स्क्रिनमा पढ्दा हाम्रो दिमागमा कस्तो असर पर्छ?

तस्बिर स्रोत, GETTY IMAGES
- Author, अञ्जली दास
- Role, बीबीसी न्यूज हिन्दीका लागि
पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले पढाइले आफू को हो र आफू केमा विश्वास गर्छु भनेर जान्न मद्दत गरेको बताउँछन्।
पढ्ने बानीले तनाव कम गर्छ, दिमागलाई सक्रिय राख्छ र तपाईँको समानूभूतिको स्तर पनि सुधार्छ।
यसबाहेक तपाईँले पुस्तकहरूमा दस्ताबेज गरिएका सबै नयाँ जानकारीहरू पनि प्राप्त गर्नुहुनेछ।
न्यूयोर्कको द न्यू स्कुल फर सोशल रिसर्चका अनुसार पुस्तकहरू पढ्ने व्यक्तिका सिद्धान्तहरू पनि परिवर्तन हुन सक्छन्।
तर आजकल कागज वा किताबमा आधारित अध्ययनबाट मानिसहरू बिस्तारै कम्प्युटर, ट्याब्लेट, मोबाइलजस्ता डिजिटल उपकरणमा अध्ययन गर्नतर्फ लागेका छन्।
खासगरी कोभिड महामारीपछि यसमा ठूलो वृद्धि देखिएको छ।
स्क्रिनमा अध्ययन गर्नुका फाइदा
यद्यपि डिजिटल माध्यमबाट पढ्नुका समेत स्पष्ट फाइदाहरू छन्। जस्तो, महँगो पर्ने हार्ड कभर पुस्तकका प्रति कम मूल्यमा पढ्न सकिन्छ।
तर धेरै अनुसन्धानका अनुसार यसका बेफाइदाहरू समेत छन्।
बीबीसी रिलमा प्रकाशित एक सामग्री अनुसार 'स्क्रिनमा पढ्दा हाम्रो दिमागलाई के हुन्छ' भनेर ३० जनाभन्दा बढी देशका विद्वान र वैज्ञानिकहरूलाई डिजिटलाइजेसनको प्रभावबारे अनुसन्धान गर्न लगाइएको थियो।
यस अनुसन्धानका निष्कर्षबारे नर्वेको स्टाभान्जर यूनिभर्सिटीकी प्राध्यापक तथा लेखक एनी मङ्गेन भन्छिन्: "हामीले स्मार्टफोनमा पढ्न सक्ने संक्षिप्त समाचार अपडेटजस्ता धेरै कुराहरू छन्। तर यस अनुसन्धानले हामीले स्क्रिनमा पढ्ने सामग्री कागजमा पढ्ने सामग्रीभन्दा तुलनात्मक रूपमा कम सजिलै बुझ्न सकिन्छ भनेर फेला पार्यो।"

तस्बिर स्रोत, AASIMA
अमेरिकी गैरसरकारी संस्था 'सेपियन ल्याब्स' को हालैको एक प्रतिवेदनका अनुसार बालबालिकालाई कम उमेरमा स्मार्टफोन दिनुको नकारात्मक असर युवा अवस्थामा देखिने गरेको छ।
साइन्टिफिक अमेरिकानाका अनुसार हाम्रो मस्तिष्कले कागजमा भन्दा स्क्रिनमा पढ्दा धेरै स्रोतहरू प्रयोग गर्छ। र हामीले लामो समयसम्म स्क्रिनमा पढेको कुरा सम्झन पनि गाह्रो हुन्छ।
त्यसैले हामीले कुन माध्यमबाट पढ्छौँ भन्दा पनि हामीले के र कति पढ्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ।
किनभने अध्ययनले मानिसको दिमागमा प्रभाव पार्छ।
यसले तपाईँले दृश्यले गर्ने तर्क, भाषाले गर्ने तर्क र सोच र भावनात्मक तर्कलाई नयाँ तरिकाबाट जोड्छ।
‘बालबालिकाहरू इलेक्ट्रोनिक ग्याजेटको प्रयोगबाट बच्नुपर्छ’
अश्विका भट्टाचार्य कक्षा ९ मा अध्ययनरत छात्रा हुन्।
कक्षामा सधैँ प्रथम हुने अश्विका किताब पढ्नका लागि स्क्रिनतर्फ केन्द्रीत भइरहेकी छन्।
आमाबाबुले उनलाई पढ्नको लागि किन्डल ट्याब्लेट दिएका छन्।
तर पनि अब उनीहरू आफ्नी छोरीलाई पूर्ण रूपमा पुस्तकहरूमा फर्काउन चाहन्छन्।
अश्विकाकी आमा असिमा भन्छिन्: "हामीले बारम्बार पढिरहेका छौँ कि ग्याजेटको अत्यधिक प्रयोगले आँखामा धेरै नकारात्मक असर हुन्छ। त्यसैले म छोरीलाई किताबतिर फर्काउन चाहन्छु।"
आश्विकाकी साथी आद्य भन्छिन्, "तिमीले हरेक दिन अलिकति अध्ययन गर्न सक्छौ।"
उनको सुझाव छ: "आफ्ना साथीहरू र शिक्षकहरूलाई राम्रो पुस्तकहरूको बारेमा सोध्नुहोस् र आफ्नो रुचि अनुसार पुस्तकहरू पढ्नुहोस्।"
तपाईं पुस्तकालयबाट किताबहरू पनि लिन सक्नुहुन्छ

तस्बिर स्रोत, CRESSIDA COWELL
ब्रिटिश काउन्सिल लाइब्रेरीकी सदस्य आद्यले हरेक किताब किनेर पढ्नुपर्छ भन्ने नरहेको बताउँछिन्।
"तपाईँ स्कुल वा नजिकैको पुस्तकालयको सदस्य पनि बन्न सक्नुहुन्छ।"
इन्फोसिस समूहकी निर्देशक तथा लेखिका सुधा मूर्तिले पनि बालबालिकालाई किताब पढ्न प्रोत्साहित गर्नुपर्ने बताउँछिन् ।
उनी भन्छिन्, "आज इलेक्ट्रोनिक ग्याजेटजस्ता बालबच्चाको ध्यान भड्काउने धेरै कुराहरू छन्। म बालबालिकाहरू इलेक्ट्रोनिक ग्याजेटले आँखामा गर्ने हानिबाट बच्न सकून् भन्ने चाहन्छु।"
"कम्तीमा १४ वर्षको उमेरसम्म बालबालिकालाई किताब पढ्न जोड दिनुहोस्। यस अवधिमा आमाबाबुले आफ्ना छोराछोरीलाई इलेक्ट्रोनिक ग्याजेटहरूबाट पूर्णतया टाढा राख्ने प्रयास गर्नुपर्छ," पद्मश्री सम्मान पाएकी सुधा मूर्तिले जयपुर लिटरेचर फेस्टिभलमा भनेकी थिइन्।
"बच्चाहरू १६ वर्ष पुगिसकेपछि उनीहरू त्यसरी किताबहरू पढ्ने काम जारी राख्न चाहन्छन् कि चाहन्नन् भन्ने कुरा उनीहरूमा नै छाड्नुहोस्।"
पढ्नुका तीन चमत्कारिक फाइदा

तस्बिर स्रोत, GETTY IMAGES
बीबीसीका सहयोगी ड्यानियल नाइल्स रोबर्ट्सको रिल 'स्क्रिनमा पढ्दा हाम्रो दिमागमा के हुन्छ' मा ब्रिटिश लेखक तथा चित्रकार क्रेसिडा कोवेलले पढाइले तीनवटा अद्भुत गुणहरू ल्याउने बताउँछिन्।
ती हुन् - रचनात्मकता, ज्ञान र समानुभूति।
उनी भन्छिन्: "बालबालिकालाई पढ्न मन पर्यो भने दुईवटा फाइदा हुन्छ। एउटा उसको ज्ञानको दायरा बढ्दै जान्छ र दोस्रो, भविष्यमा आर्थिक रूपमा पनि सफल बन्न सक्छ।"
पढ्नुका चमत्कारी गुण
- रचनात्मकता, ज्ञान र समानुभूति बढ्छ
- दृश्य, भाषा र भावनात्मक तर्कबीच मस्तिष्कमा नयाँ सम्बन्धहरू स्थापित हुन्छ
- पढाइले ज्ञान र आर्थिक दायरा बढाउँछ
- किताब पढ्दा मन शान्त हुन्छ र तनाव कम हुन्छ
- स्क्रिनमा पढेका कुराहरू लामो समयसम्म सम्झन कठिन हुन्छ
कहिलेदेखि पढाइ सुरु गर्नुभयो ?
'स्क्रिनमा पढ्दा हाम्रो दिमागमा के हुन्छ' शीर्षकको बीबीसी रिलमा अनुसन्धानकर्ता मारियान वुल्फले पढ्नु करिब ६ हजार वर्षअघि सुरु भएको कला बताउँछिन्।
उनी भन्छिन्: "यो हामीसँग कतिवटा मदिरा वा भेडाहरू छन् भनेर गणना गर्ने जस्ता कुराबाट सुरु भएको थियो। जब वर्णमाला सिर्जना भयो त्यसको माध्यमबाट मानिसहरूले केही पढेर सम्झने र जानकारी प्राप्त गर्ने कला सिके।"
किन किताब पढ्नुपर्छ ?

तस्बिर स्रोत, GETTY IMAGGES
कला र मानविकीका शैक्षिक सल्लाहकार डा एमिली बुलक, सिर्जनशील लेखनकी लेकचरर डा जोन रेर्डनसँग मिलेर निर्माण गरिएको बीबीसी रिल 'स्क्रिनमा पढ्दा हाम्रो दिमागमा के हुन्छ' मा ब्ल्याक गर्ल्स बुक क्लबकी संस्थापक नताली कार्टरले सबैले पुस्तकहरू पढ्नुपर्ने बताउँछिन्।
"पुस्तकहरूले हामीलाई जीवनको अनुभव दिन्छ। तिनीहरू जानकारीले भरिपूर्ण हुन्छन्। तिनीहरूले हाम्रो समाजको बारेमा बताउँछन्," उनी भन्छिन्।
"मलाई लाग्छ भविष्यमा हामी लघुकथाका थप सङ्ग्रहहरू देख्नेछौँ र पुस्तकहरूको आकार पनि सानो हुनेछ। यदि पुस्तकहरू नभएको भए हामी मर्ने थियौँ, जीवन धेरै निरश हुन्थ्यो।"
बिब्लियोथेरापिस्ट इला बार्थोड भन्छिन्, "यदि पुस्तकहरू नभएको भए हामी आजकोजस्तो मान्छे हुने थिएनौँ। मानव जीवनमा सबैभन्दा ठूलो परिवर्तन 'आगो सिर्जना गर्ने शक्ति' र 'पढ्ने सीप' को आगमन थियो।"
बिब्लियोथेरापीमार्फत व्यक्तिको मानसिक अवस्थाको उपचार गरिन्छ। यसमा अन्य परम्परागत उपचार विधिहरूसँग पुस्तकहरू पढ्ने समावेश छ।
एला बर्थाउड भन्छिन्, "राम्रो कथा पढ्नु मनोरञ्जनभन्दा बढी हो। पढाइले उपचारात्मक प्रभाव पार्छ।"
उनी एक उदाहरण दिँदै त्यसबारे भन्छिन्: "सीमित ठाउँमा निसास्सिएको महसुस, थकान र रिसजस्ता चीजहरूको लागि, 'जोर्बा द ग्रीक' पढ्न सिफारिस गरिन्छ।"
उनले यस क्रममा मानिसको दिमाग ध्यानको अवस्थामा जाने बताउँछिन्।
"यो त्यस्तो प्रक्रिया हो जसले मुटुको धड्कनलाई सन्तुलनमा राख्छ। यसले तपाईँलाई शान्त बनाउँछ र यसले तपाईँको दिमागमा भइरहेको चिन्तालाई कम गर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








