छोरी नै किम जङ-अनकी सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय

उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी "सम्भावित" उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्।

दक्षिण कोरियाको गुप्तचर निकाय 'न्याश्ननल इन्टेलिजन्स सर्भिस'ले किम जू-‍ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो।

यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारसँग सम्बन्धित प्योङ्याङका "सबै सम्भावित योजना" आफूले नियालिरहेको जनाएको छ।

किम जू-ए सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्।

"पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जू-एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्," न्याश्ननल इन्टेलिजन्स सर्भिसले भनेको छ।

"तर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ-अन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुराहरू छन्।"

किम जू-ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्।

उनको उमेर १० वर्ष भएको ठानिएको छ।

कस्तो सङ्केत

गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए।

"किम जङ-अनकी छोरीलाई निरन्तर महत्त्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ," एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ-होले भनेका थिए।

उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जू-एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकी "प्रिय" छोरीको साटो "सम्मानित" छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्।

उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र "सम्मानित" विशेषण प्रयोग गरिन्छ।

यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई "सम्मानित कमरेड" भन्न थालिएको थियो।

'पवित्र वंश'

उत्तर कोरियामा सर्वसाधारण मानिसहरूलाई किमको वंश पवित्र भएको बताउने गरिन्छ। त्यसको अर्थ देशमा उक्त परिवारले मात्र शासन गर्न पाउँछ भन्ने हो।

किम देशको शासनसत्ताको नेतृत्व आफ्नो परिवारभित्र चौथो पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् भन्ने चाहन्छन्।

डिसेम्बरमा उत्तर कोरियाले ठोस इन्धनबाट चल्ने ह्वासङ-१८ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दा किम जू-ए आफ्ना पितासँग देखा परेकी थिइन्। उत्तर कोरियाले गत नोभेम्बर महिनामा जासुसी भूउपग्रह प्रक्षेपण गर्दा पनि उनी किमसँगै उपस्थित थिइन्।

किम जू-एलाई चाँडै उत्तराधिकारीका रूपमा चिनाएर शासनमा पुग्नुअघि नै उनी स्थापित भइसकून् भन्ने उद्देश्य राखिएको हुन सक्ने विश्लेषकहरूको धारणा छ।

उत्तर कोरियामा महिलाहरू नेतृत्वमा पुगेका छैनन्। त्यसैले पितृसत्तात्मक समाजमा हुने पूर्वाग्रह हटाएर किम जू-एलाई सजिलो बनाइदिन पनि त्यसो गरिएको हुन सक्छ।

सन् २०१३ मा किम जू‍बारे पहिलो पटक चर्चा गरिएको थियो। त्यति बेला भूतपूर्व अमेरिकी बास्केटबल खेलाडी डेनिस रड्मनले उत्तर कोरियाको भ्रमण गरेका थिए।

रड्मनले किम परिवारसँग समुद्रनजिकै समय व्यतीत गरेको र उनीहरूको "बच्चा" बोकेको जनाएका थिए।

किम आफ्नो परिवारबारे गोप्यता राख्न खोज्छन्। विवाह गरेको केही समयसम्म पनि उनले आफ्नी पत्नी रि सोल-जूबारे कुनै जानकारी दिएका थिएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।