रेगोरी
    • Role, बीबीसी न्यूज

संयुक्त राज्य अमेरिकाले पूर्वी सिरियास्थित दुई हतियार भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको छ। ती केन्द्रहरूलाई इरानको रेभलूशनरी गार्ड्सले प्रयोग गर्ने गरेको बताइएको छ।

अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले इरानी समर्थनको मिलिशिआ समूहले इराक र सिरियास्थित अमेरिकी सैन्य केन्द्रहरूमा हालै गरेको आक्रमणको जबाफमा उक्त आक्रमण गरिएको बताएका छन्।

एक विज्ञप्तिमा उनले अमेरिकी हवाई आक्रमण "इजरेल र हमासबीच जारी द्वन्द्वभन्दा फरक" रहेको स्पष्ट पारेका छन्।

इरानले यस विषयमा प्रतिक्रिया जनाएको छैन।

'आत्मरक्षाका लागि हमला'

स्थानीय समयअनुसार शुक्रवार बिहान ४ः३० बजे इराकसँग सीमा जोडिएको अबु कमाल सहरनजिकैको भण्डारण केन्द्रमा आक्रमण भएको हो।

आक्रमणबाट कोही हताहत भए वा नभएकोबारे जानकारी आइसकेको छैन।

"यी आत्मरक्षाका लागि गरिएका हमलाहरू इरानी समर्थन भएको मिलिशिआ समूहहरूद्वारा इराक तथा सिरियामा रहेका अमेरिकी सैनिकहरूमाथि अक्टोबर १७ देखि जारी तर प्रायजसो असफल आक्रमणका जबाफ हुन्," अस्टिनले आफ्नो विज्ञप्तिमा भनेका छन्।

अमेरिकाको र उसको पक्षमा रहेका फौजहरूमाथि इजरेल र हमासबीच द्वन्द्व सुरु भएदेखि इराकमा कम्तीमा १२ चोटि र सिरियामा चार चोटि आक्रमण भएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार २१ जना अमेरिकी सैनिकहरूलाई सामान्य चोटपटक लागेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा सञ्चालित इरानी प्रोक्सी समूहहरूले आक्रमण गरेका हुन्।

इरानले गाजामाथि नियन्त्रण गर्ने हमास र लेबननमा सञ्चालित हिज्बुल्लाह दुवैलाई हातहतियार र पैसासमेत सहयोग गर्दै आएको छ।

"अमेरिकी सैन्य बलहरूविरुद्धका यी आक्रमणहरू अस्वीकार्य छन् र तिनीहरू रोकिनुपर्छ," अस्टिनले भने।

"अमेरिकी सैन्य बलहरूका विरुद्ध इरानका प्रोक्सीहरूद्वारा भएको आक्रमण जारी रहने हो भने हामी आफ्ना जनताको सुरक्षाका लागि आवश्यक थप उपायहरू अपनाउन हिच्किचाउँदैनौँ।"

अमेरिकी राष्ट्रपति जो बाइडनले इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीलाई एक सन्देश पठाउँदै मध्यपूर्वमा रहेका अमेरिकी सैनिकहरूलाई निसाना नबनाउन चेतावनी दिएको उनको कार्यालय ह्वाइट हाउसले बिहीवार जनाएको छ। बाइडनले खामेनीलाई सम्पर्क गरेको यो दुर्लभ घटना हो।

इरान के चाहन्छ?

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभाको एक बैठकमा बिहीवार बोल्दै इरानी विदेशमन्त्री होसेन अमिरअब्दोलाहिनले गाजामा हिंसा जारी रहने हो भने "आफ्नो क्षेत्रलाई ध्वस्त पार्ने आगोका लागि" वाशिङ्टनले मुक्ति नपाउने बताएका थिए।

हालैका केही साताहरूमा अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान पठाएको छ। बिहीवार मात्र अमेरिकी अधिकारीहरूले ९०० अमेरिकी फौज उक्त क्षेत्रमा जान लागेको बताएका छन्।

विगतमा पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा आक्रमण हुने गरेका थिए। त्यसपछि अमेरिकाले जबाफी हमला गर्दै आएको छ।

गत मार्चमा एक ड्रोन आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएपछि अमेरिकाले इरानी समूहहरूका विरुद्ध पूर्वी सिरियामा धेरै पटक हवाई आक्रमण गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।