लीलबहादुर क्षत्रीः भारतको पद्मश्री पुरस्कार पाएका नेपालीभाषी उपन्यासकार भन्छन्, 'अनुसन्धानमूलक साहित्य आवश्यक छ'
भारतको आसाममा बसोबास गर्ने नेपालीभाषी साहित्यकार लीलबहादुर क्षत्रीलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको छ।
उनलाई सोमवार राष्ट्रपति रामनाथ कोविन्दले पद्मश्रीबाट विभूषित गरेका हुन्। उनी ८९ वर्षका भए।
पद्मश्री पुरस्कार भारत सरकारले प्रदान गर्ने नागरिक सम्मानमध्ये चौथो ठूलो सम्मान हो। क्षत्रीसहित ११८ जनालाई सन् २०२० का लागि उक्त पुरस्कार दिइएको थियो।
क्षत्रीले छ दशकअघि लेखेको बसाइँ उपन्यास नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइ हुन्छ।
पद्मश्री पुरस्कारको आधिकारिक वेबसाइटले शिक्षा तथा साहित्य श्रेणीमा उनलाई सम्मानित गर्दै १७ वटा कृतिका स्रष्टा यी साहित्यकारले नेपाली भाषाको प्रचारमा योगदान पुर्याएको जनाएको छ।
क्षत्रीले बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालसँग उक्त पुरस्कार पाउँदाको अनुभव र नेपाली साहित्यका विविध पक्षबारे कुराकानी गरेका छन्।
उनले अनुसन्धानमूलक साहित्य आवश्यक भएको औँल्याएका छन्।