'विशिष्ट' कैदीको रोजाइमा डिल्लीबजार कारागार पर्नुको कारण

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
गत चैत २३ गतेयता रूपन्देही जिल्ला कारागारमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले काठमाण्डूको डिल्लीबजार कारागारमा आफूलाई स्थानान्तरण गरिदिन प्रशासनसँग माग गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना नेताले बताएका छन्।
रास्वपा सभापति लामिछाने सरुवा भएर आउन चाहेको डिल्लीबजार कारागार विभिन्न समयमा जेल सजाय पाएका राजनीतिज्ञदेखि उच्चपदस्थ अधिकारीहरूको रोजाइमा पर्ने जेल हो। करिब ७०० जना कैदीबन्दी रहेको यो कारागारमा पहिले पनि पूर्वमन्त्री र पूर्वसांसददेखि प्रभावशाली व्यक्तिहरू सजाय भुक्तान गरिरहेका छन्।
रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले परिवार र पार्टी नेताहरूसँगको भेटघाट सहज हुने भएका कारण लामिछानेले आफूलाई डिल्लीबजार सारिदिन प्रशासनमा निवेदन दिएको बीबीसी न्यूज नेपालीसँग बताए।
उच्च अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी रूपन्देही जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला पर्खिरहेका छन्।
कस्तो अवस्थामा जेल सरुवा हुन्छ

कैदी स्थानान्तरण (सरुवा ) सम्बन्धी कार्यविधिअनुसार प्रमुख तीन अवस्थामा कैदीहरूलाई एउटा कारागारबाट अर्को कारागारमा स्थानान्तरण गरिन्छ।
कारागार सरुवा गर्नुपर्ने उचित कारण खुलाएर प्रमुख जिल्ला अधिकारीले कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको अवस्थामा कैदीहरूलाई अर्को कारागारमा सार्न सकिने व्यवस्था छ।
त्यस्तै १० वर्षभन्दा बढी कैद सजाय पाएका कैदीहरूलाई पनि नजिकको पक्की र ठूलो कारागारमा सरुवा गर्न सकिने व्यवस्था उक्त कार्यविधिमा उल्लेख छ।
तेस्रो चाहिँ कारागार सानो र कच्ची भएका कारण सुरक्षाका दृष्टिले पनि बढी कैदी बन्दी राख्न नसकिने अवस्थामा कैदीबन्दीहरूलाई अर्को कारागारमा पठाइन्छ।
कैदीहरू किन रोज्छन् सरुवा

तस्बिर स्रोत, HOR
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीका अनुसार कैदीबन्दीहरूले स्वास्थ्य, पारिवारिक र व्यावहारिक कारण देखाउँदै आफूलाई पायक पर्ने कारागारमा स्थानान्तरण गरिदिन माग गर्ने गरेका छन्।
"बिरामी भएको अवस्थामा उपचार सहज हुने गरी सरुवा माग्नेहरू हुन्छन्, कतिपयले घर परिवारका सदस्यसँग भेटघाट पायक पर्ने गरी घर पायकको कारागारमा सरुवा माग्छन्" कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की भन्छन्।
अधिकारीहरूका अनुसार अर्को अदालतमा पनि मुद्दा भएको अवस्थामा नजिक पर्ने गरी कैदीहरूलाई कारागार स्थानान्तरणको माग हुने गरेको छ। त्यस्तै धेरै सङ्ख्यामा कैदी भएका कारागारमा चाप घटाउन कारागार प्रशासनले कम सङ्ख्या भएका कारागारमा कैदी पठाउने गरेको छ।
"कतिपय कारागारमा महिला सेल नभएका कारण पनि महिला कैदीलाई सहज हुने गरी सरुवा गर्ने गरिएको अवस्था पनि छ," सार्की भन्छन्। कारागार व्यवस्था विभागका अनुसार सुन्धाराको जगन्नाथदेवलमा मात्रै महिलाका लागि छुट्टै कारागार छ। बाग्मती प्रदेशका सिन्धुपाल्चोक र सिन्धुली जिल्ला कारागारमा महिला सेल नरहेको विभागले जनाएको छ।
कतिपय कारागारमा कैदीहरूबीच झडप र झैझगडा हुँदा शान्ति सुरक्षामै असर पर्ने अवस्था रहेका कारण पनि कैदीहरूलाई सरुवा गरेर छुट्ट्याउनुपर्ने अवस्था आउने अधिकारीहरू बताउँछन्।
विशिष्टको रोजाइमा किन डिल्लीबजार

तस्बिर स्रोत, DoPM
पूर्वगृहमन्त्री खुमबहादुर खड्कादेखि रेशम चौधरी सहितका नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुखसम्मले कैद भुक्तानका लागि डिल्लीबजार कारागार रोजेका थिए।
अहिले पनि गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गेदेखि पूर्वसांसद इच्छाराज तामाङ र पूर्वप्रशासक चूडामणि शर्मालगायत यही कारागारमा छन्।
कारागार व्यवस्था विभागका पूर्वमहानिर्देशक जनकराज दाहाल यो कारागारमा बस्न पहुँचवाला व्यक्तिहरूले भनसुन नै गर्ने गरेको अनुभव सुनाउँछन्।
"काठमाण्डूमा भएका कारण पनि त्यो ठाउँ रोजेका हुन सक्छन्। विशेष गरी राजनीतिक प्रकृतिका कैदीहरूको त्यहाँ बस्न पाउनुपर्ने दबाव सधैँ नै हुन्थ्यो," उनी भन्छन्।
"त्यहाँ बस्नलाई भनसुन पनि आउँथ्यो। तर कतिपयको अरू ठाउँमा जान पनि भनसुन आउँथ्यो, जस्तो विराटनगर जान पनि आउँथ्यो।"
कारागार कार्यालय डिल्लीबजारका प्रमुख बाबुराम अर्याल पहुँचवाला कैदीबन्दीको रोजाइमा यो कार्यालय पर्नुमा राजनीतिक भेटघाटका लागि सहजता र राजनीतिक व्यक्ति बस्ने जेलको छवि प्रमुख कारण रहेको ठान्छन्।
"राणाकालीन संरचना भएका कारण यो जेल साँघुरो छ तर उपत्यकाका तीनैवटामध्ये कम कैदीबन्दी यो जेलमा भएका कारण भिडभाड कम छ, भेट्न आउनेलाई पार्किङको सुविधा छ र सहरको बीचमा पनि छ," अर्याल भन्छन्।
यो कारागारमा ७०० जना भन्दा कम कैदीबन्दी रहेको उनले जानकारी दिए। उपत्यकाका तीन वटै जेल अवलोकन गरेको बताउने अर्यालका अनुसार सबैभन्दा फराकिलो जेल ललितपुरको नक्खु कारागार हो।
के कारागारअनुसार सुविधा फरक पर्छ?

तस्बिर स्रोत, RSS
कारागार व्यवस्था विभागका अधिकारीहरू देशका जुनसुकै कारागारमा पनि कैदीबन्दीहरूले पाउने सुविधा समान रहेको बताउँछन्।
"जुनसुकै कारागारमा बसे पनि कैदीबन्दीले पाउने सुविधा र सिधा बराबर हो। भौतिक संरचनाअनुसार बस्ने ठाउँको सुविधा तलमाथि हुन सक्छ," विभागका पूर्वमहानिर्देशक दाहाल भन्छन्।
कारागार व्यवस्था विभागका सूचना अधिकारी सार्कीका अनुसार पुरानाभन्दा नयाँ कारागारहरू सुविधाका दृष्टिले अब्बल भए पनि ती कारागारहरू सहरका केन्द्रभन्दा बाहिर रहेका कारण कैदीबन्दीहरू जान चाहँदैनन्।
"नुवाकोटमा बनेको कारागारमा नयाँ मापदण्डअनुसारका सुविधा छन् तर आफन्तहरू भेटघाटका लागि आउन टाढा पर्ने भएर होला प्रायजसो कैदीबन्दीहरू त्यहाँ जान चाहँदैनन्," उनले भने।
दुई कारागारमा मात्रै क्षमताभन्दा कम कैदी
कारागार व्यवस्था विभागका अनुसार नुवाकोटको विदुरमा गत वर्षबाट सञ्चालनमा आएको देशकै नमुना कारागारमा क्षमताभन्दा कम कैदीबन्दी छन्। कुल १,३७० जना कैदी बन्दी अटाउने क्षमता रहेको उक्त कारागारमा अहिले ७०० जनाभन्दा कम कैदीबन्दी रहेको विभागले जनाएको छ।
त्यस्तै ३,००० क्षमताको बाँकेको नौबस्ता कारागारमा पनि क्षमताभन्दा कैदीबन्दी रहेको अधिकारीहरूले बताएका छन्।
हाल देशभरिका कारागारहरूमा २९ हजार ३०० जना कैदीबन्दी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








