इरानले पाकिस्तानमा निसाना बनाएको लडाकु समूहबारे हामीलाई के थाहा छ

    • Author, शुमैला जाफरी
    • Role, बीबीसी न्यूज, इस्लामाबाद

इरानले हालै पाकिस्तानमा जैश अल-अदल लडाकु समूहविरुद्ध गरेको सैन्य कारबाही र पाकिस्तानले गरेको जबाफी कारबाहीका कारण मध्यपूर्वको द्वन्द्व बाहिर पनि फैलिन सक्ने त्रास बढेको छ।

उक्त हमलामा केही व्यक्ति हताहत भएको पाकिस्तान सरकारले पुष्टि गरेको छ। पाकिस्तानले गरेको प्रत्याक्रमणमा पनि इरानपट्टि केही व्यक्तिको ज्यान गएको छ।

इरानले गरेको क्षेप्यास्त्र हमला “पूर्ण रूपमा अस्वीकार्य” भएको भन्दै पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा गरिएको “अति औचित्यहीन” अतिक्रमणको बदला लिने चेतावनी दिएको थियो।

इरानले पाकिस्तानी-इरानी सीमा क्षेत्रमा सक्रिय सुन्नी लडाकु समूह जैश अल-अदललाई संयुक्त राज्य अमेरिका र इजरेलको समर्थन रहेको दाबी गरेको छ।

उक्त समूहले विगतमा इरानी सुरक्षा फौजहरूमाथि भएका कैयौँ आक्रमणको जिम्मेवारी दाबी गरेको छ।

यो साता गरिएको क्षेप्यास्त्र हमलाको इस्लामाबादले कडा आलोचना गरे पनि ठूलो यसमा दाउ लगाउनुपर्ने कुरा पाकिस्तानले राम्ररी बुझेको विश्लेषकहरू बताउँछन्।

जैश अल-अदल अर्थात्‌ 'न्याय दिने सेना'

जैश अल-अदलको अर्थ न्याय र समानताको सेना हुन्छ। उक्त लडाकु समूहले इरानी सरकारको विरोध गर्दै आएको छ।

उसले इरानको सिस्तान-बलोचिस्तान प्रान्तमा ‘सुन्नी अधिकारको रक्षक’ का रूपमा आफूलाई चिनाउँदै आएको छ।

उक्त समूह पहिला जुन्दुल्लाह अर्थात्‌ ईश्वरका सेना नामले चिनिन्थ्यो।

इरानले सन् २००९ मा सो लडाकु समूहका प्रमुख अब्दुलमलिक रिगीलाई इरानी सुरक्षा फौजहरूमाथि बम हमला गराएको र यूके तथा अमेरिकाको जासुस भएका आरोपमा गिरफ्तार गर्‍यो। सन् २०१० मा झुन्ड्याएर उनलाई मृत्युदण्ड दिइयो।

त्यस बेला पूर्वपाकिस्तानी कूटनीतिज्ञले रिगीको गिरफ्तारीमा पाकिस्तानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।

अमेरिकी गुप्तचरीका अनुसार सन् २००५ मा पूर्वराष्ट्रपति महमुद अहमदीनेजादमाथि भएका आक्रमणसहित इरानमा गराइएका थुप्रै विस्फोटका घटनामा जैश अल-अदलको संलग्नता छ।

जैश अल-अदलले दाबी गरेका अधिकांश हमलाहरू सिस्तान-बलुचिस्तान प्रान्तमा भएका छन्।

इरानले पाकिस्तानमा किन आक्रमण गर्‍यो?

इरानी रिभोल्युश्नरी गार्ड्स कोर (आईआरजीसी) ले इराक र सिरियामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको भोलिपल्ट तेहरानले पाकिस्तानमा हमला गरेको हो।

पूर्वमन्त्री तथा विदेश नीतिविज्ञ मुशाहिद हुसैनका अनुसार इरानी कदम पाकिस्तानका लागि अचम्भीत तुल्याउने खालको थियो।

“मेरो विश्लेषणमा यो उनीहरूले निकै गोप्य योजना बनाएर चालेको कदम जस्तो देखिन्छ। आईआरजीसीले कारबाही गरेको हुनुपर्छ र यसलाई बृहत्‌ रूपमा हेर्नुपर्छ,” हुसैनले भने।

उक्त हमलाबाट द्विपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन भएको र गाजामा नरसंहार भइरहेका बेला झन् इस्लामिक एकता हुनुपर्ने मर्मलाई बेवास्ता भएको उनी बताउँछन्।

इजरेलप्रति रिस पोख्नुको सट्टा तेहरानले २४ घण्टाको अवधिमा तीनवटा मुस्लिम मुलुकमा हमला गरेको उनले भने।

पाकिस्तान-इरान तनाव

पाकिस्तान-इरान सम्बन्ध ऐतिहासिक रूपमै उतारचढावपूर्ण रहिआएको छ।

पाकिस्तानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पहिलो मुलुक इरान थियो र उसले पाकिस्तानलाई पहिलो पटक राजदूतावास खोल्न पनि थियो।

दुवै देशले शीतयुद्धका बेला सहकार्य गरे भने भूराजनीतिक तवरले व्यापक रूपमा एकअर्कासँग जोडिए।

सन् १९६५ मा भारत-पाकिस्तानबीच अगस्टदेखि सेप्टेम्बर महिनासम्म युद्ध चल्दा तेहरानले इस्लामाबादलाई सघायो।

यद्यपि सन् १९७९ को इरानी क्रान्ति र पाकिस्तानमा साउदी अरबबाट प्रभावित वहाबी इस्लामको बढ्दो प्रभावबीच दुई देशबीच मनमुटाव बढ्दै गयो।

सन् १९९० को दशकमा इरानमाथि साम्प्रदायिकता फैलाएको र पाकिस्तानभित्र अशान्ति फैलाउन शियाहरू उक्साएको आरोप लाग्यो।

अर्कोतर्फ काबुलस्थित तालिबान सरकारलाई दशकसम्म इस्लामाबादको समर्थनप्रति तेहरानको असन्तुष्टि रह्यो।

भारतसँग इरानको सहकार्य बढ्दै गएपछि र पाकिस्तान वाशिङ्टनको रणनीतिक साझेदार बनेपछि तेहरान र इस्लामाबाद झन्‌झन्‌ टाढिँदै गए।

सन् २०१८ मा इरानले चबाहार बन्दरगाहको एउटा हिस्सा दिल्लीलाई हस्तान्तरण गर्ने गरी भारतसँग सम्झौता गर्‍यो। त्यसप्रति इस्लामाबादमा शङ्का उत्पन्न भयो।

उक्त सम्झौतालाई ग्वादर बन्दरगाहको रणनीतिक महत्त्व घटाउने भारत र इरानको कदमको रूपमा पाकिस्तानभित्र लिइयो।

त्यो बन्दरगाहलाई चीन-पाकिस्तान आर्थिक करिडोरको निर्णायक बिन्दुको रूपमा हेरिएको थियो।

द्विपक्षीय सम्बन्धमा यी उतार हुँदाहुँदै दुई देश ठूलो विवादमा मुछिएका छैनन्।

इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडिज इस्लामाबादस्थित अनुसन्धानकर्ता अरहामा सिद्दिकाका अनुसार सन् २०२१ यता दुई देशबीचको सम्बन्ध सकारात्मक मार्गमा रहेको देखिन्छ।

यद्यपि पाकिस्तानले स्थितिलाई सावधानीपूर्वक नियालिरहेको छ।

“उसले आफ्नो भौगोलिक अखण्डतामा सम्झौता गर्दैन, तर अर्कोतिर विवादको नयाँ शृङ्खला सुरु गर्न चाहँदैन। भारत र अफगानिस्तानसँग पाकिस्तानको सम्बन्ध राम्रो छैन। यो अवस्थामा इस्लामाबाद अर्को छिमेकी सद्‌भाव गुमाउन चाहँदैन,” बीबीसीसँग अरहामाले भनिन्।

पाकिस्तान इरानसँग उपयुक्त सम्बन्ध कायम राख्न सक्षम रहँदै आएको प्रतिरक्षा विश्लेषक इकराम सेहगल बताउँछन्।

साउदी अरबको नेतृत्वमा सुन्नी गठबन्धनले सन् २०१५ मा यमनमा सैन्य हस्तक्षेप थाल्दा त्यो खेमाको हिस्सा बन्न पाकिस्तानले अस्वीकार गर्‍यो।

क्षेत्रीय साम्प्रदायिक द्वन्द्वमा फस्दा त्यसले देशभित्र सुन्नी तथा शिया समुदायबीच सिर्जना गर्न सक्ने खतरालाई पाकिस्तानले महसुस गर्‍यो।

यद्यपि इरान र साउदी अरबले सम्बन्ध सुधारका लागि गरिरहेको प्रयासबीच अहिले त्यस्तो दबाव घटेको बताइन्छ।

अन्य कैयौँ क्षेत्रीय द्वन्द्वमा फसिरहेका बेला अर्को छिमेकीसँग मुठभेड सुरु गर्नु उचित नहुने इरानले बुझेको हुनुपर्ने सेहगलको ठम्याइ छ।

इरान अहिले अमेरिकी प्रतिबन्धको अवस्थाबाट पनि गुज्रिरहेको छ।

पाकिस्तानले लडाकु समूहहरूविरुद्ध कारबाही गर्नुपर्ने र अरू मुलुकमाथि आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न नदिनुपर्ने उनको सुझाव छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।