सगरमाथा चढ्ने 'नयाँ मार्ग'को अध्ययन, आउँदो वसन्तमा खुल्ने सम्भावनाको लेखाजोखा

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

सरकारले आगामी वसन्त ऋतुबाट सगरमाथा आरोहणका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याउन लागेको चर्चा भइरहँदा पर्यटन विभागका एक निर्देशकले उक्त विषय अध्ययनकै क्रममा रहेको र अध्ययन प्रतिवेदन आएपछि मात्रै थप निर्णय हुन सक्ने बताएका छन्।

"अध्ययनमा संलग्नहरूले ८० प्रतिशतजति काम सकिएको र फागुन वा चैतमा अध्ययन प्रतिवेदन दिने बताएका छन्," पर्यटन विभागका निर्देशक हिमाल गौतमले बीबीसीसँग भने।

अध्ययन टोलीमा फ्रान्सेली सगरमाथा आरोही मार्क बटर्ड र नेपाली आरोही काजी शेर्पालगायत सम्मिलित छन्। उनीहरूले वैकल्पिक मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको दाबी गर्दै आएका छन्।

पर्यटन मन्त्रालयले गत पुसमा उनीहरूलाई वैकल्पिक मार्गबारे अध्ययन गर्न अनुमति दिएको थियो।

"अध्ययनसँगै बाटो बनाउने काम पनि गरिरहेका छौँ। धेरै काम सकिसकेका छौँ," शेर्पाले बीबीसीसँग भने, "वसन्तयाम सुरु हुँदासम्म सबै काम सक्ने योजना हो तर रकमको अभावले उक्त कार्य प्रभावित हुन पुगेको छ।"

पटकपटक सगरमाथा आरोहण गरिसकेका पासाङ नुरु शेर्पा पनि वैकल्पिक मार्ग सुरक्षित रहेकोमा सहमत छन्। "बाटोमा एउटा 'ब्लू आइस' (खँदिलोसँग जमेर बसेको हिँउ) त छ तर त्यसलाई छल्न सकिन्छ," उनले भने।

सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गरेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि सोही मार्ग प्रयोग गरेको बताइन्छ।

नयाँ मार्ग कस्तो

वैकल्पिक मार्गबाट जाँदा नुप्से हिमालको फेदी हुँदै सगरमाथाको शिखरमा पुगिन्छ।

हाल पर्वतारोहीहरू खुम्बु आइसफलको बाटो हुँदै सगरमाथा चढ्छन्। उक्त ठाउँ आधार शिविर र क्याम्प वनको बीचमा पर्छ। त्यस ठाउँलाई उक्त मार्गको सबैभन्दा जोखिमयुक्त ठानिन्छ।

वैकल्पिक मार्गको प्रयोग गर्दा खुम्बु आइसफल छलिने जानकारहरू बताउँछन्।

"उक्त वैकल्पिक मार्ग अहिलेको आधार शिविरभन्दा थोरै तल्तिरबाट सुरु हुन्छ र क्याम्प वानमा गएर मिसिन्छ," निर्देशक गौतमले भने, "खुम्बु आइसफलको बाटोको तुलनामा यो २०० मिटरजति लामो भएको उनीहरूले बताएका छन्।"

काजीले आफूहरूले वैकल्पिक मार्गका भित्तामा किला ठोकेर डोरीसमेत टाँगेको बताए। "बेस क्याम्पबाट सुरु गरेर क्याम्प वनतर्फ गएका हौँ। भित्तामा १०० वर्षका निम्ति हुने गरेर किलाहरू ठोकेका छौँ। असी प्रतिशतजति काम भइसकेको छ।"

"अब घरिघरी किलाहरू फेर्नुपर्दैन। डोरी मात्रै फेरे हुने गरेर काम गरेका छौँ।"

क्याम्प वनको नजिकैबाट सगरमाथा, नुप्से र लोत्सेतर्फ लाग्ने बाटो छुट्टिन्छ।

कति सुरक्षित

पर्यटन विभागका गौतमले सगरमाथा आरोहणका निम्ति सुरक्षित विकल्प हुने ठानेरै अध्ययनका निम्ति अनुमति दिइएको बताउँछन्।

"सगरमाथा आरोहणका क्रममा हुने २५ प्रतिशत मृत्यु खुम्बु आइसफल क्षेत्रमा हुँदोरहेछ। सन् २०१५ को भूकम्पमा पनि त्यहाँ धेरै मानिसहरू समस्यामा परे। त्यसैले त्यसको विकल्प खोज्ने क्रममा अध्ययनको अनुमति दिएका हौँ।"

फ्रान्सेलीहरूसँगै अध्ययनमा संलग्न शेर्पा आफूहरूले सुझाएको बाटो "एकदमै सुरक्षित" रहेको दाबी गर्छन्।

"खुम्बु आइसफलमा कहिले एकैचोटि १६ जना परे, कहिले नौ त कहिले सात जना परे। त्यसमा धेरै चिनारुहरू पनि परे," काजीले बीबीसीसँग भने, "त्यसपछि सुरक्षित उपाय खोज्ने क्रममा यो मार्ग ठिक हुन्छ भन्ने लागेको हो।"

पासाङ नुरुले पनि "वैकल्पिक बाटोमा कुनै खर्पास (हिमनदीले बनाउने खाल्डो) नपर्ने र हिउँपहिरोको जोखिम पनि नभएको" बताए।

"त्यसमा आइसफलको तुलनामा त्यति साह्रो जोखिम छैन," उनले भने, "ब्लू आइस भएको ठाउँमा चाहिँ चाँडोचाँडो कट्नुपर्छ।"

अड्कियो अध्ययनको काम

बाटो बनाउने काम पनि सँगसँगै अघि बढाइएकाले अहिले रकमको अभावमा काम अड्किन पुगेको काजी बताउँछन्।

"अहिलेसम्म विभिन्न दाताहरूबाट सहयोग लिएर काम गरेका हौँ। सरकारबाट कुनै सहायता लिएका छैनौँ," उनले भने, "तीन लाख डलरजति खर्च भइसक्यो, बाँकी काम सक्न थप एक लाख डलर चाहिने ठानेका छौँ।"

पर्यटन विभागका गौतम भने अनुसन्धान टोलीले सहायताका निम्ति अनुरोध गरे पनि त्यसबारे कुनै निर्णय नभएको बताउँछन्।

"सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी मन्त्रिस्तरीय निर्णयबाट अध्ययनको अनुमति दिएको थियो तर उहाँहरूले किलाकाँटी ठोकेर लगभग बाटो नै बनाउन थालेकाले अलिकति सहयोगको अपेक्षा गर्नुभएको हो। बीचमा सरकार परिवर्तन समेत भएकाले त्यसबारे कुनै निर्णय भएको छैन।"

अध्ययनकार्यमा "सरकारको अपनत्व हुने गरी सहयोगको अपेक्षा गरिएको" काजीले उल्लेख गरे।

"सुरुमा हामी आफैँले गर्ने भनेका हौँ तर अब थाक्यौँ, सकेनौँ," उनले भने, "सगरमाथाबाट सरकारले कति कति करोड राजश्व उठाउँछ तर त्यहाँ खासै खर्च भएको छैन। हामीलाई अलिकति छुट्याउँदा के फरक पर्छ?"

कहिलेबाट खुला होला

पर्यटन विभागका निर्देशक गौतम अध्ययन जारी रहेकाले प्रस्तावित मार्ग प्रयोग हुने नहुनेबारे अहिल्यै केही भन्न नसकिने बताउँछन्।

"बाटो बन्नेबित्तिकै प्रयोग गर्ने भन्ने हुँदैन। उहाँहरूलाई अध्ययन गर्न अनुमति दिएका हौँ, बाटो बनाउन होइन," उनले भने, "प्रतिवेदन प्राप्त भएपछि उक्त मार्गको जोखिम विश्लेषण गर्छौँ। सरोकारवालाहरूसँग छलफल गर्छौँ। त्यसपछि मात्रै प्रस्तावित मार्ग प्रयोग गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन्छ।"

काजी शेर्पा सरकारबाट सहायताको आशा गरिएको तर प्राप्त नभए पनि आउँदो वसन्तयामसम्म अन्यत्रबाट स्रोत जुटाएर भए पनि काम सक्ने बताउँछन्।

"बाटो खोल्ने विषयमा भने सरकारी अधिकारीहरू सकारात्मक नै छन् र सम्भवत: आउँदो वसन्तयामसम्म उक्त मार्गलाई अनुमति दिइने ठानेका छौँ," उनले भने।

पासाङ नुरु पनि नुप्से चढ्ने आरोहीहरूले पनि प्रयोग गर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुमति दिइनुपर्ने धारणा राख्छन्।

"त्यसको मतलब आइसफलको बाटो बन्द गर्ने भनेको होइन। त्यो बाटो रुचाउनेहरू त्यताबाट जान्छन्," उनले भने "सरकारले दुवै बाटो चलाउँदा हुन्छ तर 'अल्पाइनिस्ट'का लागि नुप्सेतिरको बाटो एकदमै राम्रो छ।"

हल्काफुल्का सामान बोकेर, तेज गतिमा र बिनाअधिक सहायता पर्वतारोहण गर्ने तरिकाका लागि यो बाटो ठिक हुने उनको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।