बाङ्ग्लादेश सङ्कटयता नेपाललाई कुन क्षेत्रमा कस्तो असर परिरहेको छ?

बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिएर देश छोड्न बाध्य बनाउने आन्दोलनसँगै उत्पन्न भएको अस्थिर परिस्थितिको प्रभाव नेपालसँगको उसको सम्बन्धमा पनि देखा परिरहेको जानकारहरूले बताएका छन्।

राजीनामा दिएर हसिना भारत पुगेसँगै नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार अगस्ट ८ मा बनेको थियो।

हसिनाको बहिर्गमनअघि बाङ्ग्लादेशमा भएको हिंसात्मक प्रदर्शनहरूमा सयौँको ज्यान गएको थियो र त्यसपछि पनि कतिपय ठाउँमा हिन्दू धर्मावलम्बीहरूका निवास र मन्दिरहरू निशाना बनाइएका समाचारहरू आएका थिए।

खराब सुरक्षा अवस्थामाझ बाङ्ग्लादेशका विभिन्न ठाउँबाट झन्डै २ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए।

तर पछिल्ला दिनहरूमा स्थितिमा सुधार आइरहेको, कतिपय शिक्षण संस्थाहरूले अध्यापन थालेको र केही विद्यार्थीहरू ढाका फर्कने क्रम सुरु भएको नेपाली अधिकारीहरू बताउँछन्।

विद्यार्थीहरूका लागि परिस्थिति कस्तो छ?

काठमाण्डूबाट सडकमार्ग हुँदै ढाका पुग्न सिलिगुडी कोरिडोर पनि भनिने भारतीय भूमि पार गरेर ९९० किलोमिटर यात्रा गर्नुपर्छ।

ढाका र काठमाण्डूबीच विमानबाट यात्रा गर्दा जम्मा सवा घण्टामा एक अर्काको राजधानी आवतजावत गर्न सकिन्छ।

पछिल्लो पटक बाङ्ग्लादेशमा उत्पन्न राजनीतिक सङ्कटले दुई देशबीच विभिन्न क्षेत्रमा बढ्न थालेका सहकार्यलाई प्रत्यक्ष प्रभावित तुल्याएको देखिन्छ।

ढाकास्थित नेपाली राजदूतावासकी द्वितीय सचिव योजना बमजनका अनुसार बाङ्ग्लादेशमा भएका सरकार विरोधी प्रदर्शनहरूले हिंसात्मक रूप लिएपछि त्यहाँ अध्ययनरत झन्डै २ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए।

बाङ्ग्लादेशमा १७ जुलाईबाट अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्थाहरू गएको आइतवारबाट खुलेका छन्।

तर अझै पनि धेरै नेपाली विद्यार्थीहरू आफ्नो घरमा नै बसेर परिस्थितिको आकलन गरिरहेको पाइन्छ।

काठमाण्डूमा घर भएकी एक विद्यार्थीले आफूभन्दा माथिल्लो तहमा अध्ययन गर्नेहरूले फर्कन निर्णय गरेपछि आफू पनि फर्कने बताइन्।

ढाकास्थित नेपाली राजदूतावासकी द्वितीय सचिव बमजन भन्छिन्, “यो हप्तासम्ममा अलि अलि आइराख्नु भएको छ। अर्को हप्ता पनि आउने क्रममा हुनुहुन्छ। अवस्था पनि बिस्तारै सुधार भइरहेको छ ।”

बाङ्ग्लादेशमा उत्पन्न भएको राजनीतिक सङ्कटमाझ पनि इन्टर्न गरिरहेका झन्डै ४ सयको सङ्ख्यामा रहेका नेपाली चिकित्सकहरू भने बाङ्ग्लादेशमा नै बसेका थिए।

ढाकास्थित नेपाली दूतावासका अनुसार बाङ्ग्लादेशमा तीन हजार जनाभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

त्यसमध्ये अधिकांश अर्थात् करिब दुई हजार पाँच सय नेपालीहरू चिकित्साशिक्षा अध्ययनरत छन्।

बाङ्ग्लादेशमा आन्दोलन चर्किएपछि कैयौँ विद्यार्थी हवाई र सडक मार्गबाट र कतिपय आसाम लगायतका भारतीय राज्य प्रवेश गरेर घर फर्किएका थिए।

व्यापार व्यवसायमा कस्तो असर?

उद्यमीहरू नेपाल र बाङ्ग्लादेशबीच व्यापार र लगानी अभिवृद्धिका क्षेत्रलाई विस्तार गर्न अवसर रहेको ठान्छन्।

दुई देशबीचको आँकडा हेर्ने हो भने व्यापार असन्तुलन गहिरो रहेको देख्न सकिन्छ।

सन् २०२२-२३ मा नेपालले बाङ्ग्लादेशलाई ५७ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो। बाङ्गलादेशबाट ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको आयात गरिएकोले नेपालतर्फको व्यापार घाटा ५ अर्ब ४७ करोड रुपियाँ रहेको थियो।

यस वर्षको साउन महिनामा नेपालले ४४ करोड रुपियाँ बराबरको आयात बाङ्ग्लादेशबाट गर्दा १ करोड ७८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो।

नेपालले मुसुरो दाल, बिउ, फलफूल, अदुवा, जुस लगायत बाङ्ग्लादेश पठाउने गर्छ भने औषधि, टेक्सटाइल, विद्युतीय सामग्री, जुट र अन्य कपडाहरू बाङ्ग्लादेशबाट भित्र्याउने गर्छ।

केही समय पहिला स्थापित बाङ्ग्लादेश नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष अरुणराज सुमार्गी पछिल्लो राजनीतिक सङ्कटले तत्कालका लागि प्रभाव पार्ने भए पनि दीर्घकालमा नेपाल र बाङ्ग्लादेशबीच सहकार्यका प्रशस्त सम्भावनाहरू रहेको बताए।

उनले भने, “उनीहरूलाई नयाँ बजार चाहिएको छ। हामीले पनि नयाँ बजार भेट्टाएका छौँ। हाम्रो देशका दुग्धजन्य उत्पादन, बिजुली लगायतका लागि बाङ्ग्लादेशमा धेरै ठूलो सम्भावना छ।”

उनले नेपालको पूर्वी भेगमा उत्पादन हुने तरकारीहरूका लागि बाङ्ग्लादेश महत्त्वपूर्ण बजार हुनसक्ने भन्दै त्यसका लागि भारत र बाङ्ग्लादेश दुई ठाउँमा क्वारन्टीन गराउनुपर्ने व्यवस्था अन्त्य गरिनुपर्ने सुनाए।

सडक मार्गबाट बाङ्ग्लादेश प्रवेश गर्नका लागि नेपालले झापाको काँकडभिट्टाहुँदै भारतको पानीटंकीको सीमा नाका पार गरेर फुलबारी बाङ्ग्लाबन्ध मार्गको प्रयोग गर्दै आएको छ।

झापास्थित एक जना कार्गो व्यवसायी मित्रलाल सङ्ग्रौलाले नाकामा परिस्थिति अहिले ‘सौहार्दपूर्ण’ रहेको र सामान्य ढङ्गले व्यापार चलिरहेको बताए।

उनका अनुसार नेपालले निर्यात गर्न चाहेका कतिपय उत्पादनहरूमा बाङ्ग्लादेशमा उच्च कर लाग्ने गरेकाले नेपाल पक्षबाट ‘त्यत्ति ठूलो निर्यात’ छैन।

तर लगभग दैनिक जसो नेपालका लागि बाङ्ग्लादेशबाट सामान आउने गरेको उनले बताए।

उनले थपे, “अहिले दैनिक एक डेढ सय टनसम्म कच्चा पदार्थ जुट मिलका लागि बाङ्ग्लादेशबाट नै आइरहेको छ।”

बाङ्ग्लादेशमा सरकार विरोधी प्रदर्शनहरू उच्च विन्दुमा पुग्दा सुरक्षा घेरामा केही सवारी साधनहरूको आवतजावत हुने गर्थ्यो।

विद्युत् व्यापार सम्झौताको भविष्य के होला?

नेपाल, बाङ्ग्लादेश र भारतबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनै लाग्दा ढाकामा भएको उथलपुथलले त्यसबारे अन्योल थपिदिएको छ।

नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूले नेपालले बाङ्ग्लादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रावधानसहितको त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्नका लागि जुलाई २८ को मिति तय गरेका थिए।

नेपाल विद्युत् प्राधिकरण, बाङ्ग्लादेश ऊर्जा विकास बोर्ड, र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच हुने भनिएको उक्त सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन भारत र बाङ्ग्लादेशका मन्त्रीहरू उपस्थित हुने ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका थिए।

झन्डै ६ वर्ष लगाएर गरिएको उक्त सहमतिको कार्यान्वयन पछिल्लो गतिरोधसँगै धकेलिएको छ।

ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव बमजनका अनुसार अहिले तत्कालका लागि सो सम्झौता हस्ताक्षर गर्ने कार्यक्रम ‘स्थगित’ भएको छ।

उनले भनिन्, “यो बीचको घटनाक्रमले गर्दा कुरा हुने अवस्था भएन। नेपालका तर्फबाट कुनै समस्या भएन। यहाँको सरकारसँग हामी समन्वय गरिरहेका छौँ। उहाँहरू सकारात्मक नै देखिनुभएको छ।”

लामो समयदेखि नेपाल र बाङ्ग्लादेशले पहल गरिरहेको उक्त सम्झौतालाई दुवै देशका अधिकारीहरूले सीमापार विद्युत् व्यापारको "नयाँ ढोका खोल्ने कदम"का रूपमा अर्थ्याउँदै आएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।