तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाल्टिमोरमा पुल भत्किएपछि पानीमा खसेको ट्रकमा दुइटा शव फेला परे
बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए।
तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि खोजीकार्य जारी छ।
अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्।
पुलको भग्नावशेषले थिचिएको दुर्घटनाग्रस्त पानीजहाजमा भएका घातक सामग्री व्यवस्थापन गर्ने काम पनि भइरहेको छ।
मृतक र बेपत्ता व्यक्ति को हुन्?
दुर्घटनामा परेका छमध्ये चार जनाको पहिचान गरिएको छ।
मेरिल्यान्ड राज्यको प्रहरीले ट्रकभित्रबाट ३५ वर्षका एलिहान्ड्रो हर्नान्डेज फ्युन्टिज र २६ वर्षका कास्टिलो क्याब्रिराको शव फेला परेको जानकारी दिएको छ।
फ्युन्टिजको मूल थलो मेक्सिको हो भने क्याब्रिरा ग्वाटेमालाबाट अमेरिका पुगेका हुन्।
प्रहरीका अनुसार नदीमा रहेको भग्नावशेष र कङ्क्रिटका कारण गोताखोरहरूले सुरक्षित रूपमा खोजीकार्य अघि बढाउन सकेका छैनन्।
खोजीकार्यमा 'सोनर स्क्यान' पनि प्रयोग गरिएको छ। बाँकी शव रहेको ठानिएका सवारीसाधन पुलबाट खसेको "कङ्क्रिट र अन्य संरचनाले सम्भवतः थिचिएको" एक अधिकारीले बताए।
बेपत्ता भएकामध्ये अरू दुई जनाको पनि नाम सार्वजनिक भएको छ। प्रहरीले तीमध्ये एक जना एल साल्भडोर र अर्का होन्डुरसका नागरिक भएको जनाएको छ। दुवै जनाको मृत्यु भएको मानिएको छ।
यसअघि मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना दुई नागरिकले ज्यान गुमाएको हुन सक्ने जनाएको थियो।तीमध्ये एकको पहिचान खुलेको छ भने अर्का व्यक्तिको जीवितै उद्धार गरिएको थियो।
अधिकारीहरूका अनुसार नदीबाट उद्धार गरिएका एक जनालाई अस्पतालले बिदा गरेको छ।
मङ्गलवार राति झन्डै १:३० बजेतिर दुर्घटना भएपछि प्रतिकार्यका लागि खटेका उद्धारकर्ताले नदीमा खसेका मानिसहरूको खोज्न थालेका थिए।
अमेरिकी कोस्ट गार्डले सूर्यास्त हुनै लाग्दा खोजीकार्य स्थगित गर्दै पुल भत्किएपछि कठ्याङ्ग्रिने चिसो पानीमा खसेका मानिस लामो समयसम्म जीवित नभएको अनुमान गरेको थियो।
कसरी हुँदै छ खोजी
अधिकारीहरूले शव खोज्न प्रयास भइरहेको जनाएका छन्। “हामीले ती मानिसका परिवारलाई यथार्थ खबर दिनैपर्छ,” मेरिल्यान्डका गभर्नर वेस मोरले भनेका छन्।
“म आफूसँग भएको प्रत्येक स्रोतसाधन तपाईँहरूले यथार्थ जानकारी पाउनुहोस् भन्ने सुनिश्चित गर्न परिचालन गर्ने वाचा गर्छु।”
तर उक्त कार्य चुनौतीपूर्ण रहेको कोस्टगार्डका भाइस एड्मिरल पिटर गाउटिअरले बुधवार बताए।
गोताखोरहरूले धातुका भग्नावशेष रहेको निकै चिसो पानीमा पौड्दै हराइरहेका मानिसहरू खोजी गरिरहेका छन्।
पानीजहाज कस्तो अवस्थामा छ
दुर्घटनामा परेको मालवाहक पानीजहाज डाली नदीमा स्थिर अवस्थामा छ।
त्यसभित्र १५ लाख ग्यालन इन्धन र ल्यूब आयल छ।
बाल्टिमोरबाट श्रीलङ्का प्रस्थान गरेको उक्त पानी जहाजमा झन्डै ४,७०० वटा कन्टेनर थिए। तीमध्ये ५६ वटामा घातक सामग्री भएको बताइएको छ।
“कोस्ट गार्ड पानीजहाजमा गएको छ,” गाउटिअरले भने।
अमेरिकी जलसेनाले १,००० टनको भार बोक्न सक्ने क्रेनको प्रयोग गरेर नदीमा खसेको पुलको भाग बाहिर निकाल्न प्रयास गरिने जनाएको छ।
पानीजहाजमा प्रयोग गरिने उपकरण र अन्य संरचनाका विशेषज्ञ जिम बेलिङ्गमले बीबीसीलाई बताएअनुसार उक्त पानीजहाजमा के समस्या देखियो त्यो पत्ता लगाउनु महत्त्वपूर्ण हुन्छ।
“सबैभन्दा ठूलो राम्रो कुरा भनेको पानीजहाज डुबेन, उनीहरूले पुलको अभिलेख पाउने छन् र के भयो भन्ने देखाउने रेकर्डिङ पनि फेला पर्ने छन्।"
पानीजहाजमा के भएको थियो
बाल्टिमोरबाट श्रीलङ्का प्रस्थान गरेको डाली पानीजहाजमा एक घण्टाभित्र सङ्कट उत्पन्न भएको थियो।
अधिकारीहरूले पानीजहाजबाट झिकेको डेटा रेकर्डले महत्त्वपूर्ण जानकारी दिने अपेक्षा गरेका छन्।
अकस्मात् विद्युत् आपूर्ति बन्द भएपछि पानीजहाज पुलमा ठोकिनुअघि चालकदलले सङ्कट आइपरेको सूचना दिँदै सहयोगको याचना गरेको थियो।
अनुसन्धानकर्ताहरूले पानीजहाजमा प्रयुक्त इन्धनमा मिसावट भए नभएको र दुर्घटनामा त्यसको भूमिका निर्क्योल गर्ने छन्।
विज्ञहरूका अनुसार दूषितका कारण मुख्य जेनरेटरमा समस्या उत्पन्न हुन र त्यसले विद्युत् आपूर्ति बन्द हुन सक्छ।
पुल भत्किँदा कसलाई कस्तो असर
अधिकारीहरूले मुख्य बन्दरगाहनजिकै पुल भत्किँदा त्यसले विश्वव्यापी आपूर्ति प्रणाली र अमेरिकी अर्थतन्त्रलाई असर पार्ने बताएका छन्।
मेरिल्यान्डका गभर्नरले ८,००० जनाको रोजगारी प्रभावित हुन सक्ने भन्दै सो दुर्घटनालाई "विश्वव्यापी सङ्कट" भनेका छन्।
“राष्ट्रिय अर्थतन्त्र र विश्वको अर्थतन्त्र यो बन्दरगाहमा निर्भर छ,” उनले भने। उनका अनुसार गत वर्ष उक्त बन्दरगाहमार्फत ८० अर्ब डलरको मालसामान पैठारी भएको थियो।
विज्ञहरूले उक्त पुल भत्किएका कारण त्यहाँको सामुद्रिक मार्ग पुनः सञ्चालनमा नआउँदासम्म दैनिक डेढ डलरसम्म घाटा पर्न सक्ने जनाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।