जहाँ प्रतिनिधिमार्फत् जेठाजु-भाइबुहारीबीच दशैँको टीका लगाइन्छ

दशैँमा टीका जमरा लगाएको जाजरकोटको एक परिवार ।
तस्बिरको क्याप्शन, दशैँमा टीका-जमरा लगाएको जाजरकोटको एक परिवार
    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

पश्चिम नेपाल अर्थात् कर्णालीका विभिन्न ठाउँमा जेठाजु र भाइबुहारीले हरेक वर्ष आफ्ना प्रतिनिधिमार्फत् दशैँको टीका लगाउने गर्छन्।

भाइबुहारीलाई जेठाजुले छुन नहुने चलनले गर्दा उनीहरूले वर्षौँदेखि प्रतिनिधिमार्फत् दशैँको टीका लगाउँदै आएका छन्।

जाजरकोटका मणिलाल शर्माका अनुसार दशैँको दिन टीका मुछेपछि नै जेठाजु र बुहारीले लगाउने टीकालाई अरू परिवारले लगाउने टीकाबाट सुरुमै अलग्गै छुट्ट्याएर राखिन्छ।

अनि जेठाजु र बुहारीको टीका लगाउने पालो आएपछि एउटै समयमा जेठाजुका प्रतिनिधिले बुहारीलाई र बुहारीको प्रतिनिधिले जेठाजुलाई टीका लगाइदिन्छन्।

एकअर्काका प्रतिनिधिमार्फत् निधारमा तीनदेखि पाँच पटकसम्म टीका लगाएपछि बुहारीले जेठाजुलाई शिर झुकाएर ढोग्ने र जेठाजुले बुहारीलाई आशीर्वाद दिन्छन्।

मणिलालले भनेः "जेठाजु बुहारीले एकअर्कालाई छुन नमिल्ने भएकोले दशैँमा टीका लगाउँदा प्रतिनिधिले लगाइदिने चलन वर्षौँदेखि हामीले मान्दै आएका छौँ।"

प्रतिनिधि नहुनेले आफैँले लगाउने

कर्णालीका गाउँघरमा जेठाजुहरूका अगाडि भाइबुहारीहरूले शिर खुला नराख्ने, शिरलाई कुनै न कुनै कपडाले ढाकिरहने र कहिलेकाहीँ कपडाले शिर नढाकेको बेला एक्कासि जेठाजु भेटिए हातले भए पनि शिरलाई छोप्ने चलन छ ।

यस्तो चलनले गर्दा जेठाजु र बुहारीहरूबीच प्रत्यक्ष रूपमा दशैँलगायत कुनै पनि चाडपर्वमा टीकाटालो हुँदैन।

प्रतिनिधि नहुने जेठाजु र बुहारीहरूले भने हातमा टीका र जमरा फाल्ने अनि पातमा राखेर आफैँले आफ्नो निधारमा दशैँमा टीका लगाउने गर्छन्।

दैलेखका जङ्गबहादुर विष्ट भन्छन्, "धेरैजसो जेठाजु र बुहारीले प्रतिनिधिमार्फत् टीका लगाउँछन्। यदि कोही पनि प्रतिनिधि छैनन् भने एकले अर्काको हातमा टीका र जमरा फाल्छन्। यसरी फालेको टीका आफैँले लगाउँछन्।"

श्रीमान्‌का प्रतिनिधिको रूपमा देउरानीलाई दशैँमा टीका लगाइदिँदै जेठानी
तस्बिरको क्याप्शन, श्रीमान्‌का प्रतिनिधिको रूपमा देउरानीलाई दशैँमा टीका लगाइदिँदै जेठानी

विगतको तुलनामा अहिले भने प्रतिनिधिमार्फत् जेठाजु र बुहारीले दशैँमा टीका लगाउने चलनमा बिस्तारै परिवर्तन हुँदै आएको कतिपयले अनुभूति गरेका छन् ।

"पहिला प्रतिनिधि नभए पातमा टीका र जमरा दिएर आफैले दशैँको टीका लगाउने गर्थे," डोल्पाकी पवित्रा शाही भन्छिन्,"आजभोलि भने कतिपय जेठाजुले भाइबुहारीलाई बहिनी मानेर छोएरै टीका लगाइदिन थालेका पनि छन्।"

प्रायःजसो बुहारीको प्रतिनिधि छोरी र जेठाजुको प्रतिनिधि छोरा मान्छे हुन्छन्। जेठाजु बुहारीलाई उनकै छोराछोरीले प्रतिनिधि बनेर टीका लगाइदिन्छन्।

तर छोराछोरी साना छन्। टीका लगाउन सक्दैनन् भने श्रीमतीको प्रतिनिधिका रूपमा भाइले दाइलाई र श्रीमान्‌का प्रतिनिधि भएर जेठानीले देउरानीलाई पनि टीका लगाइ दिने गर्छन्।

यदि टीका लगाइदिने कोही पनि छैनन् भने थाल र पातमा टीका राखिदिएर जेठाजु र बुहारीले आफैँले आफ्नो निधारमा टीका जमरा लगाउँछन्।

टीका लगाइसकेपछि बुहारीले जेठाजुलाई ढोग्छन् अनि जेठाजुले आर्शीवाद दिन्छन्।

श्रीमतीको प्रतिनिधिको रूपमा दाईलाई दशैँको टीका लगाइ दिँदै भाइ ।
तस्बिरको क्याप्शन, श्रीमतीको प्रतिनिधिका रूपमा दाइलाई दशैँको टीका लगाइदिँदै भाइ

पुरानो चलनमा बिस्तारै परिवर्तन

तर पछिल्लो प्रतिनिधिमार्फत् दशैँमा जेठाजु र बुहारीले टीका लगाउने चलनमा बिस्तारै परिवर्तन हुँदै गइरहेको पाका व्यक्तिहरू बताउँछन्।

दैलेखसहित कर्णालीका विभिन्न जिल्लामा पूर्व र पश्चिमबाट आएका मानिसहरूको बसोबास छ। त्यसैले उनीहरूका आफ्नै किसिमका संस्कार र चलन पनि छन्।

दैलेखका जङ्गबहादुर विष्टका अनुसार पश्चिमतिरबाट आएकाहरूका परिवारमा जेठाजु र बुहारीका प्रतिनिधिमार्फत् टीका लगाउने चलन अझै कायमै रहे पनि पूर्वतिरबाट आएकाहरूमा भने केही कमी हुँदै गएको छ।

आफू जान्ने भएदेखि नै यस्तो चलनका भुक्तभोगी जङ्गबहादुर भन्छन्: "हेर्दाहेर्दै पहिलेभन्दा अहिले यो चलनमा केही परिवर्तन आएको छ। अहिले कतिपय जेठाजु र बुहारीले एकअर्कोलाई टीका लगाइदिन पनि थालेका छन्। शिर पनि ढाक्दैनन्। सायद जमाना बदलिएर होला। पुरानो संस्कारमा बिस्तारै परिवर्तन भइरहेको छ।"

वर्षौँदेखि चल्दै आएको यस्तो चलन सहरी बजारमा केही परिवर्तन आए पनि गाउँघरमा भने खासै परिवर्तन आउन नसकेको कर्णालीका बासिन्दा बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।