बाबुरामलाई मनपर्ने भूपी, केकीको रोजाइमा युवा लेखक

आज विश्व पुस्तकप्रेमी दिवस। पछिल्ला वर्षहरूमा नेपालमा पनि पहिलेका तुलनामा पुस्तकप्रेमीहरू बढ्दै गएको बताइन्छ।
विभिन्न प्रकाशनगृहबाट पुस्तक प्रकाशन हुने क्रम पनि बढेको छ।
पुस्तकप्रेमी दिवसका अवसरमा बीबीसी नेपाली सेवाले विभिन्न क्षेत्रका केही व्यक्तिसँग उनीहरूलाई सबैभन्दा मनपर्ने पुस्तक र ती पुस्तक मन पर्नुका कारणबारे सोधेको थियो।
उनीहरूले दिएको जवाफ उनीहरूकै शब्दमा:
'घुम्ने मेचमाथि अन्धो मान्छे सधैँ साथमा राख्छु'
बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

मलाई सबैभन्दा मनपर्ने पुस्तक भनेको भूपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे हो।
मैले २०२६ सालमा एसएलसी गरेर आईएस्सी पढ्न आएका बेला त्यसै वर्ष त्यो प्रकाशित भएको थियो।
त्यो पुस्तक निकै चर्चित पनि थियो। म त्यसबेला नेपाली साहित्यमा अलि रुचि पनि राख्थेँ।

त्यो बेला मैले विश्वेश्वरप्रसाद र पारिजातका पुस्तकहरू पनि पढेँ, तर भूपीको पुस्तकले चाहिँ यत्ति धेरै छोयो कि मैले अहिले पनि आफ्नो बेडरुममा एउटा त्यो पुस्तक राख्छु र बेलाबेला पढिरहन्छु।
त्यो पुस्तक मन पर्नुको कारण भनेको के हो भने उनले एकदमै सरल र सरस ढङ्गले नेपाली समाजका विकृति र समस्यालाई कलात्मक एवम् जनताले बुझ्ने भाषामा अभिव्यक्त गरेका छन्।
त्यो मलाई एकदमै बेजोड लाग्छ। म आख्यानहरू पनि पढ्छु।
विधागत रूपमा मलाई कथाहरू मन पर्छन्, त्यसमा खगेन्द्र संग्रौला, रमेश विकल, विश्वेश्वरप्रसाद लगायतका कथा मलाई मन पर्छन्। तर म धेरै गैरआख्यान नै पढ्ने गर्छु।
'माधवीजस्तो पुस्तक जीवनभरि पढे पनि लेख्न सक्दिनँ'
निलम कार्की निहारिका,लेखक

तस्बिर स्रोत, facebook/nilam karki niharika
मलाई सबैभन्दा मन परेको पुस्तक मदनमणि दीक्षितको माधवी उपन्यास हो।
त्यसपछि मन परेका पुस्तकहरूमा पारिजातको शिरीषको फूल र विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यास धेरै मन परेका पुस्तक हुन्।
मलाई मिथकप्रति धेरै चासो छ। त्यसैले माधवी मन परेको हो। माधवी जसरी लेखिएको छ, त्यस्तो पुस्तक लेख्न त मैले जीवनभरि पढे पनि सक्दिनँ होला जस्तो लाग्छ।
त्यसका लागि धेरै अध्ययन र मेहनत चाहिन्छ। त्यसैकारणले पनि मलाई त्यो पुस्तक मन परेको हो।

सुम्निमा चाहिँ त्यसको विषयवस्तु र भाषाशैलीका कारण मन परेको हो।
शिरीषको फूलमा विसङ्गतीबोध छ। त्यसले मलाई त्यो उपन्यास पनि धेरै मन पर्छ। माधवीमा जसरी त्याग गरिएको देखाइएको छ।
त्यो महिलाहरूले अहिले पनि गरिरहेको जस्तो लाग्छ। उस्तै खाले नभए पनि मैले पनि त्याग गरेको छु।
त्यसले गर्दा माधवीले मेरो जीवनमा पनि कतै न कतै प्रभाव पारिरहेको जस्तो पनि लाग्छ।
'मलाई रुवाउने एउटै मात्र पुस्तक घामका पाइलाहरू'
सुविन भट्टराई, लेखक

तस्बिर स्रोत, facebook/subin bhattarai
मलाई सबैभन्दा मन परेको पुस्तक भनेको ध.च. गोतामेको घामका पाइलाहरू उपन्यास हो।
विश्वेश्वरप्रसादका सबै पुस्तक पनि मलाई मन पर्छन्। घामका पाइलाहरू एकदमै सरल छ।
कुनै यसको कथा सरस छ। वीरगञ्जको परिवेशलाई उतारेर लेखिएको यो उपन्यासले मलाई सबैभन्दा धेरै छोएको छ।

यसका हरेक पात्रहरू सही ठाउँमा सही तरिकाले बसेका छन्। मैले जीवनमा धेरै पुस्तक पढेँ, तर म अरू कुनै पनि पुस्तक पढेर रोएको छैन।
तर घामका पाइलाहरूले मलाई रुवाएको छ। चलचित्रहरूले मलाई रुवाएका छन्, तर रुवाउने पुस्तक घामका पाइलाहरू मात्र हो।
त्यसले गर्दा पनि मलाई यो पुस्तक मन परेको हो। लेखकले पाठकलाई भावुक बनाउन सक्नु भनेको उसको ठूलो सफलता हो।
विश्वेश्वरप्रसादको चाहिँ लेखन नै दार्शनिक छ। नेपालमा अहिलेसम्म पनि उनले जस्तो मनोवैज्ञानिक चित्रण कसैले गर्न सकेको छैन। उनको भाषा चाहिँ जटिल नै हो।
'कर्णाली ब्लुज र सेतो धरती मन पर्छन्'
केकी अधिकारी, नायिका

तस्बिर स्रोत, facebook/keki adhikari
मन परेको पुस्तक भनेर एउटा मात्रै छान्नु भनेको सजिलो कुरा होइन।
मलाई पनि एउटै मात्र पुस्तक छान्न निक्कै गाह्रो लाग्छ।
तर पछिल्लो समयमा पढेका पुस्तकहरूको तुलना गरेर भन्नुपर्दा मलाई दुईवटा पुस्तकले सबैभन्दा बढी प्रभावित पारेका छन्-बुद्धिसागरको कर्णाली ब्लुज र अमर न्यौपानेको सेतो धरती।

मलाई मन पर्ने पुस्तक पनि ती नै हुन्। कर्णाली ब्लुज मन पर्नुको कारण भनेको लेखन शैली र भाषा हो।
कुनै पनि कुरालाई कलात्मक ढङ्गले वर्णन गर्ने कला लेखकको सबैभन्दा सशक्त कुरा हो जस्तो लाग्छ।
बुद्धिसागरको फिरफिरेमा पनि त्यस्तै खाले कलात्मक भाषा छ। न्यौपानेको सेतो धरतीमा बाल विधवाको कथा छ।
मलाई त्यसले अत्यन्तै छोयो। म महिला भएकाले पनि त्यो कुराले निकै छोएको हुनसक्छ।
'शङ्कर लामिछाने मन पर्छन्'
विपिन कार्की, नायक

तस्बिर स्रोत, facebook/bipin karki
म अन्यभन्दा नेपाली भाषाकै पुस्तक धेरै पढ्छु। हिन्दी र अङ्ग्रेजीका पुस्तक पनि पढ्छु।
मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखाइ धेरै मन पर्छ।
हुन त नेपालीहरूले पढ्न सुरु गर्ने नै उहाँकै कृति पढेर होला। उहाँको पागल कविताले मलाई एकदमै छोएको छ। त्यो जति मन पर्ने कविता अन्य छैन।

पुस्तकको कुरा गर्दा मलाई शङ्कर लामिछानेको गौँथलीको गुड कथासङ्ग्रह धेरै मन पर्छ।
त्यो पुस्तक एकदमै सशक्त छ। शङ्कर लामिछानेको लेखाइ एकदमै राम्रो छ।
उहाँले विचार पनि दिनुभएको छ। उहाँको पुस्तक अहिले पनि समय सान्दर्भिक छ। त्यसमा प्रयोग गरिएको भाषा मिठासपूर्ण छ।
भाषाले साहित्यलाई कसरी मीठो बनाउँछ भन्ने जान्न त्यो पनि पुस्तक पढ्नु उपयुक्त छ जस्तो लाग्छ। उहाँको लेखन शैलीले नै तानेको हो मलाई।









