तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'प्रधानमन्त्री केपी ओलीको राजीनामा माग': नेपालका प्रिन्ट मिडियाका प्रमुख विषय
जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि सरकारका नेतृत्व गरिरहेका के पी ओलीले राजीनामा दिनुपर्ने भन्दै नेपालका केही समाचारपत्रले विशेष सम्पादकीय छापेका छन्।
सोमवार स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा काठमाण्डूमा १७ सहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र सयौँ घाइते भएको र तिनको उपचार भइरहेको बताइएको छ।
पत्रपत्रिकाले सोमवारका घटना विवरण र तस्बिरहरू विशेष महत्त्वका साथ छापेका छन्।
कान्तिपुरमा "युवाको रगतले लतपतिएको हात लिएर प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्न मिल्दैन" भन्ने शीर्षकमा पहिलो पृष्ठमा विशेष सम्पादकीय छापिएको छ।
सम्पादकीयमा भनिएको छ, "प्रधानमन्त्रीले समेत अविलम्ब राजीनामा दिनुपर्छ।"
नयाँ पत्रिकाले प्रथमपृष्ठको आधा भागमा कालो पोतेको छ। उसले पनि प्रथम पृष्ठमा विशेष सम्पादकीय छाप्दै "रगतले पुग्यो महामहिमहरू अब समर्पण गर्नोस्" भन्ने लेखेको छ।
सम्पादकीयमा भनिएको छ, "यो शासन होइन अपराध हो र अपराधीहरू सिंहासनमा बस्न हुँदैन बस्न सक्दैनन्"।
कारोबार दैनिकले 'सरकार राजीनामा देऊ नयाँ जनमतमा जाऊ' भन्दै अग्र पृष्ठमा विशेष सम्पादकीय छापेको छ।
कारोबारको सम्पादकीयमा भनिएको छ, "जेन जी पुस्ताले माग गरे जस्तै भ्रष्टाचारको अन्त्य, रोजगारी सुशासन, न्याय र समृद्धिको बाटोमा अघि बढ्ने हो भने तत्काल यो सरकारले मार्ग प्रशस्त गरोस् भदौ २३ को घटना छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गरियोस् र ताजा जनादेशका लागि निर्वाचन घोषणा गरियोस्।"
काठमाण्डू पोस्टको सम्पादकीयमा पनि केपी ओलीलाई तत्काल राजीनामा गर्न माग गरिएको छ।
सरकार नियन्त्रित गोरखापत्र र द राइजिङ नेपालमा सोमवारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको घटना बारेको समाचार प्रथम पृष्ठमा छ भने सम्पादकीयको विषय एमालेको विधान अधिवेशनबारेमा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।