अझै कहिलेसम्म पानी पर्छ, मौसममा कहिलेबाट सुधार आउँछ?

तस्बिर स्रोत, RSS
नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिवार देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
शनिवार अघिसम्म वर्षा गराएको चक्रवात मोन्था चाहिँ नेपालबाट बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद् विनु महर्जनले बताइन्।
विभागका अनुसार पछिल्ला केही दिनमा देशका कतिपय स्थानमा 'भारी' वर्षा र हिमपातसमेत भएको छ।
पछिल्लो वर्षाले खास गरी बीपी राजमार्गमा सवारी आवागमनमा समस्या निम्त्याएको ट्राफिक प्रहरीले जनाएको छ।
मनसुन सकिएपछि भइरहेको पछिल्लो बर्खाले चिसो पनि बढाउने मौसमविद्हरूले बताएका छन्।
उनीहरूका अनुसार नेपालमा हिउँदयाममा भूमध्य सागरबाट आउने वायुले वर्षा गराउँछ।
भूमध्य सागरबाट आउने वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमबाट भित्रिन्छ।

तस्बिर स्रोत, RSS
पूर्वानुमान के छ?
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिवार साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी र मधेश प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्।
त्यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
"पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले आज [शनिवार] पानी परिरहेको हो," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
कहिलेसम्म सुधार हुन्छ?
"हिजो, अस्तिसम्म असर गरिरहेको चक्रवात मोन्था नेपालबाट बाहिरिएको छ। त्यो अहिले बाङ्ग्लादेशतर्फ पुगेको छ। हामीकहाँ त्यसको असर छैन," महर्जनले भनिन्।
"अहिले वर्षा गराइरहेको प्रणाली चाहिँ आजसम्म रहन्छ। तर भोलिबाटै पूरै खुलिहाल्ने, घाम लागेर सफा भइहाल्ने हुँदैन।"
मौसमविद् महर्जनका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आइतवार पनि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।
"तर आजको जस्तो लगातारजसो वर्षा नहोला। आजभन्दा भोलि र भोलिभन्दा पर्सि मौसममा सुधार हुँदै जाने देखिन्छ," उनले भनिन्।

तस्बिर स्रोत, RSS
राजमार्गको अवस्था के छ?
पछिल्लो बर्खाले कतिपय राजमार्गमा असर पुर्याएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल ट्राफिक प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएअनुसार वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध हुन पुगेको छ।
"बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी र मङ्गलटारको बीचमा पर्ने चौकीडाँडामा बाटो बग्दा शुक्रवारबाट पूर्ण रूपमा सवारी आवागमन रोकिएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"दशैँअगाडि नै बाढी तथा पहिरोले क्षति पुर्याएको बाटोमा यो बर्खाले थप क्षति पुर्याउँदा समस्या भएको छ।"
हालैका बाढी तथा पहिरोले व्यापक क्षति निम्त्याएको बीपी राजमार्गको पुनर्निर्माण भइसकेको छैन।
मोन्थाको असर कस्तो रह्यो?
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवारबाट शुक्रवारसम्म खास गरी मोन्था चक्रवातको प्रमुख असरले नेपालमा वर्षा भएको हो।
विभागस्थित मौसमविद्हरूका अनुसार पश्चिमी वायु र अरब सागरमा न्यूनचापीय प्रणाली विकसित हुँदा त्यहाँबाट पनि वर्षा बोकेको बादल गुजरात हुँदै नेपाल भित्रिएपछि बर्खा गराएको थियो।
"चक्रवात मोन्थाको असरले लुम्बिनीको पूर्वी भूभागमा, मधेश प्रदेशमा र कोशी प्रदेशको तराई भूगामा भारी वर्षा गराएको देखियो," मौसमविद् महर्जनले भनिन्।
त्यसले ठूलै प्रभाव नपारे पनि कतिपय ठाउँमा पहिरो निम्त्यायो भने कम 'भिजिबिलिटी'का कारण देशभित्र कतिपय हवाई उडानहरू पनि रद्द हुन पुगेका छन्।
शनिवार पनि विभिन्न ठाउँमा हवाई उडानका साथै 'माउन्टेन फ्लाइट' हुन नसकेको हवाई सेवा प्रदायक कम्पनीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








