ग्वङ्गः सिरपाः सम्मान: जीवनभरि पाएका पुरस्कार राशि जोडेर थापिएको नयाँ पुरस्कार कोष

- Author, मतिना त्वानावासु
- Role, भक्तपुर
साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले साहित्य सिर्जनाको निम्ति उनले सम्मान वा पुरस्कारमा पाएको सबै रकम जम्मा पारेर अर्को पुरस्कार स्थापना गरेका छन् ‘ग्वङ्गः सिरपाः’।
दुई रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्मको हरेक सम्मान रकम जम्मा पार्दै कोषमा अहिले साढे आठ लाख रुपैयाँ पुगेको छ जुन उनी कम्तीमा १० लाख पुर्याउन चाहन्छन्।
“‘नुन, चुन, सुनमा नखर्चिने रकम’ निबन्धको शीर्षक! छातीमा हात हाली इमानधरमसाथ भन्छु। ती सबैका सङ्कलित राशि यो! मनले चाहँदा पुगिँदो रहेछ। स्वानुभूति रह्यो। नुन भान्साका सरजाम। चुन घर बनाउने साधन। सुन शृङ्गारिक वस्तु। तीनै कुरा वैयक्तिक उपभोग्य वस्तु। खर्चिन नचाहिकन आफूले हिँडेका यात्राका पथगामी महानुभावलाई सम्मानमा अर्पिन सङ्कल्प गरेँ,” – तेजेश्वरबाबु ग्वंङ्ग:।
आफूजस्तै निबन्ध लेख्नेहरूलाई प्रोत्साहन मिल्ने र यसले निबन्ध विधालाई थप बल पुग्ने ठानेर सो कोषबाट प्रत्येक दुई वर्षमा दुई जना निबन्धकारहरूलाई नगद पचास-पचास हजार सहित ग्वङ्गः सिरपाः सम्मानबाट सम्मानित गर्ने गरेको उनी बताउँछन्।
क्रियाशील ग्वङ्गः
ग्वङ्गः सिरपा’ बाट सम्मानित बनेपछि डा.अभि सुवेदीले भने, "लेखकको रूपमा सम्मानित बनेको यो पल आफैलाई पनि महत्त्व दिन मन लाग्यो। आदरणीय तेजेश्वरबाबु ग्वङ्गःले स्थापना गर्नु भएको पुरस्कार पाउँदा मलाई निक्कै आनन्द महसुस भैरहेको छ।"
डा. अभि सुवेदीसँगै सम्मानित भएका डा. गोबिन्दराज भट्टराईले भने, "हरेक पटक ग्वङ्गः दाइको घर पुग्दा उहाँको छोरा, छोरी, बुहारी र भाउजुले हामीलाई माया गर्नु भएको सम्झन्छु। यो काठमाडौँ उपत्यकामा उहाँ हाम्रो अभिभावक हुनुहुन्छ।"
भक्तपुरका तेजेश्वरबाबु ग्वङ्ग: निबन्ध विधामा पोख्त मानिन्छन्।
साहित्यको अधिकांश विधामा कलम चलाइसकेका ग्वङ्ग: उनान्नब्बे वर्षको उमेरमा पनि लेखिरहेका छन्, पढिरहेका छन्, साहित्यकारहरूसँग छलफल गरिरहेका छन्।
साहित्यकार डा. गीता त्रिपाठी भन्छिन्, "नेपाली संस्कृति र पर्यावरण सापेक्ष चिन्तन प्रधान लेखन गर्नुहुने तेजेश्वर बाबु ग्वङ्ग देशप्रेम र सहभावका अन्त्सचेतनाका उर्जाशील व्यक्तित्व हुनुहुन्छ, त्यो उहाँको लेखनमा पनि झल्कन्छ र वाणीबाट पनि प्रवाहित हुँदै आएको छ।"
पुराना, जमिसकेका वा आफ्ना समकालीन सर्जकसँग मात्र होइन साहित्य क्षेत्रमा भर्खर भर्खरै पाइला टेकेका नयाँ सर्जकलाई समेत उनीहरूको लेख रचना पढेर बधाइ र शुभकामना दिने उनको बानी छ। उनी आफूभन्दा पहिलेका, सँगैका र पछिका पुस्तामाझ पनि परिचित र प्रिय मानिन्छन्।
"तेजेश्वरबाबु ग्वङ्ग: अध्ययन, अनुसन्धान र साधनाले खारिएका स्रष्टा हुन् । उनको लेखन मलाई ‘नेचुरल ब्युटी’ अर्थात् प्राकृतिक सुन्दरताजस्तै लाग्छ । उनले छनोट गर्ने विषय र शीर्षकले नै मन्त्रमुग्ध बनाउँछ । ठेट शब्द बोलीचालीको शैलीमा लेखिने उनका लेख र निबन्धले मनमा डेरा जमाउँछन्," साहित्यकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गाना बताउँछन्।

कसरी जन्मियो ग्वङ्गः सिरपाः?
ग्वङ्ग: भन्छन्, “तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति राजा महेन्द्रले कवि केदारमान ‘व्यथित’लाई पहिलो कुलपतिमा मनोनीत गरेको ऐतिहासिक अवधिलाई सगर्व सम्मान गर्न भक्तपुरका साहित्यकारका सहमतिमा जन्माएको संस्थागत स्वरूप हो – साहित्यिक सम्मान सङ्गम – २०५०!”
कवि केदारमान व्यथितलाई निम्त्याएर पहिलोपटक साहित्यिक सम्मान सङ्गमले सम्मान गर्दाको क्षण ‘अनुपम पल’ भन्दै कवि ‘व्यथित’लाई सम्मान गर्न बनेको सो साहित्यिक सम्मान सङ्गम – २०५० को मातहतमै रहेर ०७८ सालमा परिवारको सहमतिमा ‘सम्मान पुरस्कार– ग्वङ्गः सिरपाः’ प्रदान गर्ने निर्णय भएको साहित्यकार ग्वङ्गः खुलाउँछन्।
‘ग्वङ्गः नेपाल भाषाको शब्द हो। बिहानी मिरमिरे उज्यालो आमन्त्रणका आह्वान ! सिरपाः पनि नेपाल भाषा शब्दावली नै रहेको छ। अर्थात् सिरैदेखि सम्मान गरिने पुरस्कार!’
२०७८ सालको साउन महिनामा निष्ठाछेँ अर्थात् ग्वङ्गःको निवासमा उनकी धर्मपत्नी ध्रुवेश्वरी कायस्थ ग्वङ्गः, निबन्धकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार ध्रुव मधिकर्मी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, जितेन्द्र रसिक, तिलक कायस्थ, तथा सञ्जीव ग्वङ्गःको भेलाले ‘ग्वङ्गः सिरपाः’लाई पूर्णता दिएको थियो।
र, त्यही समूहले पुरस्कारका लागि छनोट समिति गठन गर्ने जिम्मेवारी पनि पाएको थियो।

साहित्यकार तेजेश्वरबाबु ग्वङ्गः पहिले निजामती कर्मचारी थिए। सेवा निवृत्त भएपछि शरीरले साथ दिउञ्जेल उनी शिक्षा क्षेत्रमा कतै सल्लाहकार त कतै प्रधानाध्यापक भएर काम गरिरहे। उनको खर्चको गर्जो टरिरह्यो।
विभिन्न संघसंस्थाबाट सम्मानित हुँदा पाएको हरेक पुरस्कार उनले न घरमा चलाए न त्यसबाट कसैलाई केही बनाइदिए न आफैँले नै केही गरे। उनले ती हरेक रकम सहकारीमा जम्मा गर्न थाले। त्यो रकम उनले आफू जस्तै लेख्नेहरूप्रति समर्पित गर्न चाहेको बताए।
२०७८ सालमा ग्वङ्गः सिरपाः प्रदान गर्ने निर्णय हुँदा कोषमा पाँच लाख रूपैयाँ थियो। जुन अहिले साढे आठ लाख पुगेको छ।
उनले कोषको आकार कम्तीमा १० लाख पुर्याउने लक्ष्य राखेका छन्।
पुरस्कारको शृङ्खला
तेजेश्वरबाबु ग्वङ्ग:का अध्ययन कक्ष र उनका घरका अधिकांश भित्ताहरूमा पुरस्कार र सम्मानका तस्विर र प्रमाण पत्रहरू टाँगिएका छन्।
एकजना सर्जकका लागि यो नै धनसाध्य हुने उनी बताउँछन्। २०५१ सालमा नेपाल भाषाको निबन्धको लागि थापेको पुरस्कार उनको साहित्यिक यात्राको पहिलो पुरस्कार भएको उनी बताउँछन्।

केदारनाथ प्रधान राष्ट्रिय सम्मान २०७१ मा दुई रूपैयाँ पुरस्कार पाउँदाको घटना उनले निकै भावुक भएर सुनाए।
“मेरो सम्मानको लागि छुट्ट्याइएको रकम कार्यक्रम सकिनेबेला सम्ममा खर्च भएर दुई रुपैयाँ बाँकी भएछ। त्यही दुई रुपैयाँ आयोजकले मलाई ससम्मान टक्र्याए। मैले सगौरब थापेँ।”
सम्मान वा पुरस्कारमा दिइएको रकममा त्यसको मर्यादाको तुलना हुन नहुने भन्दै कुनै पनि पुरस्कार वा सम्मानको लागि छनौटमा पर्नु आफैँमा सुन्दर अनुभूति हुने ग्वङ्गः बताउँछन्।
उनले शिक्षालगायत अन्य क्षेत्रको योगदानको लागि पनि पुरस्कारहरू पाएका छन्। तर ती पुरस्कार यिनमा सामेल गरिएका छैनन्। उनी भन्छन् ‘ग्वङ्गः सिरपाः विशुद्ध साहित्यिक सम्मानको सँगालो हो।’
ग्वङ्गःको अन्तिम इच्छा
सुरुमा उनले प्रत्येक वर्ष दुईजना निबन्ध विधाका सर्जकलाई जनही पच्चीस-पच्चीस हजार नगदसहित पुरस्कार दिने सोचेका थिए।
उनकी धर्मपत्नी ध्रुवेश्वरी कायष्थ ग्वङ्गःले पुरस्कारको आकारमा असन्तुष्टि जनाएपछि पुरस्कार रकम दोबर पारिएको साहित्यकार ग्वङ्गः बताउँछन्।
“तपाईँलाई प्राय: पचासौँ हजार पुरस्कारले सम्मान गरे। हामीले भने २५-२५ हजार रूपैयाँले मात्र गर्ने? उनको कुरो ठीकै लाग्यो। पुरस्कार राशि कसरी वृद्धि गर्ने त? तत्काल मनमा लाग्यो। ५० हजार रूपैयाँ दुवै विधामा पुर्याउने उपाय बर्सेनि पुरस्कार दिनुको साटो दुई वर्षमा एकपल्ट दिने!”
अरूलाई सम्मान गर्दा आफू पनि सम्मानित भएको महसुस हुने उनी बताउँछन्।
उनान्नब्बे वर्षको उमेरका ग्वङ्गः आफू नरहेपछि पनि आफूले स्थापना गरेको पुरस्कार र सम्मानको सिलसिला जारी रहोस् भन्ने चाहन्छन्।
“अन्तिम धोको साहित्यिक सम्मान सङ्गम २०५० लाई यो जीवनपछि निरन्तरता दिने। जसका लागि सांस्कृतिक अनुरागले मृत्युञ्जय कामना गर्छ। वार्षिक श्राद्ध गरी आलो, चोखो पिण्डदान अर्पने कर्मकाण्ड पूरा गर्छौँ हामी। परन्तु, यस कालखण्डमा प्रकृति, पर्यावरण, खोलानाला प्रदूषित छन्। न माछा, न भ्यागुता, न किटपतङ्ग न सुँगुर छन्, पहिले पिण्ड तिनीहरूले खान्थे। अब ढल बनिसकेको बाग्मती, विष्णुमती, मनहरा, हनुमन्ते आदिमा पिण्ड सेलाउनु औचित्यहीन भइसकेको छ। आगामी पुस्तासित साउती गर्छु यही ग्वङ्गः सिरपाःका माध्यमबाट!”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








