कट्रीनादेखि एरिनसम्म : इतिहासकै अति खतरनाक समुद्री आँधीहरू कुन कस्ता

तस्बिर स्रोत, Getty Images
- Author, स्टीभन डावलिङ, इजाबेल ग्रेस्टेन, रिचर्ड ग्रे, क्याथरीन ल्याथम र जोस्लिन टिम्पर्ली
- Role, बीबीसी फीचर
संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वी राज्य लुईजिआनामा १,८३३ जनाको ज्यान लिने गरी र अपकल्पनीय स्तरमा विध्वंस निम्त्याउने गरी कट्रीना नामक समुद्री आँधी आएको २० वर्ष पुगेको छ।
सन् २००५ को अगस्ट २९ तारिखमा आएको आँधीले अधिकांश सहरमा डुबान निम्त्यायो भने त्यहाँका बासिन्दाहरूलाई बिजुली, खानेकुरा र आश्रयविहीन बनायो।
"मेरो शहर न्यू ओर्लिन्ज पूरै अस्तव्यस्त भएको छ," एक स्थानीय बासिन्दा विन्डी सेब्रेनले त्यति बेला बीबीसीसँग भनेका थिए। "अहिलेका लागि न्यू ओर्लिन्जमा मेरो जिन्दगी सकियो- अब मैले नयाँ सुरुवात गर्नुपर्छ।"
कट्रिना अमेरिकाको इतिहासमा सम्झनामा रहेका सबैभन्दा नराम्रा प्राकृतिक विपद्मध्ये एक भएकोमा कुनै सन्देह छैन।
यहाँ हामीले कट्रिना र इतिहासका अरू शक्तिशाली एवं विध्वंसात्मक समुद्री आँधीहरूबारे चर्चा गरेका छौँ।
सबैभन्दा धेरै मानवीय क्षति - सन् १७८० को द ग्रेट हरिकन
बार्बेडोस क्यारिबीअन टापुमा एउटा सुन्दर दिनपछि सन् १७८० को नोभेम्बर ९ तारिखको रात पानी पर्न थाल्यो। भोलिपल्ट हल्का हावाले गति लिन थाल्यो र साँझ ६ बजेसम्म पुग्दा एउटा समुद्री आँधी पूर्ण शक्तिका साथ उक्त टापुमा ब्रजियो। द ग्रेट हरिकन भनेर चिनिने उक्त समुद्री आँधी अभिलेखमा दर्ता भएमध्येको आन्ध्र महासागरको सबैभन्दा घातक आँधी हो। उक्त आँधीका कारण २०,००० देखि २७,५०० जना मारिएको अनुमान छ।
उक्त आँधीले प्रतिघण्टा ३२२ किलोमिटरभन्दा बढी गतिका हावाहुरी ल्यायो, जसको ठूलो आवाजका कारण मानिसहरूले आफ्नै आवाज समेत सुन्न सकेका थिएनन्। "हिलो, भग्नावशेष, मरेका गाईबस्तुहरू र कुहिएका शवहरू" मात्र बाँकी थिए।
बार्बेडोसबाट द ग्रेट हरिकन मार्टिनिक, सेन्ट लुसिआ र सिन्ट युस्टेटसतर्फ बढ्यो।
सात मिटर अग्ला छालहरूले पूरै बस्तीहरू बगाएर समुद्रमा लगे भने ब्रिटिश र फ्रान्सेली नौसैनिक जहाजहरू त्यसमा रहेका हजारौँ मानिसहरूसहित समुद्रको गहिराइमा हराए।
ग्याल्भस्टन आँधी

तस्बिर स्रोत, Getty Images
अमेरिकी इतिहासको सबैभन्दा घातक समुद्री आँधी चाहिँ सन् १९०० को ग्याल्भस्टन आँधी थियो।
उक्त आँधी सन् १९०० को सेप्टेम्बरको प्रारम्भमा मेक्सिकोको खाडी हुँदै ग्याल्भस्टन, टेक्ससमा सेप्टेम्बर ६ तारिखमा खतरनाक चौथो तहको आँधीको रूपमा बज्रिएको थियो।
"हामी लगातार शवहरूमा ठोक्किन्थ्यौँ। त्यसैले म बन्चरो लिएर ती शवहरू पन्छाउँदै अगाडि जानुपर्यो… यो मैले देखेको सबैभन्दा डरलाग्दो कुरा थियो," बाँच्न सफल एक माझीले भनेको बताइन्छ। उक्त आँधीले ६,००० देखि ८,००० जनाको मृत्यु निम्त्याएको अनुमान छ।
अझ धेरै घातक समुद्री आँधीहरू आन्ध्र महासागर र वरिपरिको क्षेत्रबाहिर पनि आएका इतिहास छन्, त्यस्ता आँधीलाई "चक्रवात" ("साइक्लोन") अथवा "टाइफून" भन्ने गरिन्छ।
सन् १९७० मा आएको भोला साइक्लोन पूर्वोत्तर भारत र तत्कालीन ईस्ट पाकिस्तान (हालको बाङ्ग्लादेश) मा बज्रिएको थियो।
त्यसले साढे १० मिटरसम्म उचाइको विध्वंसकारी समुद्री छाल ल्याएको थियो। उक्त साइक्लोनका कारण करिब पाँच लाख व्यक्तिहरू मारिएका ठानिन्छ।

तस्बिर स्रोत, Getty Images
सबैभन्दा विध्वंसकारी समुद्री आँधीहरू - कट्रीना र मिच
समुद्री आँधीले पुर्याउने क्षतिको हिसाब तपाईँको दृष्टिकोणमा निर्भर गर्छ। सम्पत्ति, जीवनयापन गर्ने माध्यम र आफ्ना प्रियजन गुमाउनेहरूका लागि आँधी विध्वंसकारी ठहरिन्छ।
तर यदि क्षतिको मूल्याङ्कन केवल क्षति भएका सम्पत्तिका सङ्ख्याका आधारमा गरिने हो भने दुईवटा आँधीहरू विशेष रूपमा उल्लेखनीय छन्- कट्रीना र मिच।
कट्रीना इतिहासकै सबैभन्दा महँगो आँधी ठहरिनुको मुख्य कारण भनेको त्यसले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकाभरि निम्त्याएको व्यापक विनाश हो।
उक्त आँधीले २,१७,००० देखि ३,००,००० घरहरू पूर्ण रूपमा नष्ट गरेको अथवा बस्न अयोग्य बनाएको अनुमान छ।
प्रतिघण्टा २२५ किलोमिटरसम्मको वेगमा आएको हुरी दक्षिणपूर्व लुईजिआनामा ब्रजियो।
मिसिसिपीको किनारमा आँधीले ल्याएको समुद्री छाल सामान्य छालको सतहभन्दा ७.६ मिटरदेखि ८.५ मिटर सम्म उचाइमा पुग्यो भने दक्षिणपूर्वी लुईजिआना तटमा ३ मिटरदेखि ६.१ मिटरसम्मको उचाइमा छाल उठ्यो।
न्यू ओर्लिन्जमा शक्तिशाली छालहरू र आँधीका कारण आएको पानीको बहावले सहर जोगाउने उद्देश्यका साथ निर्माण गरिएका संरचनाहरूलाई चिर्दै क्षति निम्त्यायो।

तस्बिर स्रोत, Getty Images
समग्रमा करिब ८० प्रतिशत सहर बाढीको पानीले डुबानमा परेको थियो र पानीको गहिराइ ६ मिटरसम्म पुगेको थियो।
आँधीले उत्पन्न गराएका ५९ वटा टर्नाडोले आठवटा राज्यमा थप क्षति फैलाएका थिए।
क्षति पुर्याएको हिसाबले कट्रीनालाई अमेरिकी इतिहासको हालसम्मकै सबैभन्दा महँगो समुद्री आँधी मानिन्छ, जसले सन् २०२४ को मुद्रास्फीतिको हिसाबले कुल २०१.३ अर्ब डलर बराबरको क्षति पुर्याएको थियो।
कट्रीनापछि दोस्रो सबैभन्दा महँगो समुद्री आँधी हरिकन हार्भे हो, जुन टेक्सस र लुईजिआनामा बज्रिँदा १६० अर्ब डलर बराबरको क्षति भएको थियो।

तस्बिर स्रोत, NOAA
तर करिब सात वर्षअगाडि अर्को समुद्री आँधीले कट्रीनाले जत्तिकै विनाश निम्त्याएको थियो।
संयुक्त राज्य अमेरिकामा मिच नामक समुद्री आँधीले तुलनात्मक रूपमा सामान्य क्षति पुर्याएको थियो- सन् १९९८ को अक्टोबरमा मेक्सिकोको युकातान प्रायःद्वीपबाट गल्फ अफ मेक्सिको हुँदै आएको उक्त आँधीले फ्लोरिडामा ६४५ वटा घरहरू नष्ट गरेको थियो।
तर त्यस बेलासम्म त्यसले आफ्नो सबैभन्दा ठूलो विनाशकारी प्रभाव पहिले नै निम्त्याइसकेको थियो।

तस्बिर स्रोत, Getty Images
एक हप्ताअघि मिच समुद्री आँधी होन्डुरसमा बज्रिएको थियो, त्यहाँ त्यसले पूरै बस्तीहरू नै सखाप पार्दै मध्य अमेरिकाभरि ठूलो विनाश फैलाएको थियो।
उक्त समुद्री आँधी एउटा भयङ्कर राक्षसजस्तै थियो- पाँचौँ श्रेणीको उक्त आँधीलाई सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिन्छ।
होन्डुरस पुगुन्जेल कमजोर भई त्यो पहिलो श्रेणीको बनेको थियो, तर जमिनमा ब्रजिएपछि त्यो त्यहीँ अड्कियो र होन्डुरसमा स्थिर भएर ठूलो मात्रामा वर्षा गरायो।
त्यसपछि आएको बाढी र पहिरोले होन्डुरस, निकारागुवा, ग्वाटेमालामा, बेलिज र एल साल्भडोरभरि १०,००० देखि १९,००० जना व्यक्तिको ज्यान गएको थियो।
उक्त आँधीका कारण कम्तीमा दुई लाख घरहरू ध्वस्त अथवा एकदमै क्षतिग्रस्त भएका थिए।
होन्डुरसमा मात्रै ७० हजार घर तथा ९२ वटा पुलहरू ध्वस्त भएका थिए भने पहाडबाट बगेर आएको हिलोले एउटा सिङ्गो गाउँ नै बगाएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार अनुमानित पाँच लाखभन्दा बढी मानिसहरूले आफ्ना घर गुमाएका थिए।

तस्बिर स्रोत, Getty Images
उच्च गतिका हावा
सबैभन्दा धेरै क्षति निम्त्याउने र धेरै मानिसको ज्यान लिने आँधीलाई तपाईँ सबैभन्दा शक्तिशाली ठान्नुहुन्छ। तर त्यो सधैँ सत्य हुँदैन।
हरिकन प्याट्रिसिआ सन् २०१५ मा समुद्री आँधी आउने समयको २४औँ आँधी थियो, जुन मेक्सिकोको दक्षिणी तटनजिक तेहुवान्टेपेक खाडीमा बनेको थियो।
अनुकूल मौसमी अवस्थाका कारण उक्त आँधी २४ घण्टाको अवधिमै 'ट्रपिकल स्टोर्म'बाट पाँचौँ श्रेणीको हरिकनमा परिणत भएको थियो।
अक्टोबर २३ तारिखमा १० सेकेन्डसम्म लगातार मापन गरिएको प्याट्रिसिआको उच्चतम हावाको गति प्रतिघण्टा ३५६ किलोमिटर थियो। उडिरहेको विमानबाट त्यसको मापन गरिएको थियो।
त्यो पश्चिमी गोलार्धमा अहिलेसम्मकै उच्चतम हावाको गति हो र त्यसलाई सन् १९६१ को टाइफून न्यान्सी जत्तिकै शक्तिशाली आँधी मानिन्छ।

तस्बिर स्रोत, Getty Images
प्याट्रिसिआ मेक्सिकोको कम जनसङ्ख्या भएका क्षेत्रहरूबाट गुज्रिएकाले ठूला सहरहरू जोगिएका थिए, जसका कारण जनधनको कम क्षति भएको थियो।
साथै मेक्सिकोको तटमा बज्रिएपछि त्यसको वेग तीव्र रूपमा घटेको थियो। तथापि त्यति बेला पनि त्यसको हावाको गति प्रतिघण्टा २६५ किलोमिटरसम्म मापन गरिएको थियो।
त्यति तेज गतिको भए पनि प्याट्रिसिआका कारण प्रत्यक्ष रूपमा दुई जनाको मृत्यु भएको थियो भने अप्रत्यक्ष रूपमा चार जनाले ज्यान गुमाएका थिए।
तीव्र गति
यसै साताको एरिन समुद्री आँधी आन्ध्र महासागरमा सन् २०२५ पछि आएको पहिलो आँधी बनेको छ।
त्यससँगै अमेरिकी मुख्य भूभागको छेउछाउमा पुगेका सर्फरहरूलाई यसका छालबारे सजग गराइएको थियो।
मौसमको प्रारम्भमै यति तीव्र गतिमा शक्तिशाली हुने समुद्री आँधीहरूमध्ये यो एक भएको ठानिएको छ।
सामान्यतः शक्तिशाली समुद्री आँधीहरू वर्षको पछिल्लो भाग विशेष गरी सेप्टेम्बर १ तारिखपछि देखिन्छन्। एरिन २४ घण्टाको अवधिमै पहिलोबाट पाँचौँ श्रेणीमा पुगेको थियो। त्यसपछि पुन: कमजोर हुँदै दोस्रो श्रेणीमा घटुवा भएको थियो।
अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार 'र्यापिड इन्टेन्सिफिकेशन' भनेको कुनै ट्रपिकल साइक्लोनको हावाको गति २४ घण्टाभित्र कम्तीमा प्रतिघण्टा ५५ किलोमिटरले वृद्धि हुनु हो।
त्यसरी तीव्र रूपमा शक्तिशाली हुने समुद्री आँधीहरू खतरनाक हुन्छन् किनकि मानिसहरूले तयारी गर्न पर्याप्त समय पाउँदैनन्।

तस्बिर स्रोत, NASA
एरिन मात्र नभई पछिल्ला केही वर्षमा धेरै समुद्री आँधीहरू तीव्र रूपमा शक्तिशाली भएका उदाहरण छन्।
सन् २०२४ मा मिल्टन नामक समुद्री आँधी आन्ध्र महासागरको इतिहासमै सबैभन्दा छिटो ट्रपिकल डिप्रेशनबाट पाँचौँ श्रेणीको आँधीमा परिणत भएको आँधी बनेको थियो।
सोही वर्ष बेरिल नामक समुद्री आँधीले अर्को कीर्तिमान तोड्यो। जुन तथा जुलाईको सुरुमा पाँचौँ श्रेणीमा पुगेको यो आँधी आन्ध्र महासागरको सबैभन्दा तीव्र गतिको आँधी भएको थियो।
सामान्यतया आन्ध्र महासागर क्षेत्रको आँधी गतिविधिलाई दबाउने 'एल नीन्यो' को प्रभाव सक्रिय रहेको अवस्थामा सन् २०२३ मा ली र जोभा नामक समुद्री आँधीहरूले पनि तीव्र गति प्राप्त गर्दा वैज्ञानिकहरू आश्चर्यमा परेका थिए।
यद्यपि हालैका अनुसन्धानहरूले समुद्री आँधीहरूको तीव्रता वृद्धि दर पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको र उक्त प्रवृत्ति जलवायु परिवर्तनका कारण आगामी दिनहरूमा अझ बढ्ने सम्भावना रहेको देखाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








